विनोद पोख्रेल
२०७७ जेठ २३ गते
वर्षा अचम्मकै छ । आज पनि रातिबाट सुरु भएको वर्षा अहिले रुकेको छ । बादर पूरै छ । कोठामा भ¥याङबाट छिरेको उज्यालो पनि काम चलाउ मात्र छ । कहिलेकाहीँ सानो कुराले मन अस्थिर र अलि दुःखी हुन्छ । हिजोबाट त्यस्तै अनुभव गरिरहेको छु । केही नसोचेका कुराहरु केही महत्वहीन विषयहरु यस्तै–यस्तैले अनावश्यक रुपमा पनि तनाव दिने गर्छन् ।
एउटा खुशीको विषय पनि फेला परेको छ । जनै बनाउनलाई बाट्ने धागो सबै बाटेर सकिएको छ । यसपल्ट केही सङ्लिने र पुरै बाट्ने काम विक्रमले ग¥यो । हिजो सबै लिएर आएको छ । अब ग्रन्थी पार्न मात्र बाँकी छ । सकेसम्म आजैबाट त्यो काम पनि सुरु गर्ने विचारमा छु । बढीमा तीन या चार विहान त्यसमा व्यस्त हुनुपर्ला । यसले खुशीको अनुभव गरेको छु । समस्या विशेष त केही छैनन् । अझ भनौँ समस्या नै होइनन् भन्दा पनि हुन्छ ।
तर पनि जेजस्तो भोगे त्यसले कुन्नि किन हो कता–कता केही गल्ती भएको जस्तो अनुभव गरेको छु । यस्तैमा हो सायद संयम चाहिने । म बोल्दैन । नबोल्नु मात्रै पनि सम्यम हो भने ठिकै छ । तर अनुरतीमा सम्यमित हुनसकेको छैन । स्वास्थ्यमा त धेरै सुधार आएको अनुभव गरेको छु । पूर्ण स्वस्थभन्दा पनि हुन्छ । तर धेरै यस्तै साना तनावमा सानै तनाव थपिएपछि अझ धेरै भएको जस्तो लाग्छ । हिजो समाचारमा मास्क नलगाएर निस्कनेलाई कारवाही गर्न गृहमन्त्रालयले सबै जिल्लाका सिडिओ र प्रहरीलाई निर्देशन दिएको सुने ।
यत्तिले मात्रै पनि तनाव थपिएको छ । हिम्मत गरेर अलि अलि घोराही जानुपर्ला भन्ने सोच बन्दै गरेको बेलामा यो समाचारले फेरि के गर्ने के गर्ने जस्तो बनाएको छ । मास्क र मेरो सम्बन्धबारे भर्खरै हिजो–अस्ति कहिले हो सकेकोले फेरि दोहो¥याउनतर्फ लाग्दैन । यता कमोटको फ्लस के भएको छ ? त्यति ठिकसँग काम गरिरहेको छैन । यस्तै–यस्तै सानातिना कुराहरु धेरै भए भने अथवा स्वास्थ्य ठिक भएन भने अथवा आफ्नाले ठिक व्यवहार नगरेको अनुभव भयो भने यस्तो नभए हुन्थ्यो जस्तो लाग्छ । हिजै एक हजार रुपैयाँ बेकारमा खर्च भएको जस्तो लागेको छ ।
नसोचेर नचाहेर अथवा नभएर पनि त्यो काम गर्नु प¥यो भने थपिन काममा त्यो पनि थपिने नै हो । मलाई यो पनि थाहा छ यस्तो भावना अरुको लागि या त हाँसोको विषय हुन्छ या त मेरो थाङ्ने सोचको रुपमा व्याख्या गरेर मेरै मूल्यांकन घटाउने विषय हुन्छ । तर पनि आज यस्तै भयो । उता राजनीति पनि खिचखिचमा रहेर सधैँ द्वन्द्वपीडित र स्वार्थयुक्तहरुबाट केही निकास खोज्नतर्फ लाग्छ कि भन्ने आशा थियो । त्यो पनि प्रगतिमा छैन ।
झण्डै दुइतिहाई ल्याउँदा पनि सरकार स्थिर हुन सक्दैन । हुन त झण्डै ती चौथाइको सरकार फालिएको देशमा दुइतिहाइलाई कति महत्व दिनु ? सन्तोष लिने कुरो यसपल्ट केही बढी जमिन जोतिएको छ । खेती अलि बढी भएको छ । यसले जग्गाधनी पनि र कृषिकर्मी पनि खाने कुरामा निश्चिन्त भएर किन्न नपरेर पुग्ने भए भने मात्रै पनि यो मेरो सोच अनुरुपको कदम हुने छ । अझ यसपल्ट पनि कमसेकम आफ्नो परिवारलाई आफ्नै उत्पादनले पुग्ने गरी खेती गर्न नसकेका केही कृषिकर्मीहरु देखेको छु ।
उनीहरुले अलि बढी मिहिनेत गर्न सके खाने कुरामा आत्मनिर्भर हुन सक्थे । सबै नेपाली खाने कुरामा आत्मनिर्भर हुनसके एउटा ठूलो समस्या समाधान भएको महशुस हुने थियो । जुन परिस्थितिबाट देश गुज्रिरहेको छ त्यसले केही परिवर्तन ल्याउँछ जस्तो लाग्छ ।
तर पनि डर छ । परिवर्तन राम्रो ल्याउने हो अथवा अहिलेभन्दा पनि नराम्रो ल्याउने हो ? द्वन्द्वलाई स्वाभाविक मान्नै पर्छ । परिणाम राम्रो आए द्वन्द्व आवश्यक पनि हुन्छ । सधैँको किचलो, सधैँको पीडा र सधैँको अपुगको स्थितिलाई हटाउन सके कस्तो हुँथ्यो भनेर कल्पनामा डुबेर मात्रै भएन । केही भए हुन्थ्यो भन्ने सोच भने छ ।
२०७७ जेठ २४
नेपालको राजनीति एकपल्ट फेरि अलि बढी अलमलमा छ । तर घटनाक्रम जसरी अघि बढेको भने चर्चा छ । त्यसको आधारमा भन्ने हो भने फेरि यथास्थितिवादले नै जित्ने देखिएको छ । त्यो पनि अरु पहल अरुको भर र अरुकै निर्देशनमा । म न त यथास्थितिवादसँग सहमत हुन सक्छु न त अरुको प्रभावलाई उचित मान्न सक्छु ।
त्यसैले आफूले केही गर्न नसके पनि आफूलाई जति निरपेक्ष भने पनि देशले फेरि गति पाउन सक्दैन भन्ने चिन्ता भने लाग्छ । सत्तासिन पार्टी फुटोस्, जुटोस् त्यो मेरो सरोकारको विषय होइन । व्यक्ति फेरिनुलाई मैले महत्व कहिल्यै दिइन । मैले सधैँ यहाँ हुने गतिविधिको उचित र सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेँ । यो अपेक्षा पूरा हुन सबैको जिम्मेवारीबोध, आपसी सद्भाव आदि आवश्यक हुन्छ भन्ने पनि लाग्छ ।
तर जब यो प्रक्रिया असम्भव लाग्छ तब सोच, संगठन र नेतृत्वको विकल्प खोज्न गरिने गतिविधिबाट पनि केही अपेक्षा गरेको हुन्छ । अहिलेको किचलोले कुनै नयाँ शक्ति वा क्षमतावान व्यक्तिलाई अगाडि ल्याउँछ कि भन्ने झिनो आशा जाग्ने प्रयासमा थियो । नेताहरुका गतिविधि, उनीहरुले व्याख्या गरेको त्यो गतिविधिको उद्देश्य देख्दा यो पनि कुनै रुपमा उनीहरु बीच केही लेनदेन अथवा केही शक्तिको बाँडफाँडमा सबै कुरा यथावत नै रहन्छ भन्ने विश्वास बलियो हुँदै गएको छ ।
त्यो पनि आफ्नो क्षमता र आपसी समझदारीबाट हुन नसकेर विदेशी कूटनीतिज्ञहरुको प्रत्यक्ष प्रभाव र केही न पच्ने वा नसुहाउने गतिविधिको भरमा हुने जस्तो देखिएको छ । योभन्दा अयोग्यताको प्रमाणपत्र अरु के हुन सक्छ ? म त अब कतिसम्म निरीह सोचमा छु भने एकपल्ट नेपालको सम्पूर्ण राजनीति पूर्ण रुपले अराजक भयो भने मात्रै त्यै अराजक परिवेशलाई सम्हालेर देशलाई नयाँ गति दिने कुनै शक्ति वा व्यक्ति अगाडि आउँछ कि भन्ने सोचमा पुगेको छु । यो कुरा भन्दा म वर्तमान सत्तासिन दलमा मात्रै सीमित छैन ।
मैले माथि भनेझैँ सम्पूर्ण राजनीतिसँग प्रशंग जोडेर भनेको छु । यहाँ देशले गति पाओस् भन्ने सोच देखिँदैन । भएका कामहरुको मूल्यांकन गरेर राम्रोलाई स्वीकार गर्ने र नराम्रोलाई सुधार गर्ने प्रवृत्ति पनि देखिँदैन । तर्क वा कूतर्क गरेर आफूले श्रेय लिने । आफूले श्रेय लिन चाहेको वा पाएको जति सबै ठिक भनेर वकालत गर्ने प्रवृत्तिले जिम्मेवारी पूरा गर्न सकिँदैन ।
एउटा अर्को पक्ष पनि छ । जसको प्रशंसा गर्न थाल्यो त्यसको देवत्वकरणसम्म गर्ने र जसको आलोचना गर्न थाल्यो त्यसको दानवीकरणसम्म गरिदिने चरित्रले आफूलाई न त सन्तुलित राख्न सक्छ न त भएका कामको उचित मूल्यांकन गरेर आवश्यक सुधार गर्न सक्छ । वीपी कोइरालाको भनाईमा मानिस जन्मिँदा पनि आफ्नो इच्छाले जन्मिँदैन । जन्मेपछिका उसका सम्पूर्ण गतिविधिहरु समाजमा आफ्नो पहिचान र स्थान बनाएर स्वतन्त्र अस्तित्व स्थापनाको प्रयासमै बित्ने गर्छ ।
शब्दहरु केही फेरिए होलान् । उनको आशय यही हो । यहाँ त स्वतन्त्र अस्तित्वको अपेक्षाभन्दा पनि शक्तिकेन्द्रमा आफू हुने र सुविधा जति आफूले प्रयोग गर्ने एउटा महत्वाकांक्षी शासकको चरित्र मात्रै देखिन थालेको छ । सत्तामा पुग्ने अपेक्षा राजनीतिक चरित्र भित्रनै पर्छ होला तर सत्ता नै सधैँ मेरो नियन्त्रणमा हुनुपर्छ भन्ने सोचलाई नागरिकले सोच भनौ या प्रजातान्त्रिक सोच भनौँ या जिम्मेवार सोच भनौँ यी मान्न सकिँदैन ।
तर नेपाली राजनीतिलाई जहिले पनि यिनै सोचको शिकार हुनुपरेको छ । त्यसका लागि सही गलत उपायहरु त्यस्तै सही गलत सहयोगहरु समेत लिने दिने गरिन्छ । जसले गर्दा यहाँको राजनीति सधैँ अलमलमा, सधैँ किचलोमा अल्झिएको हुन्छ । तर पनि राम्रो निकाश पाउन सक्दैन । यसपल्ट पनि रोग पनि वैद्य पनि सबै पुरानै छन् । त्यसकारण शैली र परिणाम पनि पुरानै हुने निश्चित छ । यो किचलोले देश र जनतालाई केही राम्रो प्रभाव पार्ने छैन ।