नारायणपुरको समग्र समृद्धि हाम्रो साझा अभियान : अध्यक्ष बस्नेत

  •   
  •  

घोराही, तुलसीपुर, लमही र भालुवाङपछिको उदाउँदो बजार नारायणपुर उद्योग वाणिज्य संघको सत्रौं साधारणसभा तथा आठौं अधिवेशन हालै सम्पन्न भएको छ । सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने क्रममा अध्यक्षलगायतका धेरै पदमा सर्वसम्मत नेतृत्व चयन भइसकेका छन् भने केही पदमा सहमति जुटाएर सर्वसम्मत बनाउने प्रयास पनि निरन्तर जारी रहेको छ ।

अधिवेशनका क्रममा यसअघिका कार्यसमितिका उपाध्यक्ष अभियान बस्नेत सर्वसम्मतरुपमा नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्व लिन सफल भएका छन् । २२ बर्षको युवा उमेरमै स्टेशनरी व्यवसायबाट उद्योग वाणिज्य संघमा जोडिएका बस्नेतले हाल कन्स्ट्रक्सन व्यवसाय सञ्चालन गरिरहेका छन् । युवाहरुका प्रिय तथा मिलनसार र हरेक व्यावसायिक क्षेत्रमा दख्खल राख्ने युवा व्यवसायी अभियान बस्नेतसँग नाायणपुर उद्योग वाणिज्य संघको वर्तमान अवस्था र भावी कार्यक्रमका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेका कुराकानीको सारसंक्षेप…

प्रश्नः बधाइ छ, तपाईँलाई सर्वसम्मतरुपमा नारायणपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा ।

उत्तरः धन्यवाद तपाईँ अनि सबै मिडियाकर्मी साथीहरुलाई अनि यो अभियानमा सहयोग गर्ने नारायणपुरका आम व्यवसायी दीर्घा एवं यहाँका राजनीतिक दल र नागरिक समाजलाई पनि । मलाई सर्वसम्मतरुपमा अध्यक्ष पदमा चयन गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभएकोमा ।

प्रश्नः कसैसँग चुनाव नलडी सर्वसम्मत बनेपछि तपाईँहरुले यहाँका समग्र समृद्धिका लागि अघि सारेका केही व्यावसायिक एजेण्डाका विषयमा बताइदिनुस् न ?

उत्तरः मैले आगामी कार्यकालका लागि नेतृत्वको जिम्मेवारी बहन गरिरहँदा पहिलेको जस्तो परिस्थिति छैन । अहिले मुलुक संघात्मक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । हरेक तल्लो पालिकालाई सिंहदरबारको शक्ति आएको छ । शक्ति विकेन्द्रिकृत पनि भएको छ । यो अवस्थामा हामीले आ–आफ्नो क्षेत्रगत स्वार्थलाई प्राथमिकतामा राख्नुलाई अन्यथा रुपमा लिनु हुँदैन । त्यसैले हाम्रा भावी कार्यक्रम भनेका समग्र व्यावसायिक समृद्धिबाट आर्थिक समृद्धिका लागि हुनेछन् ।

वर्तमान कार्यसमिति (केही दिनपछि निवर्तमान हुने)ले थालेका व्यावसायिक समृद्धिका अभियानलाई निरन्तरता दिँदै यस क्षेत्रको बृहत्तर आर्थिक विकासका लागि उद्योग सञ्चालनको सहज वातावरण निर्माण गर्नका लागि मेरो पहिलो पहल हुनेछ । साथै यहाँ धेरै कुटिर उद्योग स्थापनाका सम्भावनाहरु पनि रहेका छन् । साना तथा मझौला उद्योग स्थापना दिँदै एउटा ढेब्लीमा बसेका व्यवसायीदेखि महलमा सुपर मार्केट सञ्चालन गरिरहेका व्यवसायीसम्मलाई सम्मानजनक रुपमा व्यावसायिक समृद्धिमा अघि बढाउनका लागि मेरो समान दायित्व हुनेछ ।

अनि अर्को कुरा यस क्षेत्रमा जडिबुटीजन्य उद्योग सञ्चालनका लागि पनि वातावरण निर्माण गरी अन्य क्षेत्रका व्यवसायीलाई पनि आकर्षित गर्न लगानीमैत्री वातावरण निर्माणका लागि सडक, विद्युत, पानीलगायतको सहज उपलब्धता हुनेगरी पूर्वाधार निर्माणका लागि पनि हाम्रो एकीकृत पहल हुने कुरा त्यस पत्रिकामार्फत आम व्यवसायीलाई जानकारी गराउन चाहन्छु । यहाँ व्यावसायिक समृद्धिका प्रशस्तै सम्भावनाहरु छन् ।

प्रश्नः औद्योगिक सम्भावनाका पूर्वाधारको कुरा गर्नुभो, के कस्ता पूर्वाधारहरु यहाँ बन्न सक्छन् ?

उत्तरः सबैभन्दा पहिले भन्नुपर्दा मुलुक संघात्मक अभ्यासमा प्रवेश गरेसँगै अब दाङ जिल्लामा पनि मेघासिटीको बहस चलिरहेको छ । मलाई लाग्छ, दाङ जिल्लामा निकट भविष्यमै मेघासिटी बन्नेछ । घोराही र तुलसीपुरलाई गाभेर मेघासिटी बनाइँदा नारायणपुर क्षेत्र एउटा मिड प्वाइन्टको बजार बन्ने छ । त्योभन्दा पनि थप औद्योगिक समृद्धिका लागि हालै नारायणपुरलाई जोडेर होलेरी–नारायणपुर–रिहार सडकको स्तरोन्नतिको पनि प्रक्रिया सुरु भइसकेको छ । यसको प्रारम्भिक सर्वे पनि भइसकेको छ ।

यो सडक जोडिएपछि रोल्पालाई पूर्व–पश्चिम राजमार्गमा जोड्ने मध्यविन्दुका रुपमा नारायणपुर हुनेछ । अनि अर्को कुरा नारायणपुरलाई सडक यातायातको स्थानीय ट्रान्जिट बनाउनका लागि यहाँको बसपार्कलाई पनि स्तरोन्नतिको प्रयास भइरहेको छ । यो बसपार्क सञ्चालन नारायणपुर उद्योग वाणिज्य संघकै पहलमा भएको पनि मैले यहाँलाई स्मरण गराउन चाहन्छु । यहाँको बसपार्क सञ्चालनमा आएपछि लामो दूरीका बसहरु यहाँको बसपार्कमा अनिवार्यरुपमा छिरेर मात्रै गन्तव्यतर्फ जानुपर्ने व्यवस्था मिलाइने छ भने यहाँबाट कोठरी, ढिकपुर, हापुरलगायतका छोटो दूरीमा स्थानीय यातायात सेवा समेत सञ्चालन गरी त्यहाँका कृषिजन्य उत्पादनको बजारीकरणमा पनि सहयोग गर्ने हाम्रो अभियान हो ।

एउटा गोठालालाई पनि हामी कृषि तथा पशुपालक उद्यमी बनाउन चाहन्छौं । किनकि हाम्रो कार्यक्षेत्रमा रहेका घोराही उपमहानगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, र तुलसीपुर उपमहानगरपालिकाको कार्यक्षेत्र कोठरीसमेत पर्दछ । यी सबै वडाहरु सडक सञ्जाल, विद्युत र खानेपानी सेवामा जोडिइसकेका छन् । यसले स्थानीयस्तरमै कृषिजन्य कुटी र उद्योग सञ्चालनमा समेत पूर्वाधार निर्माणलाई प्राथमिकता दिने हाम्रो प्रतिवद्धता हो । साथै हरेक गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारीकरण गरी उनीहरुको जनजीविका निर्वाहका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नु नारायणपुर उद्योग वाणिज्य संघको हो भन्ने हाम्रो मिशन हो ।

अर्को कुरा यहाँ फोहर व्यवस्थापनमा पनि धेरै सहजता आएको छ । दैनिकरुपमा घोराही उपमहानगरपालिकाले फोहर उठाउँदै आएको छ । पछिल्लो समयमा उपमहानगरपालिकाले तेरौटेमा फोहरलाई मोहर बनाउने अभियान पनि थालेको छ । तेरौटेमा जम्मा भएको फोहरबाट बायोग्यास उत्पादन पनि अन्तिम चरणमा पुगेको छ । तेरौटेबाट नारायणपुरसम्म बायोग्यास उपलव्ध गराउन पाइपलाइन विच्छाउने योजना पनि सुरु भइसकेको छ । यसले पनि यहाँको व्यावसायिक पूर्वाधारलाई सहज बनाएको हामीले अनुभूति गरेका छौं ।

प्रश्नः नारायणपुर क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको यहाँको प्रहरी चौकीको स्तरबृद्धि हुन नसक्नु हो भनिन्छ, यहाँ स्तरीय प्रहरी चौकी निर्माणका लागि आएको शान्ति मन्त्रालयको बजेट पनि पटक–पटक फर्कदै गएको छ, यसमा उद्योग वाणिज्य संघको पहल हुनुपर्ने होइन र ?

उत्तरः हो, हामी यो विषयमा अत्यन्तै जानकार छौं । नारायणपुर उद्योग वाणिज्य संघले यसअघि पनि यहाँको प्रहरी चौकीको स्तरबृद्धिका लागि सम्बन्धित स्थानीय तहलगायत जिल्ला र केन्द्रैसम्मका नेताहरुसँग पहल पनि गर्दै आएको छ । तर पनि यो अभियानले सार्थकता पाउन सकिरहेको छैन । मलाई लाग्छ पछिल्लो समयमा प्रहरी चौकीको स्तरबृद्धि हुने कुरामा जग्गा छनोट गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ ।

स्थानीय वडा कार्यालयलगायत यहाँका राजनीतिक दल र सामाजिक अगुवाहरु यो विषयमा पछिल्लो समयमा थप गम्भीर बनेको मैले बुझेको छु । अब नारायणपुर उद्योग वाणिज्य संघमा पनि समावेशी नेतृत्व आएको छ । सबै राजनीतिक दल र व्यावसायिक दीर्घा समेटिएका छन् । प्रहरी चौकीको स्तरबृद्धि गरी कम्तीमा इन्सपेक्टरको दरबन्दी रहनेगरी स्तरीय भवन निर्माणका लागि हाम्रो अर्थपूर्ण पहल हुने छ भन्ने मैले तपाईँमार्फत आम नारायणपुरबासी एवं समस्त पाठकबृन्दहरुलाई विश्वस्त पार्न चाहन्छु ।

हो स्तरीय सुरक्षाको अवस्था नहुँदा यहाँ व्यावसायिक सुरक्षाको अवस्था कमजोर छ भन्ने पनि मैले बुझेको छ । चोरी–चकारीका घटनाहरु पनि यहाँ नघटेका होइनन् । त्यसैले नारायणपुरबासी एवं यहाँका व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन यहाँको स्थानीय वडा सरकार, स्थानीय सुरक्षाचौकी र घोराही उपमहानगरपालिकासँग समेत समन्वय गरेर सिसीक्यामेरा जडान गर्नका लागि पनि हाम्रो पहिलो पहल हुनेछ भन्ने अवगत गराउन चाहन्छु ।

प्रश्नः यहाँ पटक–पटक क्षेत्रीयस्तरको विमानस्थल निर्माणको पनि चर्चा भइरहन्छ, यो पटक त प्रारम्भिक सर्वे पनि भएको बताइन्छ तर जग्गाधनीका विरोधका आवाजहरु पनि आइरहेका हुन्छन्, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

उत्तरः दाङलाई मेघासिटीका रुपमा विकास गर्ने एउटा चरण सुरु भइसकेको छ भने अर्कोतर्फ लुम्बिनी प्रदेशको स्थायी मुकामसमेत दाङलाई बनाइसकिएको छ । अर्को कुरा दाङ जिल्लामा प्रदेशस्तरको औद्योगिक केन्द्र निर्माण गर्ने अभ्यासहरु पनि सुरु भइसकेका छन् भने यहाँ अन्तर्राष्ट्रिय लगानी भित्र्याउनेगरी उद्योग सञ्चालनको वातावरण निर्माणका कामहरु समेत भइरहेका छन् । यी सबै सम्भावनालाई सार्थक र साश्वत बनाउनका लागि सडक सञ्जालले मात्र पुग्दैन, यहाँ नियमित हवाइ सेवा समेत सञ्चालनमा आउनु अत्यन्तै आवश्यक हुन्छ ।

त्यसका लागि नारायणपुर क्षेत्रमा क्षेत्रीयस्तरको विमानस्थल निर्माणलाई हामी सहर्ष स्वीकार गर्दछौं । तर विमानस्थल निर्माणका क्रममा यहाँका सदियौंदेखि बसेका जग्गाधनी किसानहरुलाई विस्थापित गर्नका लागि राज्यले उपयुक्त पुर्नवासको व्यवस्था साथै न्यायोचित मुआव्जा उपलव्ध गराउनुपर्दछ भन्ने हाम्रो मान्यता हो ।

हाल तुलसीपुरमा चलिरहेको हवाइसेवालाई पनि यथावत राख्दै यहाँ थप क्षमताको स्तरीय विमानस्थल निर्माणका लागि हामी मात्र नभएर जिल्लाका सबै उद्योग वाणिज्य संघहरुले पनि सामूहिक हातेमालो गर्नुपर्दछ । सबै उद्योग वाणिज्य संघहरुले यसमा सकारात्मक भूमिका निर्वाह गर्नेछौं । औद्योगिक विकास एवं प्रशासनिक केन्द्रलाई चलायमान बनाउनका लागि पनि यहाँ दैनिक हवाइ सेवा अपरिहार्य छ भन्ने हाम्रो मान्यता हो ।

प्रश्नः अन्तमा यस दैनिक पत्रिकामार्फत आम पाठकहरुलाई केही भन्न चाहनुहुन्छ ?

उत्तरः सबैभन्दा पहिले नारायणपुर उद्योग वाणिज्य संघका भावी गतिविधि र वर्तमान अवस्थाका विषयमा केही कुरा राख्ने अवसर दिनुभएकोमा गोरक्ष दैनिक पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । त्यससँगै मलाई नारायणपुर उद्योग वाणिज्य संघको भावी नेतृत्वका लागि सर्वसम्मतरुपमा चयन गर्न सहयोग गर्ने यस संघका पूर्व अध्यक्षहरु, वर्तमान कार्यसमितिका सदस्यहरु, आम नारायणपुर क्षेत्रका व्यापारी व्यवसायीहरु, नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दललगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै नारायणपुर उद्योग वाणिज्य संघका सकारात्मक काममा सबै क्षेत्रबाट सहयोग प्राप्त हुनेछ भन्ने पनि अपेक्षा गर्दछु ।