देवराज भण्डारी
तुलसीपुर, २५ फागुन । तुलसीपुर–७ कालाखोलामा सञ्चालन हुन थालेको ऐतिहासिक भोटे मेलाको आज उद्घाटन गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तुुलसीपुर एक्सप्रेस प्रालिको आयोजनामा हुन थालेको ‘भोटे मेला २०७७’ को उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गर्ने भएका छन् ।
आजदेखि सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक तुुलसीपुर एक्सप्रेस प्रालिले जानकारी दिएको छ । तत्कालीन सरकार र माओवादीबीच भएको युद्धका कारण बन्द भएको ऐतिहासिक भोटे मेलालाई पुनः निरन्तरता दिने उद्देश्यले गत बर्षदेखि उक्त ठाउँमा भोटे मेला सञ्चालन हुन थालेको छ ।
सोहीअनुसार यस बर्ष पनि उक्त ठाउँमा मेला गर्न थालिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीले बताएका छन् । आन्तरिक पर्यटनको प्रवद्र्धनसँगै पुरानो मेलालाई निरन्तरता दिने र यस क्षेत्रको आर्थिक विकासकामा सहयोग पु¥याउने उद्देश्य हो ।
भोटे मेलाबाट संकलन रकमबाट घोडा किन्ने, मावि खालाखोल विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पु¥याउने कार्यक्रम रहेको मेला सांस्कृतिक समिति संयोजक दीपक कुमालले जानकारी दिएका छन् । उनका अनुसार मेलाबाट संकलन पैसाबाट घोडा किन्ने र त्यो घोडा राप्ती शान्ति उद्यान (गणेशपुर र्पाक) मा राखिने भएको छ । उनका अनुसार ती घोडालाई चमेरे गुफा र छिल्लीकोटको पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाउने भएको छ ।
त्यसैगरी शिवमन्दिरको मर्मत सम्भारसँगै रानीघाट युवा क्लवलाई आर्थिक सहयोग समेत गर्ने भएको छ । मेलामा १ सय ३० स्टलहरु राखिएको छ । जसमध्ये ८० स्टल बुकिङ भइसकेको उनले जानकारी दिएका छन् । मेलाको पहिलो दिन उद्घाटन कार्यक्रमसहित घोडादौड प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, डान्स आइकन अडिसनलगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ । मेलामा जुम्लीहरुको देउडा नृत्य प्रस्तुत गरिने छ ।
महोत्सवको उद्घाटनपूर्व विभिन्न जातजातिका भेषभूषासहितको झाँकी ¥याली निकालिने संयोजक कुमालले जानकारी दिए । तुलसीपुर–७ का टोल विकास संस्थाहरुको सुरक्षा समिति निर्माण गरिएको छ । त्यस्तै मेलामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी २० जना सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । ६ दिनसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले विशेष प्रस्तुत दिने राख्ने भएका छन् । मेला फागुन २६ गतेदेखि चैत २ गतेसम्म तुलसीपुर–७ स्थित कालाखोलामा सञ्चालन हुनेछ ।