नारायणप्रसाद श्रेष्ठ
बाबुआमा, गुरु तथा अभिभावकत्व ग्रहण गर्ने नेतृत्वकर्ता जोकोही पनि देवता सरह (दिनेवाला) मानिन्छ । यिनीहरुको ममता र विश्वासबाट नै मानव जीवनको समृद्धिको आधार तयार भएको हुन्छ । जीवनलाई धैर्य र सहनशील बनाई परिस्थिति अनुकूल बनाउनमा यिनीहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । गिलो माटो सरह रहेको बच्चाको भविष्यको मूल आधार भनेको नै अभिभावकको लगनशीलता र इमानदारिता हो ।
बाबुआमा र सन्तानबीच जुन किसिमको मधुरता र शिष्टता एवं आत्मीयता रहेको हुन्छ त्यसरी नै नेतृत्वकर्ताहरुप्रति पनि त्यत्तिकै जिम्मेवारीबोध हुन पुगेको हुन्छ । नेतृत्वदायी भूमिकामा रहेका अभिभावकको प्रत्येक कर्म र व्यवहारले नयाँ पुस्तालाई ऊर्जा र साहस मिलेको हुन्छ । उनीहरुको आचरण र व्यवहारबाट नै बच्चाले आफूलाई सक्षम बनाउन सफल भएको हुन्छ । अभिभावकबाट नयाँ पुस्ताले जेजस्तो संस्कृति र संस्कार सिकेको हुन्छ सोही अनुरुप समाज र राष्ट्रको भविष्य निर्धारण हुन पुगेको हुन्छ ।
नेतृत्वकर्ताबाट सिकेको संस्कृति र संस्कारबाट प्राप्त ऊर्जाले नै जीवनलाई सदावहार बनाई प्रकृतिमा रमाउन सशक्त बनाउन र नयाँ परिवेशको उद्घाटन गर्न सिकाएको हुन्छ । अर्को अर्थमा भन्ने हो भने अभिभावक बच्चाको पहिलो पाठशाला हो । जहाँ उसले सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक संस्कार सिकेको हुन्छ । अभिभावकको नक्कल वा सिको गर्न सक्ने क्षमता बच्चामा रहने हुँदा उसलाई जे सिकायो त्यही गर्न उसले जानेको हुन्छ । मिलेर बस्न सिकाए मिलेर बस्छ, आदर सम्मान, दमन, शोषण र झुठ जेजति अभिभावकहरुबाट नै बच्चाले सिकेको हुन्छ ।
भनिन्छ पनि – संगत गुणाको फल । जस्तो संगत र संस्कारमा नयाँ पुस्ता हुर्केको हुन्छ त्यस्तै किसिमको व्यवहार र गुण उसभित्र लुक्न पुगेको हुन्छ । तसर्थ, मनलाई सकारात्मक चिन्तनतर्फ उन्मुख गराई भावी पिढीको लागि आदर्श जीवन जिउने वातावरण बनाउनु प्रत्येक अभिभावकको जिम्मेवारी हुन आउँछ । अभिभावकबाट नै नयाँ पुस्ताले संस्कार सिक्ने हुँदा अभिभावक बढी जिम्मेवार हुनु पर्छ ।
वर्तमानले नै भविष्य निर्धारण गर्ने हुँदा वर्तमान समयलाई बुझेर अभिभावकले आफूलाई प्रस्तुत गर्नु पर्छ । बेमौसामी बाजा बजाएर अभिभावक स्वयम् पतनउन्मुख हुनु भनेको नयाँ पिढीको लागि दुर्भाग्य निम्त्याउनु हो । तसर्थ, सामाजिक परिवेश र राष्ट्रिय समृद्धिको लागि नयाँ पुस्तालाई अभिभावकले असल संस्कार सिकाउनु पर्छ ।
हिजो हाम्रा पुर्खाले भोलिको भविष्यसँग गाँसेर आफूलाई प्रस्तुत गरेका थिए । कर्म र विचारमा शुद्धता प्रदर्शन गरी कुन सत्य, कुन असत्य त्यस कुराको ख्याल गर्दै संस्कृति र संस्कार रचेका थिए ।
भावी पिढीलाई समाज, राष्ट्र हाम्रो हो, हामीबाट नै समाज र राष्ट्रको समुन्नति सम्भव छ भनेर सिकाएका थिए । क्षणिक स्वार्थ पूर्ति र भौतिक सुख, सम्पन्नता मात्रै सबै होइन । यो क्षणिकता हो । समय सधैँ एकनास पनि हुँदैन । उज्यालो र अँध्यारो भएर समयले आफूलाई गुजारिरहेको हुन्छ । त्यसैले समयलाई बुझेर आफूलाई प्रस्तुत गर्नु पर्छ । यो संस्कार हाम्रा पुर्खाले सिकाएका थिए । हाँसी–हाँसी आफूलाई राष्ट्रियताका लागि बलिदान दिने संस्कार सिकाएका थिए ।
यति मात्र होइन समाज, राष्ट्रको लागि प्रेरणाको स्रोत बन्नु पर्छ भनी औचित्यपूर्ण संघर्षपन र जुझारुपन सिकाएका थिए । एकअर्काप्रति लाञ्छना लगाएर होइन, माया, प्रेम, सद्भाव दर्शाएर समाजलाई आदर्शउन्मुख बनाउने चरित्र निर्माण गर्न सिकाएका थिए । जसको ज्वलन्त प्रमाण, वीपी, गणेशमान, पुष्पलाल र मदन भण्डारीजस्ता अभिभावक यो समाजमा देखापरेका थिए । तर वर्तमान त्यस्तो नभएको अवस्था छ ।
अहिले सभ्यताको विकाससँगै मानिसको चाहना र इच्छाले सुख, सुविधा र सम्पन्नता रोजेको पाइन्छ । म र मेरो अस्तित्वको लागि मानिसले आफूलाई सामाजिक मर्यादासमेत भुल्ने गरी कर्म गरेको देखा पर्दछ । सामाजिक परिवेशलाई अहिले आधुनिक चश्माले हेर्ने र शृंगार्ने गरेको पाइन्छ । दूरदृष्टि र दूरदर्शी नेतृत्वको अभाव वर्तमानमा देखापर्दै गइरहेको छ ।
नेपालको गौरवमय इतिहास लेखिएकोमा अहिले स्वार्थपरक चिन्तनले समाजलाई जकड्दै गइरहेको अवस्था देखिन्छ । पौराणिक समयदेखि चल्दै आइरहेको हाम्रो स्वाभिमान र कटुसत्यलाई पराईको इसारा र निर्देशनमा आफैलाई समाप्त पार्ने आचरण र व्यवहारप्रति अभिभावकको ध्यान आकर्षित हुँदै छ । समाजमा मौलाउँदै गएको विकृति र मानवीय आचरणमा देखिएको अहंकारले समाजमा नयाँ तरंग ल्याएको छ ।
नेतृत्वको स्वार्थको कारणले सामाजिक धरातलमा अपराधजन्य संस्कारले प्रश्रय पाउने स्थिति देखापर्दै छ । अहम्वादी चिन्तनले सामाजिक आदर्शमा प्रश्न चिह्न खडा गरेको छ । नीति र नैतिकता कमजोर भएको छ । आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्ति देखापर्दै छ । राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार भई आचरण र व्यवहारमा परिस्कृत हुन र समृद्धिको नयाँ इट्टा थप्नुको साटो भइरहेको र निर्माण हुँदै गरेको संरचनामा इट्टा झिक्ने संस्कार सिकाइँदै गरिएको छ ।
सामाजिक अभियन्ता बनेर राष्ट्रलाई समृद्ध उन्मुख बनाउने चरित्र प्रदर्शन गर्नुको साटो सामाजिक मर्यादामा समेत खलल पर्ने कार्य अहिले अभिभावकले नयाँ पुस्तालाई सिकाइरहेको अवस्था छ । नयाँ पुस्ता भविष्यको आशलाग्दो र अँध्यारोलाई उज्यालोमा परिणत गर्ने सक्षम नेतृत्वकर्ता हुन् भनेर शिक्षा सिकाउनुको साटो नयाँ जोश र जाँगरलाई एकअर्काप्रति प्रतिशोध साँध्ने आचरणतर्फ उत्प्रेरित गरिँदै छ ।
सत्ताको छिनाझप्टीमा सर्वसाधारणलाई बलिको बोको बनाउनेतर्फ राजनीतिक स्वार्थ केन्द्रित हुँदै गरेको छ । भूपरिवेष्ठित नेपालको परिवेशलाई हेर्ने हो भने यहाँ विविधतामा एकता कायम गरी सामाजिक मर्यादा र शान्तिपूर्वक बाँचेको इतिहास पाइन्छ । हिमाल, पहाड तराईमा बस्ने प्रत्येक नेपाली जनमा प्रेम र सद्भाव राखेर जीवन चलायमान भएको अवस्था छ । क्षण–क्षणमा परिवर्तन भइरहेको राजनीतिक परिदृश्यले नेपाली मानसिकतामा खासै असर नपु¥याइरहेको अवस्था छ ।
रोग र भोकले पीडित भएर पनि आफ्नो स्वाभिमान र आदर्श चरित्र निर्वाह गर्नमा हरेक नेपाली जिम्मेवार भएर प्रस्तुत भएको अवस्था छ । यस्तो अवस्था थाहा पाउँदा पाउँदै पनि र कोभिड–१९ ले थलिएको सामाजिक, आर्थिक र सांस्कृति स्वरुप थाहा पाउँदा पाउँदै पनि अहिले अभिभावक स्वयम् गैरजिम्मेवार भई शक्ति प्रदर्शन गर्ने होडमा लागेको देखिन्छ ।
यो कति सुहाउने विषय हो ? आफै धामी आफै बोक्सी भएर सामाजिक सद्भाव खल्बल्याउन कति जायज ? यो स्थितिलाई अझै सशक्त बनाउँदै लैजाने चरित्र अभिभावकबाट देखियो भने हाम्रो समाज र राष्ट्रको अवस्था कस्तो रहने हो ? गम्भीर चुनौती खडा भएको छ ।
त्यसैले समस्याको मूल जड पत्ता लगाई सबैले एउटै स्वर एउटै आवाजमा स्वार्थ प्रेरित अभिभावकको उद्देश्यलाई बुझेर आफूलाई प्रस्तुत गर्नु परेको छ । अहिले अभिभावकत्व ग्रहण गरेका व्यक्ति स्वयम् व्यक्तिगत अहम्ताको कारण आफूलाई अब्बल दर्जा बनाउने कोशिस गरिरहेका छन् । निहित स्वार्थका लागि मीठा–मीठा वचनले पुलक्कित बनाउँदै छन् ।
यदि यसबेला सम्बन्धित सबै पक्षले सावधानीपूर्वक आफ्नो आचरण र व्यवहारलाई प्रदर्शन गर्न नसक्ने हो भने राष्ट्रले कुन परिस्थितिको सामना गर्नुपर्ने हो ? यो चिन्तनको विषय बनेको छ । आपसी समझदारीमा दूरी बढ्नु भनेको आफैलाई पछाडि धकेल्नु हो ।
त्यसैले यस्तो अवस्थामा यसको वास्तविकतासँग सबै परिचित हुन जरुरी छ । अभिभावक नयाँ पुस्ताप्रति संवेदनशील भएर प्रस्तुत हुनु परेको छ । समय धेरै परिवर्तन भइरहेको छ । यदि समयानुकूल सबैले जिम्मेवार भएर आफूलाई प्रदर्शन नगर्ने हो भने तथा प्रत्येक व्यक्ति, वर्गसँग लुकेको प्रतिभालाई सामाजिक मर्यादानुकूल प्रष्फुटन नगर्ने हो भने भोलि समाज र राष्ट्रको रुपरंग परिवर्तन नहोला भन्न सकिन्न ।
विचारलाई कुण्ठित गरी क्षणिक मोहमा फस्नु भनेको आफ्नो अस्तित्वमा आफै सौदा गर्नु हो । त्यसैले प्रत्येक अभिभावकले वर्तमान समयलाई गहिरो मूल्यांकन गरी यसले भविष्यमा पर्ने अप्ठेरो समस्याको समयमै आँकलन गरेर आफूलाई प्रस्तुत गर्नु परेको छ ।
क्षणिक स्वार्थमा लुटपुटिने आचरण र व्यवहारलाई परित्याग गरी समाज र राष्ट्रप्रति जिम्मेवार हुनु परेको छ । समयानुकूल आचरण र व्यवहार गरी नीति र नैतिकतामा आधारित कर्म र व्यवहार गर्नु प्रत्येक अभिभावकको वर्तमानको जिम्मेवारी हो । चेतना भया ।