संस्कृति र संस्कारभित्रको होली पर्व

नारायणप्रसाद श्रेष्ठ

आपसी मेल र भाइचारको अभिवृद्धि गर्दै २०७७ सालको होली पर्व भर्खरै सम्पन्न भएको छ । पाप र पुण्यको साक्षी भएर सत्यको विजय हुने कहानी बोकेको होली पर्वले आपसमा सद्भावको वातावरण बनाई नयाँ उत्साह र उमंग जगाउँदै यस वर्षको होली सकियो ।

कोभिड–१९ का कारण जे–जस्तो अवस्थामा पर्वलाई मनाइए पनि यसले सद्भाव छाडेर गएको छ । आगामी वर्ष फेरि यसरी नै होली पर्व मनाइने छ । असत्यमाथि सत्यको विजय हुने आध्यात्मिक सत्यको यथार्थ सबैसामु यस पर्वले चित्रण गर्दै प्रेम र सद्भाव तथा सत्यको विजय उत्सवको रुपमा यस पर्वलाई मनाउन खोजिएको छ । क्षणिक लोभ प्रपञ्च र आशक्तिले मानिसलाई कसरी अहंकारी बनाउँदो रहेछ भन्ने सत्य यस पर्वले सबैलाई ज्ञान दिँदै निर्दोष र सत्यवादी चरित्रप्रति जतिसुकै हिलो छ्याप्न कोशिस गरे पनि झुठ र पापको भण्डाफोर आफै हुँदो रहेछ भन्ने यथार्थ सबैसामु देखाएको छ ।

हामी र हाम्रो आचरणले अपनाउनुपर्ने नैतिक पाठ सिकाउँदै होली पर्व आफैमा सत्यवादी चरित्रको पर्व भएर सबैसामु प्रष्टिएको छ । सदाचार र सद्भावको रुपमा मनाइने यो पर्व साँच्चीकै अर्थमा मानव जीवनले अपनाउनुपर्ने चरित्रप्रति संवेदनशील भएर उदाएको पाइन्छ । होली पर्वलाई खुसीको पर्व पनि भनिन्छ । दुःखपछिको सुख र बिछोडपछिको मिलनको रुपमा मनाइएको यो पर्वले अत्याचार र दूराचारको अन्त्य हुने सत्यलाई उजागर गरेको छ । धन, दौलत र घमण्डले मानिसले आफूलाई जतिसुकै सम्पन्नताको पगरी गुथाए पनि यदि उसमा सत्यवादी चरित्र र व्यवहार छैन भने उसका ती सबै वैभवहरु शून्य बराबर हुन्छन् भन्ने सत्य यस पर्वले देखाउन खोजेको छ ।

क्षणिक वासना र अहंकारले सजाइएको इच्छा र चाहना मानिसका कुकर्म हुन् भन्दै अहंकारले भरिएको मानव स्वार्थले आफूले आफैलाई भष्म गर्दोरहेछ भन्ने सत्य पनि यसले बोध गराउन खोजेको छ । काम, क्रोध, लोभ, मोह र अहंकारले मानिस कसरी पतीत हुनेरहेछ भनी दर्शाउँदै यस पर्वले मानव जीवनको दायित्व बोध गराएको छ । सुखी र उमंगको बहार ल्याई मानिसलाई निश्चित सत्यभित्र प्रदर्शित हुन यसले उत्प्रेरित रहेको अवस्था छ । चर्मदृष्टिले देखिने वस्तु सबै सत्य हुँदैनन् र असत्यले सत्यलाई कहिल्यै ढाक्न सक्दैन भन्ने कुरा यस पर्वसँग गाँसिएको प्रसंगले देखाएको छ ।

म र मेरो भावना होइन, हामी र हाम्रो आचरणले अपनाउनुपर्ने जीवनशैलीप्रति यसले सजग बनाएको छ । मानव भएर मानवीय चरित्रको परिचय सत्य, धर्म, शान्ति, प्रेम र अहिंसामा रहेको हुन्छ भन्ने मान्यता बोकेको यो पर्वले दुःख, अहंकार र स्वाभिमानले मानिसलाई दुष्मर्कप्रति उत्प्रेरित गर्नेरहेछ भन्ने सत्य पनि बोध गराएको छ । प्राकृतिक सत्यभित्र एकअर्काबीच समान र सद्भाव राखी अघि बढ्ने संकल्प नै सहज जीवन हो भन्ने मानव सभ्यताको उत्कृष्ट चरित्र यहाँ देखाउन खोजिएको छ । दूषित वातावरण र परिस्थितिले ल्याउने परिणामको बोध गराउँदै पाप धुरीबाट कराउँछ भन्ने उखानलाई यसले प्रष्ट्याउन खोजेको छ ।

राजा गुणकामदेवको पालादेखि सुरु भएको यो पर्व नेपाल उपत्यका काठमाडौँको वसन्तपुर दरबारमा लिंगो ठड्याएपछि सुरु भएको पाइन्छ । प्रचलनअनुसार गुहेश्वरीको जंगलबाट रुख काटी ल्याइएको सिधा रुखबाट एउटा हाँगा गुहेश्वरी, अर्को हाँगा कैलाश पर्वतमा रहेको गोरखनाथ मन्दिर र अर्को हाँगा पशुपतिनाथमा चढाएपछि बाँकी रहेको सिधा काठ वसन्तपुरमा ल्याई, रंगीबिरंगी ध्वजापताकासहित सिंलो ठड्याई रंगको होली चलेको इतिहास पाइन्छ ।

शिवरात्रिपछि मनाइने यस पर्वलाई मिलन र खुसीको पर्व पनि भनिन्छ । आपसी द्वैष, मनमुटाव हटाई स्वच्छ र पवित्र विचारले ल्याउने हर्ष र उल्लास बोकेको यस पर्वले अर्को ऐतिहासिक मान्यता पनि बोकेको छ । हिरण्यकश्यपुका भाइलाई विष्णुले संहार गरेपछि हिरण्यकश्यपु विष्णुलाई शत्रु ठान्दथे । हिरण्यकश्यपु आफै तपस्वी पनि थिए । उनले ब्रह्माको घोर तपस्या गरी पाँचवटा अभेद्य बरदान पाएको कथन छ– देवताबाट उनी मारिने छैनन्, उनी न दिनमा न रातमा मर्नेछन्, न घरभित्र नत घर बाहिर उनको मरण हुनेछ, नत जमिन न त आकाश नत पानीमा उनी मर्नेछन्, नत शास्त्र, नत अस्त्रले उनी मानिरेछन् । यति अभेद्य बर हिरण्यकश्यपुले ब्रह्माबाट पाएका थिए ।

यसैगरी उनको बहिनी होलिकाले पनि अग्निबाट नजल्ने बरदान पाएकी थिइन् । यसै कारण उनीहरुमा घमण्ड र अहंकार थियो । म नै ईश्वर हो भन्ने घमण्ड थियो । तर विडम्बना मान्नुपर्छ, यस्तो राजाको सुपुत्र प्रह्लाद विष्णुका परम भक्त थिए । उनी बावुलाई ईश्वर मान्दैनथे । यसैकारण बाबु–छोराबीच बैरभाव थियो । उनी भगवान म हुँ, विष्णु होइन भनी छोरा प्रह्लादलाई सम्झाउँथे तर प्रह्लादले स्वीकार गरेका थिएनन् । यसरी प्रह्लादले नमानेपछि उनलाई समाप्त गर्ने कार्यमा हिरण्यकश्यपुले निकै प्रपञ्च रचे । बहिनी होलिकाको सहारा उनलाई समाप्त गर्ने अभिप्राय राखी अग्निकुण्डमा होमिन जाने कुरा उठ्यो ।

प्रह्लाद निकै चिन्तित भए । सत्यको परिचय दिन अग्निकुण्डमा होमिने कुरा नगर्दा विष्णुप्रतिको भक्ति टुट्ने, अग्निमा प्रवेश गरौं, उनमा त्यति शक्ति थिएन । यसरी चिन्तित भई एक्लै बसेको प्रह्लादलाई विष्णु प्रत्यक्ष भई उनलाई विश्वास दिलाउँदै ओढ्ना–पछ्यौरा ओढेर अग्निमा प्रवेश गर्नु, तिमीलाई केही हुँदैन भनी निर्देशन दिएपछि प्रह्लाद अग्निकुण्डमा प्रवेश गर्न मञ्जुर भई सभामा पुगे । सभामा पुगेपछि अग्निको ज्वाला जसै बढ्यो राजा हिरण्यकश्यपुले छोरा प्रह्लादलाई सत्यको परिचय दिन फुपु होलिकासँग अग्नि प्रवेश गर्न आज्ञा दिए ।

जसै फुपुको काखमा बसी प्रह्लाद अग्निकुण्डमा प्रवेश गरे त्यसपछि त्यहाँ निकै कोलाहल भयो । होलिका जलेर नष्ट भइन् तर सत्यवादी चरित्रका धनी प्रह्लादलाई केही भएन । यसरी यही खुसीको उमंगको रुपमा होली पर्वको प्रचलन हुन पुगेको इतिहास पनि पाइन्छ । यसरी असत्यमाथि सत्यको विजयीको उत्सवको रुपमा राजा गुणकामदेवको पालादेखि मनाउँदै आएको होली पर्व हिन्दू संस्कृतिको महान् चाडको रुपमा चिनारी भएर आएको छ ।

यसरी खुसीको पर्वको रुपमा सुरु भएको होली पर्वमा हामीले विभिन्न रंग र अबीरले रंगिएर तथा एकअर्काबीच सामिप्यता बढाउँदै, आत्मीयता साट्दै, खुसी साटासाट ग¥यौं । के यी सबै हामीले होली पर्वको महत्व बुझेर मनाएका हौँ त ? होली पर्वको महत्व के हो ? होलिका किन आफै भष्म हुनुप¥यो ? प्रह्लादले के–कस्तो चरित्र निर्वाह गरेका थिए ? आगोको काम जलाउने, भष्म गर्ने हो तर पनि होलिकामात्रै किन भष्म भइन् ? यी र यस्ता प्रसंग हामीले कहिल्यै बुझ्ने कोशिस ग¥यौ ?

नयाँ पिढीलाई यसको वास्तविकता पहिचान गराउन हामी कति सक्षम भयौँ ? हाम्रो संस्कृति र संस्कारले हामीलाई कसरी आचरणयुक्त गतिशील जीवन बिताउन सचेतना बृद्धि गरिरहेको छ ? के त्यसप्रति हाम्रो ध्यान गयो ? पश्चिमी सभ्यतातर्फ हामी किन आकर्षित भइरहेका छौं ? नाङ्गो र चरित्रहीन विचारतर्फ आकर्षित हुनु के हाम्रो बाध्यता हो ? धार्मिक सहिष्णुता बिगारेर राज्यको गतिविधिमा अराजकता ल्याउने दुस्साहसप्रति हाम्रो ध्यान कति गयो ? हामी किन अरुको पछि लागि आफ्नो संस्कृतिप्रति संवेदनशील बनेनौँ ?

धार्मिक सद्भावले ल्याएको परिवर्तनलाई नबुझी अरुको लहलहैमा अधर्म र छाडा गतिविधितर्फ हामी किन अग्रसर भइरहेका छौ ? के होली पर्वले यस्तै शिक्षा हामीलाई दिएको छ ? अरुको अरौटे–भरौटे इशारामा आफ्नो संस्कृति बेच्ने आचरण हामी किन गर्दैछौ ? तसर्थ समय र परिस्थितिको मूल्यांकन गरी आफूले निर्वाह गर्ने चरित्र र भावी पिढीको लागि असल संस्कृति र संस्कारको जगेर्ना गर्न हामी सबै सदाचारी बन्न सिकौँ । हाम्रो पर्व र संस्कारले सिकाएको आचरणयुक्त जीवनशैलीप्रति बढी संवेदनशील बनौँ ।

चैतण्यस्वरुप पवित्र आत्माभित्रको ईश्वरलाई पहिचान गरी तात्विक गुण प्रदर्शन गर्न सक्षम बनौँ । यही हाम्रो संस्कृति र संस्कारले हामीलाई प्रेरणा दिन खोजेको छ । हामी असल संस्कारी बनौँ । प्राकृतिक सत्यभित्रको मानवीय आचरण, कर्म र व्यवहारप्रति हामी कटिबद्ध बनौँ । समयले यही निर्देशन दिइरहेको छ ।