इलाम,१२ चैत । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृह जिल्ला फर्किनुभएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन । इलामको माई नगरपालिका–१० लुम्बाकका तिम्सिनाले बिहीवार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन ।
नागरिकताका लागि उनी आफ्ना भतिज गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायत जिल्ला प्रशासन कार्यालयमा गएका थिए ।
नागरिकताका लागि कार्यालय पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३–०१७७–०३२५१ नम्बर भएको नागरिकता प्रदान गरेका हुन ।
तिम्सिनालाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले टीका लगाउँदै खादा ओढाएर सम्मान गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा खुसी भएको दिएका थिए । कार्यालयमा तिम्सिना आइपुग्नुभएको २० मिनेटभित्रै नागरिकता प्रदान गरिएको थियो ।
तिम्सिनालाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत ४ गते बुधवार रिहाइको आदेश दिएको थियो । आदेशअनुसार उहाँ शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुट्नुभएको हो । व्यक्ति हत्या अभियोगमा सुनुवाइविना नै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार घर आइपुग्नुभएको थियो ।
२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मङ्गलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता भएका थिए । २०१७ सालमा जन्मिएका उनी ४० बर्ष भारतीय जेलमा समय विताएका थिए ।