विनोद पोख्रेल
२०७७ जेठ २७ गते
राष्ट्रवाद कुन रुपमा कहिलेदखि सुरु भयो यो जान्न त इतिहासको सहारा लिनु पर्छ । तर पनि आजभोलि राष्ट्रवाद अलि महत्वपूर्ण कुरोको रुपमा लिइन्छ । मैले पनि यसलाई महत्व दिन्छु । पहिलो त यो व्यक्तिको समेत पहिचान हो । आफ्नो पहिचानप्रति व्यक्ति सचेत हुनु स्वाभाविकै हो ।
दोस्रो कुरो भावनात्मक एकतालाई बलियो र स्थायी बनाउनु यो विषय प्रवल माध्यम प्रमाणित भइसकेको छ । सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक क्षेत्रमा आवश्यक एकता कायम गर्न यो शब्दले सफलता पाएको छ । तेस्रो कुरो यसको एउटा निश्चित भू–भागमा सीमित गर्छ र सबैलाई आफ्नो भूभागको माया बढाउँछ । कार्यक्षेत्र निश्चित गर्छ । जिम्मेवारी निश्चित गर्छ । अहिले पनि जमुनाहा चौकीसम्मको भूभागसँग जोडिएको रुपैडिहा मेरो लागि कहिलेकाहीँ बजार खेल्न जाने ठाउँ मात्रै हो । त्यहाँको राम्रो वा नराम्रो गतिविधिसँग मलाई मतलव नै छैन ।
तर देख्दै नदेखेको कति नेपाली भूभागसँग मेरो सम्बन्ध छ । मानसिक रुपमा होस् अथवा भावनात्मक रुपमै सही त्यहाँको राम्रो वा नराम्रोले मलाई कता–कता छुन्छ । मैले राष्ट्रवादलाई यसैगरी बुझेको छु । यस्तो भावना निर्माण गर्न भूगोल, भाषा, संस्कृति आदि धेरैले भूमिका खेल्छन् तिनीमध्ये कसलाई बढी महत्व दिने जस्तो कुरामा म बहस गर्दैन ।
म भावनामा मात्रै सिमित हुने मान्छे । यो भावना सबैमा हुन्छ भन्ने विश्वास गर्नसमम सक्छु । मेरो अन्दाजमा राष्ट्रवाद प्रथम विश्वयुद्धपछि अलि चरम भनौ वा उग्ररुपमा आयो । त्योभन्दा पहिले देशहरु उपनिवेश पनि थिए । बलियोले कमजोरलाई जितेर आफ्नो बनाउनुलाई स्वाभाविक मानिन्थ्यो । यो सबैलाई स्वीकार्य जस्तै थियो । ‘वीर भोग्या वसुन्धरा’ भन्ने भनाई हाम्रो संस्कृतिमा पनि थियो ।
तर प्रथम विश्वयुद्धपछि हारेको पक्षले आफ्नो महत्वाकांक्षा पूरा गर्न पनि हुन सक्छ र बदला लिन पनि सक्छ, यो शब्दलाई नाराकै रुपमा प्रयोग गरे । त्यसमा पनि हिटलर सायद अग्रपंक्तिमा आउँछन् । उनको नाजीवादलाई उग्रराष्ट्रवादी नारा भनेर पनि व्याख्या गरिन्छ ।
तर यो नाराले धेरै थोरै मात्रामा पूरै विश्वलाई प्रभाव पा¥यो । तर वास्तविकता के पनि हो भने नारा सबैले लगाए पनि वा यो सोचलाई सबैले महत्व दिए पनि सबैले यसलाई अथवा यसको भरमा आफ्नो भूभागलाई बताएर राख्न सकेनन् । भावना भने रहिरह्यो । पछि त आफ्नो सत्ता सुरक्षित राख्न समेत राष्ट्रवादलाई प्रयोग गरियो । यो जनतालाई सत्ताले आफ्नो समर्थन गर्नु उकास्ने नारा बन्यो जब कि यो नाराले आम नागरिकको सोच र जिम्मेवारीमा प्रभाव पर्नुपर्ने थियो ।
जिम्मेवारी जति सत्ताले लिने र यो नाराले सत्तालाई सहयोग र समर्थन मात्रै गराउने प्रयासले आज फेरि यो भावनामा प्रश्न उठेको छ । भावनाहरुमा प्रश्न उठे मात्रै पनि यिनी कमजोर हुँदै जान्छन् । फेरि आम नागरिकको जीवनमा केही सुधार पनि नआउने, आम नागरिकले केही जिम्मेवारी पनि लिन नपर्ने नारा त पहिचान मात्रैको लागि त भयो । त्यसकारण यो अब फेरि कमजोर हुन लागेको हो जस्तो लाग्छ ।
म आफै पनि आम नागरिकलाई जिम्मेवार बनाउन नसक्दासम्म राष्ट्रवाद बलियो हुँदैन भन्ने पक्षमा छु । सत्तामा जान मात्रै पनि विदेशी शक्तिकेन्द्रसँग सहमति गर्ने, आशीर्वावाद लिनेहरुले राष्ट्रवादलाई सही रुपमा बुझाउन पनि सक्दैनन् र बचाउन पनि सक्दैनन् । आम नागरिकले भावनात्मक रुपमा पनि व्यावहारिक रुपमा पनि स्वीकारेपछि मात्र राष्ट्रवाद संरक्षित हुन्छ र यसले सकारात्मक परिणाम दिन्छ ।
अन्यथा यो सत्ता संरक्षणको लागि कूटनीतिक नारा मात्रै बन्छ र यसले अपेक्षित परिणाम दिन सक्दैन । आम नागरिकमा भावनात्मक एकता हुन र नागरिक जिम्मेवार बन्न नसक्दासम्म अथवा बनाउन नसक्दासम्म राष्ट्रियता देखावटी नारा अथवा सजावटको भाषा मात्र हुन्छ ।
२०७७ जेठ २८ गते
आज सायद गोप्य नै राख्नुपर्ने कुरा मनमा छ । मैले गोप्य राख्नुपर्ने भन्नुको कारण आफ्नो कमजोरी अरुलाई थाहा दिनु हुँदैन भन्ने हो । तर म यो तर्क अथवा भनाईसँग नै पूर्ण रुपमा सहमत छैन । यसलाई पूर्ण गलत पनि मान्दैन । आफ्ना गल्तीहरु सार्वजनिक गरिरहनु पर्दैन, नगर्दा नै राम्रो ।
तर भएका गल्तीहरु लुकाउनुमा पनि कुनै बुद्धिमानी अथाव चतुर्ता भएको जस्तो लाग्देन । कसैले कसैलाई त त्यस्ता कमजोरी थाहा हुन्छ नै । फेरि सत्यलाई स्वीकार गर्नु पनि पर्छ । त्यो सत्य राम्रो नराम्रो जे होस्, कमजोरी नै किन नहोस् त्यसलाई स्वीकार्दा जीवन सजिलो हुन्छ । बरु यसले कमजोरीलाई सुधार्न प्रेरणा देओस् । त्यो रम्रो हो । प्रशंगले भावनालाई अलि लामो बनाउन सक्छ ।
हिजोको लेखाईले मलाई एक प्रकारले सोचेकोभन्दा बढी सन्तुष्टि दियो । कति पल्टका लेखाईले यस्तो भएको छ । पछिल्लो पटक हिजोकोले बनाएको छ । यस्तै अनुपातमा के लेख्ने के नलेख्ने भनेर द्विविधा अथवा लेखको विषयले पूर्ण सन्तुष्टि पाउन नसकेको अवस्था पनि भोगेको छु । त्यस्तोमा पनि एउटा नियमितता पालन गरेको अथवा प्रतिवद्धता पूरा गरेको भनेर सन्तोष लिएको छु । मेले यो स्थितिलाई कमजोरी मान्ने गरेको छु र पूर्ण सन्तुष्टि पाउने स्थितिलाई सफलता मान्ने गरेको छु ।
फेरि मेरै मन सधैको भावनाको न त विषय नै एकै हुन्छ न त स्थिरता नै एकै हुन्छ भन्ने कुराको बोध पनि गर्ने गर्छ । त्यसकारण यस्ता स्थिति सामान्य हुन् । तर पनि आफूलाई मन परे खुशी हुने र आफैलाई कमजोर लागे आफ्नो कमजोरीको रुपमा बुझ्ने चरित्रलाई मैले स्वीकार गर्छु । आजको अभिव्यक्ति त्यसैको एउटा परिणाम हो जस्तो लाग्छ । मलाई थाहा छ यसरी व्यक्त हुँदा आजको लेखाइ हिजोकै लेखाईको परिपुरक हुन पुग्छ । अथवा त्यसैको महत्व बढाउने प्रयास गरेको जस्तो लाग्छ । तर यो विज्ञापन मात्रै होइन, भावना नै हो ।
भावनाले विज्ञापनको रुप लियो, यो पनि त एउटा कमजोरी हो । बरु विषयको समालोचना गर्ने प्रयास भएको भए स्तरीयता अलि बढ्थ्यो होला । मेले यो पनि गरिन । आफ्ना भोगाई भनौँ वा सोच, राम्रा, नराम्रा, स्तरीय र सामन्य जस्ता छन्, तिनलाई कमजोरी वा सफलताको रुपमा व्याख्या गर्न चाहेँ । यो नितान्त व्यक्तिगत कुरा हो । त्इसकारण पनि डायरीमा नआएको भए पनि हुन्थ्यो । तै पनि आयो ।
सायद यो अर्को कमजोरी हो । तर मैले फेरि स्वीकार गर्नै पर्छ कि यो वा यस्तो व्यक्तिगत विषय पहिलो पल्ट डायरीमा आएको होइन । यस्तो विषयलाई कमजोरी प्रदर्शन गरेको भन्ने हो भने पनि यस्तो धेरै पटक भएको छ । मनै त हो, यसमा मेरो नियन्त्रण छैन । कति मात्रामा हुनुपर्ने हो र कति मात्रामा गर्नुपर्ने हो ? त्यो पनि मलाई थाहा छैन । कतिपल्ट भावनामा अलि बढी बग्छु होला र यस्ता कमजोरी उदाङ्गिन्छन् होला । पछि यो त कमजोरी हो भनेर बचाउन खोज्दैन ।
सत्य यही हो । फेरि मूल्यांकन भन्ने कुरोमा मेरो एउटा धारणा छ । मानिसले आफ्नो मूल्यांकन गर्न त्यति सजलो छैन । पूर्ण रुपमा मूल्यांकन त हुनै सक्देन । मूल्यांकन भरपर्दो रुपमा अरुले गर्ने हो । तर पनि स्वमूल्यांकनको आफ्नो महत्व छ । यो पनि हुनुपर्छ । यही द्वन्द्वमा छु म र यसलार्य स्वाभाविक रुपमा लिने गर्छु ।
जहाँसम्म सन्तुष्टिको कुरा छ, त्यो पनि समय र भावना अनुसार अति सामान्य कुरा वा गतिविधिबाट अति धेरै सन्तुष्टि प्राप्त भएको अनुभव पनि छ र केही अलि धेरै हुँदा पनि अपेक्षित सन्तुष्टि नभएको अनुभव पनि छ । त्यसैले त मनिसलाई भावनाको पुत्ला पनि भनिन्छ हेला ।
भावना जीवनका अभिन्न अंग पनि हो र बढी प्रभाव पार्ने तत्व पनि हो । म योभन्दा अलग भएर बाँच्नसक्ने कुरा हुँदैन । यसैसँग खेलेर वा यसैले खेलाएर बाँच्ने त हो ।