८ महिनामा १५७ सवारी दुर्घटना, ५७ जनाको मृत्यु

लिलाधर वली

दाङ, ४ चैत । दाङमा बितेको ८ महिनाको अवधिमा १ सय ५७ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने २ सय बढी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङअनुसार गएको साउनदेखि फागुन महिनासम्म जिल्लाका विभिन्न स्थानमा भएका १ सय ५७वटा सवारी दुर्घटनामा ४ बालक, १ बालिका, ५ महिला र ४७ जना पुरुष गरी जम्मा ५७ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा साना र ठूला गरेर २ सय १५ वटा सवारी साधानहरु परेका छन् । सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए ।

चालकले लापरबाही गरेर, मापसे गरेर चलाउने, ओभरस्पिड हुँदा कन्ट्रोल गर्न नसक्नुलगायतका कारण जिल्लामा सवारी दुर्घटना बढी हुने गरेको उनले बताए । त्यस्तै कमजोर सडकको अवस्था, ओभरस्पिड, सडकमा ट्राफिक संकेत नहुनुले पनि थप दुर्घटना हुने गरेको प्रमुख जिसी बताउँछन् । ‘जिल्लामा समग्रमा प्रतिमहिना ६÷७ जनाको मृत्यु हुने गरेको छ, त्यसको मुख्य कारण भनेको चालकको लापरबाही हो’, ट्राफिक प्रहरी प्रमुख जिसीले भने– ‘दुर्घटना न्यूनीकरणका लागि अनेक प्रयास गर्दा पनि रोकिन सकेको छैन ।’ उनले ८० देखि ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण जिल्लामा हुने गरेको बताए । तर विगतको तुलनामा दुर्घटनामा कमी आएको उनी बताउँछन् ।

ट्राफिक प्रहरीका अनुसार साउन महिनामा सबैभन्दा धेरै दुर्घटना २९ वटा भएका छन् । त्यसैगरी भदौमा २३, असोजमा १३, कार्तिकमा १५, मंसिरमा २२, पुसमा १९, माघमा १५ र फागुनमा २१ वटा दुर्घटना भएका छन् । यी दुर्घटनामा सामान्य र गम्भीर गरी २ सय बढी घाइते भएका छन् । जसमा १ सय २१ पुरुष, ३२ महिला र १९ बालबालिका गम्भीर घाइते भएका छन् भने ४४ पुरुष, १२ महिला र १० बालबालिकाहरु सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दुर्घटना हुनेमा साना सवारी धेरै

जिल्लामा दुर्घटना हुनेमा बढी साना सवारीहरु रहेका छन् । ट्राफिक प्रहरीको तथ्यांकअनुसार ८ महिनाको अवधिमा दुर्घटनामा परेका २ सय १५ सवारी साधनको संख्यामध्ये मोटरसाइकलको संख्या मात्र दोब्बर बढी १ सय २६ रहेका छन् । त्यसैगरी जीप÷कार २० र अटोहरु १९ वटा दुर्घटनामा परेको ट्राफिक प्रहरी हवल्दार काशीनाथ चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार बस र ट्रक १२÷१२, ट्याक्टर ८, टिप्पर ४, माइक्रो १ र अन्य एक रहेका छन् । जसबाट १ करोड ३१ लाख ३१ लाख ८८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख जिसीले जिल्लामा दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको मुख्य चुनौतीका रुपमा देखापरेको बताए ।

साढे दुई करोड राजश्व संकलन

ट्राफिक नियम उल्लंघन गरी चलाउने चालकलाई कारबाही गर्दा प्रहरीले ८ महिनाको अवधिमा करिब साढे २ करोड राजश्व संकलन गरेको छ । साउनदेखि फागुन महिनासम्म ट्राफिक नियमविपरीत चल्ने ४१ हजार ५० वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ४७ लाख ४० हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले सबैभन्दा धेरै राजश्व १४ हजार ३ सय २६ सवारी साधनलाई कारबाही गर्दा ९४ लाख ४५ हजार संकलन गरेको छ । त्यसैगरी गरी ४ हजार ४ सय ४२ वटा जीप र कारलाई कारबाही गर्दा २५ लाख ३३ हजार ५ सय, ३ हजार ४ सय ३३ वटा बसलाई कारबाही गर्दा १९ लाख १९ हजार ५ सय, ११ हजार ९ सय ७१ वटा ट्रकलाई कारबाही गर्दा ६८ लाख ३० हजार, ३ हजार ४ सय २५ टेक्टरलाई कारबाही गर्दा १९ लाख ४६ हजार ५ सय, ३ हजार ४ सय ५३ वटा अटोलाई कारबाही गर्दा २० लाख ६६ हजार गरी जम्मा २ करोड ४७ लाख ४० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

जसमध्ये ५ सय ७० चालक मादक पदार्थ सेवन गरी चलाएका, सिटबेल्ट प्रयोग नगरी गाडी चलाउने १ सय ५६ चालक, गाडीको क्षमताभन्दा बढी लोड बोक्ने टिप्परलगायका ८ हजार ३८ सवारी साधन, गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने २ सय ९६ चालक, ट्राफिक नियमभन्दा बाहिर पार्किङ गरेका १५ वटा सवारी साधनहरुलाई यस आर्थिक बर्षको ८ महिनाको अवधिमा कारबाही गरी सचेत बनाउने काम गरेको ट्राफिक प्रहरी प्रमुख जिसीले जानकारी दिएका छन् ।