कैदीबन्दीलाई तनाव व्यवस्थापन प्रशिक्षण

  •   
  •  

घोराही,७ फागुन । घोराही कारागारमा रहेका कैदीबन्दीहरुका लागि तनाव ब्यवस्थापन तथा सकारात्मक जीवनशैली विषयक साप्ताहिक प्रशिक्षण एवं मानसिक शान्ति राजयोग अभ्यास शुक्रवार समापन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङ र कारागार कार्यालय घोराहीको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा कार्यालय घोराहीको सहकार्यमा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

कारागारका जेलर विष्णु पाण्डेयको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्यता एवं ब्रह्माकुमारीज राप्ती क्षेत्रका प्रमुख राजयोगिनी गीता दिदीको विशिष्टमा कार्यक्रम समापन गरिएको हो । शिविरमा कारागारमा रहेका करिव २२५ कैदीबन्दीहरुको सहभागीता रहेको थियो ।

शिविरमा सकारात्मक सोच,तनाव ब्यवस्थापन, स्वस्थ जीवनशैली, ब्यवहारमा कुशलता,मानसिक स्वास्थ्य,खुशी एक कला,दुर्व्यशन मुक्ति,सम्वन्धमा मधुरता, स्व परिवर्तन एवं भावनात्मक परिवर्तन जस्ता गहन सन्दर्भमा प्रशिक्षण केन्द्रीत रहेको थियो ।

प्रशिक्षक राजयोगी ब्रह्माकुमार शिवलाल महतरा रहेका थिए । शिविर फागुनको १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको थियो ।