लोकदोहोरीमा चर्चित कोमल वली पछिल्लो समयमा राजनीतिमा जोडिएकी छिन् । रेडियो नेपालमा उनलाई सुन्नेहरुले फेरि गायिकाबाट समाचारवाचिकामा सुने । अनि पछिल्लो समयमा उनी महिला नेतृ बनेकी छिन् । तुलसीपुरको टिकरी स्थायी घर भएकी वली पछिल्लो समयमा केपी ओलीको खेमाको राजनीतिमा पनि जोडिएको बताइन्छ, तर केपी ओलीले भंग गरेको प्रतिनिधिसभा सदस्य भने उनी होइनन् । उनी राष्ट्रियसभा सदस्यमा भाग्यमानी मनोनीत सदस्य बनेकी छिन् । राजनीतिका पुस्तक पढ्ने उनको बानी छ । कार्लमाक्र्स पुस्तकदेखि बीपीको जेलजर्नलसमेत पढेको उनका अभिव्यक्तिले बताउँछन् । तर उनको संगीत क्षेत्रको अभियान पनि अन्त भएको छैन । प्रधानमन्त्री केपी ओलीले दाङको देउखुरीमा आयोजना गरेको कार्यक्रममा ओलीको गीत गाउने उनै कोमल स्वरका धनी कोमल वलीसँग गोरक्षकर्मी खेमराज रिजालले वर्तमान राजनीतिक परिवेशमा गरेको कुराकानीको सारसंक्षेप…
तपाईलाई स्वागत छ भन्दा अलि अप्ठेरो होला, किनकि तपाई यहीकै चेली हुनुहुन्छ, अब नेपाल फेरि म्यानमारजस्तै त हुँदैन ?
मलाई त त्यस्तो लाग्दैन । हामी स्वतन्त्रताका पात्र हौं । मेरो फेसबुक बन्द हुनुहुँदैन, मेरो अभिव्यक्ति स्वतन्त्रता हनन् हुनुहुँदैन, मेरा रेडियोहरु बन्द हुनुहुँदैन । वर्तमान सरकारले चाहेको म्यानमारको जस्तो कु होइन, ताजा जनादेशका लागि निर्वाचन मागेको हो । यसमा पनि फेरि तपाईले मलाई प्रश्न सोधिरहनै पर्दैन । हामी संवैधानिक कु हुन दिँदैनौं । संकटकाल र सैनिक शासनको सम्भावनै छैन ।
हामीले त संघीयतालाई अझै बलियो बनाउन चाहिरहेका छौं । संविधानसभा विघटन प्रधानमन्त्रीको एउटा बाध्यात्मक कदम थियो, कारण उहाँ घेराबन्दीमा पर्नुभएको थियो । तर उहाँ घेराबन्दीमा परिरहँदा फेरि आम नेपाली घेराबन्दीमा पर्नुहुँदैन भन्ने हाम्रो चाहना र आकांक्षा थियो । यसमा कसैले पनि टाउको दुखाउने अवस्था छैन । फेरि ताजा जनादेशका लागि १७ गते र २७ गते निर्वाचन हुन्छ, तपाईको पत्रिकामा पनि यो माहोल बनाउन मैले आग्रह पनि गर्दछु । अब निर्वाचनमा जानुको विकल्प छैन ।
यो केन्द्रीयस्तरको राजनीतिको कुरा भयो । तपाईहरुजस्तै एकजना महिला राजनीतिकर्मी रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको विषयलाई कसरी लिनुभएको छ ?
संविधानतः सबैले प्रेस स्वतन्त्रताको अभिव्यक्ति व्यक्त गर्न पाउँछन् । उनको गिरफ्तारी र रिहाइलाई प्रहरीले हेर्ने हो । उनको आपराधिक गतिविधि थियो–थिएन, राज्य विद्रोहको अभिव्यक्ति थियो–थिएन भन्ने मूल विषय हो । यो विषयमा त प्रहरीले पक्राउ ग¥यो प्रहरीले नै छाडिदियो ।
यदि उनका विषयमा अन्य मुद्दा–मामिला छन् भने न्यायालयले मूल्यांकन गर्ने छ । त्यो विषयमा मलाई बोल्न किन आवश्यक छ । हामीले त मुलुकको समृद्धिको कुरा गर्ने हो, समृद्धिका आधार बनाउने हो । अनि म पनि यहीँकै स्थानीयवासी भएका नाताले फेरि दाङलाई समग्र समृद्धिको अवस्थामा लैजाने हो । यो विषयमा मैले के पहल गर्नपर्दछ, प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाबाट पनि यहाँको समृद्धिका विषयमा पहल गर्ने मैले तपाईलाई विश्वस्त बनाउन चाहन्छु ।
तुलसीपुर विमानस्थलकै कुरा गरौं, अनि तुलसीपुर–सुर्खेत सडकको स्तरोन्नतिका विषयमा पनि केही बोल्न सक्नुहुन्छ ?
तुलसीपुरको विमानस्थल नियमित सञ्चालन हुनुपर्छ भन्ने हाम्रो चाहना हो । आवश्यकता परेको अवस्थामा क्षेत्रीय विमानस्थल निर्माणमा पनि हाम्रो पहल हुनेछ । हामीले मागेजस्तो बजेट अझै प्राप्त हुन सकेको छैन । धेरै मागे पनि अहिले राज्यले ५ करोड बजेट तुलसीपुर विमानस्थललाई दिएको छ । तर हामीले मागेको धेरै बजेट हो ।
यसले एयरपोर्टको आवश्यकता अनुसारको स्तरोन्नति हुन सक्दैन भन्ने पनि मलाई थाहा छ । तर निरन्तर पहल गरिरहने हो । अर्को कुरा साना विमानलाई पनि सञ्चालनमा ल्याउनका लागि क्षेत्रीयस्तरको इन्धन डिपो निर्माण गर्ने हो । किनकि तुलसीपुर एउटा साविककै राप्तीको हवाई ट्रान्जिट पनि हो । यसका लागि इन्धन डिपोको स्थापनाका लागि तुलसीपुर उद्योग वाणिज्य संघले गरेको पहललाई पनि मैले हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
पूर्वअध्यक्ष विमल रिजाल, बीरु रावत, अहिलेका अध्यक्ष रामप्रसाद चालिसेलाई पनि यो अभियानमा जोडिन आग्रह गर्दछु । पश्चिमको समग्र समृद्धिका लागि तुलसीपुरको विमानस्थललाई चलायमान बनाउनका लागि क्षेत्रीय स्तरको इन्धन डिपो निर्माणमा पनि मेरो अधिकतम् पहल रहने छ । मैले यो विषयमा राष्ट्रिय योजना आयोग, नेपाल आयल निगम र नागरिक उड्ययन प्राधिकरणमा पनि अधिकतम् पहल गर्नेछु ।
दाङको समृद्धिको अर्को आधार तुलसीपुर–पुरन्धारा–सुर्खेत सडकको स्तरोन्नति पनि जोडिएको छ, तर १७ बर्षमा पनि यो सडक अझै कालोपत्रे हुन नसक्नुको कारण के लाग्छ तपाईलाई ?
हो, मलाई थाहा छ, यो सडक तत्काल स्तरोन्नति हुनुपर्दछ भन्ने हो । तर विविध समस्याहरु यसअघिदेखिकै राजनीतिका पनि थिए । बजेट विनियोजनका सवालमा यो सडक तीन जिल्लाका नेताहरुले समन्वय गर्ने भन्ने थियो । अहिले दाङको सडकखण्ड करिब–करिब पूरा भएको छ । सुर्खेत र सल्यानको खण्ड केही अपुरो देखिएको छ । मैले योजना आयोगमा यो सवालमा पनि कुरा उठाउने तपाईको पत्रिकामार्फत आम नागरिकहरुलाई विश्वास दिलाउन चाहन्छु । अब हामी समृद्धिको बाटोमा लम्कन तयार छौं । अब समृद्धिका ढोका खुल्नेमा तपाईलाई विश्वस्त गराउन चाहन्छु ।
तपाईका गीत केपी ओलीका पक्षमा मात्रै छन्, प्रचण्ड–नेपाल खेमालाई कित्ताकाट गर्न अभ्यस्त त हुनुहुन्न ?
हामी कोशिसमा छौं । सबै नेकपाका नेता कार्यकर्तालाई जोड्न चाहन्छौं । कुनै पनि नेता कार्यकर्ता पार्टीको आदर्श र सिद्धान्तका विपरीत जानुहुन्न भन्ने हाम्रो मान्यता पनि हो । त्यसका लागि अधिकतम् प्रयास भइरहेको पनि छ । हामी कित्ताकाट होइन, सबैलाई जोड्ने अभ्यासमा छौं । सबैलाई नेकपाको मूल राजनीतिक प्रवाहमा ल्याउन चाहन्छौं । यसमा सडक र चोकमा भएका अनर्गल कुरा मैले सम्बोधन गर्ने अवस्था रहँदैन । नेकपामा सैद्धान्तिक विचलन नभएको पनि मैले तपाईलाई विश्वस्त पार्न चाहन्छु ।
संविधानसभा विघटन भयो, अब राष्ट्रियसभा मात्रै कामचलाउ रुपमा छ । मुलुक एक बर्षदेखि कोरोना भाइरसको संक्रमणले थलिइरहँदा भ्याक्सिनको पनि सबै नागरिकहरुलाई सहज रुपमा उपलव्ध भएको छैन, यो विषयमा केही बोल्नुहुन्छ ?
यसअघि जसरी हामीले पहिलो चरणमा क्याटागोरीका नागरिकहरुलाइृ भ्याक्सिन लगायौं, त्यसैगरी आम नागीरकहरुलाई पनि त्यसैगरी कोरोना भाइरसको भ्याक्सिन उपलव्ध गराउन सरकारसँग अधिकतम प्रयास गरिरहेका छौं । हामीहरुले कुनै पनि मेडिकल माफियालाई यसमा सहभागी बनाउन चाहिरहेका छैनौ, किनकि कोरोनाको भ्याक्सिन नेपाल सरकारले सबै नागरिकहरुलाई निःशुल्करुपमा उपलव्ध गराउनु पर्दछ ।
कोरोना भाइरसको परीक्षणमा शुल्क तिरेको जस्तो अवस्था अब हुने छैन । नेपाल सरकारले जसरी पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन आम नेपालीहरुलाई निःशुल्क रुपमा उपलव्ध गराउने छ भन्ने विश्वस्त पार्न चाहन्छु । प्राथमिकताका आधारमा भ्याक्सिन क–कसलाई दिने भन्ने सवालमा मैले राष्ट्रियसभामा पनि बुलन्दरुपमा आवाज उठाउने छु । यसमा यहींकै पनि अरु सदस्यहरु पनि हुनुहुन्छ । हामी यो विषयमा सामूहिक पहल गर्नेछौं ।
मुलुकको विकास र समृद्धिका सवालमा अब कसैले बाधक बन्नुपर्ने अवस्था हुँदैन । मुलुकलाई अंकुश लगाउने गरी सैनिक शासन पनि यहाँ सम्भव छैन, अनि छाडातन्त्र र भ्रष्टाचार पनि रोक्नका लागि राज्य लाग्ने मैले फेरि पनि तपाईलाई विश्वस्त पार्न चाहन्छु ।
अनि अर्को कुरा अहिले हामी कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र कमजोर भएको अवस्थामा केही विकास निर्माणका अभियानमा गति लिन नसकेको पनि हो । अब दाङलाई आर्थिकरुपमा समृद्ध बनाउन मेरो कुनै पनि क्षेत्रमा कञ्जुस्याइँ नहुने पनि विश्वस्त गराउन चाहन्छु । मलाई पढ्ने सबै पाठकहरुलाई पनि यसै पत्रिका मार्फत धन्यवाद दिन पनि चाहन्छु ।