तल्लो जीवन उपन्यास अंश
यम रेग्मी
२०५२ साल, भाद्र महिना । तीज पछि हप्ता दिनसम्म मौसमा खुल्न सकेन । गमक्क गगनमा बादल छ । आकाश झिम–झिम आवाजले रोइरहेको छ । एक हप्ता भयो, रोएको बिसिने सुरसार छैन । बाटाघाटाहरू बन्द छन् । यातायात ठप्प छ । जहाँ पुगेको थियो मान्छे, त्यहीँ कहर काट्न वाध्य छ ।
हिउँदका दिनहरूमा कमिला घर बनाएर बस्ने बालिम खोलो खुब फुर्सीसँग उर्लेको छ । किसिमको छ, उसको गति । अचम्मको छ उसको उन्माद । सधैँ रुग्ण हुने बालिम खोलो आज उन्मादले बौलाएको छ ।
उसको मात्र के कुरा गरौँ र ! दाङका सबै खोलाहरूको गति उस्तै छ, मति उस्तै छ । सबैले आफ्नो रौद्र रूप देखाएका छन् । हेर्दाहेर्दै बालिम खोलाले कतिको घर बगायो । कतिको गोठ बगायो । कतिको खेत बगायो । कतिको बारी बगायो । कतिका वस्तुभाउ बगायो । कतिको सपना बगायो । कतिको भरोसा बगायो । कतिको भविष्य बगायो । कतिको छाकबास बगायो ।कतिको अझै बगाउँदै छ ।
माथि कालिमाटी एउटै परिवारमा पाँच जना मानिस पुरिएर एउटै चिहान भयो भन्ने कान–कान हुदै खबर आयो । माथिल्लो बालिमबाट खोलामा खेल्दै गरेका दुई जना बच्चा बगाएको खबर आयो । यस्तै दुःखका खबरहरू आउँदै छन् । सबै धनजन क्षतिको विवरण आउन अझै बाँकी छ ।
एक हप्ता भयो । बालिम खोला घट्नुको सातो बढ्दो क्रममा छ । वनमा पहिरो गएर वेहाल छ । ठूल्ठूला सालको रूख, खयरका रूख, साजका रूख, सिसौका रूख जरैसँग बगाएर ल्याएको छ । टमक्क भरिएको छ खोला भेलले, समुद्रमा
पानी भरिएझैँ ।
घरभित्र कोही छैनन् । सबै खोलामा छन् । मान्छेको जातै यस्तै । उसको स्वभाव उस्तै । चाहे सुखको होस्, चाहे दुःखको होस् । जुनसुकै घटना पनि सुन्न लालायित हुन्छ, मान्छे । दृश्य हेर्ने प्रयत्नरत हुन्छ मान्छे । मान्छेले झरी भनेको छैन्, चिसो बतास भनेको छैन, भोक भनेको छैन, प्यास भनेको छैन, थकाइ भनेको छैन । घरका सारा काम भुलेर खोलाको रमिता हेर्नमा
व्यस्त छ, मान्छे ।
लाशलाई कुरेझैँ पश्चिमतिरको खोलाको डिलमा सुनपुर गाउँ बसेको छ । पूर्वतिरको खोलाको डिलमा पलाँसेको गाउँ बसेको छ । बूढाबूढी नदीको रौद्र रूप देखेर राम ! राम !! जपिरहेका छन् । बलिया केही युवा भेलमा दाउरा छोप्न पसिरहेका छन् । केटाकेटी आफ्नै पाराले रमाइरहेका छन् । उनलाई कुनै मतलव छैन । उनीहरूको आफ्नै दुनिया छ ।आमाबाबुलाई भेलबाट छोराछोरी जोगाउन हत्य छ । जे होस्, सबै खोलामै छन् ।
सुनपुरको सबैभन्दा बलियो काले थारू । उमेरले पनि बलियो छ ऊ । अठ्ठाइस पुगेर उनन्तीस लाग्यो । यही भाद्र १५ देखि लाग्यो । बलले पनि बलियो छ, ऊ । लडाइँमा कसैले जित्न सक्दैन उसलाई । ऊ भनेपछि सबै थारूहरू थर्कमान हुन्छन् । ऊ बिहानैदेखि जाँड–रक्सीको नसामा हुन्छ । उसले स्वास्नीले भनेको टेर्दैन । छोराछोरीले भनेको सुन्दैन । ऊ दिनमा जुन काम पायो त्यही काम १४ घण्टा जति गर्छ । ऊ खानको लागि काम गर्छ । उसलाई खान पाए हुन्छ । उसलाई परिश्रमको मूल्यबारे मत्लव छैन । उसलाई घाटा–नाफाको वास्ता छैन ।
सबैभन्दा धेरै अगाडि भेलमा ऊ नै छ । अरु खोलाको किनारमा दाउरा छोप्न उभिएका छन् । ऊ भेलको बीचमा पुगेको छ । निडर भएर दाउरा छोपिरहेको छ । उसलाई भेलले बगाएर मरुँला भन्ने चिन्ता छैन । उसलाई चिन्ता छ, कसरी बगाएर ल्याएको दाउरा र रूख छोप्न सकिन्छ । ऊ आफ्नै काममा तल्लीन छ । हेर्दाहेर्दै एक खलिया दाउरा
बनाइसक्यो, उसले ।
कोही उसको चाल देखेर डरले जिब्रो टोकेका छन् । कोही भय हेर्न नसकेर आँखा चिम्लेका छन् । कोही प्रशंसा गरिरहेका छन् । कोही उसको दाउराको खलिया देखेर रिस गर्ने भइसकेका छन् । उसलाई कसैको मतलव छैन । पानी परेकोप¥यै छ । खोलो बढेकोबढ्यै छ । उसले भेलबाट दाउरा छोपेकोछोपै छ ।
कालेकी स्वास्नी पनि खोलाको डिलमै छे । उसलाई दाउराको कुनै मतलव छैन । ऊ लोग्नेलाई केही नहोस् भन्नेमा छे । लोग्नेलाई भेलको बीचमा जान लागेको देखेर बुधनीले हातले नजा भन्दै ठूलो स्वरमा बोली– ‘झट्ट ढिक्वम आओ अ ! बाहार भारी हुइटि बा । आब्ब मुबो
बौरहवा थारु ।’
उसले सुनेन, भेलको आवाजले सुन्नसक्ने अवस्था पनि थिएन । एउटा सानो सालको रूख भेलले बगाएर ल्याएको थियो, उसको अगाडि । उसले त्यसलाई छोप्यो । केही बेर अड्डायो । सुस्तरी भेलबाट तानेर पाखा ल्याउँदै थियो । उसको पुरै ध्यान त्यही रूखलाई कसरी पाखा लगाउने भन्नेमा थियो । उसको तन, मन सबै त्यही रूखले लगेको थियो ।
एक्कासी माथिबाट अर्को झन ठूलो सालको रूख बगाएर ल्यायो । त्यस रूखको एउटा हाँगो ऊ माथि ठोकियो । उसले पहिले रूखलाई अड्याएर पाखा दिन खोज्यो, सकेन । भाग्न खोज्यो, भाग्न पनि सकेन । गल्र्याम्म पल्टियो भेलमा । यता बेहोस भएर गल्र्याम्म पल्टिई बुधनी, खोलाको डिलमा । कसैले राम ! राम !! भन्दै रामलाई बोलाए । कसैले कठै ! भन्दै करुणालाई बोलाए । कसैले आम्मै ! भन्दै आश्चर्यलाई बोलाए । तर होमिएर कसैले उसलाई बचाउन सकेनन् । हेर्दाहेर्दै सबैको आँखा अगाडि बिलाएर गयो, काले थारु,
सदा–सदाको लागि ।
वास्तवमा भन्ने हो भने गजवको मान्छे थियो, काले थारू । हेर्दाखेरि केही छैन जस्तो । तर सबै जानेको, सबै सिकेको । गाउँमा कसैका केटाकेटीले ज्वरो आयो, उही खोजिन्थ्यो । कसैले लोटेर खुट्टा मर्कायो, उही चाहिन्थ्यो । कसैको बलको काम गर्नुप¥यो, उसकै आवस्यकता पथ्र्यो । मर्दापर्दा पूजा–आजामा उसकै खोजी हुन्थ्यो ।
कसैको पाठा खसी बनाउनु प¥यो उसैलाई बोलाइन्थ्यो । अनौठो थियो उसको खसी बनाउने तरिका । ऊ एक्लैले खसी बनाउन सक्थ्यो । जब ऊ कसैका घरमा गएर खसी मार्न थाल्थ्यो । एउटा गोडाको साप्रोले पाठोको गर्दन दाब्थ्यो, अर्को गोडाले गोडा दाब्थ्यो । एउटा हातले पाठाको अण्डकोण छोप्थ्यो, अर्को हातमा छुरी छोप्थ्यो । छुरीले छाला चिथ्र्यो । नसाबाट अण्डकोण काटेर छुट्याउँथ्यो, चिरेर भाग धागोले सिलाउँथ्यो ।
तेल बेसार लगाउँथ्यो, चिरेको भागमा । त्यही बचेको तेल बेसारले अण्डकोण मोल्थ्यो । थोरै नून राख्थ्यो, जाँडसँग
काँचै खान्थ्यो ।
बहरलाई गोरु बनाउनुप¥यो भने कोही खोज्दैनथ्यो । बहर आफै ढाल्थ्यो, आफैँ बान्थ्यो । आफै ठोकाउँथ्यो । आफै फुकाउँथ्यो,
कोही चाहिन्नथ्यो ।
गाउँमा कसैको खसी काट्नुप¥यो, उही खोजिन्थ्यो । खसी पनि एक्लैले ढाल्थ्यो । खसी ढाल्दा एउटा हातले गर्दन केहीपछि छोप्थ्यो । अर्को हातले घाँटीमा हान्थ्यो । रगत आफै थाप्थ्यो । एकचोटि भन्दा दोस्रो पटक कहिल्यै हान्नु परेन उसलाई खसी र
भेँडा काट्दा ।
सबैले उसले गरेको एउटा न एउटा काम सम्झेर टोलाइरहे । बुधनी दुई दिनपछि बल्ल होसमा आई ।
बलियाहरू उसको खोजीमा रात भनेनन्, दिन भनेनन् । निरन्तर लागिरहे । रातदिन नभनेर उसको खोजीमा लागे । एक हप्ताको निरन्तर प्रयासपछि उसको शव भेटियो । शव बालिम खोला र बबई खोलाको दोभानमा जालीमा अड्किएको अवस्थामा भेटियो । सबैको प्रयासबाट उसलाई अड्किएको ठाउँबाट पाखा निकालियो । जुन ठाउँमा भेटिएको हो, त्यो चिहान घाट नै थियो । त्यही ठाउँमा चिता बनाउने निर्णय भयो । उसले जम्मा पारेको दाउराले उसैको चिता बनाइयो । आफूले खेरेको दाउराले ऊ आफै खरानी भयो । यो सबै दृश्यलाई नजिकबाट नियालिरही, रक्षा ।
यो घटनाले उसमा पीडाभन्दा पनि केही सहजता आयो । उसलाई जीवन केही रहेनछ भन्ने बोध भयो । विगतदेखि तीजसम्म आइपुग्दा उसका जीवनमा जे–जे घटनाहरू घटेका थिए ती घटनाहरूलाई सामान्य मान्न थाली । जीवनलाई सामान्य रूपमा हेर्न थाली ।
–क्रमशः …