सेवाग्राही मेरो खुसी…

सेवाग्राहीहरु मेरा खुसी हुन् । उनीहरु सन्तुष्ट भएको देख्दा मेरो मन चंग हुन्छ, हलुंगो हुन्छ, अनि मनमनै मुस्कुराउँछु । लेखिदिनुहोला मेरा खुसी सेवाग्राहीका खुसीसँग जोडिएका हुन्छन् । मिजासिला, कर्मठ, लगनशील जो जहिले पनि सेवामा तल्लिन हुन्छन् ।

तुलसीपुर–८ कटकुयाँमा जन्मिएका जोगिराम चौधरी । उनी जहिले पनि खुसीका साथ र मुस्कानका साथ सेवा ग्र्राहीहरुलाई सेवा दिइरहेका हुन्छन् । मैले उनको खुसी सोध्दै गर्दा उनले मुस्कुराउँदै भने मेरा खुसी यिनै सेवाग्राही हुन् । ‘उहाँहरुलाई खुसी गराउन पाउँदा र उहाँहरुलाई सन्तुष्टि गराउन पाउँदा म जहिले पनि खुसी हुन्छु’, चौधरीले भने । उनले आफ्ना जीवनमा धेरै खुसीका पलहरु भएको सुनाए । उनले आफ्नो पहिलो खुसी नेत्र सहायक पास हुँदाको क्षण सम्झिए ।

राप्ती आँखा अस्पतालमा विगत २८ बर्षदेखि सेवामा क्रियाशील जोगीराम चौधरी अहिले पनि नेत्र अधिकृतको रुपमा त्यहीँ कार्यरत छन् । उनले २०४८ मा राप्ती आँखा अस्पतालमा जोडिएको बताए । कक्षा ९ मा महेन्द्र स्कुल पढ्न जाँदा तुलसीपुरको डुम्री गाउँमा आँखा अस्पतालको परिसरमा साथीभाइहरुले आँपहरु झार्न ढुङ्गा हानेको देखेका चौधरीले त्यसपछि अस्पतालमा जागिर खुलेको र आफूले दरखास्त दिएको सम्झिए । उनले त्यसका साथै आफूहरु १७ जनाले नाम दिएको र त्यसमा लालबहादुर चौधरी र आफ्नो गरी २ जनाको नाम निकालिएपछि लगत्तै गेटा आँखा अस्पतालमा पढ्न गएको बताए ।

उनले नाम निक्लिएलगत्तै पढ्न जान पाउँदा खुसी लागेको सुनाए । उनले त्यसका साथसाथै आँखासम्बन्धी पढाई सकेर आएर सेवा गरेको बताए । उनले त्यसका साथै नेत्र सहायकको परीक्षामा पास हुँदा निकै खुुसी लागेको सम्झिए । ‘मैले धनगढीमा पढेर फेरि नेत्र सहायकको लागि त्रिपुरेश्वर आँखा अस्पतालमा नेत्र सहायकको लागि ९ महिना पढ्न गए त्यसपछि दोस्रोपटक म लिखित–मौखिकमा पास भए’ उनले भने ।

चौधरीले त्यतिबेला नेत्र सहायक पास हुँदा निकै खुसी भएको सम्झिए । ‘मेरो पहिलो खुुसी सेवाग्राहीहरुको सन्तुष्टि नै हो’, चौधरीले भने । त्यसपछिको अर्को खुसी नेत्र सहायकमा नाम निकाल्दा भएको उनले सुनाए । उनले २०५५ सालमा परिक्षा भएको र त्यसमा नाम निकल्दा निकै खुुसी लागेको सुनाए । उनले आफूहरु दुईजनाले नाम निकालेका बताए । त्यससँगै उनले विभिन्न क्षेत्रमा आँखा शिविरहरु हुँदा त्यहाँ पुगेर आँखाका बिरामीहरुलाई सेवा गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए । ‘त्यतिबेला यस क्षेत्रमा नेत्र सहायकको पढाई कमै हुन्थ्यो, मैले पढ्न पाएँ म त्यसैमा खुसी छु’, उनले भने । उनले पहिलोपटक दुर्गम क्षेत्र रुकुमको चौरजहारीमा प्लेन चढेर त्यहाँबाट घन्टौँ हिँडेर आँखा शिविरमा गएर सेवा गर्न पाउँदा निकै खुसी मिलेको सुनाए ।

उनले आफूले दिएको सेवाबाट बिरामीहरु सन्तुष्टिका साथै आफूलाई सञ्चो भएपछि धन्यवाद दिँदा अर्को खुसी मिल्ने गरेको सुनाए । विभिन्न आँखा शिविरका साथै राप्ती आँखा अस्पताल र त्यसपछि सन् २०१३ मा घोराही आँखा उपचार केन्द्रमा सेवा गरेको चौधरीले बिरामीहरुले आफ्नो नाम लिँदै सेवा दिन आउँदा अर्को खुसी मिल्ने बताउँछन् । ‘अहिले पनि धेरैले मलाई सम्झनुहुन्छ म त्यसैमा खुसी छु’, उनले भने ।

त्यस्तै चौधरीले २०४८ सालमै दुई महिना राप्ती बबई क्याम्पसमा पढाएको बताए । उनले त्यतिबेला आफ्नो ५ सय तलव भएको सम्झिए । ‘मेरो त्यतिबेला रु १०० क्याम्पसको फिस थियो, मलाई फिस तिरेर पनि ४ सय बच्ने गथ्र्यो मलाई त्यो कमाई बचाउँदा निकै खसी लाग्थ्यो’, चौधरीले भने । उनले त्यस सँगसँगै अनौपचारिक शिक्षा गाउँमा पढाएर धेरैलाई कखरा सिकाएको बताए । उनले त्यतिबेला धेरैले शिक्षाबाट बञ्चित भएको र आफूले गाउँमा रहेका व्यक्तिहरुलाई कखरा सिकाएको भन्दै शिक्षा दिन पाउँदा खुसी भएको बताए । उनले गाउँमा अनौपचारिक शिक्षामार्फत धेरैलाई शिक्षा दिएको र उनीहरुले हाल आफ्नो नाम लेख्न–पढ्न पाएकोमा खुसी व्यक्त गरे ।

‘हामीहरुले शिक्षाको महत्व बुझाएका थियौं त्यतिबेला साक्षरता कक्षा सञ्चालन गरेर अहिले उनीहरुका बालबालिकाहरुले पढ्न पाएका छन् । शिक्षाको महत्व सिकाउन पाउँदा खुसी लाग्छ’, चौधरीले भने । उनले बेसमा तत्कालीन अवस्थामा सह–सचिव पदमा रही बेसमार्फत अनौपचारिक शिक्षा गाउँ–गाउँमा दिने गरेको सम्झिए ।
उनले २०४७ सालमा गाउँमा बेसबाट स्कुलसमेत स्थापना गरी सहयोगीको रुपमा आफूले काम गरेको बताए । ‘डिल्लीबहादुर चौधरीले मलाई यो स्थानमा आउन बाटो पनि देखाउनुभएको छ, उहाँ मेरो आफन्त पनि हो म उहाँलाई विशेष सम्झने गर्छु’, उनले भने ।आफू अहिले यहाँसम्म आउनमा सबैको साथ र सहयोग पाएकोमा पनि खुसी व्यक्त गरे ।

चौधरीले आफूले गाउँघरमा शिक्षाबाट बञ्चित धेरैलाई सहयोग समेत गरेको बताउँछन् । त्यस्तै उनले धेरै असहाय गरिब बालबालिकाको फिस तिरिदिएको समेत बताउँछन् । ‘उनले स्कुलमा आफ्नो सहयोगमा शौचालय निर्माणदेखि विभिन्न व्यक्तिलाई शिक्षा दिन पाउँदा खुसी मिल्ने गरेको सुनाए । वि.सं. २०४४ सालमा महेन्द्र माविबाट तृतीय श्रेणीमा एसएलसी पास गर्दा अर्को खुसी मिलेको सुनाए । ‘त्यतिबेला एसएलसी भनेपछि धेरै महत्व थियो, एसएलसी एकैपटक पास गर्दा निकै खुसी भएको थिए’, चौधरीले भने । एसएलसीपछि क्याम्पस पढ्दा–पढ्दै जागिर खाँदा अर्को खुसी मिलेको उनले सुनाए ।

जोगीराम चौधरी हाल राप्ती आँखा अस्पताल रक्षाचौरमा नेत्र अधिकृतको पदमा कार्यरत छन् ।