प्रतिष्ठानमा नसा खुम्चिएर डल्ला परेको विरामीको अप्रेशन

दाङ,२५ फागुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा डल्ला परेका नसाहरुको सफल अप्रेसन गरिएको छ । घोराहीकी निवासी ७५ बर्षिय एक बृद्धाको खुट्टाको भागमा नसा डल्लो परेर बिरामी भएपछि त्यसको शल्यकृया गरिएको हो ।

प्रतिष्ठानका चिकित्सक सर्जन डा विशाल आचार्य र बिर हस्पिटल काम गरिसकेका सर्जन डा रबि आचार्य नेतृत्वको नर्स एनेस्थेसियासहितको स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकको अप्रेसन गरेको हो । खुट्टाको भागमा नसाहरु खुम्चिएर डल्लो पर्दा हिडडुल गर्न समस्या भएपछि ती वृद्ध प्रतिष्ठानमा भर्ना भएकी थिइन ।

सर्जन आचार्यले प्रतिष्ठानमा अहिले धमाधन अप्रेसनहरु भइरहेको भन्दै बिरामीको चाप अस्पतालमा बढ्दै गएको बताए । उनले प्रतिष्ठानमा पर्याप्त चिकित्सकको उपलब्धतासँगै साना–ठुला अप्रेसनहरु हुन थालेपछि बिरामी उपचारका लागि प्रतिष्ठानमा आउन थालेको बताएका हुन । दुरबिन बिधिबाट एपेन्डिसाइटिस, पत्थरीको अप्रेसन सुरु गरिसकेको प्रतिष्ठानले नसाहरु खुम्चिएका बिरामीहरुको केही दिन यता ४ वटा भन्दा बढि अप्रेसन भइसकेको
बताए ।

उनले शरिरका खुट्टा, घाटी,काखी, पिठ्युलगायतका बिभिन्न भागहरुमा नसा खुम्चिएको, मासु पलाएको, रगत बग्ने नलि खुम्चिएको, छाला टास्ने लगायत थुप्रै सफल अप्रेसन अहिले भइरहेको बताए । टिचिङ अस्पताल काठमाडौं, भैरहवा युसी एमएसमा लामो समय काम गरेर अनुभब बटुलेका आचार्यले बिरामीलाई प्रदान गर्ने सेवालाइ मध्यनजर गर्दै प्रतिष्ठानमा बुटवल भन्दा पश्चिम नभएको दुरबिन बिधीबाट हर्नियाको अप्रेसनपनि छिट्टै सुरु गरिने जानकारी दिएका छन ।

‘दुरबिन बिधिबाट बुटवलभन्दा पश्चिम हर्नियाको अप्रेसन भएको छैन, सेवा बिस्तारलाई जोड दिदै त्यो सेवा पनि अब सुरु गर्छौ’–उनले भने–‘दुरबिन बिधिबाट हर्नियाको अप्रेसनका लागि दाङका बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता छ, अब यो सेवा अव प्रतिष्ठानमा छिट्टै सुरु हुदैछ ।’