विनोद पोख्रेल
२०७६ जेठ २५ गते
भनेअनुसार गर्ने हो भने यसपल्ट हाम्रो धेरै जमिनमा खेती हुँदैछ । केही वर्ष बाँझो रहेको जमिनमा खेती हुनमात्रै पनि मेरा लागि सन्तोष लाग्ने कुरो हो । अझ रमाइलो कुरो मैले कसैलाई पनि लगाउन भनेको छैन । आफै आएर हामी लगाउँछौं भनेका हुन् ।
यो परिवर्तन कसरी आयो भन्ने कुरामा म अलि गम्भीरर छु । विदेश गएकाहरुले यस्तो गरेको भए अब विदेश नजाने भनेर यस्तो गर्ने सोच बनाए भन्ने लाग्थ्यो । तर मसँग खेत लगाउन गएकाहरु कोही पनि विदेश गएका छैनन् । बरु दुई परिवार बोर्डिङ स्कुलको जागिरमा आधारित हुन् । एउटा परिवार सायद पेन्सनमा रिटायर्ड भएका हुन् । यो लकडाउनले स्कुलहरु कहिले खुल्ने हुन थाहा छैन । खुले पनि निजी स्कुलले पुरै तलब दिने कुरामा शंका नै छ । त्योभन्दा यिनीहरुले दिगोपन खोजेको हुनुपर्छ ।
खेतीजस्तो सुरक्षित र दिगो व्यवसाय अरु पटक्कै छैन । आजभोलिकै कुरा गर्ने हो भने खेतीमै आधारितहरुलाई लकडाउन खोल्न वा खोलाउन विशेष हतार छैन । अरुमा आधारितहरुलाई नै हतार देखिएको छ । हाम्रो शैलीअनुसार पनि र विश्वकै अन्य व्यापारी, उद्योगी गतिविधि हेर्दा पनि खेीमा सोचेजस्तो कमाई हुँदैन तर खेती भएपछि केही कम वा बेसी फसल तयार गर्न सकियो भने पनि खानलाई चिन्ता हुँदैन ।
जमिन हुँदा–हुँदै पनि यसमा लागेर धेरै कमाउन सकिन्न भन्ने सोचले नभएकाहरुको नकल गर्दै जमिनको वास्तै नगरेर धेरै कमाउनतर्फ लागे । मानव स्वभावअनुसर यसलाई गलत मान्न पनि सकिँदैन तर आफ्नो जमिन हुँदा–हुँुदै सामान्य खानासमेत जुटाउनभन्दा किन्न सजिलो मान्ने प्रवृत्तिले गर्दा हामी अप्ठेरो परिस्थितिमा खाना समेत नपाउने भयौं । यो शिक्षा सायद यही अप्ठेरो परिस्थितिले दियो र मानिस फेरि यतातर्फ आकर्षित हुन लागेकी भन्ने आशा जागेको छ ।
आत्मनिर्भरता सबैभन्दा ठूलो उपलब्धि पनि हो र सफलता खास गरेर आर्थिक सफलता पनि हो । आत्मनिर्भर हुने स्वतन्त्र आधार भनेको जमिन जस्तो अरु केही हुने रैनछ भन्ने प्रमाण हो, यो । अरु कुराको विकल्प हुन्छ तर खाने कुराको विकल्प हुँदैन । त्यसकारण खानमा मात्रै आत्मनिर्भर हुनसके धेरै कुरा गर्ने मौका पाइन्छ र गर्न सकिन्छ भन्ने कुरो एकपटक फेरि प्रमाणित भएको छ ।
त्यस्तै जमिन बेचेर व्यापार गर्नेहरु, बैंक ब्यालेन्स धेरै भएकाहरु, ऋण गरेर उद्योग गर्नेहरुसमेतले पैसाको कारोबार भन्दा धेरै ठूलो पेटको कारोबार हो भन्ने बुझेको हुनुपर्छ । पैसा खान मिल्दैन । खाने कुराको लागि अरुको भर पर्नेहरुले कुनै कारणले अरुबाट पाउन सकेनन् भने भोकै बस्नुपर्छ । तिनी गरिब पनि हुनसक्छन्, धनी पनि हुनसक्छन् । उद्योगी, व्यापारी, नेता, कर्मचारी जे पनि हुनसक्छन् । पछि जमिन यसरी खोजेर खेती गर्नतर्फ लाग्नु यही दिगो आत्मनिर्भरताको प्रयास हो भने यो अति सकारात्मक पक्ष हो ।
अझ विदेश गएकाहरु पनि नफर्किने सोच बनाएर घरमा आए भने उनीहरुले पनि खोज्ने भनेको आत्मनिर्भरता नै हो । त्यतिबेला यही साना–तिना उद्योग, व्यापारसमेत शुरु हुन सक्छन् । उनीहरुले आफ्नो सीपको, आफ्नो ज्ञानको प्रयोग त गर्छन् नै । अन्य उपाय र अन्य विकल्प पनि खोज्छन् । उद्देश्य आत्मनिर्भर हुन सक्नु नै हुनेछ । आवश्यकता आविष्कारको जननी हो ।
अहिलेको आवश्यकता र भोग्नुपरेको अप्ठेरोले हाम्रो देशलाई खासगरेर युवापिढीलाई आफ्नो श्रम, आफ्नो पुँजी र आफ्नो सीपको भरमा, भएको क्षमताको विकास गर्दै आत्मनिर्भर बन्न प्रेरणा दिनसक्यो भने कोरोना भाइरस र भोग्नुपरेकोे लकडाउनलाई धन्यवाद दिनुपर्ने पनि हुनसक्छ । म यस पक्षमा केही आशावादी भएको छु ।
२०७६ जेठ २६ गते
सबै साथीहरु जुट्ने, अनुभव साट्ने, गफ गर्ने परिवेश भएको भए यो साल गर्मी नै नभएको भनेर गफ गरिन्थ्यो होला । बर्षा–बादल आदिले त गर्मी बढ्न दिएको छैन नै । कतै नजाने घरभित्रै बस्ने भएकाले केही गर्मी छ भने पनि मजस्तालाई थाहा छैन । मौसममा यति ठूलो परिवर्तन छ तर यस्को चर्चा छैनभन्दा हुन्छ । यो सबै अहिले ठूलो मानिएको नयाँ मानिएको रोगको चर्चाले हो ।
बढी प्रभाव पार्ने रोग भएकाले यसलाई बढी महत्व दिइएको छ र यसको मात्रै चर्चा छ । अथवा यो युग नै विज्ञापनको हो कि ? जसको बढी प्रचार–प्रसार हुन्छ, त्यसकै बढी चर्चा हुन्छ र त्यसैलाई बढी महत्व दिइन्छ । यो घर बसाईमा त कुनै आत्मीयले फोनमात्रै ग¥यो भने पनि खुसी अनुभव हुने रैछ । सबैको भाषा एकै छ । सायद भोगाई एकै भएर होला । सबै आत्तिएका छन् र यो कहिलेसम्म जाने हो भन्नेमा छन् । सामान्य परिवर्तन भयो भने पनि डर यति धेरै भरिएको छ कि त्यो परिवर्तन सबैले कति स्वीकार गर्ने हुन् थाहा छैन ।
जीवन सहज हुन मात्रै पनि अलि समय लाग्नेजस्तो देखिन्छ । टाढा गएर मजदुरी गर्नु कसैको रहर होला तर धेरैको बाध्यता हो भन्ने मेरो बुझाइँ हो । यस्तो हो भने टाढा गएर मजदुरी गर्नेहरुले यसपल्ट जे भोगे, त्यसले उनीहरुको र उनलाई देखेर अरुको समेत सोचमा कति फरक आउँछ त्यो हेर्न बाँकी नै छ । विदेश रहरले जानेहरु पनि झस्केको त पक्कै हुनुपर्छ तर त्यसको परिणाम पनि हेर्न भने बाँकी नै छ । म आफूले शुरु गरेको विषयभन्दा बाहिर गएँ । यस बर्षको गर्मीको समयको अनुभव नयाँ हो ।
गर्मी अनुभव नै नभएको कुरो मैले पनि मैले माथि गरे । यताउता नहिँड्ने भएपछि त कपडासमेत पनि चाहिने रैनछ । त्यतिमात्र होइन हाम्रै घरमा एउटा कार्यक्रमको सोच थियो । नातिहरुको ब्रतवन्धको योजना थियो । त्यो हुनै सकेन । यस्तै सोचेका कामहरु धेरैका रहेका होलान् । गर्न पाएको भए त्यति गर्मी नभोगेर नै गरिन्थ्यो । सजिलरी सकिन्थ्यो । अब गर्ने बेलामा के–कस्तो हुने हो थाहा छैन ।
आजको मितिको भरमा भन्नेहरु भने असारको ११ गते एकदिन मात्रै यो वर्षमा लगन बाँकी छ । तर बोलाउनै पर्नेलाई बोलाउन सकिने, नसकिने, त्यस्तै आउनैपर्नेहरु आउन सक्ने, नसक्ने कस्तो परिस्थिति हुन्छ भन सकिँदैन । गर्न सकिएला जस्तो लाग्ने छाडिसकेको छ । कम्तीमा पनि एक वर्षपछि सरेको मेरो मानसिकतामा । यो पनि मेरा लागि नयाँ अनुभव हो । काम नसकिँदासम्म यो काम बारेको सोच रहिरहने निश्चित छ । कहिले र कसरी होला भन्ने कुरोले धेरै थोरै सताइरहनेछ । अरु अनुभवहरु भने सबैका एकै हुन् ।
भेटघाट हुन नपाउनु एकापट्टी छ भने छोएमा रोग सर्छ भन्ने कुरोलाई हामीले गलत तरिकाले बुझ्दैछौं । अथवा जोड लगाएर बुझाउने प्रयास गरिँदैछ, जसले हाम्रो जीवन शैलीमा ठूलो परिवर्तन ल्याउन सक्छ । एकजना बिरामी भयो भने पहिलो सोच त्यति महामारीतर्फ जाने एउटा अर्को मरोरोगको विकास भएको छ । हाम्रै गाउँको नजिक एकजना दिल्लीमा बिते । उनको शव यहाँ ल्याइयो । तर मलामी कोही गए, गएनन् थाहै भएन ।
मलामी नचाहिने भए यहाँ किन ल्याउनु ? चाहिने भए किन डराउनु ? कस्तो सोच हो र कस्तो संस्कारको विकास भएको हो ? यो सोचले पनि अचम्म लाग्छ । यो पनि नयाँ भोगाई नै हो । एउटा मान्यता छ, समाजमा केही नयाँ कुरा आयो भने त्यसलाई सभ्यता भनेर स्वीकार गरिन्छ । त्यही कुरा पुरानो भयो भने संस्कृतिको मान्यता पाउँछ । यसबारे म व्याख्या वा विवाद गर्न चाहन्छ । तर अहिलेको परिवेशले के–कति र के–कस्ता नयाँ चलन र सोचहरु स्थापित गर्ने हो भन्ने कुरामा चाख, डर दुबै मिसिएको एउटा कौतुहल छ । नराम्रो संस्कारको विकास नहोस् भन्ने चाहना हुनु स्वाभाविक नै हो ।