दाङ, ३ चैत । घोराहीमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुको खाद्य स्वच्छतास्तर मापन शुरु गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले घोराहीमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुको स्तर मापन शुरु गरेको हो ।
घोराहीमा रहेको होटल माला इन प्रालि र होटल भिंग्रेली भिलेजले थ्री स्टार (अति उत्तम)को हरियो स्टीकर प्राप्त गरेका छन् । सोमवार घोराहीमा खाद्य स्वच्छतास्तर मापन गरिएका पाँचवटा होटल तथा रेष्टुरेण्टहरुमध्ये माला इन र भिंग्रेली भिलेजले ९० अंक प्राप्त गर्दै थ्री स्टारको मान्यता प्राप्त गरेका हुन् ।
गतबर्ष मापन गर्दा पनि दुबै होटलहरुले थ्री स्टारको मान्यता प्राप्त गरेका थिए । थ्री स्टारको मान्यता प्राप्त गरेपछि घोराही उपमहानगरपालिका नगर उपप्रमुख सीता सिक्देल न्यौपानेले होटलमा स्टिकर टाँस्दै होटल सञ्चालकलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् । अनुगमन गरिएका होटल ग्रीन भ्याली रेष्टुरेण्ट एण्ड लज र होटल मधुवन प्रालिले क्रमशः ७९ अंक र ६६ अंक प्राप्त गर्दै सन्तोषजनक (वान स्टार) को मान्यता प्राप्त गरेका छन् ।
त्यसैगरी घोराहीमा रहेको होटल सिटी स्टार रेष्टुरेण्ट एण्ड लजले ६४ अंक प्राप्त गर्दै सामान्य होटलका रुपमा पहेलो स्टीकर प्राप्त गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जाराले बताए । घोराहीका होटल तथा रेष्टुरेण्टहरुको भान्सा कोठा, भान्सा कोठामा प्रयोग हुने खाद्य वस्तु र सामग्री, होटलको सरसफाई र अभिलेखीकरणलगायतका क्षेत्रहरुको अनुगमन गरेर स्तरमापन गरिएको प्रमुख बञ्जाराले बताए ।
होटल तथा रेष्टुरेण्टहरुलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार तहमा वर्गीकरण गर्ने गरिएको छ । प्रमुख बञ्जाराका अनुसार होटलहरुको खाद्य स्वच्छता स्तरीकरण गर्न बनेका विभिन्न ५० वटा सूचकहरुको आधारमा होेटल तथा रेष्टुरेण्टहरुलाई चार तहमा वर्गीकरण गरिएको छ । ‘घोराहीमा सञ्चालित पाँचवटा होटलहरुको खाद्य स्वच्छता स्तर मापन गर्दा दुईवटा होटलहरुले सूचकको पालना गर्दै थ्री स्टार (अति उत्तम)को मान्यता पाउनुभएको छ’, प्रमुख बञ्जाराले भने–‘अनुगमन गरिएका अन्य होटलहरुले सूचक पालना गरेको देखिएन ।
त्यसैले उहाँहरुलाई सुधार गर्न निर्देशन दिएका छौं ।’ उनले माला इन र भिंग्रेली भिलेजलाई पूर्वाधार विकाससँगै भान्सा र सरसफाईमा ध्यान दिनसमेत निर्देशन दिएका थिए । उनले होेटलहरुको गुणस्तर सुधारका लागि स्थानीयस्तरमा सरकारहरुले नीति बनाएर व्यवसायीलाई प्रशिक्षण सुधारको काम गर्न सक्ने बताए ।
अनुगमनका क्रममा घोराही उपमहानगरपालिका नगर उपप्रमुख सीता सिक्देल न्यौपानेले होटलहरुको भौतिक पूर्वाधारसँगै गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरेकी थिइन् ।
उनले होटल व्यवसायीहरुलाई के सहयोग चाहिन्छ उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताइन् । ‘व्यावसायिक प्रवद्र्धनसँगै गुणस्तर सुधारका लागि उपमहानगरपालिका सहयोग गर्न तयार छ’, उपप्रमुख सिक्देलले भनिन्– ‘त्यसका लागि के–के गर्नुपर्छ भनेर होटल व्यवसायीले माग गर्नुहोस् ।’ त्यसैगरी होटल व्यवसायी दाङका अध्यक्ष रुद्रबहादुर डाँगीले होटल व्यवसायमा गुणस्तर सुधारका लागि नियमित अनुगमनसँगै व्यवसायीहरुलाई तालिमको आवश्यकता रहेको बताएका थिए ।
होटल व्यवसायको समयानुकूल परिवर्तनका लागि व्यवसायीले तालिमको व्यवस्था गर्नुपर्ने बताएका थिए । ‘होटल व्यवसायीको गुणस्तर सुधारका लागि अनुगमनसँगै व्यवसायीलाई तालिमको आवश्यकता छ’, अध्यक्ष डाँगीले भने–‘त्यसका लागि व्यवसायीलाई स्थानीय सरकार तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सहयोग गर्न आवश्यक छ ।’
घोराहीमा रहेका होटल तथा रेष्टुरेण्टहरुको खाद्य स्वच्छतास्तर मापन अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जारा, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारी, होटल व्यवसायी दाङका अध्यक्ष रुद्रबहादुर डाँगी, सचिव ईश्वर बुढा, उपभोक्ता हित संरक्षण अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा, वडा प्रहरी कार्यालय घोराहीका विवेक रसाईलीलगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । घोराहीमा रहेका होटलहरुको अनुगमन आज पनि गरिने भएको छ ।
‘उपभोक्ता अधिकार सचेतना’
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले उपभोक्तालाई अधिकारसम्पन्न गराउन सचेतना आवश्यक भएको बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङले गरेको उपभोक्ता अधिकार दिवसमा बोल्दै प्रमुख नेपालीले यस्तो बताएका हुन् । ‘धेरै उपभोक्ता आफ्नो अधिकारप्रति सचेत छैनन्’, प्रमुख नेपालीले भने– ‘त्यसका लागि उपभोक्तामा अधिकारप्रति जागरण ल्याउन सचेतना दिन आवश्यक छ ।’ घरेलु तथा साना उद्योग कार्यालयले उपभोक्ता जागरण शिक्षा सञ्चालन गरेको छ ।
विद्यालय तथा समुदायस्तरमा जागरण क्लब गठन गरेर उपभोक्ता जागरण शिक्षा चलाएको हो । जिल्लाका दशैवटै पालिकामा जागरण क्लब गठन गरेर शिक्षा थालेको कार्यालयले जनाएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले उपभोक्तालाई गुणस्तरीय सेवा दिन सेवा प्रदायक गम्भीर बन्नुपर्ने बताए । घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण अधिकार मञ्चका उपाध्यक्ष केशव शर्मा मजगैयाँले उपभोक्ताको अधिकार र कर्तव्यमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मीलगायतले विचार राखेका थिए । जिल्ला समन्वय समितिका प्रमुख तथा उद्योग प्रवद्र्धन समितिका संयोजक नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी विक्रम केसीले गरेका थिए ।
प्रविधि हस्तान्तरण
यसैबीच कार्यालयको आयोजनमा भएको एड्भान्स व्युटीपार्लर तालिमका सहभागीलाई व्यवसाय सञ्चालनको लागि प्रविधि सामग्री हस्तान्तरण गरिएको थियो । ४५ दिनसम्म चलेको तालिममा २० जना महिलाको सहभागिता रहेको थियो । उनीहरुलाई प्रमाणपत्र र सामग्री समन्वय समितिका प्रमुख नेपालीले हस्तान्तरण गरेका थिए ।