दाङ चलचित्र छायांकनका लागि उपयुक्त : अभिनेता शाक्य

दाङ १३ चैत । अभिनेता धिरेन शाक्यले दाङ जिल्लालाई चलचित्र नगरीको रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना रहेकोे बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शुक्रबार शाक्यसंग गरेको विशेष साक्षात्कार कार्यक्रम अभिनेता शाक्यले चलचित्र छायाकनका लागि दाङ उपयुत्तः स्थल भएको बताएका हुन । ‘दाङ भौगोलिक हिसाबले केन्द्रिय राजधानीबाट टाढा भएता पनि जिल्लामा चलचित्र छायांकन गर्न सकिने धेरै ठाउँहरु रहेका छन’–अभिनेता शाक्यले भने–‘सम्बन्धित निकायबाट ती स्थानको खोजी गरि विकास,प्रवर्द्धन र सम्वर्द्धन गर्नमा ध्यान दिन आवश्यक छ ।’ उनले जिल्लालाई चलचित्र नगरीको रुप दिन सकिए भोलिका दिनमा दाङ जिल्ला मेकरको लागी छायांकनको उपयुक्त गन्तव्य बन्न सक्ने समेत बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता धिरेन शाक्यले कोभिड–१९ ले थिलोथिलो परेको चलचित्र क्षेत्र चलायमान कहिलेबाट हुन्छ यसै भन्न सकिने अवस्था नभएकाले अहिले चलचित्र निर्माण घोषणा र प्रदर्शन गर्न हतार नगर्दा राम्रो हुने बताए । उनले कोभिड–१९ को यो समयलाई चलचित्रकर्मीहरुले आफुलाई माझ्ने अर्थात् थप सिक्ने समयको रुपमा लिनुपर्ने धारणा समेत राखे।

धिरेन भन्छन्–‘लकडाउनको समयमा दर्शकले घरमा बसेर विभिन्न भाषाका राम्रा भन्दा राम्रो चलचित्र हेरेकाले अब दर्शकले नेपाली चलचित्रपनि त्यही स्तरको खोज्नुहुन्छ,र दर्शकको त्यो चाहाना मेट्न हामीले चलचित्रको कथा देखि लिएर कलाकार अभिनयसम्ममा ध्यान दिनैपर्छ।’

चलचित्र ‘मन्जिल’को सुटिङ गर्न दाङ आएका अभिनेता शाक्यलाई पत्रकारले तपाईंले निर्माण गर्ने चलचित्रको काम के भइरहेको छ ? भन्ने जिज्ञासामा उनले भने वैशाखदेखि छायांकन सुरु गर्ने योजना भएपनि कोभिडको त्रास कायमै रहेकाले तत्काल घोषणा हुने सम्भावना नरहेको बताए । उनले आफ्नो टिम चलचित्रको कथालाई अझ राम्रो बनाउन लागिपर्ने र परिस्थिति सहज हुने वित्तिकै काम सुरु गर्ने बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसी मुस्कानले गरेका थिए ।