कर्ण र शल्यको विवाद

राधेश्याम उपाध्याय

यसरी राजा शल्य सारथीका लागि तयार भएपछि कर्णले शल्यलाई सारथी बनाई पहिला रथमा बसाली आफू ठूलो रथि भई उत्साहका साथ रथमा बसी युद्ध मौदानतर्फ लागे । एउटा व्युह रचना पहिलै गरेका थिए । पछि अर्को संतप्तका सेनाको बलियो व्युह रचना गरे । कर्णले कठोर स्वरले गर्जन लागे र युद्धको बाजा बजे ।

विपक्षको यस्तो तयारी देखेर पाण्डवहरु पनि आफ्नो व्युह रचना गरी युद्धका लागि सबै सेना र योद्धा युद्धभूमितर्फ प्रस्थान गरे । अर्जुन एक्लै संतप्त सेनातर्फ लागे भने अरु बाँकी सेना यतातर्फ लागे । व्युहको मुखमा रक्षार्थ कर्ण बसेका थिए । कर्णसँग युद्धका लागि पहिला पाञ्चाल योद्धा गए । पाञ्चालका जो–जो अश्वपति, गजपति, रथी पैदल सैनिक थिए ती सबैलाई सूर्य पुत्रले कत्तल पारी मार्न लागे । त्यो देखेर कर्णसँग सृन्जयहरु लड्न आए । तिनलाई पनि कर्णले तिखा शरहरु प्रहार गरी सोत्तर पारे ।

धेरै बीर सैनिकहरुले जीवन त्याग गरे भने बचेका डराई भागे । यो देखेर खुसीले गर्जदै कर्णले सारथी राजा शल्यतर्फ हर्दै अर्जुन कहाँ छन् रथ बढाएर अर्जुनका अगागि लैजाऊ, मेरो आज अर्जुनलाई मार्ने प्रण छ भन्न लागे । फूर्ति गर्दै योद्धा द्रोण र पितामह ठूला प्रतापि थिए । तर पनि मृत्युको समय पुगेपछि संग्राममा मारिए । सवैको कर्म सकिएपछि स्वर्ग जानुपर्दछ । कोही पनि सन्सारमा जन्मेपछि सधै बाँचिरहन सक्दैन । ज्ञानि, गुणी, विद्वान, विज्ञ, मुढ, कृतघ्न कोही भए पनि समय समाप्त भएपछि दैवी विधानअनुसार मर्नै पर्दछ ।

अर्जुनले इन्द्र कुवेर र वरुणलाई लिई आए पनि म एक्लै सबैसँग लडी अर्जुनलाई मारी यो राज्य दुर्योधनलाई दिनेछु र दुर्योधन त्रिलोकको राज्य पाएर खुसी हुनेछन् । कर्णले यस्तो आफ्नो बढाई गरी घमण्ड गरेको सुनी राजा शल्यले खप्न नसकी भन्न लागे । हे कर्ण ! व्यर्थैमा बढेर राज्य दिन्छु भनी घमण्ड नगर युद्धमा केहीबेर टिक्यौ भने अर्जुन भटिनेछन् । युद्धमा अर्जुन सिंह हुन भने हे उद्दण्ड राधाका पुत्र कर्ण तिमी स्याल हौ । जावो स्याल भएर सिंह राजासँग कसरी लड्दछौं । व्यर्थै समुद्रमा शिरमा ठूलो पत्थर बाँधेर तर्न दोज्दछौ । पहाडको टुप्पोमा पुगेर हामफाल्न खोज्दै छौ । तिम्रो मर्ने नै विचार भए एक्लै अर्जुनसँग लडेर जीवन देऊ ।

सम्पूर्ण सेनालाई अगाडि लगाएर आफ्नो प्राण बचाउँदै पछाडी हिँडिरहेका छौ । राजा शल्यका यस्ता कुरा सुनेर कर्ण क्रोधित हुँदै मैले आफ्नो वाहुको ठूलको भर मान्दछु र त्यही कारण मैले पहिले नै अर्जुनलाई एक्लै युद्ध गरेर मार्दछु भनी भनेको छु । व्यर्थैमा हाम्रो हितैषी बनेर पनि शत्रु पक्षको बढाई गर्दैछौं । तिमी मित्रद्रोही हौ भनी मैले जाने । हात्तीलाई डराउनका लागि नाङ्लो ठटाए सरी तिमी मलाई डराउनका लागि छली कुरा गर्दछौ । युद्धमा मार्छु कि मर्छु भनी आएको छु । म कहिले भयभित हुने छैन व्यर्थै प्रयास नगर । यस्तो कर्णको कुरा सुनेर राजा शल्य क्रोधित हुँदै कर्णको घमण्ड तोड्नका लागि तिनीतर्फ हेर्दै भन्न लागे जस्तै स्याल नक्कली सिंह भएर शेखी गर्दछ र सिंहलाई देख्ने बित्तिकै लुते कुकुरझैँ भाग्दछ ।

त्यसरी नै तिमी पनि अर्जुनसँग भेट नहुँदासम्म आफ्नो पराक्रमको बखान गर । जब अर्जुनसँग युद्धमा भेट हुनेछ आफ्ना हितैषी सबैलाई लिई युद्ध बाट भाग्ने छौं । यस्ता वाण सरीका वचन सुनेर कर्ण मद्रपतिको शेखी उतार्छु भनी भन्न लागे । गुरुबाट पाएको दिव्यास्त्रले शत्रुहरुको संहार गर्नेछु । योद्धा अर्जुन पराक्रम र श्रीकृष्णको छल सबै ममादकलाई थाहा छ । जब मैले अमोघ शक्ति छोड्ने छु तब तिनी मारिने छन् । हे मुर्ख शल्य ! तिमी जुन देशमा शासन गर्दछौ त्यो देशका नरनारी दुर्जन हुन्छन्, युवतीहरु बेस्याझै घरी–घरी श्रृङ्गार गरी घर बाट विनाकारण निस्कन्छन् । पतिका सामने नै निर्धक्कसँग गुण्डो नर (नाठो) सँग हात पक्रेर घुम्न जान्छन् र पापी मूर्ख कृतघ्न स्त्रीहरु केही भय नमानी कुलको धर्म नास गरी जार पति लिएर जान्छन् ।

जुठो र चोखोको ख्याल नगरी पदार्थ सेवन गरी छाडा डुल्छन् । जहाँका नर नारी निन्दित छन् त्यस्तो देशका राजा बनेर तिमी हर्षित छौ । तिमी पनि त्यही देशकी स्त्रीबाट जन्मेका हौ । त्यसैले तिमि पनि म ठूलो हुँ भनी घमण्ड गर्दछौं । फेरि मेरा अगागि केही बढेर बोल्यौ भने तिमीलाई नै मार्नेछु भनी कर्णले भने । यस्तो आफ्नो प्राण समानको देशलाई निन्दा गरेको सुनेर क्रोधित हँुदै शल्य पनि रिसले आगो समानका भए र भन्न लागे पापी धार्मिक नीच उच्च कुलका ज्ञानी र दुर्जनहरु सबै देशमा हुन्छन् ।

म योद्धा सत्य प्रतिज्ञा गर्ने वाला धार्मिक गुणी र दानी छु । तिमीले जति नचाहिने कुरा गरे पनि मेरो खति केही हुँदैन । मलाई के कारण मार्छु भन्यौ हे निच कर्ण तिमीले मलाई मार्न सक्छौ ? सामथ्र्य छ भने अर्जुनसँग लडेर चातुर्यता देखाऊ । यस्तौ अनेक बिझ्ने कुरा सुनेर कर्ण पनि रिसाई दुर्वचन बोल्न थाले र अन्तमा दुवै थाके । यसरी शल्यले कर्णलाई वाकवाण प्रहार गरी कर्णको उत्साह र शेखी सबै हरिदिए । यसरी रिसाउँदै रथ हाँकी अगागि बढाउन लागे । कर्णका अगाडि प्रभद्रक सैन्य अगाडि आए ।

पाञ्चाल देशका पच्चीस बीरहरुलाई कर्णले गर्धन काटी मारे । चेदी देशका जति बीरहरु कर्णका अगाडि परे ती सबैलाई पनि कर्णले मारे । त्यसपछि कर्णलाई विन्दु शूरसेन र चित्रसेनले रोक । ती सबैलाई पनि कर्णले मारे । कर्णको यो विध्वंस देखेर धृष्टद्युम्न सात्यकी चेदी कैकय वृकोदर शिखण्डी र द्रौपदीका छोराहरु सवै मिलेर कर्णका तेजिला र शक्तिशाली वाणहरु काटे र सवैले एकै पल्ट कर्णलाई प्रहार गर्न लागे । कर्णका छोराहरु भानूसेन सुखेनले भीमलाई वाण वर्षा गरी घायल बनाए ।

भीमले पनि तिनको सवै चोट खपेर गदाले खप्परमा हानी मारे । उता कर्णले पनि सबैको चोट खपी तिखा वाण प्रहार गरी सबैलाई घायल बनाए । यसरी चन्दरी निषाद र द्रविडका सेना सबैलाई मारे । आफ्नो सेनाको यो हाल देखेर युधिष्ठिर पुगेर हे कर्ण ! म अब तिमीलाई मार्छु भन्न लागे । यो सुनेर कर्णले पनि तिमीलाई म वाणले स्वागत गर्दछु भनी पाँच वाण प्रहार गरे । ती वाणले युधिष्ठिर घायल भए । युधिष्ठिरले पनि एउटा वाणले कर्णको शिरमा प्रहार गरे र कर्ण मुच्र्छा भए । कर्णलाई शल्यले युद्ध क्षेत्र बाहिर लगी बचाए ।

कर्णलाई केहीबेरमा चेत आयो र युद्ध क्षेत्रमा फर्की युधिष्ठिरलाई वाण वर्षा गरे, अश्व सारथी मारी दिए कवच भाँची शरीरभरी घाउ गराए । युधिष्ठिर टिक्न नसकेर भागे । कर्णले पनि पकरेर बन्दी बनाउनका लागि तिनका पछिपछि रथ दौडाए । यो देखेर भीमले कर्णलाई रोके । जो–जो वाण भीमले चलाएथे ती सबै वाण कर्णले काटिदिए । अश्व सारथी मारी रथ ध्वजा धुलो परी दिए । यसरी बीरथी भएपछि भीमले रिसाएर एक उत्तम गदा छाडिदिए र त्यस गदाको चोटले कर्ण मुच्र्छा परे । यो देखेर तत्काल दुर्योधनले भीमको वेग रोक्न आफ्ना भाइहरुलाई पठाए ।

भाइहरुले पनि आफ्ना सेनाहरु लिई भीमसँग लड्न आए । भीमले ती सबैलाई मारिदिए । होस आयो र कर्ण भीमसँग लड्न पुनः आए । शर वर्षाएर भीमका अश्व सारथी रथ ध्वजा पारी धुलो बनाई दिए । भीम पनि उफ्रेर रथ छोडी र गदा लिई घोडामा भएका अश्वपति हात्तीमा भएका गजपति र रथमा भएका धेरै सेनाहरुलाई रिसाई ध्वस्त पारे । त्यो देखेर भीमसँग लड्न सकुनी अश्वको सेना लिएर आए । भीमले पनि ती सबै अश्वसेनालाई मारे र भीमको चोट खाई सकुनी भागे । त्यसपछि कर्ण आऊदै थिए कर्णलाई सात्यकीले रोके ।

कर्णको मद्दत गर्न द्रौणी आए र सात्यकीको घोडा सारथी मारिदिए । सात्यकीको मद्दतका लागि युधिष्ठिर आए । द्रौणीले शर वर्षा गरी घायल बनाए र युधिष्ठिर डरले मागे । त्यो देखेर सहदेव र नकुल द्रौणीसँग लड्न आउँदै थिए, बीचैमा दुर्योधनले रोके । दुर्योधनलाई बीचैमा फेरि धृष्टद्युम्नले शर वर्षा गरेर व्याकुल पारेर शेखी उतारे । दुर्योधनलाई मद्दत गर्न कर्णले विचार गर्दै थिए तिनलाई पाण्डुपुत्रका सेनाहरु आई रोके । ती सबै सेनाहरुको प्रहार बीचमै काटेर कर्णले ती सबैलाई मारे । कर्णले पाण्डुपुत्रका धेरै सेनाहरु मारे । रगतको खोलो बग्यो । अर्कोतर्फ अर्जुन एक्लै संतप्तका सेनाहरुसँग लड्दै थिए । अर्जुनले नागास्त्र छाडी सबै संतप्तका सेनालाई मोहित बनाई मारे ।

अर्जुनले कौरव सेना खुसीले गर्जेको सुनि सशंकित भई श्रीकृष्णलाई रथ घुमाई आफ्ना सेना भएतर्फ लैजान अनुरोध गरे । श्रीकृष्णले पनि घोडा फर्काउँदै हुनुहुन्थ्यो अर्जुनलाई रोक्न कम्वोजका म्लेच्क्षे सैन्यहरु आए । ती सबैलाई मारी अर्जुन तथा कृष्ण आफ्ना फौजसँग आए र युधिष्ठिरलाई भेटे । धृष्टद्युम्न र कर्ण सम्मुखमा लड्दै थिए । धृष्टद्युम्नको मद्दत गर्न आफ्ना सेना लिई सात्यकी आए । त्यसै गरी कर्णको मद्दत गर्न द्रौणी आई पाण्डव सेनामा वाण वर्षा गर्न लागे । धृष्टद्युम्नलाई देखेर द्रौणीले रिसले चूर हुँदै तँ ब्राह्मण हत्यारा अझै बाँचेकै छस् निच कपटी आज म तलाई मार्छु भन्न लागे । दुर्वाच्य बोल्दै शर वर्षाय र अश्व सारथि मारी रथ ध्वजा भाँचिदिए ।

धृष्टद्युम्नको वेहाल देखेर श्रीकृष्णले आफ्नो रथ दुवैका बीचमा लगेर रोक्नुभयो । त्यही मौकामा धृष्टद्युम्नले पनि श्रीकृष्णले आफूलाई मौका दिनुभयो भनी त्यहाँबाट भागे । द्रौणीले भागे पनि हतियार वर्षाइरहेका थिए । अर्जुन र श्रीकृष्णलाई शरको वर्षा गरी ढाके र दुवैको शरीर भरीमा घाऊ पारिदिए । अर्जुनले पनि चोट खपेर एक शक्ति छोडे । शक्तिले द्रौणीलाई लाग्यो र अब म मर्छु भन्ने ठानेर युद्ध भूमिबाट भागे । त्यति गरेर छिट्टै श्री कृष्णार्जुन पुनः संतप्त सेनामा नै पुगे । योद्धा शिखण्डीले कर्णलाई घायल बनाए ।

तिनको चोट खपेर अठासी वाणले शिखण्डीको रथको घोडा सारथी मारी रथ ध्वजा धनु चाकर समेत भाँचिदिए । शिखण्डीले पनि एउटा शक्ति प्रहार गरे तर लाग्न नपाउँदै कर्णले बीचैमा काटिदिए र सय वाण शिखण्डीलाई प्रहार गरे । त्यसको चोट खप्न नसकी शिखण्डी भागे । त्यसपछि कर्णले थुपै्र पाण्डु पुत्रका सेनाहरु मारे । सहदेव र नकुलहरु दुर्योधनसँग डटे । तिनको मद्दत गर्न धृष्टद्युम्न पुगे भने दुर्योधनको मद्दतका लागि दुष्शासन गए । सुयोधनको सुरक्षार्थ गएको हात्तीको सेनालाई भीमले गदाले मार्न लागे ।

अर्जुन संतप्त सेनातर्फ लड्दै थिए भने यता त्यही अुर्जन नभएको मौका मा कर्णले पाण्डव सेना मार्न लागे । त्यो देखेर युधिष्ठिर कर्णसँग लड्न आए । तर बीचैमा दुर्याधनले रोकी हतियार वर्षाएर शरीर भरी घाउ बनाइदिए । त्यो देर सहदेव रक्षार्थ पुगे र दुर्योधनलाई ताकेर तोमर प्रहार गरे । तोमर लागेर दुर्योधनको शरीरबाट रगतको धारा बग्यो । तिनको रक्षाका लागी कर्ण आई पाण्डवको सेना जति थिए सबैलाई छिनका दिव्यास्त्रले व्याकुल बनाए र युधिष्ठिरका पृष्ट रक्षकहरुलाई मारिदिए । यो देखेर युधिष्ठिर र सहदेव दुवै भाइ युद्धबाट भागे ।

सबै कौरव ती दुवै भाइलाई पक्रो मतो गरी पछि लागे र कर्णले पछाडीबाट तिखा बाणहरु प्रहार गर्न लागे । भीमले एक्लै गजसैन्यको विनास गर्दै थिए । युधिष्ठिरको अवस्था देखेर भीम वेगले दौड्दै आए । बीचमा दुर्योधनसँग झडप भयो । भीमको चोट खाएर दुर्योधन आत्तिन लागे । भीमको साहस देखेर कर्ण आए । कर्णले भीमलाई शर वर्षाई ढाके । भीमले पनि दश वाण प्रहार गरी सबै कर्णका वाणहरु काटी खसाले । कर्णले पनि वर्षामा पानी परेझै गरी वाण वर्षा गरी सबैलाई मार्न लागे । कौरब सेना खुसीले चर्को स्वरमा सिंहनाद गर्न लागे ।

त्यो हल्ला अर्जुनले सुने र श्रीकृष्ण सँग हाम्रो केही खति भयो की दुर्योधन पापी छ छल गरेर धर्मकुमारलाई केही खती गर्न सक्दछ । यी संतप्त सेनाहरुलाई म पछि आई मारुँला अहिले हाम्रो सेनातर्फ रथ लैजानुहोस् भनी श्रकिृष्णलाई अनुरोध गर्न लागे । श्रीकृष्णले पनि रथ हावासरी वेगमा आफ्ना सेनाहरु भएतर्फ ल्याउनुभयो ।

भीमसँग पुगेर अर्जुनले दाजु खै देखिन भनी सोधे र भीमले पनि कर्णका वाणले शरीर जर्जर भै घायल भएर विश्रामका लागि शिविर जानुभो भने । भीमको यो कुरा सुनेर अर्जुनले रथ कर्णका अगाडि लग्न अनुरोध गरे । तर श्रीकृष्णले सम्झाउँदै पहिला दाजुको कुशल मंगल बुझेर आई दुष्टलाई मारौला । दुष्ट युद्ध छाडी कहीँ जाने छैन भनी बुझाई युधिष्ठिरलाई भट्न गए ।