शान्ति, शिक्षामा काम गर्न पाउँदा …

प्रस्तुती : बालाराम खड्का

क्यानडामा बस्दै आएका प्रकाश गौतमको घर तुलसीपुर–१८ बिजौरीमा पर्छ । उनको घर दाङको बिजौरीमा भए पनि कर्मथलो भने क्यानडा हो । क्यानडामा कर्म गर्दैगर्दा मन भने आफ्नै गाउँघर नजिकैका भीर, पाखा र पहराहरुमा रमाइरहेको हुन्छ ।

शरीर विदेशमै भए पनि मनले भने आफ्नै गाउँठाउँका वनजंगल, नदीनाला र त्यो बिजौरी नजिकैबाट बग्ने गुहारखोलाले खोजिरहेको हुन्छ । गौतम भन्छन् ‘गुहार खोलाले मेरो बाल्यकाल याद दिलाउँछ ।’ उनले शान्ति स्थापनार्थ शिक्षा क्षेत्रमा, विकास र अन्य धेरै क्षेत्रमा काम गरेको पनि सुनाउन भ्याए । गोरक्षको साता स्तम्भ ‘मेरो खुशी’का लागि कुराकानीकै क्रममा धेरै खुशीहरु सुनाए उनले । धेरै खुशीहरुभित्रको पनि जीवनमा भुल्नै नसक्ने खुशी भने शान्ति र शिक्षा भएको सुनाए । मुस्कुराउँदै उनले भने ‘खुशीभित्रको खुशी भन्ने हो भने शान्ति र शिक्षा नै मेरो खुशी हो ।’

गौतमलाई आफूले भोगेका खुशीहरु सुनाउन आग्रह गर्दा मुसुक्क हाँसे । त्यही मन्द मुस्कानले उनको खुशीहरु खोल्दै पनि गए । ‘मैले धेरै संघसंस्था र प्रोजेक्टहरुमा काम गरेको छु । त्यही क्रममा थुप्रै खुसीहरु छन्’ गौतमले अगाडि थपे ‘संघसंस्थामा काम गर्दा मेरा गाउँले साथीहरुलाई द्वन्द्वमा नलाग्नु भन्ने मेरो सुझावले द्वन्द्वमा नफस्नु नै मेरो खुशी हो । सयद २०५६÷०५७ सालतिर हुनुपर्छ गाउँका धेरै साथीहरु तत्कालीन माओवादीमा जाने निधो गर्नुभएको थियो तर मैले उहाँहरुलाई धेरै सम्झाएँ ।

देशमा अशान्तिको माहोल भएको बेला, चारैतिर युद्ध चलिरहेको बेला माओवादीमा नलाग्नुहोस् भनेर पनि सम्झाएँ । उहाँहरुले मान्नु पनि भयो । सायद त्यतिबेला उहाँहरु द्वन्द्वमा होमिएको तत्कालीन माओवादीमा होमिएको भए आजका दिनमा उहाँहरु भेटिनुहुन्थ्यो कि हुन्नथ्यो ? यसै भन्न सकिन्न । बाल्यकालमा सँगै खेलेका साथीहरुलाई द्वन्द्वबाट बचाउनु पनि मरो खुशी हो । अहिले पनि उहाँहरुसँगको भेट पनि मेरो खुशी हो ।’

‘हुनत द्वण्द्वपछि केही सकारात्म कुराहरु र परिवर्तन नभएएका भने होइनन्, धेरै परिवर्तन भएका छन् । तर उहाँहरुले अकालमै ज्यान गुमाउने परिस्थिति पनि आउन सक्थ्यो होला, त्यसबाट उहाँहरुलाई बचाएको अनुभूति हुन्छ’–गौतमले भने । उनले अहिले पनि साथीहरुले उनले दिएको सल्लाहले आफूहरु जीवितै रहेको भन्दा खुशी लाग्ने गरेको सुनाए । ‘हाम्रो जिल्लामा पनि ठूलो रक्तपात भएको थियो, त्यस्ता रक्तपात देशका धेरै स्थानमा पनि भए, आखिरमा शान्तिको बाटो सबैले रोज्नैपर्ने रहेछ ।

त्यो शिवाय अर्को विकल्पै थिएन’ गौतमले भने ‘त्यसैले पहिलो खुशी साथीभाइलाई दिएको सही सल्लाह, जसले उहाँहरुको ज्यान जोखिममा फस्नबाट बच्यो ।’ त्यसैले गौतमले पहिलो खुशी द्वन्द्व विस्थापन, शान्ति र शिक्षा लेखिदिन आग्रह गरे ।

त्यस्तै उनले अर्को खुशी २०५५ सालमा पर्यटकीय तथा धार्मिक स्थल छिल्लीकोटमा होमस्टेको अवधारणलाई लिएर त्यहाँ कार्यक्रम गर्दा खाना खाएको ५ सय रुपैयाँ आफूले तिरेको क्षण सम्झिए । ‘दाङमा होमस्टेको अवधारण मैले नै ल्याएको हो, अहिले प्रशस्त यस्ता होमस्टेहरु खुलेका छन्’–गौतम सम्झन्छन् ‘पर्यटन प्रबद्र्धनका लागि त्यतिबेला होमस्टेमा खाना खाएको ५ सय तिर्दा मलाई निकै खुशी लागेको थियो ।’

उनले छिल्लीकोटको मालागेडीलाई नेपालभर चिनाएकोमा पनि खुशी व्यक्त गरे । छिल्लीकोटमा सुगन्धकोकिला मालागेडीको संरक्षण र यसलाई व्यवसायीकरण गर्नुपर्छ भनेर संस्थागत रुपमा आफू लागेको बताए । ‘त्यही सुगन्धकोकिलाकै माध्यमबाट छिल्लीकोट क्षेत्रलाई नेपालभर चिनाउन पाइयो’ गौतमले भने – ‘त्यो छिल्लीकोट र त्यहाँको सुगन्धकोकिला पनि मेरो अर्को खुशी हो ।’

उनले त्यसका साथसाथै पोखरा र मुग्लिनको बीचमा मालागेडी उत्पादनको काम सुरु भएको सुनाए । उनले मालागेडीको बजारीकरण भने राम्रो नभएको भन्दै अभियान अलि खल्लो लागेको सुनाए ।

त्यस्तै उनले जनचेनता सरोकार मञ्च संस्थाको अध्यक्ष तथा कोअर्डिनेटर भएर गाउँमा अनौपचारिक शिक्षा दिएर धेरैलाई शिक्षित गराउन पाउँदा पनि अर्को खुशी मिलेको सुनाए । ‘गाउँमा आप्mनो नाम लेख्न नसक्नेलाई हामीले साक्षर बनाएका थियौँ, त्योभन्दा अर्को खुुशी के हुन सक्छ, एउटा अभियन्ताका लागि’– गौतमले भने । गौतमले कारितास नेपाल, जर्मन डेभलपमेन्टलगायतका संस्थाहरुमार्फत धेरैको शिक्षा, आय आर्जन, शान्ति र विकासमा काम गर्न पाउँदा खुशी धेरै खुशीहरु बटुल्न पाएको सुनाए ।

उनले आफूहरुले विभिन्न बस्तीमा अनौपचारिक शिक्षा दिएको र ती व्यक्तिहरुका छोराछोरीले बोर्डिङ स्कूलमा पढ्ने गरेको र केहीलाई विभिन्न देशमा पठाएको भन्दै खुशी व्यक्त गरे । ‘हामीले अनौपचारिक शिक्षा दिएर शिक्षाको आवश्यकता र महत्वबारे सचेतना दिएर उनीहरुको शिक्षाप्रति सकारात्मक सोचमा परिवर्तन गर्न सक्यौँ, त्यही नै खुशीको पाटो हो होइन र ? प्रतिपश्न गर्दै गौतमले भने ‘शिक्षाप्रतिको नकारात्मक सोच सकारात्मक सोचमा परिवर्तन हुनु नै मेरो अर्को खुशी हो ।’ गौतमले त्यो खुशी अहिले विभिन्न व्यक्तिहरुले बेलाबेलामा सम्झाउँदा ताजा भएर आउने कुरा बताए ।

यसैगरी पाटन अस्पतालमा लामो समय काम गरेका गौतमले त्यहाँ रहँदा सयौँलाई सहयोग गरेको सुनाए । ‘म त्यहाँ काम गर्दा राम्रो बन्न सकिनँ तर मैले धेरैलाई सस्तो र सहज स्वास्थ्य सेवा दिनतर्फ लागेँ, त्यो अस्पतालमा सस्तो र सुलभ सेवा नै मेरो लागि खुशीको कुरा हो’ –गौतमले भने । उनले दाङका धेरै व्यक्तिहरुलाई उपचारमा लाग्ने खर्च घटाएर सेवा दिएको बताए ।

त्यस्तै उनले नेपालमा हुँदा आफूहरुले खोलेका संस्थाहरुलाई सजिलै दातृ निकायहरुले बजेट दिने गरेको भन्दै खुशी व्यक्त गरे । उनले आफूले सबैको विश्वास जितेकोमा पनि खुशी व्यक्त गरे । त्यस्तै आफूलाई घरपरिवारबाट पनि धेरै सहयोग मिलेकोमा पनि खुशी व्यक्त गरे । गौतमले क्यानडामा पनि अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्ने गरेको भन्दै नेपालीहरुको सहयोगका लागि काम गर्न पाउँदा निकै खुशी मिलेको सुनाए ।

‘विदेशमा धेरै समस्या छ, म सीप सिकेर मात्र विदेश जानुहोस् भन्न चाहान्छु’–उनले भने । उनले बाल्यकाललाई सम्झँदै उमानाथ गुरुले वातावरण संरक्षण गर्ने, महिलालाई सम्मान गर्ने, ठूलालाई आदर गर्ने कुरा सिकाएको र त्यही प्रेणाले आफूले सफलता हाशिल गरेको सुनाए । उनले धेरै व्यक्तिहरुलाई सहयोग गरेको भन्दै समाजसेवा र दुःखीलाई सहयोग गर्दा आफूलाई खुशी मिल्ने बताए ।

जनचेतना सरोकार मञ्च दाङका अध्यक्ष, कोअर्डिनेटर, युएनडिपी, कारितास नेपाल, जर्मन डेभल्पमेन्ट सर्भिस, क्यानेडिएन कोपोरेशनलगायतका संस्थाहरुमा काम गरेका तुलसीपुर–बिजौरी निवासी प्रकाश गौतम हाल क्यानडामा बस्दै आएका छन् ।