पाण्डवहरुलाई श्रीकृष्णले सम्झाउनु र अर्जुनले शिवबाट पाशुपतास्त्र प्राप्त गर्नु

  •   
  •  

राधेश्याम उपाध्याय
अभिमन्युको मृत्युको समाचार चारैतर्फ फैलियो । अभिमन्युको मृत शरीर शिविरमा ल्याइयो । सारा पाण्डवहरु शोकमग्न भए । उत्तराले आफ्ना स्वमीको मृत शरीर देखेर वाणी अवरुद्ध भई पृथ्वीमा मुच्र्छा परी ढलिन् । उपचारपछि केही होसमा आइन र मृत देहका पाऊमा पकडी छाति पिटि–पिटि, चिच्याई–चिच्याई विलाप गर्न लागिन् ।

मेरो विन्ति नमानेर आज मलाई त्यागि एक्लै कता जानुभयो । मलाई पनि सँगै लैजाहोस् । म कसका सहारामा, कसका लागि बाँचू भनि विलाप गर्न लागिन् । यो देखेर पाण्डवहरु तथा रानी शुभद्रा पनि विलाप गर्न लागे । शुभद्राले श्रीकृष्णतर्फ हेरेर ‘मेरो जीवनको आधार मामा तथा बन्धुवान्धव छँदै कलिलै उमेरमा किन मारियो ? पाण्डु कूलको लायक पुत्र मर्दा बत्ती नै निभेझैँ भयो, बालकलाई विश्वास गरेर एक्लै युद्धमा आशामा पठाउनु ठूलो भुल थियो । यो उल्टो दैवगतिको कारण के हुनसक्छ ?’ भनी सोध्न लागिन् । युधिष्ठिर, अर्जुन, द्रौपदी र सबै पाण्डवपुत्र शोकमा विह्वल हुँदै विलाप गर्न लागे ।

जब आफ्ना सखा अर्जुनका साथै सबै पाण्डवहरु असह्य विलाप गर्न लागेको देखेर सबैलाई सम्झाउँदै श्री कृष्णले अर्जुनको हात सामाउँदै भन्नुभयो – ‘युद्धमा वीरहरुले उत्तम गति लिन्छन् तर भीरुहरु शत्रुले मार्लान् भनी युद्धबाट भाग्दछन् । अभिमन्युले युद्धमा जुन पराक्रम गरे त्यसको प्रशंसा तथा सतिस्तार वर्णन गर्न म पनि सक्दैन । जन्मेका सवै प्राणी मर्नु पर्दछ । यो सबैलाई थाहा छ । ज्ञानी व्यक्तिहरु जति नै दुःख आइपरे पनि सहन्छन् । हे पार्थ तिमी यता दुःखित भई शोक गर्दछौ । उता तिम्रा शत्रुहरु खुशीले हाँसिरहेका छन् ।

तिम्रो अधैर्य देखेर मेरो मन आत्तिन्छ । म को हुँ ? के स्थितिमा छु ? मेरो कर्तव्य के हो ? उत्तम धर्म के हो ? ठूलो ज्ञान र नीति के हो ? यो आपत्तिको कारण के हो ? यो सबै तिमीले प्यारो पुत्र म¥यो भनेर बिर्सिसक्यौ । अभिमन्युललाई ठूलो अन्याय र छल गरी मारेका छन् । त्यसको तिमीले युद्धमा साटो फेर्नु पर्दछ ।’ यसरी श्रीकृष्णले अर्जुनलाई शिक्षा दिएकाले पाण्डवहरु क्यै शान्त भए ।श्रीकृणको यो कुरा सुनेर अर्जुनले भने ‘हे योद्धा गणवीर विज्ञजन एक्लो अभिमन्युको युद्धमा जसले ज्यान लियो त्यो कस्तै वीर पराक्रमी युद्धको ज्ञाता भए पनि त्यो वाँच्ने छैन, त्यसलाई मैले मार्नेछु ।

मेरो पुत्रको जीवन लिने पहिलो कारण जयद्रथ हुन् । भोलिको दिनमा जयद्रथलाई मार्ने छु । यदि भोलि सूर्य अस्त हुनु अगाडि जयद्रथलाई मार्न सकिन भने म अर्जुन आत्मदाह गरी शरीर त्याग गर्नेछु’ भनी प्रण गरे । ‘भोलि द्ययोता, दानव, यक्ष, राक्षस, गन्धर्व, विद्याधर, द्रौणी, द्रोण, कर्ण, कृप, यम, इन्द्र, रुद्र यिनले रक्षा गरे पनि मेरो मुख्य पहिलो शत्रु जयद्रथ हो । त्यसलाई मार्नेछु’ भनि प्रण गरे । यस्तो शाहसपूर्ण पार्थको प्रतीज्ञा सुनेर वैरीका चर (दूत)हरुले तुरुन्तै दुर्योधनलाई जानकारी गराए ।

यस्तो समाचार सुनेर सिन्धुपति दुःखी बनी भोलि पार्थले क्रोधित भई युद्धमा मार्नेछन्, मलाई बचाउ भन्न लागे । यो सुनेर दुर्योधनले हाँस्दै ‘तिम्रो रक्षाका लागि द्रोण, कर्ण, कृप शल्य, द्रौणी, शल तयार छन् । तिमी डराउनु पर्दैन । तिमी पनि आफै योद्धा हौ । नडराउ डराउनु पर्दैन’ भनी सम्झाए । गुरु द्रोणले पनि म तिम्रो रक्षा गर्नेछु भनि सम्झाए । यो सबै युद्धको सविस्तार हस्तिनापुरमा ज्ञानी संजयले धृतराष्ट्रलाई सुनाए । धृतराष्ट्र पनि अभिमन्युलाई सम्झेर निकै रोए ।

ज्ञानी धर्म कुमारको मन साह्रै उद्विग्न देखेर व्यासमुनि सम्झाउनका लागि युधिष्ठिरसँग आए । व्यासको दर्शन पाउनासाथ बस्ने आशन दिँदै पाँचै भाइले प्रशन्न मनले पूजा गरे । ‘हे सर्वज्ञ हामी पुत्र शोकले विह्वल भएका छौँ, हामीलाई शान्ति प्राप्त हुने शिक्षा दिनुहोस् । यो रणभूमिमा जो राजाहरु मर्दछन्, तिनलाई कसले मार्दछ ? यो मृत्युको उत्पत्ति कहाँ कसरी भयो ? मृत्युले जीवहरुको जीवन किन लिन्छ ? हाम्रो यो शंका प्रष्ट बुझाई निवारण गर्नु होस्’ भनी भन्दा व्यासमुनिले ‘चिन्ता र शोक गरेर शान्ति प्राप्त हुँदैन ।

पहिला एक अकम्पन नामको ज्ञानी तथा सज्जन राजा थिए । तिम्रोझै तिनको पनि युद्धमा पुत्र मारियो । राजाले शोक गर्न लागे । नारदले राजालाई शिक्षा दिए । नारदको शिक्षाले राजाको चिन्ता हट्यो । आज म तिमीलाई त्यही कथा सुनाउँछु सुन– यो पृथ्वीमा जीवहरु नमरेर प्रशस्त बढ्दै गए । तब पृथ्वीले भार वहन गर्न नसकेर कष्ट भयो र आफ्ना दुःख ब्रह्मालाई गएर विन्ति गरिन् । पृथ्वीको कुरा सुनेर ब्रह्मा विचारै नगरी क्रोधित भए (रिसाए) । ब्रह्माको त्यही क्रोधबाट आगो सरी जाज्वल्लेवान सुन्दरी नारीको उत्पत्ति भयो ।

ब्रह्माजीले तिनको नाम मृत्यु भने र तिनलाई पृथ्वीका नर–नारी तथा प्राणी तिम्रा वशमा हुनन् । तिमीले समय पुगेपछि सबैको जीवन लिनु भनि आदेश दिए । त्यो सुनेर मृत्युले ब्रह्मालाई दुःखी हुँदै–म हजुरकी पुत्री भएर सृष्टि विनाश गर्न कसरी सक्छु । यसबाट मलाई बन्धुवान्धव मारेको दोष लाग्नेछ । म अवला नारीले यस्तो गाह्रो कार्य गर्न कहाँ सक्तछु । मेरा लायक अरु कुनै कार्य दिए आनन्दले गर्ने थिएँ भनिन् । मृत्युको यस्तो विनयपूर्ण कुरा सुनेर ब्रह्माजीले भने हे मृत्यु मैले भनेको कुरा पूरा गर ।

आयु क्षिण भएर प्राणीहरुले स्वयम् शरीर त्याग्ने छन् । त्यसको कारण रोग, व्याधी, घटना, दुर्घटना अनेकथरि कारण हुनेछन् । त्यसमा कुनै तरहको तिमीलाई पाप लाग्ने छैन । मेरो आदेश पालन गर । दैवाधिन र आफ्ना कर्मको वशमा परी प्राणी सबै मर्ने छन् । त्यसमा तिमीलाई दोष लाग्ने छैन । सबैले कर्म माफिक मर्नेलाई मर्न दिनु पर्दछ । कसैले मलाई दोष दिन्छन् भने तिमीले चिन्ता लिनु पर्दैन । तिमीले समान भावले भेदभाव नगरी आफ्नो कर्तव्य पूरा गर्नु ।

ब्रह्माले यसरी मृत्युलाई बुझाउनुभयो र मृत्युले यसरी लोकभरिका मानव तथा प्राणीहरुलाई मारी पृथ्वीको भार कम गर्न लागिन् ।’ व्यस मुनिको यो संवादले पाण्डवहरु केही शान्त भए । यस्ता थुप्रै आख्यान सुनाई जुनसुकै व्यक्ति जन्मेपछि मर्नु पर्दछ । मर्नु र जन्मनु दैवाधिन छ । केही दुःख प¥यो भनि अबुझझैँ चिन्ता लिनु व्यर्थ हो । यो संसार कष्टहरुको घर हो भनेर जन्दाजान्दै पनि आफूलाई दुःख प¥यो भने अबुझझैँ सबै नर–नारी दुःख मान्दछन् र विलौना गर्दछन् । तिमी आफ्नो कर्तव्य पालन गर । तिम्रा शत्रुहरु शिविरमा हर्षले खुशी हुँदै हाँस्दैछन् । तिमी चित्त दुखाएर कर्तव्य भुल्दैछौ । कष्टहरु बिर्सेर चित्त स्थिर गरी आफ्नो हित के गर्दा हुन्छ, आफ्नो कर्तव्य गर’ भनी पाण्डुपुत्रलाई शिक्षा दिई व्यास जी अन्तरध्यान भइ आफ्ना आश्रममा गए ।

अर्जुन सुत्नका लागि श®यामा गइ बसे तर चिन्ताले गर्दा निद्रा लागेन । श्रीकृष्ण पनि सम्झाउनका लागि अर्जुनका नजिकै बस्नुभयो । ‘हे अर्जुन परिणामको ख्याल नगरी सिन्धुपति (जयद्रथ) लाई मार्छु भनि भिषण प्रण किन ग¥यौ ? भोलि युद्धमा तिम्रो प्रण पूर्ण भएन भने तिम्रो के गति होला भनी मेरो मन आत्तिन्छ ।’ यस्तो कुरा सुनेर अर्जुन आत्तिँदै हजुरको प्रतात तथा आशीर्वादले म युद्धा जित्नेछु । मेरो शक्ति र पराक्रम संसारले जान्नेछ ।

अर्जुनको यस्ता कुरा सुनी श्रीकृष्ण मन्द–मन्द मुस्कुराउँदै कुरा गर्दै गए । अर्जुन आफ्नो बखान गर्दै गए । कुरा गर्दागर्दै आधारात बित्यो तर अर्जुनलाई निद्रा लागेन । अर्जुन भित्रभित्रै चिन्तित थिए र यो कुरा श्रीकृष्णलाई थाहा थियो । श्रीकृष्णलाई अर्जुनमाथि दया आयो र आफ्नो माया फिजाई अर्जुनको हात समाई श®याबाट उठाई स्वप्नको अवस्थामा हिडाउनुभयो । विभिन्न स्थान नदी, नाला, समुद्र, वनजंगल, पर्वत, कुटी, आश्रम पार गर्दै खुशी हुँदै एउटा ठूलो पर्वतको शीरमा पुगे ।

जहाँ शिव शिरमा जटा कटिमा बाघम्वर गलामा नागको माला, हातमा त्रिशुल, शरीरमा भष्म लेपन गरेका तीन नेत्र भएका बामाङ्गमा पार्वती राखेका सूर्य समान कान्ति भएका तपमा लीन भएका यस्ता शिवलाई देखि टाढैबाट दुवैले प्रणाम गरे र नजिक गई शम्भुका पाऊमा प्रणाम गरी स्तुति गर्न लागे । श्री कृष्णार्जुनको स्तुति सुनेर शिवजी प्रशन्न भई के कारणले मलाई भेट्न आयौ भनि सोध्नुभयो । यो सुनेर श्रीकृष्णले युद्धमा छोरा मरे भनी मेरा सखा दुःखी छन् र आफ्नो शक्तिको ख्यालै नगरी भोलि सिन्धुपतिलाई मार्ने प्रतीज्ञा गरेका छन् ।

त्यही कारण हजुरका शरणमा पर्न आएका छौँ । के गर्दा विजयको जित हुन्छ त्यही गर्नुुस् भनि भन्नुभयो । यो सुनेर शिवजी मन्द मुस्कानका साथ भन्नुहुन्छ– ‘हे माधव मेरा वरदानका कारण चार भाइ पाण्डवलाई युद्धमा सिन्धुपतिले रोक्न सफल भए । अब वरको प्रभाव सकियो । अब भोलि यो श्रेष्ठ दिव्यास्त्रले सिन्धुपतिलाई अर्जुनले मारुन् भनि पद्यासन बाधी दुवै नेत्र चिम्लि चिद्ब्रह्मको चिन्तन गरी आफ्नो पाशुपतास्त्र मन्त्रित गरी आशीर्वादका साथ अर्जुनलाई दिनुभयो ।

त्यसरी आशीर्वादका साथ अर्जुनले दिव्यास्त्र शम्भुदेखि पाए । तब श्रीकृष्ण अर्जुन शिवलाई दण्डवत गरी त्यहाँबाट बिदा भई फर्किए । श्रीकृष्णले आफ्नो माया खिचिदिँदा अर्जुन चैतन्यमा आए र स्वप्नको कुरा सम्झँदा अर्जुन छक्क परे । सपना हो कि विपना अथवा पुत्र शोकले गर्दा भएको भ्रम हो भनी अर्जुन श®यामा बसेर चिन्तन गर्दै थिए । श्रीकृष्ण पनि केही नजानेजस्ता बनि निद्राबाट उठेर अर्जुनको पलङमा गई के भयो मित्र ! भनि सोध्नुभयो । तिमी कौरवको भयले गर्दा निद्रा र भोजन सोत त्यागेर के कुरा सोच्दैछौ ।

तिम्रो लक्षण कायरताको जस्तो छ । वीरले त परेको कष्ट खपेर उत्साह र धीरताका साथ कुनै पनि ठूलो कार्य गर्नुप¥यो भने आफ्ना मित्रहरु र आफन्तहरुसँग सल्लाह गरी गर्नु पर्दछ । कहिले पनि चतुर गुणवान भए पनि स्वार्थी र कपटीहरुसँग सल्लाह लिनु हुँदैन । श्रीकृष्णको यस्तो कुरा सुनेर अर्जुन तर्क–वितर्क गर्न लागे । यिनले कस्ता कुरा गर्दछन् बुझ्न नै गाह्रो हुन्छ । सबै जानेका छन् तर अहिले केही नजान्ने भइ बोल्छन् । यस्ता मर्म वितर्क गर्दै अर्जुनले भन्दछन्– हे कृष्ण म अज्ञानी गृहस्ती मानिस हुँ । पुत्र मरणका चिन्तो ग्रस्त छु । त्यसमा पनि आफ्नो प्रण पूर्ण के गरी होला भनी आत्तिएको छु ।

निद्रा बिना नै स्वप्न देख्दछु । हजुरको लीला कसले जान्नसक्छ, म हजुरको शरणमा छु, रक्षा गर्नुहोस् । साचो पनि कसरी भनु स्वप्नको कुरा हो, असत्य कसरी भनु मैले आफ्नै आँखाले देखेको छु’ भनी अर्जुन असमञ्जसमा पर्दै कृष्णलाई हेरिरहे । श्रीकृष्णले पनि तिनको प्रेमभाव बुझी – ‘हे अर्जुन मैले अर्काकाको हित चिताइ जे–जति उपकार गर्दछु त्यसको म प्रत्युपकार खोज्दैन । जसले मलाई सम्झेर आफ्नो कर्तव्यको पालन गर्दछन् । त्यस्ता व्यक्तिलाई म भक्त मानेर कल्याण गर्दछु ।

त्यसैले हे अर्जुन तिमी पनि आफ्नो धर्म सम्झेर कर्तव्यको पालन गर । हरिको यस्ता आज्ञा सुनेर सन्तास मानी रक्षा गर्नुहोस् प्रभु भनी अर्जुन श्रीकृष्णका शरण परे । त्यसपछि दुवै जना धर्मपुत्रसँग भेट गर्न गए । युधिष्ठिरले चिन्तित हुँदै युद्धमा अर्जुनले के गरी प्रण पूर्ण गर्दछन् ? भनी आफ्नो सन्देह राखे । हाम्रो हित चिताएर विजयको प्रण पूर्ण पार्नुहोस् भनी प्रार्थना गरे । श्रीकृष्णले पनि यो विषयमा हजुरले चिन्ता गर्नु पर्दैन अर्जुन श्रेष्ठ योद्धा छन् आज सिन्धुपतिको शिर काटेर आफ्नो प्रण पूर्ण परी मात्र युद्धस्थलबाट फर्कने छन् भनी युधिष्ठिरलाई आश्वासन दिई दुवै जना त्यहाँबाट युद्धस्थलतर्फ लागे ।