घटोत्कचको मृत्यु

राधेश्याम उपाध्याय

युद्ध जितेर सबै पाण्डव विश्रामका लागि शिविर फर्किए । श्रीकृष्णार्जुन युधिष्ठिरसँग जाने भए । श्रीकृष्णले विनम्र स्वरमा हाँस्दै – ‘हे महाराज ! हजुरका आशीर्वादले हाम्रो जित भयो । पार्थले सिन्धुपतिलाई मारी आफ्नो प्रण पुरा गरे । जस्तो हजुरले मेरो भर मानेर अजुर्नलाई मलाई सुम्पनु भयो त्यसैगरी मैले पनि तिनको प्रण पुरा गराई हाजिर गराएँ ।’ यो सुनेर युधिष्ठिरले श्रीकृष्णको स्तुती गरे ।

उता कौरव भने चिन्तित भए । दुर्योधन गुरु द्रोणसँग नजिक गए र साह्रै मन दुखाइ भन्न लागे – ‘जाबो शिखण्डी पनि युद्धभूमिमा पराक्रम गरी खुशीले गर्जन्छ, अर्जुनले सात अक्षैहिणी सैनिक मारिसके । आजै जुन छल गरेर जयद्रथलाई मारे यो सव स्थिति हेर्दा हाम्रो जित हुने कुनै आशा अब बाँकी रहेन । पाण्डवहरुले जति युद्धमा पराक्रम गर्दछन् उति हजुरले मनमनै तिनको हित चिताउनु हुन्छ ।

मेरो निम्ति जतिले आफ्नो जीवन दिए तिनको ऋण म आँटे पनि तिर्न सक्दैन । म पापी, दुष्ट, कृतघ्नी, दुर्मति म अरुझै छैन । म बन्धुबान्धव र इष्टमित्रहरुको द्रोही बनेर अब बाँच्नु वृथा छ’ भनि भन्न लागे । यस्ता आफूलाई छँेडछाड गरेको कुरा सुनेर गुरु द्रोणले भने – ‘हे दुर्योधन ! धार्मिक पाण्डुपुत्रहरुको अन्यायले सर्वश्व खोस्यौ । अहिले कुन नीतिले युद्ध जित्ने आशा गर्दछौ ।

जसको भर मानेर जुवा खेलेर पाण्डवहरुको श्रीसम्पत्ति खोस्यौ अहिले अर्जुनसँग लड्न तिनै दुष्टहरुलाई पठाऊ । मेरो मेलमिलापको प्रस्ताव मानेनौ । त्यसको दुष्परिणाम यो युद्धमा देखेर किन आत्तिन्छौ । भीष्मजस्ता योद्धा त शरश®यामा सुते, त्यस्ता अर्जुनका अगाडि कोही बाँच्ने छैनन् । योद्धा कर्ण, शल्य, सकुनी र तिमीजस्ता षट्रथीबाट सुरक्षित जयद्रथ त नराम्रोसँग मारिए । योद्धा भीष्म पराजित भई जुन दिन शरश®यामा सुते त्यस दिनदेखि हाम्रो जित हुने आशा हरायो ।

अगाडि अर्जुनलाई मार्छु भनि कर्ण भन्दै थिए । यो मौका परेका समयमा अर्जुनसँग लड्न कर्ण किन जाँदैनन् भनि गुरु द्रोण युद्धतर्फ लागे । कर्णले दुर्योधनलाई सान्त्वना दिँदै भने–‘तिमीले कर्ण बाँचेसम्म चिन्ता गर्नु पर्दैन युद्धमा हाम्रो जित हुने छ । शम्भु इन्द्र वरुण आइ रक्षा गरे पनि युद्धमा अर्जुन मर्ने छन् । इन्द्रले दिएको शक्तिले अर्जुन मर्नेछन् ।

अरु केकय र वृष्णि कुलका सम्पूर्ण पाञ्चालमा जति योद्धा युद्धमा सरिक छन्, ती सबैलाई मार्न म एक्लै सक्दछु चिन्ता नगर । यो पृथ्वीभरिका सबै राज्य जितेर तिमीलाई दिने छु ।’ कर्णको रवाफ सुनेर कृपाचार्ययले हाँस्दै व्यङ्ग्य गर्दै भने – ‘कर्णले जति कुरा बोल्दछन् ती सबै पुरा गर्दैनन् । जसले तिमीलाई राज्य दिई राजा बनायो उसैसँग झुठो कुरा नगर । व्यर्थैका गफले युद्ध जितिँदैन । युद्धमा अर्जुनसँग पराक्रम देखाऊ ।

दुर्योधनलाई चित्ररथले बाँधेका बेला र विराट नगरीको युद्धमा अर्जुनसँग युद्ध गर्दा पहिला तिमी नै भागेका हौ । त्यो समयमा अर्जुन एक्लै थिए तर अहिले अर्जुनसँग श्रीकृष्ण पनि छन् । कुरा नगरेर बरु अर्जुनसँग युद्ध गर्न जाऊ । यो गफ लगाएर दुर्योधनलाई ढाँट्नु तिम्रो मूर्खता मात्र हो ।’ आफूलाई यसरी निन्दा गरेको सुनेर कर्ण रिसाउँदै– ‘हे विप्र ! बाठो बनेर यसरी नबोल विज्ञजनले देखेर नै वीर भनेर जान्दछन् ।

जो मागेर पेट पाल्दछन् ती ब्राह्मणहरुलाई के थाहा ? पहिलोपल्ट भएर दुर्वाच्य बोलेकोमा क्षमा दिएँ तर अर्कोपल्ट यसरी दुर्वाच्य बोलेमा मेरा मान्य हौ भनि क्षमा दिने छैन । तिमी पाण्डुपुत्रहरुको पक्ष लिएर बोल्दछौ । जब मैले ती शत्रुहरुको जीवन लिने छु त्यसबेला देखौला । अर्जुन ठूला वीर हुन्, त्यो पनि मान्दछु । कृष्ण वीर नभई छलि हुन् त्यो पनि जान्दछु । युद्धमा सबै दैवाधिन छ, कसले जित्दछ कसले हार्दछ कसैले जान्दैन । यो आफ्नो बँधाई र कृपको निन्दा गरेको सुनेर कालाग्नि जस्ता भएर खड्ग झिक्दै द्रोणपुत्र द्रौणी मामाले भनेका सवै कुरा सत्य हुन् तिमी योद्धा हुँ भनि घमण्ड गर्दछौ ।

योद्धा हौ भने आऊ युद्ध गरौँं । तिम्रो घमण्ड म आज तोडिदिन्छु भन्न लागे । कर्ण पनि खड्ग लिएर युद्ध गर्न तयार भए । यो भयावहको स्थिति देखेर आचार्य कृप र दुर्योधनले दुवैलाई प्रेमले सम्झउँदै रोके । सुपात्र ब्राह्मणबिना कारण रुष्ट हुँदैनन् भनि कृपाचार्यले भन्नुभयो । अनि दुर्योधनले द्रौणीलाई सम्झाउँदै सुविज्ञ ब्राह्मण दयालु हुन्छन् ।

तपाईंले पनि राधाका पुत्र कर्णलाई माफी दिनुहोस् भने र कर्णलाई पनि तिमी मेरा प्रिय मित्र हौ । तिमी, द्रौणी, द्रोण, शल्य र सकुनीको भर मानेर आफूभन्दा बलिया शत्रु पक्ष हुँदाहुँदै पनि युद्ध गर्न तत्पर भए । हामी यसरी आपसमा क्रोधाग्नीमा लडेर मरे शत्रुपक्ष खुशीले उत्साहका साथ हाँस्नेछन् । दुर्योधनको यस्तो विन्ति सुनेर दुवै शान्त भई अगाडिकाझैँ परस्पर मिलेर बसे ।

गुरु द्रोण ले व्यूह रचना गरी आफू मुलगेटमा बसे । तिनले अनेक राजाहरुलाई मार्न लागे । कर्ण पनि त्यहाँ उत्साहका साथ आए । त्यो देखेर पाण्डुपुत्रका सेनाहरुले पनि हतियार वर्षाए । तिनका सवै शस्त्रहरु निवारण गरी अनेक वीरहरु मार्न लागे । सन्ध्याकाल भए पनि युद्ध रोकिएन । रात्रि युद्ध सुरु भयो । सबै सैनिकहरु एक हातमा खड्ग र अर्को हातमा राँको लिई लड्न लागे । दुर्योधनले युधिष्ठिरलाई वाण प्रहार गरे ।

तिनको चोट खपेर धर्मपुत्रले पनि दुर्योधनलाई शक्ति प्रहार गरे । त्यो शक्तिको चोट खप्न नसकेर दुर्योधन प्राण बाचएर युद्ध भूमिबाट भागे । भीम र सात्यकी पनि त्यहाँ पुगे । कलङ्गदेशका राजाका छोरा आएर तिनीहरुसँग युद्ध गर्न लागे । भीमको एक मुड्की निधारमा खाएर त्यो चोटले स्वर्ग गए । भीमले क्रोधाग्नि जस्ता भई सैनिक मार्दै थिए । त्यही समयमा कर्ण आए र एक शक्ति प्रहार गरे । उक्त शक्ति भीमले लाग्न नपाउँदै पक्रेर कर्णलाई नै प्रहार गरे ।

कर्णले आफैले प्रहार गरेको शक्ति आफैले काटी निवारण गरे । भूरीश्रवाका पिता सात्यकीसँग लड्दै थिए, टिक्न नसकेर भागे । द्रौणीले पाञ्चाल राजाका अनेकौँ सेना मारे । द्रौणीको मद्दत गर्न सोमदत्त राजा आए । सोमदत्तलाई सात्यकीले मारे र यो देह त्यागी स्वर्ग गए । घटोत्कच पनि आफ्ना राक्षसी सेना लिई आयो । घटोत्कचसँग द्रौणी लड्न लागे । द्रौणीले घटोत्कचको छोरा मारिदिए । द्रौणी युद्ध मौदानमा अगाडि बढ्दै थिए । उनको वेगलाई श्रुताह्यु आई रोके । द्रौणीले एक शक्ति प्रहार गरी श्रुताह्युलाई मारिदिए ।

द्रौपदीका पाँच भाइ छोराहरु आई द्रौणीमाथि हतियार प्रहार गरे । द्रौणले पनि ती सबै शर लाग्न नपाउँदै काटे र युद्धमा पाँचै भाइलाई पाँच शर प्रहार गरी मुर्छित पारे । गुरु द्रोण र युधिष्ठिरको युद्ध चल्दै थियो । भूरीश्रवाका बाबु लड्न आए । तिनलाई भीमले एक गदा प्रहार गरी मारिदिए । युद्धको त्यस्तो दुर्दसा देखेर बाल्हिक राजा युद्धका लागि अघि सरे र भीमलाई घाउ पारिदिए ।

भीमले पनि तिनको चोट खपेर एक गदा तिनको माथमा प्रहार गरेर मारिदिए । बाल्हिक राजालाई मारेको देखेर तिनका दशभाइ छोराहरु क्रुद्ध हुँदै भीमसँग लड्न आए । ती दशभाइलाई पनि भीमले दश वाण प्रहार गरी मारिदिए । कर्णले पनि एक हातमा राँको र अर्को हातमा खड्ग लिएर पाण्डुपुत्रका अनेकौँ सेना मार्न लागे । त्यो रात्रियुद्धमा दुवैतर्फका अनेक सेना मरे ।

भूरिश्रवा राजालाई सात्यकीले मारे, अर्कोतर्फ युधिष्ठिरको चोट खाएर दुर्योधन भागे । द्रौणी र घटोत्कच एकअर्कालाई मार्छु भनि उत्साहका साथ लड्दै थिए । द्रोण र कर्ण मिलेर पाञ्चाल देश र सृञ्जय देशका सेनाहरु मार्न लागे । सेनाहरु हाहाकार भएर भाग्न लागे । यो देखेर चतुर कृष्णले अर्जुनलाई इन्द्रको शक्ति कर्णसँग हुँदासम्म तिमी कर्णसँग डटेर युद्ध गर्नु हुँदैन भनि बुझाए । दुवैको सल्लाहमा घटोत्कचलाई बोलाएर कर्णको वेग रोक्न पठाए । घटोत्कच जब कर्णसँग युद्ध गर्न जाँदै थिए, बीचैमा कौरव सेनाको अलम्बुस रोक्न आयो । त्यो देखेर घटोत्कचले अलम्बुसको टुप्पी समाई खड्गले गर्दन काटि मारिदियो र काटेको शिर सौगात लेऊ भनि दुर्योधनको रथमा फालिदियो ।

तिम्रा सबै सौनिक ध्वस्त पार्दछु भनि कर्णसँग लड्दै थियो । कौरवतर्फको अर्को राक्षस अलायुध क्रोधित हुँदै आयो र भीमले मेरा बन्धु हिडम्बलाई वनमा मारेका हुन् त्यसको साटो म आज फेर्छु । मलाई लड्ने आज्ञा दिनुहोस् भनि दुर्योधनसँग आज्ञा माग्यो र दुर्योधनले पनि युद्धमा जाउ र आफ्नो साटो फेर भने । यो सुनेर अलायुध पनि खुशी हुँदै हावासरी वेगमा कर्ण र घटोत्कच युद्ध गरिरहेको स्थानमा आयो । भीमले यो देखेर राक्षसी सेनालाई गदा प्रहार गरी मारे । यो देखेर अलायुध मर्ने डरले अदृष्य भए र भीमलाई सर प्रहार गरी व्याकुल पा¥यो ।

भीमको यस्तो दुर्दसा देखेर घटोत्कचले तरवारले अलायुधको घाँटीमा प्रहार गरी मारिदियो । अगाडिकाजस्तै यो सौगात राम्रो छ भनि शिर दुर्योधनतर्फ फालिदियो । घटोत्कचले पनि रात्रियुद्धमा अदृष्य भई वाण वर्षा गरी विपक्षी अनेकौँ सेना मार्न लाग्यो । कौरवतर्फका सेना सबै डराई भाग्न लागे । कर्णले सबै सेनालाई सम्झाई फर्काए । कर्णले धेरैथरि हतियार वर्षाए । घटोत्कचले पनि कर्णको रथ नै पक्रेर फालिदियो र तोमर, पास, गदा र तीखा शतघ्नी वाणहरु प्रहार गरी हाहाकार मच्चायो ।

कर्णलाई नै यसरी विरथी पारेको देखेर दुर्योधनले कर्णका नजिक गई विनम्र स्वरमा– यो चालले राक्षस लड्दै रह्यो भने यसले सबैलाई मार्छ कोही बच्नेवाला छैन । त्यसैले –हे मित्र तिमीले अघि इन्द्रबाट पाएको शक्तिको प्रयोग गरी यो दुष्टलाई मार भनि भन्न लागे । यो सुनेर कर्णले पनि केहीबेर सोचेर सबैको इच्छा बुझि इन्द्रबाट पाएको त्यो दिव्य अमोघ शक्ति प्रहार गरे । त्यो शक्तिको चोट खप्न नसकेर घटोत्कच लाखौँ सैन्यलाई थिच्दै युद्ध भूमिमा ढल्यो र यमपुरीको बटो लाग्यो ।

यो देखेर कौरव सेना खुशीले गद्गद् भई गर्जन लागे भने युधिष्ठिरले घटोत्कचका अघिका गुण सम्झेर वाणी अवरुद्ध भई साह्रै मन दुखाए । झन बेस्सरी युद्ध मच्चिन लाग्यो । शक्ति, पास, गदा, खुँडा, खुकुरी, तरवार, तोकर, दिव्यास्त्र र अनेक तीखा सरहरु एकआपसमा प्रहार गर्न लागे । धेरै मरे कायरहरु भाग्न लागे भने वीरहरु झन वेगले लड्न लागे । आधारात परेपछि दुवैतर्फका सेनाहरु विश्रामका लागि शिविरमा गए ।