लमही आँखा अस्पताललाई आँखा जाँच्ने मेसिन

लमही, ३ चैत । लमही आँखा अस्पताललाई लमही नगरपालिका वडा नं. १ ले सिलिट ल्यामप–आँखा जाँच गर्ने मेसिन सहयोग गरेको छ । वडा नं. १ ले करिब ५ लाख मूल्य बराबरको मेसिन सहयोग गरेको हो ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालमा सिलिट ल्यामप सहयोगसँगै अब आँखा बिरामीहरुलाई सहज र छिटो–छरितो हुने बताएको छ । यसैबीच एक कार्यक्रममा बीच वडा नं. १ ले अस्पताल व्यवस्थापन समितिलाई सिलिट ल्यामप हस्तान्तरण गरेको छ ।

नेपाल नेत्रज्योति संघका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता, वडा नं. १ का अध्यक्ष नुमराज पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खरिद समितिका संयोजक घनश्याम सुवेदी, नेत्र विशेषज्ञ निता सुनामलगायतकलाई सिलिट ल्यामप हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले यस क्षेत्रका जनतालाई सहज र छिटो–छरितो सेवाका लागि मेसिन सहयोग गरेको भन्दै आगामी दिनमा पनि अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यस क्षेत्रका आँखाका बिरामीहरुलाई आँखा अस्पतालले सर्वसुलभ सेवा प्रदान गरेको भन्दै नमुना अस्पतालको रुपमा विकास गर्न सबै लाग्नुपर्ने बताए ।

‘यो अस्पताल यस क्षेत्रको नमुना अस्पतालको रुपमा विकास गर्नुपर्छ, त्यसका लागि सबै स्थानीय निकायहरुले पनि सहयोग गर्नुपर्छ’, उनले भने । उनले विभिन्न समयमा वडाहरुमा निःशुल्क आँखा शिविरलगायतका कार्यहरु आफूहरुले गरेको बताए । त्यस्तै वडा नंं. ८ का वडाध्यक्ष मेघनारायण चौधरीले आफूहरुले पनि अस्पताललाई सक्दो सहयोग गर्ने बताए । उनले यस क्षेत्रका जनतालाई अस्पतालले सुलभ सेवा दिएको बताए ।

कार्यक्रममा वडा सदस्य नुमा पौडेलले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताइन् । सो अवसरमा संघका सभापति कृष्णकुमार गिरीले सिलिट ल्यामप सहयोग गर्ने वडालाई धन्यवाद दिँदै सबैको साथ र सहयोगबाट अस्पतालको विकास हुने बताए । उनले दातृ निकाय, स्थानीय, प्रदेश र स्थानीय दाताहरुको सहयोगले अस्पतालको भौतिक तथा अन्य विकास हुने बताए । उनले अन्धोपन न्यूनीकरणका लागि आफूहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा अस्पताल प्रशासनिक समितिका संयोजक तथा खरिद समितिका संयोजक घनश्याम सुवेदीले मेसिन खरिद प्रक्रिया तथा सहयोगको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक शमशेर थापाले अस्पतालको गतिविधि र मेसिन खरिदका बारेमा जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।