मातृत्वको उन्माद

यम रेग्मी

भाद्र महिना, तीजको दर खाने दिन । तीजको रौनक घरआँगनमा पसिसकेको थियो । बाटोमा माइत जानेहरूको संख्या बाख्लै थियो । केटाकेटी तीजको दिनमा लगाउने नयाँ लुगा हेर्दै फुरुङ्ग थिए । किशोरीहरू कस्मेटिक सामान किन्नमा व्यस्त थिए । बूढाहरु पकाउनमा व्यस्त थिए । दिउँसैदेखि सबैका घरमा खानाका परिकारहरु पाकिरहेको थियो ।

रक्षाका आमा–छोरी पनि दिउँसैदेखि दर पकाउन लागे । सीता डिब्बाबाट राज्मा झिकिन र भिजाइन् । बोराबाट आलु डेप्चीमा खन्याइन् र उसन्न अगेनामा बसालिन् । घरको पेटीमा छिट्नी थियो । रक्षा छिटनी टिपी र हरिया तरकारी खोज्न बारीतिर लागी । घरदेखि माथितिरको ठूलो झाल थियो । झालभरि लटरम्म सेता करेला फलेको थियो । चाहिनेजति करेला टिपी । आँठैमा काँक्रोको ठूलो झाल थियो । लटरम्म फलेका थिए काँक्रा । दुईवटा टिपी अँचार र राइतोका लागि । त्यसलाई पनि छिट्नीमा राखी । अर्को एउटा अलि सानो काँक्रो टिपी । दोपट्टाले लपक्क पुछी बाहिरी भाग अनि क¥याम्म सिङ्गो काँक्रो टोकी । काँक्रो चपाउँदै मकैबारीभित्र छिरी ।

बारीमा तरकारीको केही कमी थिएन । एकैछिनमा बोडी, भिन्डी र फर्सीका मट्टाले छिट्नी भराई । मकै हरियै थिए । पोलेर खान दुईवटा घुँगा मकै भाँची । धेरै दिनपछि पुरै बारी फनक्क घुमी । घुमेर घरदेखि तलतिरको झालमा आई । झालमा चिचिन्नो अथाहा फलेका थिए । झाल तानी–तानी पुग्नेजति चिचिन्नो टिपी । नजिकै घुइयाको घारी थिए । एक छाक गाभा टिपी र घर आई । पेटीमा थचक्क बसी । भर्खर अपे्रशन भएको शरीर, हात गोडा थर्रर कापिरहेका थिए । लपक्क निधारको पसिना पुछी । लामो सुस्केरा हाली ।

आमाले हातमा पानीको गिलास राखिदिँदै बोलिन्–‘अप्रेशन भएको महिना दिन भएको छैन, के को बारीमा जानु प¥यो यसलाई, चक्कर लाएर बारीमा ढल्या भए ?’
रक्षा मुसुक्क हाँसी केही बोलिने । ऊ बसिबसी तरकारी केलाउन थाली । ऊ केलाउँदै गई, आमा पकाउँदै गइन् ।

साँझको पाँच बजिसकेको थियो । बिना सूचना, विना आमन्त्रण, फुपूको छोरी प्रभा टुप्लुक्क आइपुगी । रक्षाभन्दा दुई वर्ष जेठी थिई, प्रभा । सानो गाठेकी भएकीले होला, हेर्दा रक्षा दिदीजस्ती देखिन्थी, ऊ बहिनी देखिन्थी । प्रभाका दुई सन्तान भएका थिए । जेठो छोरो तीन वर्षको थियो । सानी छोरी ६ महिनाकी थिई । सानी छोरी पछाडि बोक्दै, एउटा हातमा छोरो समाउँदै, अर्को हातमा झोला फुण्ड्याउँदै देखापरी प्रभा ।
उसको आगमनले खुशीको तरङ्ग आयो । केही वर्षपछि तीज तीज जस्तो बनेर आयो । केही समय भए पनि रक्षाले तीतो विगतबाट छुट्कारा पाई ।

तीजको दिन । विहानैदेखि पारिलो घाम लागेको छ आज । भर्खर नुहाएर आएकी नव किशोरीझैँ सफा छ गगन । घरबाट तार्किनी, सवारीकोट, घोरदौरा चङ्ग देखिन्छ । खेतको धानले हरियो गलैँचाको आभाष दिन्छ । मनमोहक छ, वातावरण ।

दिन सुस्तरी छिप्पिँदै छ । बाटोमा मान्छेको चहलपहल पनि बढ्दै छ । आमाले रक्षातिर हेर्दै बोलिन्– ‘नानी ! भाञ्जीलाई नाच देखाउन लैजाऊ न !’
रक्षा जाँगर गरिने । उसले सुतिरहेको नानीतिर हेर्दै बोली– ‘यो सानो नानीलाई म हेर्छु, दिदीज्यू र हजुर जानुस् न ।’

माइजु–भाञ्जी जाने कुरा भयो । केहीछिनमै तयार भए । सानी छोरी निदाएकी थिई । रक्षाको जिम्ममा छोरी छोडेर प्रभा डाँडातिर लागी ।
एकछिन् अगाडिको भरिलो कोठा, रसयुक्त संवाद, सुनसान भयो । घ¥याक्क ढोका लगाई । झनै शान्त भयो, कोठा । पलङमा आई थचक्क बसी । सरक्क सरेर बच्चाको नजिक गई ।

मस्तसँग सुतिरहेको छ, बच्चा । नियालेर धेरैबेर बच्चाको अनुहार हेरी । आफ्नो खेर गएको बच्चा सम्झिई । भित्रैबाट मातृत्वको छाल उर्लेर आयो । निथ्रुक्क भिजी वात्सल्यको रसले । मन पग्लियो आगोको अगाडि बरफ पग्लिएझैँ । चिसी भई । जाडोले कापेका बालकझैँ लुगलुग काप्न थाली । चिसा पसिनाले बाहिरी शरीर चुत्रुक्क भिज्यो ।

धेरै बेर बच्चाको अनुहार हेर्न सकिने । पलङबाट सुस्तरी भूइँमा झरी । थचक्क बसी । पलङको बारामा टाउको आडेस लगाई । सुक्क–सुक्क गर्दै केही बेर रोई । मनले के सोची कुन्नि कुर्थाको सप्कोले आँखाका आँसु पुछी । एक्कासी जुरुक्क उठी बसेको ठाउँबाट । पुःन बच्चा नजिकै गई । सुस्तरी बच्चाको पातला कैलो कपाल मुसारी । निधार मुसारी ।

गाला मुसारी । मनले मानिन् । ओडेको च्यादर हटाई शरीरबाट । धेरै बेर नियालेर हेरी घाँटीदेखि तलको भाग । मन झनै चञ्चल भयो । छातीबाट चुहिएर पोखिएलाझैँ भयो मातृत्व भाव । मन थाम्न सकिन । बच्चाको जिउको भोटो खोली । सुरुवाल खोली । नाङ्गो पारी बच्चालाई । बच्चा रुन थाल्यो ।

रुवाईको केही प्रवाह नगरी बच्चा शिरदेखि पाउसम्म हेरिरही ।
थर्रर कापी र कर्रर दाह्रा किटी, यौनको उन्मातमा कामुम स्त्रीझैँ । बेहोसीमै लगाएको कुर्था खोली । छाती छोप्ने ब्रा खोली । कम्मरदेखि माथि पुरै नाङ्गी भई ।
बच्चा आफ्नै गतिमा रोइरहेकी छे । बच्चालाई दुवै हातले च्याप्प छोपी । नाङ्गो छातीमा लपक्क टाँसी । बच्चालाई माथि पारेर पलङमा पल्टिई ।

बच्चाको मुख स्तनको टुप्पो पु¥याई । बच्चाले आमा ठान्यो । मुखले च्पाप्प–च्पाप्प पार्दै स्तन चुस्न थाल्यो । अर्को हातको औलाले स्तनको टुप्पा खेलाउन थाल्यो । पहिलो पटक मन पराएको मान्छेको शरीर संवेदनशील अङ्गमा परेझैँ सल्बलायो पुरै शरीर । अथाहा आनन्द आयो । छातीको ढड्कन बढ्न थाल्यो । ऊ मातृत्वको रसमा भिजेर रुन थाली । जति चुस्दा पनि बच्चाले दूध पाएन । उसले चुस्न छोड्यो । स्तनबाट मुख हटाएर रुन थाल्यो ।

तर रक्षा जवर्जस्ती गर्न थाली । बच्चाको मुख स्तनमा पु¥याउन थाली । बच्चा रुँदै हटाउँदै गयो । ऊ लगाउँदै गई, बच्चा र उसको बीचमा महाभारत चल्यो केही बेर ।
अन्त्यमा रक्षाको हार भयो । बच्चाको जित भयो । जति गर्दा पनि उसको केही सीप लागेन । ऊ रिसले आगो भई । एक पटक जोडले नाङ्गो ढाडमा हातले झ्याम्म बजाई । बच्चा चिर्रर चिच्यायो ।

फेरि जवर्जस्ती स्तनमा मुख पु¥याउँदै बोली–‘किन रुन्छस् ? खा मेरो बुबु ? म पनि आमा हुँ । मेरो पनि तेरी आमाकोझैँ पोटिलो स्तन छ । पराकियो यौनी छ । मातृत्वले भरियो नौनी भन्दा कमलो मन छ । मेरो छाती बाँझो हैन । म धर्ती हु । धर्ती कहिल्यै बाँझो हुन सक्दैन ।’

बच्चा झनै ठूलो स्वरमा रुँदै गयो । रक्षा बात्सल्यको उन्मादमा बोल्न हुने कुरा पनि बोली । बोल्न नहुने कुरा पनि बोली । के–के बोली के के !

प्रभाको छोराले धेरै सतायो । उसले मानेन टाढासम्म जान । माइजू भाञ्जी बाटोबाटै फर्किए । जब प्रभा घरको आँगन टेकी । छोरी चिच्चाएको आवाज सुनी । दगुरेर आई । बाहिरबाट ढ्वाक्क ढ्वाक्क पारेर ढोका हल्लाई । हल्लाईले ढोकाको चुक्कुल तल झ¥यो । ढोका खुल्यो ।

एक्कासी जब प्रभा कोठामा पसी । रक्षा जुरुक्क गठी विस्तराबाट । सुपादेउराली मन्दिरमा काट्न तयार पारेको पाठीझैँ डरले काप्न थाली । केही बेर अगाडिको मात्रृत्वको आँधीवेहरी शिथिल भयो । होसमा आई । जब उसले यथार्थको धरातल टेकी । च्यादरले नाङ्गो छाती छोपी । लाजले दिदीको अनुहार हेर्न सकिन । अपराधीलेझैँ दुवै घुँडाको कापमा शिर लुकाइरही ।

कल्पना पनि नगरेको अनौठो दृश्य जब प्रभा देखि, प्रभा हेरेको हेरै भई । हेर्दाहेर्दै दुवै परेला तर्रर बगे । हात–गोडा लुला भए । ऊ बोल्न सकिन । छ महिनाकी नाङ्गी छोरी पहिलेदेखि रोइरहेकी थिई । पलङबाट छोरीलाई उठाई । अँगालोमा बेरी । बाहिरबाट लपक्क सारीको सप्कोले छोपी । नजिकै आफूले ल्याएको झोला थियो । अर्को हातले झोला छोपी । अपराधीलाई हेरेझैँ रक्षातिर पुलुक्क हेरी ।

कोठाबाट बाहिर निस्किँदै दबेको स्वरमा बोली–‘यो बाँझीले मेरो सन्तानलाई पनि बाँझो बनाउने भई । केही ढिलो गरेको भए मार्ने रहिछे यो अपुत्रीले ।’

सीता भैँसीलाई घाँस हालेर कोठामा आउँदै थिइन् । एक्कासी भाञ्जीको अनौठो चाला देखिन् र बोलिन– ‘के गरेको भाञ्जी यो ? के भयो तपाईंलाई एक्कासी ?’

‘सोध्नुहोस् तपाईं बाँझी छोरीलाई ?’ माइजूलाई रुखो वचन लगाई प्रभा । सीता चिसी भइन्, भाञ्जीको शब्दले । केही भन्न खोज्दै थिइन् । तर जिभ्रोले कामै गरेन । लाटी भइन् । पछाडिबाट नजानका लागि हात उठाइन्, मात्र । प्रभा पछाडि फर्किने । सरासर बाटोतिर लागी ।

ठूलो छोरो हातको चिजबल खाँदै आमाको पछि–पछि लाग्यो । सीता निष्प्राण भएर उता भाञ्जी गएको पछाडिबाट हेरिरहिन् । यता कोठाभित्र रक्षा सुक्क–सुक्क गर्दै रोएको आवाज सीताको कानसम्म आइपुग्यो ।

तल्लो जीवन उपन्यास अंश क्रमशः …