भुवन पोख्रेल
नेपालमा रहेका चार मुख्य राजनीतिक दलहरुभित्र नेताहरुबीच कुर्सी र अहम्को तीव्र टकराव छ । नेपालमा पनि कम्युनिस्ट आन्दोलन विश्वव्यापी रुपमा जसरी असफल भएको थियो त्यसैगरी अहिले पतनको संघारमा पुगेको छ । कम्युनिस्टलाई माया गर्ने जनताले गर्दा नै दुईतिहाइको वहुमत प्राप्त गरेको सरकारले नेपाली राजनीतिलाई दलदलतर्फ धकेलिदिएको छ ।
नेता र नेतृत्वको कुरा उठ्नासाथ हामी राजनीतिलाई सम्झने गर्दछाँै । अहिले नेपालमा आम नागरिकले सामाजिक, आर्थिक, सांस्कृति, शैक्षिक परिवर्तनलाई आत्मसात गर्नसक्ने वास्तविक नेता र नेतृत्वको खोजी गरिरहेका छन् । वर्तमान पार्टी नेकपा र नेतृत्वमाथि उनीहरुको जुन भरोषा राखेका थिए, त्यो टुटेको छ । नेपाली राजनीतिमा थुप्रै पार्टीका थुप्रै नेताका अनुहार देखापरे तर दीर्घकालसम्म स्मरण गर्ने लायक नेता मुलुक र जनताले पाउन नसकेको हो ।
हाम्रो समाज जस्तो छ त्यस्तै नेतृत्व जन्मने हो तर हामी कल्पना गर्छौं एउटा यस्तो शक्तिशाली व्यक्तित्व आओस् र सबै समस्या समाधान गरिदेखोस् । देशमा परिवर्तन र जनताको अनुहारमा खुशी झारिदेओस् । कताकता नेतृत्वमा हामी अरु सामान्य मान्छेले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चामत्कारिक व्यक्तिको कल्पना गरेर खोजिरहेका हुन्छौँ ।
नेतृत्व तीन तरिकाबाट जन्मन्छ भनी समाजशास्त्रीहरुको विश्लेषण छ । एउटा जन्मजात अद्वितीय र विलक्षण गुण बोकेको उसको व्यक्तित्व, बोली र व्यवहारले अरुलाई सम्मोहित पार्न सक्ने । अर्को करिश्मा मिहिनेत र परिश्रमबाट बनेको नेतृत्व उसले धेरैलाई तरंगित बनाउन सक्छ, जस्तै गान्धी, अब्राह्म लिंकन । तेस्रो चाहिँ कानुन वैधानिकताबाट नेतृत्वका गुण आउँछन् ।
एउटा असल नेता र नेतृत्व निर्माणमा नेपाली समाज बारम्बार चुकिरहेको छ । हामी सबैलाई थाहा छ नेतृत्व बलवान्, बुद्धिमान, जवाफदेही, पारदर्शी हुनु पर्छ तर ती गुण हामी नेतृत्ववर्गमा भेट्टाउन सक्छौँ । यो बहसको विषय कहिल्यै बन्न सकेन । अहिले हाम्रो अपेक्षा राज्यतिर बढी आश्रित बन्दै छ र नेताप्रति आशा विस्तारै टुट्दै छ । राजनैतिक संक्रमणले समाज पनि परिवर्तन भइसकेको छ । परिवर्तनको सुरुवातमा राजनैतिक नेतृत्व बढी क्रान्तिकारी देखियो तर यत्रो युगान्तकारी परिवर्तन गरेर आएको नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेन ।
अहिले राजनैतिक नेतृत्व जाली र आडम्बरी बनेको छ । किनभने यसले अब भनेका कुराहरु गर्न छाडेको छ । जुनसुकै दलको राजनैतिक नेतृत्व किन नहोस्, सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । राजनैतिक नेतृत्वले हिजो चुनावमा जनतामाझ जाँदा समाजमा थुप्रै मागहरु सिर्जना गरे । आज राजनेतिक नेतृत्व ती मागहरुबाट भागिरहेको छ । यस्ता मागहरुका बारेमा नेता र नेतृत्ववर्गलाई सुत्नेसम्मको फुर्सद छैन । यस्तो नेतृत्व बेइमान हो । यो परिवर्तन सबै जनता लडेर ल्याएको होइन, मैले दिलाइदिएको हो भन्ने मान्यताबाट ग्रसित भएका कारण सामन्ती सोच हाबी भएको छ ।
तानाशाह यस्तै प्रवृत्तिबाट जन्मने हो । अहिले पार्टीको विधान, मुलुकको संविधान, कानुन, नियमहरु मिच्नेको नेतृत्वले पटक–पटक धोका दिइरहेको छ । नागरिकको सर्वोच्चतालाई उनीहरुले आत्मसात गर्न सकेका छैनन् । व्यवहारमा अहिलेको नेतृत्व ढुलमुले मात्र छैन चरम अवसरवादी पनि छ । लोकतन्त्रमा नेतृत्व सामूहिक हुन्छ भन्ने सोच लुप्त भएको नेताहरु हाबी भएका छन् । नेता र नेतृत्वको स्वरुप फेरिनु पर्दछ ।
राजनीति गर्नु भनेको निकै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभमा लागि काम गर्नु हो । संसारमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । अबका नेता र नेतृत्वले आम नागरिकमा पारदर्शीता, त्याग, इमानदारी प्रदर्शन गर्दै अहिलेको बिग्रिएको राजनीतिको कोर्ष परिवर्तन गर्नु पर्छ ।
तर दुर्भाग्य, शासन, सत्ता, शक्तिमा पुग्ने, पार्टी कब्जाको मनस्थितिबाट राजनीतिमा आकर्षित भई होमिएका वर्तमान युवा पुस्तामा राजनेतिक रुपान्तरणको आशा राख्न सकिँदैन । केही टाठाबाठा र जान्ने सुन्ने भएिका नेताहरु पनि अघिल्लो पुस्ताका नेताहरुको अनुकम्पाबाट माथि उठ्ने अवसर खोज्ने दासताको प्रवृत्ति देखिन्छ ।
सफल नेतृत्व दुर्लभ गुणहरुको विशिष्ट समिश्रण हो, इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि त्यसका प्रमुख तत्वहरु हुन् । जुन जोगी आए पनि कानै चिरेको भनेझौ भयो नेपालमा व्यवस्था फेरियो अवस्था फेरिएन । नेतै ठिक भएनन् भन्ने जनआक्रोश बढेको छ । देशको अवस्था किन बिग्रियो भन्ने प्रश्नको उत्तर नेतृत्ववर्गको असक्षमतामा आएर ठोकिन्छ । राजनीतिक अस्थिरता, विदेशी हस्तक्षेप, आन्तरिक द्वन्द्व, अर्थतन्त्रको सुस्तता सबैको दोष भनेको नेतृत्वको कमजोरीलाई मानिन्छ ।
नेपालमा निष्ठावान् नेता टर्च बालेर खोज्नुपर्ने स्थिति छ । पद, कुर्सीका लागि मरिहत्ते गर्ने जुको टाँसिएझैँ टाँसिइरहने, दोष जति अरुलाई थोपर्ने, आफू चाहिँ दूधले नुहाएकोझैँ गर्ने, एकअर्कालाई हिलो छ्याप्ने, बीचमा हलो हड्काउने प्रवृत्ति देखिन्छ । राजनीति आफैमा झुठ, कपट, मूर्खता, घृणा, पागलपनको थुप्रो र फोहरको डंगुर हो भन्ने जर्ज अर्बेलको भनाईलाई नेताले पुष्टि गरे । सत्तामा पुगेपछि बुद्धिमानले पनि विवेक गुमाउँछ र विद्वता गुमाउँछ ।
नेताहरुका भाषणमै हामीले साथ र हात पिटिरह्यौँ । यदि सत्ताको सम्मोहन नभएको भए प्रतिनिधि सभाको विघटनजस्तो भयानक राजनीतिक जटिलता र दुर्घकटना हुने थिएन । नेताहरुमा त्याग गर्नै प्रवृत्ति छैन । जनताको खाना, नाना र छाना नभएको ऐनाजस्तै छर्लङ्ग छ । नेतृत्व किन तिमी आँखा चिम्लन्छौँ ? किन जनताका रोदन, क्रन्दनलाई सुन्ने धीरता राख्दैनौ ? किन कानमा ठेटी कोचिए ? नेतृत्वले सधैँ अग्रगामी र क्रान्तिकारी बाटो हिड्नुपर्ने हो ? त्यो भनेको शान्ति, सकारात्मक परिवर्तन र स्थायित्वको बाटो । विकास, समृद्धि र उन्नयनको बाटो हो तर नेताहरुले त्यो बाटो हिड्न बिराएर प्रतिगमनको बाटो रुचाए ।
एउटा कुशल शासकलाई देशको भविष्य चिन्ता हुन्छ भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको । को कुटिल हो ? को देशको भविष्यको चिन्ता भएको नेता हो ? जनताले बेलैमा चिन्न सक्नु पर्छ । जब नेताले छेपारोलेझैँ रुप बदल्न पुग्छन् जनता झुक्किने नै भए र धोका शिवाय केही भएन । नेतालाई इमान्दार, निडर, आदर्शता, वास्तविकता र बौद्धिकताको कसीमा उतार्न सक्नु पर्छ । कि मार्क ट्वेनले भनेझैँ बच्चाको डायपर र नेता समय समयमा फेरिरहनु पर्छ । यी फेर्नुको कारण संक्रमणबाट बचाउनु हो । नेता बनाइनु पर्छ र फेर्नु पनि पर्छ । नेता र नेतृत्व बनाइन्छ, जन्माइँदैन ।
हामी भने कोही चामत्कारिक गुण भएको नेतृत्व जन्मेला कि भनेर पर्खेर बसेका छौँ । मार्क ट्वेनले यदि भोटले परिवर्तन ल्याउँथ्यो भने नेतृत्ववर्गले हामीलाई भोट नै गर्न दिने थिएनन् भनेर त्यत्तिकै भनेका रहेनछन् । नेपालमा २००७ सालमा प्रजातन्त्र, २०४७ सालमा वहुदलीय प्रजातन्त्र, २०६२÷०६३ सालको जनआन्दोलनले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो, चुनाव त कति भयो कति । जनताको जीवन स्तरमा कुनै तात्विक परिवर्तन भएन । नेतृत्व लिनेसँग रणनीतिक सोच, योजना, व्यवस्थापन, सञ्चार, उच्च विचार, उत्प्रेरित सीप, भिजन, मिसन, गोल, करिश्मा, होसपूर्ण बौद्धिकता हुनु पर्छ ।
यी बिनाका नेताको झण्डले कसरी मुलुकलाई डुब्नबाट बचाउन सक्ला ? नेपालमा नेतृत्व स्वार्थ केन्द्रित सिद्धान्तमा बल्झेको छ । आत्मकेन्द्रित नेतृत्वका कारण एक उच्च नेतृत्व नै भइरहनु स्थिरता हो नत्र राजनेतिक अस्थिरता आउँछ मुलुकमा भन्दै
आत्मरती गाउँछ भने अर्को नेतृत्व म नै हुनुपर्छ नत्र आकाश खस्छ भनी अलाप गाउँछ । दुवै घटिया स्वार्थको दलदलबाट माथि उठ्ने चेष्टा नै गर्दैनन् । मेरो गोरुको बाह्रै टक्का तथा आmू भलो त जगत भलोमै छन् । मुलुकमा समृद्धि र विकासको त कुरै छाडाँै नेताले सामान्य आचारसंहिता समेत पालना गरेको पाइँदैन । लुई चौधौँलेझैँ म नै राज्य हुँ भन्छन् । जनतालाई माछोमाछो भ्यागुतोको खेलमा भुलाएर नेताले आफ्नै घरमा आगो लगाउने र यो खरानी बेच्दा थुप्रै आम्दानी हुन्छ भनी जनतालाई झुक्याइरहने छन् ।
यसरी नेताले कपटपूर्ण व्यवहार गरेपछि जनता रुने नै भए । नेता भनेको त्यो हो जसले आफूजस्ता हजार नेता जन्माउँछ । नेता भनेको योजनालाई यथार्थमा बदल्ने, बाटो चिन्ने, बाटोमा हिड्ने र बाटो देखाउने व्यक्ति हो । समाजलाई प्रगतिशील बाटोमा अघि बढाउने व्यक्ति नै नेता हुन् । राजनीतिक नेतृत्वले जनताका लागि बाँच्न सकेन भने ऊ जनताको नेता बन्नै सक्दैन । नेपालमा सत्ता र शक्तिको भोकले नेतृत्ववर्गले नैतिक र अनैतिक कर्मबीचको भेद बुझ्न छाडेका छन् ।
सरकार गठन र विघटनलाई सामान्य प्रक्रिया मात्रै पनि लोकतन्त्र होइन । यो त लोकतन्त्रको सबैभन्दा कुरुप पक्ष हो । यसले लोकतन्त्रका सुन्दर पक्षहरुलाई परास्त गर्दै नेतृत्ववर्गप्रतिको जनविश्वास घटाउँदै गएको छ । अहिले राजनीतिक नेतृत्व अलोकप्रिय बन्ने बाटोमा अघि बढेका छन् कि फलानो नेता आउँदै छन्, उनले देश बनाउने कुरा बोल्ने छन् भनेर पत्याउन जनताले छाडिसके । समाज बदल्छु, देश बनाउँछु भनेर सत्तामा पुगेकाहरुले रातारात महलमा पुगेर झुपडीबाट नव धनाढ्यका रुपमा स्थापित भएको देख्दा जनविश्वास किन नटुटोस् ।
गरिबका नेता जसले भारी बोक्ने मज्दुरहरु, कुटोकोदालो समाउने, गिट्टी, बालुवा कुट्नेहरुलाई बाँडिएको मुक्तिको सपना फगत सपना नै रह्यो । जनताको चुलोचौको उस्तै रह्यो, कसरी नटुटोस् उनीहरुको विश्वास, राजनीतिक नेतृत्ववर्गप्रति । जनतालाई खालि भोटबैंकको रुपमा हेर्ने नेतृत्वका कारण घृणा जन्मिएको छ । लोकतन्त्रका नाममा जनतामाथि शासन गर्नेहरुले त जनताका पिरमर्का बुझ्नु पर्दथ्यो । संसारमा सामाजिक न्याय र समानताको वकालत गर्ने कम्युनिस्टहरुले नै जनताका यथोचित मागको सम्बोधन गर्न नसक्नु विडम्बना र दुर्भाग्यको कुरा हो ।