धारापानीमा लाग्ने मेलालाई सभ्य र भव्य बनाउने छौ : सचिव आचार्य

  •   
  •  

घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा विश्वको अग्लो त्रिशुल स्थापना गरेपछि मन्दिर चर्चामा रहेको छ । धार्मिक तथा पर्यटकीय महत्वका हिसाबले महत्वपूर्ण रहेको धारापानी विश्वको अग्लो त्रिशुल स्थापना भएसँगै थप चर्चामा आएको हो । करिब ३७ हेक्टरमा धार्मिक वन क्षेत्रमा फैलिएको धारापानी पछिल्लो समय जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । त्यहाँ निर्माण भएका संरचनाहरुले दाड जिल्लाका मात्र नभएर देशभरका मानिससहरुलाई ल्याउने काम गरिरहेको छ । आन्तरिक पर्यटकका प्रमुख गन्तव्यका रुपमा विकास भएको धारापानीमा महाशिवरात्रिको अवसरमा मेला लाग्ने गरेको छ । यस वर्ष पनि फागुन २७ गते महाशिवरात्रिका अवसरमा विशेष मेला लाग्दैछ । जसमा विशेष पूजा कार्यक्रम समेत हुनेछ । त्यही विषयमा केन्द्रित रहेर गोरक्षकर्मी लिलाधर वलीले पाण्डवेश्वर महादेव मन्दिरका सचिव विष्णुराम आचार्यसँग गरिएको कुराकानीको सार संक्षप ।

 धारापानीमा महाशिवरात्रिको तयारी कसरी अघि बढिरहेको छ ?

 महाशिवरात्रिको तयारी लगभग अन्तिम चरणमा पु¥याएका छौँ । भोलि २७ गते धारापानीमा लाग्ने मेलासहित मन्दिरमा हुने विशेष पूजालाई व्यवस्थित गर्नका लागि मुलसमिति र २५ बढी विभिन्न समिति गठन गरेर तयारी पूरा गरेका छौँ । जसअन्तर्गत अहिले मन्दिरलाई आकर्षक बनाउन सजावटका काम, सरसफाई, पूजालाई व्यवस्थित गर्ने काम, शिवरात्रिका दिनहुने भीडभाड कम गर्नसँगै धुलो कम गर्नका लागि पानी हाल्ने, गिट्टी राख्नेलगायतका काम सकेका छौँ ।

मन्दिरमा हुनसक्ने आकश्मिक दुर्घटनाका बिरामीहरुको उपचारका लागि घोराहीमा रहेको गोर्खा हस्पिटलसँगै घोराही उपमहानगरपालिका वडा नं. ५ को स्वास्थ्य चौकी र वडा नं. ६ मा रहेको सहरी स्वास्थ्य क्लिनीकसँग सहकार्य गरेर व्यवस्थापन गरेका छौँ । सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरेर अघि बढिरहेका छौँ ।

यसैगरी महाशिवरात्रिका दिनमा विशेष पूजा र नेपाली सेनाको सलामीलाई भव्य बनाउने गरी समेत काम भइरहेको छ । त्यसका लागि विभिन्न अतिथिहरुलाई आमन्त्रण गर्ने काम समेत सकिसकेको छ । सहज यातायात सेवासँगै भाडा निर्धारणको समेत काम गरिसकेका छौँ । बाँकी रहेका कामहरुलाई बुधवारसम्म सकेर विहीवार शिवरात्रिको तयारी पुरा गर्नेछौँ ।

 शिवरात्रि मेलामा धारापानीमा भीडधाड अत्यधिक हुन्छ नै, त्यो भीडलाई व्यवस्थापन गर्ने काम कसरी हुन्छ ?

 पाण्डवेश्वर महादेव मन्दिर धारापानी दाङको आकर्षणको केन्द्र हो । शिवरात्रिमा धार्मिक आस्थासँगै घुम्नका लागि धेरै मानिस आउने भएका कारण पनि भीडभाड हुने गर्दछ । जसले गर्दा केही नराम्रो घटनाहरु हुन नदिनका लागि यस वर्ष मदिरा, गाँजालगायतका लागूपदार्थजन्य वस्तुहरु विक्रीवितरण गर्न नपाइने व्यवस्था गरेका छौँ ।

शिवरात्रिमा मन्दिरसम्म आउने बाटो र फर्कने बाटो फरक–फरक बनाउनुका साथै मन्दिर क्षेत्रमा समेत धेरै भीड हुन नदिने गरी पूजापाठको व्यवस्था मिलाएका छौँ । यसपटक जिल्लाका अन्यत्र ठाउँमा मेला महोत्सव नभएकाले पनि धारापानीमा भीड बढ्ने हाम्रो अनुमान छ । जसले गर्दा हामीलाई भीड व्यवस्थापनलाई गर्न थप चुनौती हुने देखेकाले सुरक्षा समितिलाई प्रहरीसँगको सहकार्यमा व्यवस्थापनको जिम्मा मिलाउने काम गरेका छौँ । यसमा स्वयम् हामी नै खटिएका छौँ ।

 गत वर्षदेखि धारापानीमा नेपाली सेनाले सलामी पनि दिने गरेको छ, यसको खास महत्व के छ ?

 धारापानीमा महादेवको मन्दिर भए पनि यहाँ नेपाली सेनाले सलामी दिने गरेको थिएन । तर हामीले गत वर्षदेखि सेनाले सलामी दिने व्यवस्था मिलाएका छौँ । जसअन्तर्गत् भोलि २५ गते पनि नेपाली सेनाको एउटा टोलीले धारापानीमा रहेको विश्वकै अग्लो त्रिशुललाई सलामी दिने छ । शिवरात्रिका अवसरमा हुने विशेष पूजाको महत्व बढाउँदै धारापानीको प्रचार–प्रसारमा सहयोग पु¥याउने उद्देश्यले महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सलामी दिँदै आएको छ ।

सलामी कार्यक्रममा विशिष्ट व्यक्तिहरुसँगै जिल्लाका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, गणका प्रमुख, सुरक्षा निकाय प्रमुखलगायतका विशिष्ट पाहुनाहरुको उपस्थिति हुने गरेको छ । अतिथिहरुको स्वागत तथा सत्कारका लागि धु्रर्वराज श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार समिति समेत गठन गरेर काम गरिरहेका छौँ ।

 सरकारले अहिले पनि कोरोना जोखिम छ भन्दै छ । यो जोखिमको अवस्थामा शिवरात्रि मेलामा हुने भीडभाडलाई कोरोनाबाट बचाउने उपाय के अपनाउनुभएको छ ?

 माघसम्म कोरोना जोखिमकै कारण मेला महोत्सव कहीँ कतै हुनसकेका थिएनन् । कोरोना संक्रमण दर कम भएका कारण अहिले धारापानीमा पूजापाठको काम हुँदैछ । भीडभाडका कारण कोरोना जोखिम पक्कै पनि हुने भएकाले त्यसबाट बच्न सावधानी अपनाउँदै छौँ । र, मन्दिरमा आउने भक्तजनलगायतका सम्पूर्ण भक्तजनलाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै आएका छौँ । पहिलेको तुलनामा संक्रमितहरु न्यून भए पनि कोरोनाको जोखिम नै भएकाले सबै जनताले त्यसबाट बच्नका लागि सावधानी अपनाइदिन आग्रह गर्दछु ।

जिल्ला प्रशासन कार्यालयले पनि हामीलाई सामाजिक दूरी कायम गरेर शिवरात्रि मेला सञ्चालन गर्न निर्देशन गरेको छ । त्यही अनुसार हामीले व्यवस्थापन गरिरहेका छौँ । धारापानीमा घुम्न तथा पूजापाठका लागि आउने भक्तजनहरुलाई अनिवार्य मास्क लगाएर आउन आग्रह गरिरहेका छौ । अहिले पनि म फेरि त्यही आग्रह गर्न चाहन्छु । मन्दिरमा पूजाका क्रममा पनि मास्कको व्यवस्था अनिवार्य गरेका छौँ । लाइनमा बढी भीडभाड हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न महिला पुरुषहरुको फरक–फरक लाइन बनाएर पूजाको व्यवस्था मिलाएका छौँ ।

 शिवरात्रिका अवसरमा धारापानीमा लाग्ने मेलालाई विगतका वर्षभन्दा के फरक फरक बनाउनुभएको छ ?

 पक्कै पनि फरक बनाएका छौँ । अघिल्लो समयमा शिवरात्रिका अवसरमा धारापानीमा पूजापाठसँगै नाचगानको कार्यक्रमहरु हुने गरेका थिए । अहिले कोरोना जोखिम अझै केही रहेका कारण त्यस्तो खालको कार्यक्रम गरेका छैनौँ । जिल्लाकै प्रशिद्ध धार्मिक ठाउँ धारापानी भएकाले पनि यो ठाउँमा लाग्ने विशेष पूजालाई सभ्य र भव्य बनाउनमा हामी लागिपरेका छौँ ।

मन्दिरमा हुने पूजालाई व्यवस्थित गर्ने काम गरेका छौँ । शिवरात्रिका दिन मन्दिरमा भीडभाड हुन दिनका लागि सुरक्षाकर्मीसँगै स्वयम्सेवकको समेत व्यवस्था गरेका छौँ । साथै शिवरात्रिको अघिल्लो दिन मन्दिरमा रातभर भजनकीर्तन गर्ने कार्यक्रम रहेको छ । हरेक हिसाबले महाशिवरात्रिलाई सभ्य र भव्य बनाउनेमा प्रयासरत छौँ ।

 धारापानीको थप विकासका लागि कसरी काम भइरहेको छ ?

 धारापानी दाङ जिल्लाकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसको धार्मिक छुट्टै महत्व छ । त्यससँगै मनोरञ्जन लिने मान्छेहरुका लागि पर्यटकीय केन्द्रका रुपमा समेत रहेको छ । धारापानी आउने मानिसहरुले विभिन्न कुराहरुको ज्ञान समेत लिन सक्छन् । तनावबाट थकानको महसुश गरेका मान्छेहरुले शान्तिको अनुभूति प्राप्त गर्ने छन् ।

हामीले पनि धारापानीलाई त्यही अनुसार विकास गर्दैछौँ । कोरोना भाइरसका कारण सुरु भएका धेरै कामहरु हुन सकिरहेका छैनन् । हिन्दू धर्मप्रति आस्था राख्ने मान्छेहरुका लागि पूजापाठका लागि धेरै संरचनाहरु निर्माण भएका छन् । राज्यको केही लगानी भए पनि धारापानीको धेरै विकास जनस्तरबाटै भएको छ ।

जनस्तरकै सहयोगबाट धारापानीमा धेरै संरचनाहरु निर्माण भएका छन् । शिवपञ्चायन, विश्वको अग्लो त्रिशुल, एक सय ८ शिवलिङ्ग, एक सय ८ तुलसी मन्दिर, ढुङ्गेधारा, सुविधा सम्पन्न धर्मशाला, जोडी वरपिपल, स्नान पोखरी, पार्कलगायतका विभिन्न देवीदेवताहरुको मूर्तिसँगै मन्दिरहरु निर्माण भएका छन् । कतिपय कामलाई थप व्यवस्थित गर्ने काम भइरहेको छ । धारापानीको दीर्घकालीन विकासको काम समेत भइरहेको छ ।

यसैगरी धारपानीलाई सुनकोट मन्दिरसँग जोड्नका लागि सिँढी निर्माण, सुनकोटमै भगवतीको मन्दिर निर्माण, धारापानीमा दक्ष ब्राह्मण उत्पादनका लागि वैदिक गुरुकुल निर्माण, कृत्रिम जलाशय निर्माण, पार्क निर्माणलगायतका कामहरु भइरहेका छन् । यी निर्माण भएपछि धारापानीको थप आकर्षण बढ्ने हामीले विश्वास गरेका छौँ । तर कोरोना भाइरसका धेरै काम निर्माणमा ढिलाइ भएको छ ।

 अन्त्यमा के भन्न चाहानुहुन्छ ?

 धारापानीमा महाशिवरात्रिका अवसरमा धारापानीमा विशेष मेला लाग्दैछ । यो २७ गतेका दिन भनिए पनि खास गरी २६, २७ र २८ गरी तीन दिनसम्म हुने गर्दछ । २७ गते महाशिवरात्रि भएकाले विशेष मेलामा पूजापाठसँगै नेपाली सेनाले सलामी दिने कार्यक्रम रहेको छ ।

विगतजस्तै यस वर्ष पनि विहान ११ बजे सेनाले सलामी दिने कार्यक्रम भएकाले सबैलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गर्दछु । साथै महाशिवरात्रिका अवसरमा धारापानीमा हुने विशेष पूजा कार्यक्रममा सहभागी भैदिनुहुन सम्पूर्ण जिल्लावासीमा अनुरोध गर्दछु ।