के.पी. सुवेदी
हाम्रो स्वास्थ्यमा दैनिकजसो नयाँ समस्या थपिँदै गएका छन् । कोरोनाको महामारी नियन्त्रण हुन सकिरहेको छैन । कोरोना खोप आविष्कार भइसकेको छ तर सबैले लगाउन पाउने पर्याप्त उत्पादन र त्यसको वितरण प्रणाली मिलिसकेको छैन । खोप कति प्रतिशत प्रभावकारी हुने भन्ने स्वास्थ्य विज्ञहरुको मत मिलिसकेको छैन ।
यस्तो द्विविधा भएकोले खोप लगाउनेहरु पनि कोरोना भाइरसको संक्रमणबाट सुरक्षित छु भन्ने महशुस गरेका छैनन् । ढुक्क हुने अवस्था रहन्न पनि किनभने कोरोना वास्तवमा रहस्यमय बनिरहेको छ । यसको अध्ययन एवं अनुसन्धान पुरा भएको छैन र जेजति भएको छ त्यो पनि सर्वमान्य हुन सकेको छैन । विश्वको छाता संगठन संयुक्त राष्ट्र संघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठनको अनुसन्धान विवादमा पर्नु, स्वास्थ्य अन्वेषकहरुको उपलब्ध नतिजा विश्वासयोग्य बन्न नसक्नुजस्ता अनेकानेक समस्या कोरोना भाइरसले जन्माएको देखिन्छ ।
विश्वका सबै मुलुक थोरै धेरै प्रभावित गराउने यो महामारी सदावहारजस्तै हुन थालेको छ । नयाँ नयाँ प्रजातिको कोरोना भाइरस देखिन थालेको हुँदा विभिन्न समयमा आउने महामारीभन्दा बढी खतर्नाक रहेछ भन्ने सामान्य जानकारिबाट भन्न सकिन्छ । अनुसन्धान पुरा नभएको र उद्गम स्रोतको बारेमा अझै स्पष्ट हुन नसकेकोले यसबाट बच्ने उपायहरुका बारेमा सोच्न विज्ञहरुले सुझाउँदै आएका छन् ।
कोरोना भाइरसको जोखिमजस्तै मानव स्वास्थ्यमा चुनौती बनेर अगाडि आएको छ, वातावरणीय प्रदूषण । गत वर्षको यही समयतिर प्रदूषण अत्यधिक मात्रामा बढेर भारतको नयाँ दिल्ली र नेपालको राजधानी काठमाडौंमा दिउँसै रात परेकोजस्तै अँध्यारो भएको थियो । यसपटक विश्वका धेरै सहरहरुमा यस्तै धुमिल दृश्य देखापरेको समाचारले बताइरहँदा विभिन्न सहरहरुको प्रदूषण मापन गरिएको छ ।
हाम्रो देशका मुख्य–मुख्य सहरहरुमा प्रदूषण केही दिनदेखि बढ्दो क्रममा रहेको पाइएको छ । किन र कसरी वायुमण्डलमा यति धेरै प्रदूषण यही समयमा बढ्यो होला ? यसको सजिलो उत्तर छ, धुवाँ र धूलो धेरै हुने याम यही भएकोले वायुमण्डल धमिलो दृष्टिगोचर भएको हो । यही कुरा वातावरणविद् र वातावरणीय स्वास्थ्यका जानकारहरुले बनाइरहेको समाचारमा आइरहेको छ । दुर्भाग्यको कुरा विश्वका प्रदूषित सहरमध्यमा काठमाडौं पहिलो नम्बरमा छ । मानवीय हित अनुकूलका उपलब्धिहरुमा गन्तीमा नआउने हाम्रो राजधानी नराम्रो परिणाम दिने ठाउँमा एक नम्बरमा परेको छ ।
काठमाडौँ बाहिर अन्य सहरहरु पनि तुलनात्मक रुपले कम प्रदूषित देखिए पनि गाउँघरसम्मै यही अवस्था रहेको छ । काठमाडौंमा त सरकारले नागरिकलाई बिना काम बाहिर ननिस्कन भनिरहेको छ । गत वर्षको यही याममा कोरोना भाइरसको महामारी आउने डरत्रासबाट गुज्रिँदै थियो, नेपालको जनमानस । हुन त यतिखेरसम्म दुई जना मात्र संक्रमित फेला परिसकेका तर भारतको विभिन्न स्थानमा संक्रमण तीव्र गतिमा बढ्दै थियो । लकडाउन भइसकेकोले रोजगारीको सिलसिलामा भारतका विभिन्न भागमा काम गर्न गएका नेपाली आफूले काम गर्ने ठाउंँ धमाधम बन्द हुनथालेका कारण घर फर्किन सीमानामा रोकिएका थिए ।
त्यही बेला प्रदूषण बढेर काठमाडौं बाक्लो तुँवालोले ढाकेको बताइएको थियो तर पोहोर साल यो कुरा सामान्यजस्तै यस कारणले भइरहेको थियो कि यसले कोरोनाले जसरी तत्काल ज्यान लिन सक्तैन । आँखा पोल्ने, विझाउने, टाउको दुख्ने, खोकी लाग्ने र स्वासप्रस्वासमा असजिलो महशुस हुने लक्षणहरु सामान्य मानिन्थ्यो । तर यसले कति मानिसलाई दीर्घरोगी बनाउँदै छ भन्ने ज्ञान सर्वसाधारणलाई कसरी होसु ।
ध्यान दिएर हे¥यौँ भने आजभोलि वायुमण्डल धुवाँ र धुलोले बाक्लिएको छ र बादल लागेझैँ घाम मधुरो पारिरहेको छ । सफा गरेर राखिएका घर बाहिरका सामान एकै छिनमा रँगिएका भेटिन्छन् । बारीमा उत्पादित सागपात, फलपूmल, तरकारीहरु र गाईवस्तुले खाने घाँस समेत धुलोले रँगिएर खान नमिल्ने भएका छन् । यसरी वायुमण्डलमा धुलो र धुवाँका कणहरु बाक्लिनुमा धेरै कारणहरु जिम्मेवार रहेका छन् ।
अधिकांश हाम्रो कर्मका कारण बढिरहेको छ । विकासको लहडमा हुने गरेका विनाशकारी क्रियकलाप पहिलो जिम्मेवार देखिएको छ । बाटो बनाउने होडमा गाउँपालिकाहरु कुनै मापदण्डबिनै जहाँ मन लाग्यो त्यहाँ डोजरले खोतलेर धुलाम्य पारिरहेको देखिन्छ । त्यहाँ दोहोरो स्वार्थ हाबी हुन्छ । जनताको सुविधाका खातिर गरेजस्तो देखिने काम वास्तवमा त्यहाँ डोजरको कामलाई हेरेर गरिएको हुन्छ । हुन त यो ठूलो कुरा नहोला तर हजारौँ संख्यमा यस्तै भएदेखि त्यसको असर पक्कै पनि प्रदूषण बढाउन योगदान पुग्छ ।
पछि जतिसुकै विनाशक असर भए पनि, त्यसलाई मध्यनजर गरेर उद्योग सञ्चालनको मापदण्ड बनाएको पाइँदैन । त्यो ज्ञान भएका प्रविधिक जनशक्ति नभएर हो या कुनै वाध्यताले गर्दा हो, दाङको सन्दर्भमा हेर्दा यहाँका सिमेन्ट कारखानाले धुलो छर्ने काम गरिरहेका छन् । उद्योग हाम्रो अर्थ व्यवस्थाका मेरुदण्ड हुन् तर कहाँ सञ्चालन गर्दा त्यसको प्रतिफल लिन कम जोखिम उठाउनु पर्छ भन्ने सरोकारवालालाई वास्तै छैन । घना बस्तीका बीचमा अवस्थित उद्योगहरु अदूरदर्शीताका कारणले वरदान हुनु पर्ने सम्पत्ति अभिशाप बन्दै छन् ।
वातावरणीय प्रदूषणका प्राकृतिक कारणहरुलाई मानिसले निवारण गर्न सम्भव छैन, तैपनि जल, जंगल र जमिनजस्ता जीवनदायी वस्तुहरुलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा तिनीहरुको उपयोग नीति राम्रो हुने हो भने विनाशकारी परिस्थितिको सामना गर्न नपर्ने हुन्छ । लामो समयको खडेरीले उडेको धुलो, वनमा लागेको डढेलोबाट निस्केको धुवाँ वायुमण्डल घुमिरहेकोले हाम्रो स्वास्थ्यमा गम्भीर असर परेको छ ।
स्वच्छ हावामा स्वासप्रस्वास र शुद्ध पानी पिउने अधिकार प्राप्त गर्न प्रत्येक नागरिकको आफ्नो कर्तव्य निर्वाह भए मात्र संभवहुन्छ । यसरि बढिरहने वायुप्रदूषण तथा वातावरणीय प्रदूषण पनि एक किसिमको महामारी आउने संकेत हो ।