नारायणप्रसाद श्रेष्ठ
अहिले हाम्रो सामाजिक चिन्तन अरुप्रति केन्द्रित रहेको छ । अरुले के ग¥यो ? कसरी ग¥यो त्यतातिर हाम्रो ध्यान केन्द्रित भइरहेको छ । म को हुँ र मेरो दायित्व र जिम्मेवारी के हो ? त्यसतर्फ खासै चासो र चिन्तन छैन । मनको भाव बाह्य आवरणमा आकर्षित भइरहेको छ ।
आफूभित्र ध्यान, ज्ञान, भक्ति, मन्त्र, कर्म र राजयोगको क्षमता हुँदाहुँदै पनि यसलाई खोज्न हामी भौतारिइरहेका छौं । मानवीय चिन्तन केवल क्षणिक स्वार्थलिप्सामा केन्द्रित भएको छ । म र मेरो उपलब्धि नै जीवन हो र मलाई मर्नु छैन जस्तो गरी भौतिकवादी चिन्तनले ल्याएको क्षणिकतातर्फ हाम्रो ध्यान बढेको छ । हामीमा दम्भ छ । शान्ति आफैभित्र समाहित रहेको सत्य थाहा पाउँदा–पाउँदै पनि शान्ति खोज्न हामी भौतिक विलासिताभित्र सजाइएको आकर्षणतर्फ आकर्षित भइरहेका छौं ।
आफूलाई कसरी राजा–महाराजा बनाउन सकिन्छ भन्नेतर्फ हाम्रो सोच केन्द्रित छ । आत्मा र परमात्माबीचको सम्बन्धमा कसरी प्रगाढता बढाउनुपर्छ त्यसको ज्ञान आफूभित्र रहँदा–रहँदै पनि हरिणले विणा खोजेजस्तै भौतारिइरहेका छौं । क्षणिक मोह र स्वार्थका कारण आफ्नो अस्तित्वको सौदा हामी स्वयम् गरिरहेका छौं । लोभ, मोह र अहंकारले परिपोसित भौतिक सत्यभित्र हाम्रो ध्यान केन्द्रित भएको छ ।
यदि यसरी नै चिन्तन र सोचमा साँघुरोपन आउने र आफू क्षणिकता र स्वार्थमा डुब्ने हो भने हाम्रो अस्तित्व कसरी अरुको लागि मुखरित हुने हो चिन्ताको विषय बनेको छ । त्यसैले जीवनको सार र त्यसभित्र छिपेको सत्यलाई सबैले बुझ्न जरुरी छ ।
मानिसको मन स्वयम् शान्तिको उद्गमस्थल हो । यही शान्ति र सद्भावपूर्ण सोच र चिन्तनले मानिसले आफूलाई पवित्रताको उचाइँमा पु¥याउन सकेको हुन्छ ।
आशक्तिरहित शुद्ध चित्तभित्रको प्रसन्न मुद्राले मानिसलाई आध्यात्मिक र भौतिकवादी सत्यको यथार्थभित्र चिनारी दिन सम्भव रहेको हुन्छ । यस समय मेरो जीवन उसको खुसी र शान्तिको संवाहक बनेको हुन्छ, आपसी विश्वास र समझदारी बढाएको हुन्छ, चुनौती र अवसरलाई प्रयोग गर्दै जीवनलाई सच्चा स्रष्टाको रुपमा परिचय गराएको हुन्छ भनी विचार प्रवाह गर्नुको साटो हामी आफैभित्र हराइरहेका छौं ।
त्यसैले सादा जीवन ः उच्च विचार, जीवनको उद्देश्यसँग गाँसेर मातृभूमिप्रतिको निष्ठा र जिम्मेवारी बढाई मान–सम्मानमा होइन, निःस्वार्थ सेवामा आफूलाई समर्पण गर्ने साहस अबको आवश्यकता देखिएको छ । अरौटे, भरौटे र पछौटेपनबाट अलग रही आफू र आफ्नो अस्तित्वलाई सामाजिक उद्धारकको रुपमा परिणत गर्नुपरेको छ । स्वच्छ र पवित्र विचारलाई ‘सर्वे भवन्तु सुखिन’को सिद्धान्तभित्र प्रतिपादन गर्नुपरेको छ । माया, मोह र आशक्तिमा होइन, प्राकृतिक सत्यको यथार्थ धरातलमा आफूलाई प्रस्तुत गर्नुपरेको छ ।
सभ्यताको विकाससँगै मानवीय सोच र चिन्तन अहिले यति अगाडि बढिसकेको छ कि अब मानिसले चाहेर पनि पछि फर्कन सक्ने अवस्था छैन । यतिमात्र होइन, हिजोको इतिहासलाई जीवनको मार्गनिर्देशन गराउने फुर्सदसमेत मानिसले नपाइरहेको अवस्था छ । समयको गतिसँगै बढेको विकासको आधुनिकीकरणले मानिसको चाहना क्षणिक आनन्दतर्फ आकर्षित भइरहेको छ । अब मानिस सुख, सुविधाबाट प्राप्त उपलब्धिलाई गुमाउने पक्षमा छैन ।
व्यवहार र चिन्तनमा साँघुरोपन हुँदै आएको छ । हुँदा–हुँदा जन्म दिने बाबुआमाप्रतिको विश्वासमा पनि कमजोरी देखा पर्दै गरेको छ । विचार र चिन्तनमा भौतिकवादी क्षणिकताले ढपक्क ढाक्न पुगेको छ । स्वतन्त्र मानवीय जीवनको पवित्रतामाथि दाग लगाउने विचार मानिस स्वयम्ले जागृत गर्दै गरेको अवस्था छ । अब आफ्नोपनको सोचाइमा मानवीय चिन्तन प्रवाह हुन थालेकोजस्तो देखिन्छ ।
प्रकृतिको सुन्दरतासँग रमाउने मानवीय आचरण स्वयम् प्रकृतिलाई नै नष्ट गर्ने प्रवृत्तितर्फ विचार प्रवाह हुन थालेको आभाष देखा पर्दैछ । प्रकृतिलाई आफ्नो मुठ्ठीभित्र राख्ने चेष्ठा गरेकै कारण बाढी, पहिरो, भू–क्षय तथा अप्राकृतिक गतिविधि बढ्न थालेको छ । म को हुँ ? मेरो कर्म र व्यवहार कुन विचारबाट परिपोसित हुनुपर्छ ? त्योसमेत बिर्सन थालेको अवस्था अहिले देखिन थालेको छ ।
भौतिक विलासिताको मोहले बढाएको असीमित आकांक्षाभित्र स्वार्थले प्रवेश पाई मानिसको हेराइँ, सोचाइँमा समेत परिवर्तन हुँदै गरेको स्थिति छ । अहिले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिप्रतिको मानवीय चिन्तन स्वार्थप्रेरकतर्फ उन्मुख भएको छ । न्याय सम्पादनसमेत अधुरो हुन गई अत्याचार, पापाचार र व्यभिचारी चरित्र बढ्दै गएको स्थिति छ । अन्तरभित्र लुकेको पवित्र विचार कुण्ठित हुन गई बाह्य आवरणले सजाइएको क्षणिकतातर्फ मानवीय सोच बढेको छ ।
सुख, शान्तिभन्दा चर्मदृष्टिले देखेको सत्यमा मानवीय चिन्तन सल्बलाउन थालेको छ । जसको कारण एकअर्काबीच अविश्वासको वातावरण बढ्न गई वर्गसंघर्ष र तछाड–मछाडको अवस्था सिर्जना हुन पुगेको छ । एकअर्कालाई कसरी पछार्ने भन्ने मानवीय चिन्तन बढ्न थालेको छ । आफ्नै परिवारभित्र अविश्वासको वातावरण मडारिन थालिसकेको छ ।
अड्डा–अदालत धाउने, लाञ्छना लगाउने, ठग्ने, ढाँट्ने, झुट बोल्ने र झुटको सहारा लिई जीवनको सुख खोज्ने विचार वर्तमानको उपलब्धिजस्तो गरी अगाडि बढेको छ । यसरी सभ्यताको विकाससँगै मानिसको विचारमा परिवर्तन आएको स्थिति छ । परिवर्तनलाई क्षणिकतातर्फ मोडिँदै गरेको छ । विचार आफैमा जीवनलाई सहज गति निर्धारण गर्ने, इतिहासलाई जीवन्तता दिने, कर्म र व्यवहारलाई परिस्कृत गर्ने साधन भएर पनि मानवीय चिन्तनले त्यसलाई बढी प्राथमिकता नदिई भौतिकतातर्फ आकर्षित भएको छ ।
सीमित ज्ञानको आधारमा आफूले आफैलाई सर्वज्ञ ठान्ने स्वार्थपरक प्रवृत्ति हामी आफै सिर्जना गर्दै गरेका छौं । प्रत्येक दिनपछि रात पर्छ र रात परेपछि फेरि दिन पनि आउँछ, यो कुरा थाहा पाउँदा–पाउँदै पनि रातलाई दिन बनाउने दुष्प्रयास हामी स्वयम् गर्दैछौं । आफूलाई बेफिकर गराउँदै आफ्नो स्वार्थ प्रदर्शन गरिरहेका छौं । समयको सदुपयोग केवल भौतिक सत्यभित्र मात्र सीमित राखेका छौं । प्राप्तिको अभिलाषा नै जीवनको उद्देश्य भनी जीवनलाई डो¥याइरहेका छौं । तनको सुन्दरतामा रमाउँदै मनको सुन्दरतालाई बिर्सँदै छौं ।
जीवनको गतिशीलतासँगै बाल, युवा, बृद्ध हुँदै अगाडि बढ्ने सत्यलाई समेत बिर्सी अरुलाई लाद्ने साधक आफू बन्दैछौं । प्राकृतिक सत्यमा आधारित विज्ञानअनुसार आफूले बोलेका प्रत्येक शब्द भूमण्डलमा ठक्कर खाँदै आफैतिर फर्कन्छ भन्ने सिद्धान्तसमेत हामीले क्षणिक मोहमा भुलिरहेका छौं । बाह्य आवरणको खुसी नै जीवनको उद्देश्यजस्तो गरी अगाडि बढेका छौं । तसर्थ आफूले आफैलाई बुझ्ने चेष्टा अब सबैले गर्न जरुरी छ ।
जबसम्म आफूलाई बुझ्न सकिन्न, तबसम्म अरुलाई बुझ्छु भनेर प्रेम प्रतिशोध देखाउनु भनेको आफूले आफैलाई हराउनु हो । त्यसैले मनको पवित्रतासँग रमाउन खोजेको मनका हरेक कर्मलाई आध्यात्मिक र भौतिकवादी सत्यको संसर्ग गर्दै परिवर्तनतर्फ अब हामी सबैको ध्यान आकृष्ट हुन जरुरी छ । इमान्दारी र नैतिकताप्रति जिम्मेवार भएर आफूलाई प्रस्तुत गर्नुपरेको छ ।
चर्मदृष्टिले देखेको सबै वस्तु सत्य हुँदैन र मोहले ल्याउने स्वार्थपरक चिन्तन पनि जीवनलाई सहज गति दिने सत्य होइन । यस कुराको ख्याल गरी आफैले आफैलाई बुझ्न समयले हामीलाई इशारा दिएको छ । यो आजको आवश्यकता पनि हो ।चेतना भया ।