ड्रायगन खेतीमा कृषकको आकर्षण

शिवराज खनाल

दाङ, ३ चैत । लमही नगरपालिका–१ कौडियाका चन्द्रप्रसाद भट्टराईले ड्रायगन फ्रुटको खेती गर्न थालेको ४ बर्षभन्दा धेरै भइसकेको छ । उनको बारीमा सिमेन्टका खम्बा गाडिएको छ । खम्बाको पिँधमा ड्याङ बनाई विरुवा रोपिएको छ ।

गत पुसमा रोपिएका विरुवा हुर्कंदैछन् भने पुराना बिरुवा फुल्ने तरखरमा रहेका छन् । दाङमा व्यावसायिकरुपमा यस खेती गर्ने उनीमात्र छैनन्, उनीजस्तै धेरैले ड्रायगन फ्रुटको खेती गरेका छन् । मानिसहरु रहरले घरका छत तथा रेलिङहरुमा राखिएका गमलामा समेत यो खेती थालेका छन् । भट्टराईले आफ्नो १ बिगाहा जग्गामा १५ सय वटा विरुवा रोपेर यसको खेती गरेका छन् ।

काठमाडौंमा एजेन्टमार्फत प्रतिविरुवा पाँच सय रुपैयाँमा खरिद गरेको उनले बताए । उनले ड्रायगन खेती गर्दा गाउँलेले सिउडी लगाएर पनि खेती हुन्छ र भन्दै गिज्जाउने गरेको तर आजभोलि धेरैको आकर्षण भएको उनले बताए । ड्रायगन सिउँडी प्रजातिको वनस्पति हो । यसको फल बाहिर र भित्र रातो हुने, बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पहेंलो र भित्र सेतो हुने गरी तीन प्रकारको हुन्छ । भट्टराईले दुई थरीको विरुवा लगाएका छन् ।

एउटा ड्रायगन फ्रुटको फल ५०० ग्रामदेखि १ किलोसम्म हुन्छ । जेठदेखि असोजसम्म यो फलको उत्पादन लिन सकिन्छ । पछिल्लो समय ‘ड्रायगन फल’ले लोकप्रियता पनि बढेको छ । यस खेती गर्नलाई अरु खेतीभन्दा केही सहज भए तापनि लगानीका हिसाबमा केही महंगो पर्ने तथा आम्दानी भने राम्रो रहेको कृषकहरु बताउँछन् । झट्ट हेर्दा सिउँडी जस्तो देखिने यस फलमा अधिकमात्रामा क्यालोरी पाइने गर्दछ । धेरै प्रकारको औषधि काम गर्ने यस फलले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने बिज्ञहरु बताउँछन् ।

रसिलो, स्वादिष्ट यस फलले रोग प्रतिरोधात्मक क्षमता बढाउने, शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने ल्याकत राख्ने हुनाले यो जस्तोसुकै रोग लागेका ब्यक्तिले पनि खान सकिन्छ । प्रतिकिलो ८ सयदेखि १ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको र प्रतिविरुवा २ सय ५० का दर बिक्री वितरण भइराखेको छ ।