भिआइपी नै असुरक्षित भएपछि …

विनोद पोख्रेल

२०७७ जेठ १९ गते

मलाई पनि उस्तै–उस्तै शब्दसँग खेल्न मन लाग्छ । त्यसो भन्दा लोकतन्त्र र प्रजातन्त्रमा फरक खोज्नतर्फ म लाग्दैन । मेरो रोजाइँ म मानवीय स्वभाव र क्षमताअनुसार व्यक्तिले केही गर्ने मौका पाउनुपर्छ भन्ने हो ।

त्यसको लागि मनपरी गर्न भने पाउनु हुँदैन भन्ने शर्तसमेतको विचार हो । यसतर्फ धेरै नजाऊ । हुन त यो पनि एउटा विषय हो, जसबारे धेरै लेख्न सकिन्छ । तर अहिले राजतन्त्रात्मक राष्ट्रवाद र प्रजातान्त्रिक राष्ट्रवादमा के फरक छ भनेर अच्युत गौतमले हालेको एउटा स्टाटस हो ।

पहिले त मैले वास्तै गरेन तर यो स्टाटसमा आफूलाइृ विद्वान् र विश्लेषक सम्झने केहीले पनि आफ्नो विचार राखे । केहीको पढे पनि । पढ्दा बौद्धिक कसरत पनि हुन्छ । यो बन्दाबन्दीको बेला केही रमाइलो पनि अनुभव गरेको छु । तर्कहरु हुन्, सबैको तर्क विचारणीय छ । जसले यसलाई तर्क राख्नुभएको छ उहाँहरुलाई मेरो तर्कबाट धन्यवाद पनि दिन चाहन्छु । सहमति, असहमति अलग कुरा हो ।

तर केही नयाँ तर्क, नयाँ अनुमानहरु पढ्न पाउँदा खुसी नै लागेको छ । मैले यसबारे मेरो विचार भन्ने हो भने राष्ट्रवाद एउटा परिचय हो । भौगोलिक, सामाजिक र सांस्कृतिक परिचय । यही परिचयको नाममा राजतन्त्र मात्रै होइन कुनै पनि मनपरितन्त्र चलाउन चाहनेहरुले शक्ति आर्जन गर्न वा शक्ति निर्माण गर्न आम नागरिकलगायत सबैलाई उकास्ने जोशमा ल्याउने काम गर्छन् ।

विश्व इतिहासमा हेर्ने हो भने यही वा यस्तै जोशले नै हो दुईवटा विश्वयुद्ध समेत गराएको । मेरो राष्ट्रवादलाई सबैले स्वीकार गर्नुपर्ने तर अरुको राष्ट्रवादलाई मैले चोट पु¥याउन पाउनुपर्ने भन्ने सोच आफैमा गलत छ । जहाँसम्म तुलनाको कुरा हो, राजतन्त्रको लागि राष्ट्र आवश्यक पर्छ ।

राजतन्त्र आफ्नो यही स्वार्थको लागि पनि राष्ट्रवादको वकालत गर्न बाध्य हुन्छ । होइन भने उसको जागिर जान्छ । जवकि प्रजातन्त्रमा यस्तो असर कसैलाई पर्दैन । नेपालमा राष्ट्रवाद रहे पनि नरहे पनि नेपाल राष्ट्रको परिचय, आत्मसम्मान र स्वतन्त्र नेपालीको इतिहासमा त फरक पर्ला तर कसैको जागिर स्थायीरुपमै सकिने होइन ।

अब स्वतन्त्र नेपाल रहनुपर्ने, यसको इतिहास र भूगोल समेत सुरक्षित रहनुपर्ने भन्ने मान्यता ठूलो कि आफ्नै विवेक, आफ्नै कमजोरले समाजलाई व्यवस्थित गर्न नसक्ने अनि भोको पेटले अस्वस्थ जीवन, सुविधा प्राप्त गर्न नसक्ने परिवेशभन्दा त राष्ट्रियता पन्छाएर यिनी सबै समस्याको समाधान हुन्छ भने त्यो उचित मान्ने ? यो व्यक्तिको तर्कभन्दा सोच र मान्यतामा आधारित कुरो हो ।

यसको उत्तरमा भावनाको प्रभाव पर्छ । भएको परिवेशलाई गलत भन्ने र अर्को व्यवस्था वा परिवेशले सबै समस्या समाधान गर्छ भन्ने सोच गरेपछि स्वर्गमा सुखसँग बस्न पाइन्छ भनेको जस्तै हो । मरेपछि के हुन्छ कमसेकम मेरो विचारमा कसैलाई थाहा हुँदैन ।

त्यस्तै आजका राष्ट्र सञ्चालकहरुको अक्षमता, अदूरदर्शिता, स्वार्थ र गलत नियतसमेतले भोग्नुपरेको समस्या समाधान गर्न व्यवस्था वा परिवेश फेरेर मात्रै हुने रैनछ भन्ने वास्तविक पक्ष त हामीले थोरै समयमै भोगिसकेको छौं । यसका लागि आफू र राष्ट्रप्रति इमान्दार चरित्र आम नागरिकप्रति जिम्मेवार सोच र निश्चित लक्ष्य निर्धारण गरेर त्यो प्राप्तिका लागि गफ होइन काम गर्न सक्ने अगुवा आवश्यक हुन्छ ।

त्यतिबेला संयुक्त प्रयासको लागि चाहिने संयुक्त परिचय नै राष्ट्रवाद हो । त्यसका लागि राजतन्त्र सहितको वा राजतन्त्र नभएको भन्ने पनि छेन । राजतन्त्र हुँदा हुँदै पनि व्यवस्था प्रजातान्त्रिक भए हुन्छ भन्ने पनि छैन । हरेक प्रयासहरु संयुक्त हुनुपर्ने र हुने हो वा प्रयासले एककदम अगाडि जान सक्ने भावना र गतिविधि राष्ट्रवाद हो । भएको भूगोल, इतिहास, संस्कृतिको संरक्षण यही भावना जगाउन आवश्यक तत्व हो ।

२०७७ जेठ २० गते

हिजो १९ गते राति राजा वीरेन्द्रको सम्पूर्ण परिवार नष्ट गरिएको दिन । मैले त्यति सम्झना त गर्दैन भनौं अथवा सम्झना आउँदैन त्र सञ्चार माध्यम त्यसमा पनि विशेष सामाजिक सञ्जाल आदिले सम्झाउँछन् । यो घटना सम्झेपछि जहिले पनि मैले सुरक्षा र षड्यन्त्रको बारेमा सोच्छु ।

सपरिवार देशको राजा मारिँदा पनि यो देशमा अपराधी पत्ता लाग्दैन । सशस्त्र प्रहरी बलको प्रमुख आइजिपी, खुला सडकमा मारिँदा पनि यहाँ घटना सामान्यरुपमै लिइन्छ । त्यस्तो देशमा मदन भण्डारी, निर्मला पन्त आदिले कसरी–कसरी न्याय पाउने सक्छन् ? भन्ने आशा गर्नु । बरु यिनीहरु केही व्यक्तिलाई राजनीतिक फाइदा लिने सिढी बन्न सक्छन् । बनेका छन् ।

इतिहासको पनि विद्यार्थी भएकोले कति इतिहासको प्रभाव कति समयपछि पनि डरलाग्दो रुपमा परेको पढ्दा डर पनि लाग्छ । तर यति कमजोर, सुरक्षा व्यवस्थाले सधै चिन्ता भने दिन्छ । जहाँ आफ्नो दरबारभित्रै सकल राजपरिवार सुरक्षित हुन सक्दैन त्यहाँ आम नागरिकको सुरक्षाको ग्यारेन्टी हुन सक्दैन ।

त्यहाँ आम नागरिकको सुरक्षाको ग्यारेन्टी कसले लिने ? जहाँ सुरक्षा निकायको प्रमुख आफै खुला सडकमा मारिन्छ र त्यसको प्रतिक्रिया वा परिणाम आउँदैन, त्यहाँ अरुको सुरक्षा कसले गर्ने ? यो सब सुरक्षा निकायलाई गलत मानिसको हातमा पु¥याएको, अदक्षहरुलाई सुरक्षा निकायमा हुलेको र भएको सुरक्षा निकायलाई कमजोर र भ्रष्ट बनाएको परिणाम होजस्तो लाग्छ ।

आजभोलि वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि औंला ठड्याइएको पाइन्छ । हामी सरकारमा पुग्यौ भने एक हप्तामै मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरु जेलमा हुनेछन् भनेर केपी ओलीले भाषण गरेको मैले पनि सुनेको हुँ । उनीबाहेक अरु धेरै पनि यो कुरा उठाएका र दोहो¥याएका हुन् । २०५१ सालको मनमोहनजीको सरकारमा ओली गृहमन्त्री भए ।

त्यतिबेला अल्पमतको सरकार भएकाले त्यो काम तुरुन्तै गर्न नसकेको भन्ने जवाफ दिएका थिए । समयक्रमले उनी प्रमुख कार्यकारी भूमिकामा त सधै भए । २ पल्ट त प्रधानमन्त्री पनि भए अहिले पनि प्रधानमन्त्री छन् । मदन भण्डारीकी श्रीमती आफै पनि धेरैपल्ट मन्त्री भइन् । रक्षामन्त्रीसमेत भइन् । अहिले दोस्रो कार्यकाल चलिरहेछ राष्ट्रपतिको रुपमा ।

ओलीको झण्डी दुई तिहाईको सरकार छ । अरु परायाले होइन, उनीहरुकै साथी वा कार्यकर्ताले बीच–बीचमा मदन भण्डारीका कुरा उठाउँछन् । उनीहरुले नै अपराधी पत्ता नलागेकोमा असन्तुष्टि व्यक्त गर्छन् । फेरि यो विषय सेलाउँछ । जीवराज आश्रित बिर्सि पनि सके । अब त केपी ओलीले मदन भण्डारीलाई पनि बिर्सिसकेजस्तो लाग्छ । वर्तमान राष्ट्रपति भने के गरेकी छिन् भन्न हुँदैन ।

बिर्सेको भन्दा गलत आरोप लगाएको हुने हो कि ? मलाई गलत आरोप लगाउन मन छैन । बरु विषय अन्यत्र मोडौं । यत्रो बलियो निकाय हुँदाहुँुदै पनि नत यहाँ राजा सुरक्षित रहे, न सुरक्षा निकायका प्रमुख सुरक्षित रहे, न त नेताहरु सुरक्षित रहे, नत आम नागरिक सुरक्षित रहे । यस्तो सुरक्षा प्रणालीले देशको सीमा कति सुरक्षा गर्न सक्ला ? भोलि यसको परिणाम के कस्तो भोग्नुपर्ने हो त्यसको अन्दाज मैले त गदैृन नै सक्नेले पनि गर्न सकेको जस्तो लाग्दैन ।

नचाहेको पनि हुनसक्छ । विशेष यव्यक्तिहरु मरेको अझ भनौ मारिएको दिनलाई स्मृति दिवस भनेर उनीहरुको मूर्तिमा माला हालिदिएपछि सबै कमजोरी ढाकिने र सबै अपराध माफ हुने चलन चलेको छ यहाँ । बरु सामान्य संयोग नै भए पनि सिपालुले राजनीतिमा यस्ता घटनाको फाइदा उठाइरहेका छन् । त्यही भएर हो यहाँ शहीदहरुपनि आफ्ना–आफ्ना छन् ।

यस्तो चरित्रको विकास भएको बेलामा छिमेकी सीमाना मिचे पनि त्यही छिमेकीको पक्षमा वकालत गर्नेहरु प्रशस्त छन्, देशभित्रै । भारतको वकालत गर्ने पनि छन्, चीनको वकालत गर्ने पनि छन् । यस्तोमा राष्ट्रिय एकताको कुरा गर्नेहरु मूर्ख मानिनु वा असक्षम मानिनु स्वाभाविकै हो ।