घोराही–लमही सडकखण्ड मर्मत हुँदै,पाँच दिन ठुला गाडीलाई रोक

  •   
  •  

दाङ, २० चैत । घोराही–लमही सडकखण्ड ५ दिन बन्द हुने भएको छ । जीर्ण सडक तत्काल मर्मत सम्भारका लागि ५ दिनसम्म बन्द हुने भएको हो । मसोटको विभिन्न ठाउँमा बिग्रिएका मोडहरु मर्मत गर्नका लागि चैत २२ गतेदेखि २६ गतेसम्म घोराही–लमही सडकखण्ड बन्द हुने भएको हो ।

सडक डिभिजन कार्यालयले काम थालेको र २२ देखि २६ गतेसम्म सवारीका साधनहरु पूर्णरुपमा बन्द गरी सडक मर्मत गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । आधा दर्जन मोडहरुको कालोपत्रे उप्किएपछि अहिले सडक खाडल र धुलाम्य भएको छ । केही वर्ष पहिले पनि मसोटका मोडहरु मर्मत गरिएको थियो ।

उक्त सडकमा बस, ट्रक, टिप्पर, ट्रलीहरु बन्द हुने भन्दै सार्वजनिक सूचना समेत जारी गरिएको छ । सो सडकखण्ड बन्द भएपछि अब तुलसीपुर–अमेलिया भएर गाडीहरु सञ्चालनमा आउने छन् । सडकैभरि खाडल भएपछि दुर्घटनाको जोखिम बढेको हो ।