प्रदूषण डायरी : सेतो टिसर्ट…

  •   
  •  

खेमराज रिजाल

दाङ, १६ चैत । काठमाडौँको भैसेपाटीमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा दश गुणा बढी हावा प्रदूषण भइरहेको समाचारसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ सेवा बन्द भइरहँदा म गुर्जेखोलाको पुल छेउमा सेतो कटनको टिसर्ट र सेतै पाइन्टमा मोटरसाइकल यात्रामा थिएँ ।

केन्द्रका सबै सञ्चार माध्यमले काठमाडौँमा वायु प्रदूषण अत्यधिक भएर राजधानी अँध्यारो भएको समाचारलाई प्रमुख बनाइरहेको खबर घोराहीको अफिस पुग्दा थाहा भयो । राजधानीमा हरेक दिन प्रदूषणको मापन गरिन्छ तर मोफसलमा भने कतै यो अभ्यास छैन । ‘नाप्ने भए पो थाहा हुन्थ्यो, यहाँको प्रदूषणको चिन्ता सरकारलाई कसरी होस् ?’ मलाई लिफ्ट दिने पत्रकार राकेश बस्नेतले भनिरहेका थिए । त्यस्तै छन्, स्थानीय सरकार । प्रदूषणका बारेमा यहाँका सरकारलाई कुनै प्रवाह छैन । तीन बर्षमा निर्माण सक्ने भनिएका पुल ५ बर्षसम्म निर्माणाधीन हुन्छन् ।

घना बस्तीकै बीचमा भारी उत्पादन क्षमताका सिमेन्ट उद्योगहरुले रात्रिकालीन समयमा धुलो ब्लास्ट गरिरहेका छन् । पुराना चिम्नीका इटाभट्टाहरुबाट निस्केको धुँवाको मुस्लोले आकाश ढाकिरहेको हुन्छ । चारलेनका नाममा निर्माण सुरु भएको सडकले विगत एक बर्षदेखि हाइवेलाई धुलाम्मे बनाइरहेको छ । नागरिक आवाज सुन्न सरकार तयार छैन ।

तुलसीपुरबाट मसँगै यात्रा गरेको त्यो मैले लगाएको सेतो टिसर्ट…., साँझ घर पुग्दा क्रिम कलरमा परिणत भइसकेको थियो, अर्थात धुलोको रंग पनि क्रिम कलरको जस्तै थियो । साँझ हातमुख धुँदा नाक सिं… गर्दा कालो सिंगानमा धुलाका डल्ला निस्कन थाले, मैले टुलुटुलु हेरिरहेँ । तीन दिन भो, मैले निलो आकाश देखेको छैन, राप्ती बबई क्याम्पसका एक जना प्राध्यापकलाई सोधेँ, बादलले आकाश निलो देखिएको होइन नि, यो पनि वायु प्रदूषणले हो, ती प्राध्यापकले जवाफ दिए ।

तुलसीपुर–घोराही–लमही राजमार्ग छिचोल्दा तुलसीपुरमा मोतीपुर सडकखण्डको धुलोले स्वागत गर्दछ, संक्राम खोला पुलले धुलोको स्वागतलाई भव्य बनाउँछ, अनि दूधरास सिमेन्ट कारखानाबाट निस्केको धुलोको मनमोहक दृश्यले धुले पर्यटनको झल्को दिन्छ । सोनापुर सिमेन्टका सिइओ हरि पाठकले अनुगमनका क्रममा भनेका थिए– ‘हामीले त जर्मन प्रविधिलाई प्रयोग गरी लेदर ज्याकेटबाट फ्याक्ट्रीबाट निस्कने धुलोलाई डिस्पोज गर्दै आएका छौं, यो प्रविधि हेर्नोस् न !’ तर धुलो छिप्ने होइन, दिदीका घरको काउली खाँदा दाँतमै क¥याङकुुरुङ हुन्छन्, गोग्लीमा अर्की दिदीको घर छ, त्यहाँ बारीमा लगाएका डाले घाँस समेत पशुले मन पराएर खान छाडिसकेका छन् रे । खैरा–नारायणपुरमा कल्भर्ट वाइपास गराउन चारलेनले पक्की सडक भत्काएको छ । धुलैधुलोले सडक छिचोल्नै मुस्किल । त्यसपछि गुर्जेखोला पुल आसपासमा झनै बेहाल ।

‘यो ठेकेदारले चलाएको देश हो, ठेकेदारलाई सरकारले कारबाही गर्नै सक्दैन । त्यसैले त हाम्रो यो हविगत भएको’, घोराहीको तुलसीपुरचोकमा भेटिएका स्थानीयबासी दामोदर पौडेलले भने– ‘त्यसैले त तुलसीपुर चोकले यहाँ आउने पर्यटकहरुलाई बर्षौदेखि धुलोले स्वागत गरिरहेको छ । घोराहीको मुटु, बिचरा तुलसीपुर चोक ! दक्षिणपट्टि जवर्जस्त स्थानीयबासीको प्रेसरमा एक लेन कालोपत्रे भए पनि उत्तरपट्टिको सडक धुलाम्मे र हिलाम्मेको नियति भोगिरहेको छ । यसले समग्र दाङलाई धुलोको शहर भनेर परिचित गराएको छ ।

हो, दाङ अहिले धुलो र धुँवाको शहर बनेको छ । करिब ५० बढी इटाभट्टा, त्यत्तिकै मात्रामा हाइवेसँगै जोडिएका क्रसर उद्योगहरु, घना बस्तीबीचमा रहेका चारवटा सिमेन्ट उद्योगहरु तथा ग्रामीण बस्तीमा डोजरले वन भत्काएर खनेका सडकहरु धुलोका कम्पनीहरु हुन् । यी कम्पनीहरुले नै दाङ चलाएका छन्, किनकि यहाँ प्रदूषण मापन संयन्त्र छैन । मेरो सेतो टिसर्ट, निर्जिव छ र प्रतिकार गर्न सकिरहेको छैन, जति धुलो आए पनि सहजरुपमा ग्रहण गर्दछ । दिनदिनै मैलो हुँदा धोइरहनुपर्ने ?, मैले सोँचे मेरो टिसर्टको आयु घटेको होला । थाहा छैन, टिसर्टसँगै मेरो आयु पनि धुलोले कति घटाउने हो !

‘हावामा कति प्रदूषण छ ?’ मैले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाइ सोधेँ । मेसिन रामपुरमा राखिएको छ, त्यसलाई हामीले अपडेट गर्न मिल्ने अवस्था छैन, वातावरण मन्त्रालयले नै मोनिटरिङ गरिरहेको छ, वेवसाइटमा हेरेपछि जानकारी हुन्छ’, नगर प्रमुखले सजिलो जवाफ दिए । तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डे त वन तथा वातावरण क्षेत्रमा धेरै गहिरो अध्ययन गरेका व्यक्तित्व हुन् तर तुलसीपुरमा प्रदूषण मापनको कुनै संयन्त्र छैन । यहाँको हावामा कति प्रतिशत धुलोका कणहरु छन् ? कति मानव शरीरलाई हानी गर्ने कार्वनडाइअक्साइड र कार्बन मोनोअक्साइडको मात्रा ?

वातावरण मन्त्रालयको वेवसाइटमा पनि हेरेँ, यहाँको हावामा घुलित प्रदूषणको मात्रा ३६.७ पर माइक्रोग्राम थियो, सँगैको अझै विकसित शहर नेपालगञ्जको भने ३३.९ पर माइक्रोग्राम थियो । प्रमाणित भयो कि नेपालगञ्जभन्दा दाङ प्रदूषित शहर जुन नेपालको मापदण्डमा पनि छैन भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा कसरी पुग्ला ? अर्थात मोफसलको प्रदूषण सार्वजनिक गर्ने सवालमा स्थानीय सरकारहरु बेखवर छन्, मेरो टिसर्टजस्तै । साँझ घर पुग्दा मेरो टिसर्टको प्रदूषण सावुन पानीले नापेको थियो तर यहाँका नागरिकको शरीरभित्र प्रवेश गरेको प्रदूषण कसले नाप्ने ?

सडक इन्जिनियरको सर्वेमा हुँदैन, डोजर ड्राइभरको सर्वेका आधारमा निर्माण भइरहेका छन् । स्तरोन्नतिलाई प्राथमिकतामै राखिन्न तर यत्रतत्र वन क्षेत्रमा सडकका ट्रयाकहरु खुलिरहेका छन् । यसले धुलाम्मे स्वागतलाई गाउँसम्मै पु¥याएको छ । जता ठूला रुखहरु छन्, त्यतैतिर तन्किरहेका छन्, ग्रामीण बस्ती छिचोल्ने सडकहरु । कति स्लोपको उकालो ? इन्जिनियरको आवश्यकता छैन, स्थानीय पालिकालाई डोजर चालकले निर्धारण गरिदिन्छन्, सडकको स्लोप…।

हो, मेरो टिसर्टजस्तै छन् आम नागरिकहरु

सरकारले गरेका कामको खवरदारी छैन, आवाज उठाए पनि अनर्थ बनाइदिन्छन्, उच्च ओहोदाका मन्त्री कर्मचारीले । त्यसैले त टिसर्टजस्तै निरिह नागरिकहरु । जब बोली र विरोधको कदर नै हुँदैन भने…। जसरी निर्जिव टिसर्टले प्रतिकारै नगरी आफ्नो आयु घटाइरहेको छ त्यसरी नै यहाँका नागरिकहरुले पनि प्रतिकार गर्न सकिरहेका छैनन् । मानौं यो सरकारी रबैयाका कारण नागरिकहरु पनि टिसर्टजस्तै निर्जिव हुन विवश छन् । अब त्यो नागरिक म पनि त हुँ नि ! सायद मेरो पनि औषत आयु दिनदिनैको धुलो धुँवाले घटाइरहेको छ ।

काठमाडौँमा प्रदूषणको मात्रा एक्कासी बढ्दा वनमा लागेको डढेलोको कारण भनियो । चिकित्सकहरुले यस्तै प्रदूषण कायम रहेमा मानिसहरुमा हृदयघात, पक्षघात, दम तथा क्यान्सरजस्ता घातक रोगहरुको संक्रमण देखिनसक्ने चेतावनी दिए । काठमाडौँको प्रदूषण कम हुन या त भारी बर्षात हुनुपर्ने छ, या त, तीव्र गतिको हावा चल्नुपर्ने छ । तर त्यो कचौरा आकारको उपत्यकामा तीव्र बेगको हावा चल्ने सम्भावना न्यून छ रे । यहाँको प्रदूषण कसरी हट्ने हो थाहा छैन, बेखवर छन् स्थानीय सरकार । ठेकेदारले चलाएको देशमा मेरो टिसर्टजस्तै निरीह छन् नागरिकहरु । त्यसैले त घोराहीको मुटुमा दशकदेखि हिलो र धुलोले यहाँ आउने पाहुनाहरुलाई स्वागत गरिरहेको छ ।