बैकनीहरूको गाउँ बयलपाटा

युवराज शर्मा

स्वास्नी मान्छेहरुलाई अछाम जिल्लामा बैकनी भन्छन् । उनीहरुको स्थानीय भाषामा यस्तो शब्द प्रयोग गर्ने चलन छ । त्यहाँका महिला विवाहपछि गाउँ छोडेर जाने हुँदा बैकानी भनेको रहेछ । वास्तवमा महिलाहरु विवाहपश्चात लोग्नेको घरमा भित्रिने वैवाहिक परम्परा हो । उनीहरुले गाउँ छोडेर जाँदा आफ्नो पारिवारिक र सामाजिक गुणहरु पनि साथै लिएर जान्छन् ।

लोग्नेको घरपरिवार र गाउँको सामाजिक वातावरण हेर्छन् । उनीहरुले आफूलाई परिवर्तन गर्ने प्रयास गर्छ । तर अछाम जिल्लाको बयलपाटा गाउामा महिलाहरुले विवाह गर्छन्, गाउँमा भएका युवकहरुसँग मात्र । उनीहरुको मागी विवाह हुन्न, भागी विवाह धेरैले गर्छन् । त्यसैले होला महिलाहरलाई बैकनी भन्ने गरेको । त्यस्तो युवाहरले भारतको बम्बई सहरमा काम गर्छन् । धन कमाउँछन्, घर आउँछन् र धनको मुठो आफ्नी बैकनीलाई दिन्छन् । उनको बैकनीले धनबाट धन नै जोड्छिन् । धन जोड्नु भनेको सूनचाँदीका गहनाहरु किन्नु हो ।

त्यसलाई लगाएर आफू सुशोभित बन्छिन् । घर बस्दासम्म पत्नीको सुन्दरतामा लोग्ने रमाउँछन् । उनले आफ्नो बिदा सकिएपछि आफ्नो कार्यक्षेत्रतर्फ जान्छन् । पत्नीले घर रुँङ्ने त्यहाँको चलन मात्र होइन विदेशिने विवाहित युवाहरको अवस्था नेपालमा यस्तै अवस्था छ । कतिपय महिलाहरु आफ्नै पतिद्वारा एड्सको रोगबाट पीडित बन्छन् । उनीहरु भन्छन् – बम्बईमा रोग सल्क्याएर लोग्ने बम्बई गया छन् । उनीहरु भन्छन् ।

त्यस्ता रोगी महिलाहरले पतिको मुहार हेर्न नपाउँदै मत्यु वरण गरेका घटनाहरु हुन्छन् । यस्ता घटनाहरुलाई हेर्दा महिलाहरु अपराधबिना मृत्यु वरण गर्नु पेको छ । त्यो पनि धन पैसाको लोभमा लोग्नेको विकृति सम्झेर घरमा बालबालिका टुहुरा बन्छन् । बाबु घरमा आउँदा घर नै रित्तो, घरमा अँध्यारो मात्र देख्छन् । बाबुले छोराछोरीका अगाडि आँसु बगाउँछन् ।

बयलपाटा अछाम जिल्लालाई हेर्दा सुन्दर, शान्त, समपन्न र भरिपूर्ण आर्थिक सम्पन्नताको गाउँ देखिए तापनि सामाजिक वातावरण सभ्य, सुन्दर र मनमोहक बन्न सकेको छैन । त्यस गाउँको दक्षिणी भाग समथर छ । जहाँ साँफेबगर हवाई मैदान छ । भिरालो र बसेको भूभागले गर्दा प्राकृतिक मनोहर दृश्य बनेको छ, बयलपाटा गाउँ । खास गरी यहाँ युवकहरुलाई वयल र महिलाहरुलाई बैकनी भन्ने चलन प्राचीनकालदेखि चल्दै आएको चलनचल्तीको शब्दहरु हुन् ।

केटाले केटीलाई भगाई लग्ने चलनको विवाह प्रथा भैको र केटीले पनि केटाको धनपैसा हेरेर, हात पारेर भागी जाने चलन भएको वातावरणले गर्दा गाउँलाई बयलपाटा भन्छन् र भागी जाने केटीलाई बैकनी भन्दा रहेछन् । यस्तो चलन कुनै निश्चित जातजाति, लिङ्ग, वर्णमा मात्र सीमित छैन । आर्थिक समस्याले परिवारमा धेरैजसो भागी विवाह हुने गर्छ । शिक्षाको पहुँचमा केटाकेटी भए पनि स्थानीय चलनको प्रभाव मानव समाजमा हुन्छ । त्यस्तै अवस्थाको वातावरणीय प्रभाव परेको छ ।

नेपालको परम्परा रीतिरिवाज पनि स्थानीय परम्परामा निर्भर हुने हुँदा सामाजिक झलकले स्थानीय वातावरण देखिन्छ । सून, उन, लुगाफाटो र धनसम्पत्तिले धनी स्थानमान सभ्यताको झलक बयलपाटाले दिएको छ । अग्ला घरहरु, रसिला र भरिला व्यक्तिहरुको बसाईलाई हेर्दा बम्बईको झल्को दिन्छ, बयलपाटा गाउँले । वर्तमान समय भड्किलो छ ।

तडकभडकलाई महत्व दिन्छन् । त्यसकारण बयलपाटाको महत्व बढेको छ । त्यहाँका महिलाहरुले तीन प्रकारको यातनाबाट पीडित छन् । उनीहरुको पीडाका लागि सरकारबाट चेतना र जागरण गराउन सकिएको छैन । उनीहरुले परम्परागत धार्मिक आस्थालाई परिवर्तन गर्न सकेका छैनन् ।

छाउपडी प्रथा

यो प्रथामा महिलाहरु महिनावारी हुँदा घरदेखि टाढा भएको छाउगोठमा खाने, बस्ने र सुत्ने गर्छन् । कतिपयलाई सर्पले डसेर मृत्यु वरण गर्छन् । धेरै युवतीहरु बद्मास पुरुषको बलात्कारमा पर्छन् । कतिपय युवतीहरु जो पहिलो पटक महिनावारीका कारणले मानसिक संकटमा पर्छन् । उनीहरु मानसिक कमजोरीमा पर्छन् । धेरैजसो पढ्ने विद्यार्थीहरु हुन्छन् ।

त्यस्ता युवतीहरुले बीचैमा पढाई छोड्छन् । सुस्तमनस्थितिका बन्छन् । यस्तो समस्यामा बयलपाटाका बैकनीहरु पीडित छन् ।उनीहरुको सुरक्षा समस्या छ । खास गरी बयलपाटा प्रकृतिक रुपमा जति सुन्दर छ, नारीहरुको अवस्थामा पीडित गाउँ बनेको छ । छाउपडी प्रथालाई नारी चेतना र जागरणले मात्र पुग्दैन । हुन त सरकारी प्रयासमा छाउपडी गोठहरु भत्काउने अभियानहरु नभएका होइनन् । तर त्यस्ता कार्यक्रमहरु सफल हुन पनि सकेनन् ।

त्यहाँको परम्परा परिवर्तन गर्नुपर्ने कार्यक्रमहरुको खाँचो छ । त्यसबाट त्यहाँको सामाजिक सुधार हुन्छ । त्यसका लागि पुरुषवर्गमा चेतनाकरण गराएर जागरणको भावना बढाउनु पर्छ । उनीहरु जागृत नभएसम्म छाउपडी प्रथा हटाउन सकिन्न । पुरुषहरुको ताड्ना र प्रताडनाका कारण छाउगोठ बनेको हुन्छन् । परम्परागत धर्मका आडमा महिला शोषण र दमन कार्यहरु बढिरहेको छ । हिंसात्मक कामहरु भइरहेका छन् । बलात्कारका घटनाहरु पनि धेरै संख्यामा सुदूरपश्चिम क्षेत्रमा देखिन्छ । त्यसकारण बैकनीहरुको आँसुमा बग्दछ बयलपाटा गाउँ भन्छन् ।

बालविवाह प्रथा

बालिका महिनावारी भएपछि विवाह गरिदिन बाबुआमा आत्तिन्छन् । त्यहाँका ठूलो धार्मिक स्थल रामारोशनमा छोरीको विवाहका लागि वर चाँडै मिलोस् भन्ने शब्द प्रयोग गर्दै भाकल गर्छन् । बाबुलाई भन्दा आमालाई छोरीको विहेको पिरलो हुन्छ । चाँडै पोईका घरमा पठाउन पाए मनको शान्ति हुने ठान्छन् । यसले बालिका शिक्षा पाउनबाट वञ्चित हुन्छिन् भने सानै उमेरमा बच्चाको आमा बन्छिन् । आफ्नो स्वास्थ्य कमजोर बनाउँछिन् ।

पराई घरमा गएपछि पराई घरको संस्कार अपनाउँछिन् । तर वर्तमान समयमा उमेर छिप्पेका छोरीहरुको विवाह पश्चात कर्मघरको संस्कार अपनाउँदैनन् । माइती घरको संस्कार अपनाउने चलन छ । त्यसैले घरमा अन्तरकलह भएको पाइन्छ । छोराछोरी छोडेर पतिसँग छोडपत्र गर्ने चलन पनि बढेको छ । विवाहपश्चात बेमेलको वातावरण बनेपछि छोडपत्र भएका घटनाहरु हुन्छन् । बयलपाटा गाउँमा विवाह पश्चात घरमा आर्थिक अभाव बढेपछि पैसावाल पति छान्ने चलन धेरै देखिन्छ । यहाँका लोग्ने मान्छेहरु बम्बई, पुना, गोवा सहरहरुमा काम गर्छन् । धेरै धनपैसा कमाउँन्छन् ।

त्यस्तो परिवारले आफ्ना छोराछोरीहरुलाई शिक्षा प्रदान गराउनुभन्दा चाँडो विवाह गरिदिने चलन छ । त्यस कारण बालविवाह बढेको अवस्था छ । यसलाई नियन्त्रण गर्न कानुनमा जस्तोसुकै व्यवस्था भए पनि परम्परागत रीतिरिवाजमा परिवर्तन आउन सकेको छेन । त्यसकारण बयलपाटा गाउँ बैकनीहरुको गाउँ भएको छ ।

बम्बईमा रोगको प्रभाव

अछाममा बम्बईमा रोग भनेको एड्स हो । यहाँका महिलावर्गमा बम्बईमा रोग आफ्नो कारणले फैलिएको होयन । आफ्ना लोग्नेहरुले बम्बईमा रोजगारी गर्ने हुँदा उनीहरुले गलत कार्य गरेर एचआइभि÷एड्स संक्रमित भए । त्यस्ता व्यक्तिहरु घरमा आएका बखत परिवारसँग मिलनका कारण रोग सारेको हो । उनीहरु आफ्नै लोग्नेबाट रोगी बनेका छन् ।

यस्तो संख्या बयलपाटा गाउँमा धेरै संख्यामा देखिएको छ । त्यहाँका महिलाहरुमा यो रोग नियन्त्रण हुन सकेको छैन । महिला र पुरुष एड्स रोगीहरु धेरै भेटिन्छन् । बम्बईबाट ल्याइएको रोग भएकाले बम्बैया रोग भनेको हो । यस रोगको रोकथाम गर्न धेरैजसो सरकारी र गैरसरकारी संस्थाहरु संलग्न छन् । उनीहरुबाट जति प्रयास भए पनि बयलपाटा गाउँ रोगमुक्त बन्न सकेको छैन ।

नवविवाहित किशोरीहरु यो रोगबाट त्रसित बनेका छन् । साथै उनका लोग्नेहरु काम विशेषले रोजगार गर्न बम्बई जानेहरुलाई भन्छन्– घर फर्कंदा बम्बैया रोग लिएर नआउन आग्रह गर्छन् । पत्नीको आग्रहलाई बेवास्ता गर्नेहरु पछुताउँछन् ।

नेपाली महिलाहरु शारीरिक, मानसिक, बौद्धिक, सामाजिक र स्वास्थ्य समस्याले पीडित छन् । त्यसमा बयलपाटाका महिलाहरुको पीडालाई संघीय, प्रदेश र स्थानीय सरकार सजग बन्नुपर्ने अवस्था छ । जहाँ छाउपडी प्रथा, बालविवाह र बम्बैया रोगले समस्यामा छन् । उनीहरुको समस्या समाधान गर्न गाउँस्तरबाट घर–घरमा चेतनाको लहर फैलाउनु पर्छ । त्यस्ता विषयहरुमा ज्ञान गराएर जागरण गराउनु पर्छ ।

सामाजिक परिवर्तन पनि मानव स्वभावमा ल्याउने परिवर्तित सोचाई हो । यसमा स्थानीयवर्गका ज्येष्ठ नागरिकहरुको अगुवाई हुनुपर्छ । ज्येष्ठ नागरिकहरुले दिने ज्ञानबाट जागरण सिर्जना हुन्छ । तब मात्र परम्परागत रीतिरिवाजमा परिवर्तन गर्न सकिन्छ । नवदम्पत्तिहरुले सुधार गर्छु भन्दैमा सुधार हुन सक्दैन र समाज रुपान्तरित हुन पनि सक्दैन । यही समस्याले गर्दा नेताहरुले परिवर्तनका स्वरुप देखाए पनि समाजले स्वीकार्न सकेन । नेताहरुमा अन्तरकलह बढ्दै गयो । त्यसकारण बयलपाटाको प्राकृतिक सुन्दरतामा मानवीय संस्कार निर्माण गर्न ज्येष्ठ नागरिकहरुको अगुवाई आवश्यक छ । सरकारको ध्यान जानु पर्छ ।