®नारायणप्रसादश्रेष्ठ
मानव जीवन विश्वास र भरोषाको सागर हो । विश्वास नै जीवनको आधार पनि हो ।जीवन निर्वाह गर्ने क्रममा आउने उतारचढाव वाह्य आवरणमा सजाइएका क्षणिक सपना मात्र हुन् । समयको प्रवाहले कहिले खुशी कहिले दुःखी बनाउनु यो प्रकृतिको नियम पनि हो । प्रकृतिसँग रमाउन नजान्ने मानिसको स्वभावले ल्याउने परिणाम भनेकै दुःख हो ।
यसलाई निवारण गर्ने उत्तम विकल्प भनेको एकले अर्काप्रति देखाउने सद्भाव र भरोषा हो । तर कतिपय अवस्थामा मानवीय सोच र चिन्तनभित्र लुकेको इष्र्या र डाहले उत्पन्न हुने शंकाले जीवनलाई निकै कष्टकर बनाएको हुन्छ । किनकि शंकाले मानिसलाई कहिल्यै पूर्ण हुन दिँदैन । न त यसले जीवनले निर्धारण गरेको गोरेटोलाई शुद्ध र आचरणयुक्त बनाउन मद्दत गर्दछ । जब यो मानवीय चिन्तनमा प्रवल भएर देखापर्न थाल्दछ तब त्यहाँ घृणा, द्वेष, इष्र्या र प्रतिशोध उत्पन्न भई मानिस आफूले आफैलाई पतनउन्मुख बनाउँछ । यति मात्र होइन, यसले जीवनलाई अपाङ्ग बनाई समाजदेखि पर र अर्धचेतन अवस्थामा पु¥याउँछ ।
शंकाले लंका जलाउँछ त्यसै भनिएको होइन । यसले मानिसलाई अँध्यारो गल्लीमा भड्कन समेत वाध्य बनाउँछ । जीवनलाई अधोगतिउन्मुख गराई यता पनि नाश र उता पनि नाशको परिस्थिति सिर्जना हुन पुग्छ । जसको फलस्वरुप मानवीय चेतनामा नयाँ विचार प्रष्फुटन हुने गुञ्जायस नरहने अवस्था आउन सक्छ । यस्तो अवस्थामा न त विश्वासको जग बलियो बन्न सक्छ न त अरुप्रति भरोषा राख्ने परिस्थिति नै उत्पन्न हुने स्थिति रहन्छ । यस्तो अवस्था आउनु भनेको मन भ्रमित हुनु हो । भ्रमित र चेतना शून्य मनले न त सिर्जनात्मक विचारको प्रादुर्भाव गराउन सक्छ न त उसप्रतिको विश्वास दिगो रहन सक्छ । उसभित्र छिपेको सत्यता समेत गुम्सिने अवस्था रहन्छ ।
किनकि मन नै सबै समस्याको समाधान गर्ने महत्वपूर्ण अंग हो । यदि मन नै विचलन हुने परिस्थिति जन्मन्छ भने त्यो पाखण्डी र नीति हराएको भीडतन्त्रजस्तै हुन पुग्छ । यसले एकातिर आस्था र भरोषा गुमाएको हुन्छ भने अर्कोतर्फ जीवनको गतिमा अवरोध खडा गरी मनलाई विकृतितर्फ दौडाउन वाध्य गराउँछ । सत्यलाई झुठ र झुठलाई सत्य बनाउनेतर्फ मानसिकता जगाउन सक्छ । तसर्थ, सन्देहले ल्याउने परिणतिलाई बुझी दलदलमा फँस्दै जाने स्थितिको गम्भीर आँकलन गर्न सक्नु पर्छ । मानवीय विवेक र चिन्तनमा आउने शंका, भय र अविश्वासलाई कहिल्यै पनि आत्मसात गर्नु हुँदैन । अति भए खति हुन्छ यो कुरा कदापि भुल्नु हुँदैन ।
सन्देहले आवेग र प्रतिशोध बढाउँछ । यसले अरुमाथि दोषारोपण गर्ने अनर्थक प्रयास बढाउन सक्छ । ऊ होइन, म नै योग्य भनी जिद्धी र मूढेबलद्वारा आफूलाई योग्य सम्झन सक्छ । उसले अरुप्रति आदर होइन अनदानर गर्ने बानीको विकास गराउँछ । इष्ट, मित्र, नाता, कूल, कुटुम्बप्रतिको उसको भावना दूराचारतर्फ आकृष्ट हुन पुग्छ । यसले गर्दा उसले आफू र आफ्नो जीवनलाई समेत बुझ्न नसक्ने अवस्था आउँछ ।
त्यसैले यी सबै परेसानी र समस्या वा उल्झनबाट मुक्त हुन मैले यो जीवन छोड्नु पर्छ, म अहिले यो शरीरमा छु, भरे या भोलि यो शरीर नहुन सक्छ । यो कुरालाई हरहमेसा मनको एउटा कुनामा राखेर आफूलाई प्रस्तुत गर्न सक्नु पर्छ । त्यसको लागि आफ्नो बानी व्यवहोर र आचरणमा शुद्धता ल्याई भइरहेको संस्कारलाई परिस्कृत हुने वातावरण तयार गर्नु पर्छ ।
सृष्टिको इतिहासदेखि अहिलेसम्म मानिसले मरेर के लगेर गए र मैले पनि के लगेर जाने ? यस कुरालाई सोचेर प्रत्येक क्षण आफूले प्रवाह गर्ने विचार र विचारमा अहमपन नल्याई शुद्धता ल्याउन सक्नु पर्छ । विचार सम्प्रेषण गर्दा सामाजिक मर्यादालाई कायम गर्न सक्ने क्षमता बढाउनु पर्छ । मरेर जाने चोला हो, यो एक दिन अवश्य नाशिन्छ । जन्मँदा पनि नाङ्गै, मर्दा पनि नाङ्गै भन्ने सोच राखी आफूलाई रुपान्तरण गर्न सक्नु पर्छ ।
अहिलेसम्मको इतिहास हेर्ने हो भने हाम्रा पुर्खाले आफ्ना जीवनमा के गरे के गरेनन् ? उनीहरुले के–कस्तो संस्कार छोडेर गए, राम्रा काम गरे वा गरेनन् ? धनसम्पत्ति जोडेर सँगै लगे वा लगेनन् । त्यस कुराको लेखाजोखा गर्नु बुद्धिमानी हुनसक्छ । हाम्रा पुर्खाले आफ्नो शरीर त्याग गर्दा के लगेर गए ? फलानाको समयमा यस्तो राम्रो प्रचलनको विकास गरेका रहेछन्, यही सम्झना छोडेर गएका त हुन् । आफूलाई त्यही परिचयसँग जोडेर आफू विर्षजन भएको इतिहास पाइँदैन र ?
त्याग र समर्पणलाई जीवनको उद्देश्य राखेर कर्म गरी आफूलाई विलय गराएका होइनन् र ? तसर्थ, एकअर्काप्रतिको सद्भाव सदाचार तथा नैतिक संस्कार मात्र मानिसको मृत्युपछिको चिनारी रहेछ भन्ने बुझी आफूलाई सचेत गराउन जरुरी छ । जीवन भनेको आश, भरोषा र विश्वासको प्रतिमूर्ति रहेकोले यसबाट स्थापित मान्यतले समाज आदर्श कसरी बन्छ ? यस कुराको हेक्का राखी अघि बढ्न जरुरी छ ।
यसको लागि शंका, भयले मानिसलाई पु¥याउने क्षतिको समयमै मूल्यांकन गर्न जान्नु पर्छ ।
पद र प्रतिष्ठा प्राप्त गर्नु छ भने जथाभावी चरित्र नङ्ग्याउने तथा प्रतिष्ठालाई रकमले खरिद गर्ने चेष्ठा गर्नु हुँदैन र इमानदारीलाई कहिल्यै पनि तौलने चेष्टा गर्नु हुँदैन । यो अशोभनीय कार्य हो । यसले अविश्वास जन्माउन र शंका स्वतः उत्पन्न हुने अवस्था सिर्जना हुन सक्छ । जब यस्तो स्थिति आउँछ तब मानव अर्धचेतन भएर प्रस्तुत भइरहेको ऊ आफैलाई महशुस हुँदैन । मानिस हो वा पशु हो ? यस्तो अवस्था आउन सक्छ । यस्तो अवस्था भएमा एकातिर आफ्नो स्वच्छ विचार अरुको बन्धक बन्न सक्छ भने डर, त्रास र धम्कीले विचारमा संकीर्णता देखापर्न थाल्छ । विचार दबिन सक्छ ।
मनका भावना खुम्चिन सक्छन् । मानिस स्वयम् गन्तव्यहीन भएर यताउता भड्किन सक्छ । म किन अपवित्र ? मेरो विचार किन अपवित्र ? मैले के गरेँ, उसलाई केही थाहा हुँदैन । उ कसैको दास बनिसकेको हुन्छ । त्यसैले दास प्रवृत्ति जागृत गराउन खोज्ने मानव प्रवृत्ति र त्यस प्रवृत्तिले जन्माउने चरित्र कदापि गर्नु गराउनु हुँदैन । शरीरलाई चलायमान गराउने आत्माको स्वच्छतालाई पहिचान गरी विचारमा शुद्धता र आचरण र व्यवहारमा परिस्कृतता आउने मानसिकता बढाउनु पर्छ । हरेक समस्याको समाधान, शंका गरेर होइन, चिन्तन गरेर अगाडि बढ्ने कोशिस गर्नु पर्छ ।
थोरै कुराले पनि मनमा पर्ने भ्रान्तिलाई यो मेरो पवित्र विचारलाई खण्डन गर्ने तुच्छ स्वार्थी तत्व हो भन्ने ठानी विचार र चिन्तनमा निखारपन ल्याउन सक्नु पर्छ । इज्जत र प्रतिष्ठालाई रकममा खरिद गर्ने प्रवृत्ति छाडि, व्यावहारिक जीवनशैलीमा उच्चता प्रदर्शन हुने परिस्थिति जगाउनु पर्छ । जीवनमा देखापर्ने विविध समस्यालाई समाधान गर्ने आधार मूर्त म स्वयम् हुँ भनी आफूलाई प्रस्तुत गर्नु पर्छ । सम्यम भएर व्यवहार गर्ने बानीको विकास गर्नु पर्छ ।
यस्तो अवस्था आएमा गलत मानसिकता स्वतः हट्न गई विचार र सोचमा सिर्जनात्मक भाव जागृत भइरहन्छ । त्यसैले जीवनको हरेक क्षणमा आउने विविध समस्या र विचारलाई यो मायाको भ्रमपूर्ण चाल हो भन्ने ठानी आफूलाई म एक स्वतन्त्र आत्मा हुँ, मेरो कर्म सकारात्मक प्रवृत्तिको विजारोपण गर्नु हो तथा समाज र वातावरणलाई स्वच्छ बनाउन पुर्खाले जसरी आफूलाई प्रस्तुत गरेका थिए, त्यो कर्म मेरो प्राथमिकता हो भन्ने ठानी आफूलाई प्रस्तुत गर्नु पर्छ ।
जन्म मरणको सत्यलाई बुझी आपसी द्वेष, कलेश जागृत हुन नदिन आफूलाई सचेत बनाउनु पर्छ । शंकाले उत्पन्न हुने जति पनि नकारात्मक प्रवृत्ति हुन्, त्यसको समयमै पहिचान गरी आफूलाई प्रदर्शन गर्नु पर्छ । म अरुको प्यारो कसरी बन्न सक्छु भनी चिन्तन गर्नु भन्दा म अरुको कसरी सहयोगी बन्न सक्छु भनी सोच बृद्धि गरी सहयोगी सदा सुखी भन्ने चरित्र प्रदर्शन गर्नु पर्छ । शंका, भय, इष्र्या, डाह र प्रतिशोध यी मानिसलाई पतन गराउने मुख्य आधार हुन् ।
चाहिनेभन्दा बढी भयो भने कुनै पनि कुराले क्षति पु¥याउन सक्छ । अति भए खति हुन्छ, यो सर्वमान्य किम्बदन्ती हो । त्यसैले अरुले के गरे भन्नु भन्दा मैले के गरेँ भनी आफूलाई सकारात्मक प्रवृत्तितर्फ जागृत गराउन सक्नु पर्छ । यसैमा हाम्रो भविष्य उज्ज्वल छ । चेतना भया !