दाङ, १२ चैत । चीनको वुहान सहरबाट फैलिएको कोरोनाले विश्वव्यापी महामारीको रुपमा लियो । कोरोना विस्तारै फैलन थालेपछि सरकारले पहिलोपटक २०७६ साल चैत ११ गते देशव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यो बुधवार एक वर्षसमेत पुगेको छ ।
एक हप्ताका लागि घोषणा गरिएको लकडाउन थप्दै ५ महिना पुग्यो । कोरोना महामारीका कारण लकडाउन लम्बिँदा हरेक क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको थियो । लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिना मुलुकमा व्यापार–व्यवसाय लगायतका गतिविधि ठप्प भयो । दुःखद् संयोग नै मान्नुपर्छ, २०७७ चैत ११ सम्म आइपुग्दा जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको दोस्रो लहर फैलन सक्ने चिन्ता प्रकट गरेका छन् ।
उनीहरुले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिन सरकारलाई घच्घच्याउन थालेका छन् । संक्रमणको जोखिम कायम रहेका केही क्षेत्रमा त्यसपछिका केही महिना निषेधाज्ञा जारी भयो । जसका कारण आम सर्वसाधारणको जनजीवन निकै कष्टपूर्ण बनेको थियो भने मुलुककै अर्थतन्त्र पनि नराम्ररी प्रभावित भएको थियो ।
लकडाउन, लकडाउनपछिको निषेधाज्ञा र चरम आर्थिक संकटबाट गुज्रिएको मुलुकले सो अवधिमा झण्डै सवा खर्बको नोक्सान ब्यहोरेको विभिन्न तथ्याङ्कले देखाउँछ । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने गत वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले नै ऋणात्मक भएको छ । अझ कोरोनापछिको लकडाउनका कारण उक्त दर १५.४ प्रतिशतमा खुम्चिन पुगेको विभागको भनाइ छ ।
गत वैशाखमा २.२७ प्रतिशतको आर्थिक वृद्धिदरको आँकलन गरेको विभागले जेठ महिनाबाट आर्थिक गतिविधि नियमित हुने अनुमान गरेको थियो । तर असारसम्म बन्दाबन्दीको अवस्था रहेपछि देशको आर्थिक वृद्धिदरमा ठूलै झट्का लाग्न पुग्यो । कोभिड–१९ को महामारीले मुलुक लकडाउनमा जाँदा उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय ठप्प भएर मुलुकको उत्पादनमा ह्रास आउनका साथै ठूलो आर्थिक संकट उत्पन्न भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार कोभिड कालमा मुलुकको झण्डै ७३ प्रतिशत उद्योगधन्दा उत्पादनविहीन भए । ३.३ प्रतिशत हिस्सामा रहेका ठुला उद्योगलाई छाड्ने हो भने ९६.७ प्रतिशत उद्योगमध्ये ७३ प्रतिशत उद्योग तथा कलकारखानाको उत्पादन घटेको बैंकको तथ्याङ्कले देखाएको छ । बैंकका अनुसार बन्द हुने तथा उत्पादनमा जान नसक्ने अधिकांश उद्योगहरुमा साना, लघु तथा मझौला उद्योग छन् ।
राष्ट्र बैंककै तथ्याङ्कमा टेकेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको तथ्याङ्कले समेत कोभिड–१९ का कारण कुल उद्योगको १०.८१ प्रतिशत पूर्णरुपमा बन्द हुन पुगेको र अधिकतम ८९.१९ प्रतिशत उद्योग आंशिक मात्र उत्पानमा गएको देखाएको छ । सो तथ्याङ्कअनुसार बन्द हुने उद्योगहरुमा अधिकांश लघु, घरेलु तथा साना उद्योग नै छन् । लकडाउनकै कारण सो अवधिमा अधिकतम २२.५ प्रतिशतले रोजगारी गुमाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
कोरोना संक्रमणका कारण मुलुकले ४ दशकयताकै कठिन अर्थतन्त्रको सामना गर्नुप¥यो । पछिल्लो समय विस्तारै उठ्दै गरेको मुलुकको अर्थतन्त्रमा फेरि संकट आउने त होइन भन्ने आशंका बढ्न थालेको छ । छिमेकी मुलुक भारतसहित विश्वका केही मुलुकमा कोभिडको दोस्रो लहर आउन थालेको समाचार प्रकाशमा आइरहेका छन् । खुला सीमा भएका कारण भारतमा संक्रमणको दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
मंगलबारमात्र भारतमा एकैदिन २ लाख जनामा कोभिड–१९ को संक्रमण देखिएको समाचार प्रकाशमा आएको छ । नेपालमै पनि विगत दुई दिन यता सयभन्दा बढीको संख्यामा संक्रमित फेला परेका छन् । जबकि केही महिना यता नेपालमा संक्रमितको संख्या दैनिक सयभन्दा कम रहँदै आएको थियो । यो अवस्थाले फेरि मुलुकमा लकडाउन हुने त होइन भन्ने आशंका उब्जाएको छ । यिनै आशंकाका बीच उद्योग–व्यवसाय क्षेत्र पनि चिन्तित देखिन थालेको छ ।
संक्रमण उच्च भए लकडाउन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दूरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए ।
उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’ उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भीडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भीडभाड बढेको देखिन्छ ।
मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ । काठमाडौ विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताइन् । उनले भनिन्– ‘दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सर्तक हुनुपर्छ ।
विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ ।’ बुधावर नेपालमा कोरोना भाइरसका १ सय ४५ जना संक्रमित थपिएका छन् । १ सय ४५ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९ सय ६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दीपकुमार अधिकारीले बताए । यस्तै, ९० जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७२ हजार १ सय ८७ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल १ हजार १ सय ८२ जनामा कोरोनाको संक्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टाइनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ । हालसम्म ३ हजार २० जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।