द्रौपदीको पूर्वकथा

राधेश्याम उपाध्याय

द्रौपदी पूर्व जन्ममा वाह्मणहरुमध्ये श्रेष्ठ मेधावी ऋषिकी अत्यन्त राम्री सुन्दरी एक्ली छोरी थिइन् । शील स्वभावले पूर्ण चतुर र बावुकी प्यारी थिइन् । मेधावी ऋषिले पनि छोरीलाई साहित्य शास्त्रमा कुसल तथा नीतिशाास्त्रमा पनि प्रवीण बनाएका थिए । उनकी आमाको सानैमा स्वर्गवास भै सकेको थियो । आमा नभएको र बावुकी एक्ली सन्तान भएकाले उनी घरायसी काममा पनि निपुण थिइन् ।

उनको विवाह हुँदा हुँदै बिग्रिएको थियो । त्यसैले उनलाई आफू सुहाउँदो सुन्दर सुशील बुद्धिमान पति पाई गुणी र भाग्यमानी सदा सुख समृद्धि दिने सज्जन छोराहरु कसरी हुनन् भन्ने तीव्र इच्छा तथा सन्ताप पनि थियो । आफ्ना सखीहरु सबैको विवाह भई पति सुख पाइरहेको र आफू कुमारी नै रहनु परेकोमा चिन्ता पनि थियो । उनी आमाको सानैमा परलोक भएकोमा पनि चिन्तित थिइन् ।

मेधावी ऋषि पनि छोरीको कन्यादानका लागि छोरी सुहाउँदो वर खोज्दै चारै दिशा घुमे किन्तु भने जस्तो वर भेटाउन सकेनन् र निराश भई घर फर्किए । छोरीको भाग्य र आफ्नो कर्मका कारण छोरीको वर नभेटीएकोमा मेधावी ऋषि चिन्तित थिए । त्यही चिन्ताका कारण पुरुषोत्तम भगवानलाई सम्झदै परमधाम हुँदा भए । यसरी पिताको प्राण गएको देखेर पिताको मृत शरीरलाई काखामा राखेर अत्यन्तै दुःखी भई ती कन्या रुन विलाप गर्न लागिन् । अब म कसरी बसुला नत मेरी आमा नै हुनुहुन्छ न मेरा दाजुभाइ, दिदीबहिनी नै छन् नत बन्धुबान्धव नै छन् ।

मलाई कस्को जिम्मा लगाएर जानुभयो बाबा । मेरो भोजन तथा वस्त्रको चिन्ता अब कसले गरी देला । अब यो वेद ध्वनिले रहित भएको सुनसान निर्जन वनमा भएको यो तपाईको शून्य आश्रममा अब उप्रान्त म कसरी कस्को सहारामा बसूँ । मेरो विवाह विधि नगरिकनै आज तपाई कहाँ जानु भयो भनी बलिन्द्र आँशुका धारा बगाउँदै हर क्षण विलाप गर्न लागिन् ।

बाबुको वियोगमा ब्याकुल भएर डाको छोडी रुन कराउन लागिन् । यो सबै त्यस वनमा भएका ऋषि तथा ब्राह्मणहरुले थाहा पाएर जम्मा भई ऋषि पुत्रीलाई सम्झाई बुझाई शव श्मसानघाटमा लगि चिता बनाई विधिपूर्वक अन्त्येष्टि गरिदिए । ऋषि कन्याले पनि धैर्यधारण गरी बावुको काजकिरिया गरिन् र बावुको आश्रममा नै अत्यन्न आकुल व्याकुलताका साथ एक्लै बस्दी भइन् ।

यसरी वनका बीचमा एक्लै सुनसान कुटीमा विलाप गर्दै बस्दा केही समय वित्यो । केही समयपछि पूर्वजन्मको प्रभावले महर्षि अत्रि र पतिव्रता शिरोमणि अनुसुयाहरुको तपस्यारुपी कल्पवृक्षको ठूलो फल जस्ता रुद्रका अंशबाट जन्मिएका मानौं दोश्रो कालरुद्र जस्ता अत्यन्त क्रोधी मुनि भगवान दुर्वासा टुप्लुक्क त्यहाँ आइपुगे । अचानक यसरी दुर्वासा मुनि आएको देखेर धैर्यपूर्वक मुनिका चरणमा आदर श्रद्धापूर्वक ढोगी आश्रममा बसाई पूजा गरी सेवा गरिन् र मुनि लाई खुसिपारिन् ।

मुनि दुर्वासा खुसी हुँदै तिम्रा पिताको पुण्यको प्रभाव तथा तिम्रो पूर्वजन्मको फलले म कैलाशबाट आएको हुँ र बद्रीका आश्रम जादै छु । तिमीलाई के दुःख छ भन भने । यो सुनेर खुसी हुँदै ऋषिकन्याले आफ्ना सबै दुखको वर्णन गरिन् र मलाई विवाह गर्न कोही पनि चाहिरहेका छैनन् । अब मेरो विवाह भएन भने म वृषली (शुद्रिणी) हुन्छु कि भन्ने मलाई डर छ । हे रुद्रावतार मेरो उद्धार गर भनी भन्दी भइन् । यो सुनेर अत्यन्त क्रोधी मुनि दुर्वासाले केही विचार गरेर भन्नुभयो । हे कन्या तिमीलाई अत्यन्त गुह्यकुरो भन्दछु सुन । अब आउने तेश्रो महिना पुरुषोत्तम महिना हो ।

पुरुषोत्तम महिनाको स्वामी स्वयम् पुरुषोत्तम भगवान हुनु हुन्छ । यो महिना बाह््रै महिनामा श्रेष्ठ छ । यो महिना भगवान् श्रीकृष्णलाई प्यारो छ । त्यसैले तिमी अत्यन्त शक्तिशाली कल्याणकारी पुरुषोत्तम भगवानको भजन गरी व्रत बस तिम्रो इच्छा पूरा हुनेछ । यो सुनेर ती कन्याले मुर्खतावस मनमनै क्रोधित भई हे मुनि तपाईले भन्नुभएको मलाई मन परेन किन भने माघ कार्तिक वैशाख महिनाहरु पनि राम्रो फल दिने महिना छन् ।

त्यस्तै भगवान् शिव सूर्य जगदम्बीका देवी गणेश जसले भक्तहरुलाई इच्छित वर दिन सक्नु हुन्छ । यस्तालाई छोडेर तपाईले मलाई अत्यन्तै मलिन हुनाले सबै शुभकार्य मा निन्दित महिना जसमा रवि संक्रान्ति नभएको दूषित महिनालाई हजुरले कसरी श्रेष्ठ भन्नुभयो । साह््रै दुख नाश गर्ने श्रीहरि, राम, शंकर आदि देवताहरु भन्दा पुरुषोत्तम मास कसरी ठूला भए भनी निन्दा गर्दी भईन् ।

ब्राह्मणपुत्रीको यस्तो निन्दित कुरा सुनेर क्रोधी मुनि क्रोधले राताराता आँखा जाज्वल्यमान र भयङ्कर डरलाग्दा हुँदा भए । तै पनि आफ्ना मित्रकी पुत्री सम्झेर दयाले मन पग्लिएर यो मूर्ख हो आफ्नो भलाइको कुरा जान्दिन केटाकेटी बुद्धि नभएकी भन्ने ठानेर सरापेनन् र भने हे वालिके मित्रकी छोरी तिम्रो उपर मेरो कुनै प्रकारको क्रोध छैन । हे भाग्य हीन कन्या तिम्रो मनमा जे इच्छा छ आफ्नो रुचिअनुसार त्यसै गर ।

तिमीले पुरुषोत्तम महिनाको जुन अनादर ग¥यौ त्यसको फल तिमीलाई यो जन्ममा होस् वा अर्को जन्ममा भए पनि अवश्य मिल्ने छ । अब म नारायणको आश्रम बद्री जान्छु । हे मूर्ख वालिके हुने कुरा हुने नै छ टारेर टर्दैन । तिम्रो कल्याण होस् भनी ऋषि बद्रिका आश्रमतर्फ हिंडे । त्यसपछि ती मेधावी ऋषिकी पुत्री आर्षेयी जङ्गलको एकान्त स्थानमा रहेको आफ्नै आश्रममा बसेर शङ्कर भगवानको अत्यन्त कठोर आराधना गर्न लागिन् । यसरी उनले ९ हज्जार वर्ष कठिन तपस्या गरिन् । इन्द्रादि देवता पनि यिनको तपस्या देखी डराउन लागे ।

त्यसपछि खुल्ला आँखाले देख्न नसकिने दिव्य दृष्टिले मात्र देखिने आफ्नो दिव्य स्वरुपको दर्शन भगवान शिवले दिनुभयो र भन्नुभयो हे भाग्यमानी तपस्विनी तिम्रो कल्याण होस् तिमीदेखि म अत्यन्त प्रसन्न छु वरदान माग । यो सुनेर अत्यन्त खुसी हुँदै ती ऋषिपुत्रीले हे महादेव मलाई पति दिनुहोस्, पति दिनुहोस्, पति दिनुहोस्, म पति चाहन्छु सर्वगुण सम्पन्न पति दिनुहोस् मेरो मनमा अरु केही चाहना छैन । यो सुनेर महादेवले हे बालिके तिमीले मसँग पाँच पटक पति माग्यौं ।

तिम्रो ईच्छाअनुसार पाँच गोटा पति हुनेछन् । ती सबै सर्वगुण सम्पन्न शूरवीर, सकल धर्म जान्ने, सज्जन, सत्य पराक्रमी ठूल्ठूला यज्ञ गर्ने वाला, विश्व विख्यात सत्यवादी इन्द्रियहरुलाई बसमा गर्न सक्ने सदा तिम्रो परामर्श लिने ती सबै अत्यन्न गुणी क्षेत्रीहरु हुनेछन् । यो सुनेर झस्कदै ती ऋषिपुत्रीले भनिन् हे सदाशिव संसारमा पतिव्रता नारीको एउटामात्र पति हुन्छ । मेरा पाँच पति हुँदा यसबाट मेरो लज्जाबोध हुनेछ । मलाई लोकले निन्दा गर्नेछन् । हे प्रभो यसले हजुरको कीर्तिमा समेत धक्का लाग्ने छ ।

त्यसैले हे प्रभु मलाई सर्वगुण सम्पन्न एउटा मात्र पति दिनुहोस् । यस्तो बालिकाको अनुरोध सुनेर सदाशिवले भन्नुभयो हे वालिके यस जन्ममा तिमीलाई पति सुख हुने छैन । अर्को जन्ममा तिमी योनीबाट नजन्मेर अग्निबाट प्रकट हुने छौ । एउटै व्यक्तिमा सर्वगुण सम्पन्न नहुने भएकाले सर्वगुण सम्पन्न पाँच पतिबाट सुखभोग गरेर, भोगेर पछि परमपद वैकुन्ठ जाने छौ । यो जन्ममा भने तिमीलाई पति सुखभोग छैन किनकि तिमीले मेरो प्रतिमूर्ति दुर्वासालाई तिमीले अपमान गरेकी छौं । तिनीले चाहेमा तिनै भूवन डढाई दिन सक्छन् ।

तिमीले घमण्डले उम्लिएर अभिमानवस त्यस्तो ब्रह्मतेजलाई अपमान गरेकी छौं । पुरुषोत्तम महिनाको व्रत तिमीले गरिनौं । सत् असत् कुराको विचार नगरी व्यर्थैमा वादविवाद गर्ने कल्याणकारी कुराको उपदेशमा शङ्का गर्ने काम गर्नु हुँदैन । सो कुरो तिमीले ग¥यौं । यस कारणले तिम्रा पाँच पति एकै साथ हुनेछन् । कुनै एक पतिसँग सहवास गरी विहान स्नान गरेमा पुनः तिमी शुद्ध नै हुने छौं र तिमी पञ्चकन्यामा गणना हुनेछौ भनी ऋषि कन्यालाई वरदान दिई सदाशिव अन्तरध्यान हुनु भयो । केही समयपछि ती कन्याको पनि मृत्यु भयो ।

द्वापर युगमा धर्मात्मा यज्ञसेन नामका राजाले गुरु द्रोणाचार्यको मृत्यु गर्न सक्ने छोराको अभिलाषाले ठूलो अति उत्तम यज्ञ गरे सोही यज्ञबाट एक छोरा धृष्टद्युम्न र एक छोरीको उत्पत्ति भयो ती कन्या नै पछि द्रुपद राजाकी छोरी द्रौपदी भनेर संसारमा प्रख्यात भइन् । द्रौपदीलाई अग्नीकुण्डबाट उत्पत्ति भएकाले अग्नीसयनी र पछि यज्ञसेन राजाले छोरी द्रौपदीलाई आफ्ना साथी पाञ्चालदेशका राजालाई दिएका र उनको सम्पूर्ण लालन–पालन पाञ्चालदेशमा भएकाले उनलाई पाञ्चाली पनि भनिन्छ ।

जसलाई स्वयम्वरमा माथि घुमिरहेको माछाका आँखामा तल रहेको तेलमा माछाको छाया हेरेर भेदन गरी अर्जुनले बाजी मारी ल्याए र आमाको वचन तथा द्रौपदीको पूर्वजन्मको वरदान बमोजिम पाँच भाइले विवाह गरे । द्रौपदीले महादेवबाट पाएको पाँच पतिको र सर्वगुण सम्पन्नको वरदान पूरा भयो । जस्मा पाण्डवका युधिष्ठिरमा धर्मपरायणता, भीमसेनमा बलवत्ता, अर्जुनमा श्रेष्ठ धनुर्धर, सहदेवमा रुपवान र नकुलमा धैर्यवानको गुण थियो ।