अशोक श्रेष्ठको उमेर चालिसको हाराहारीमा छ । व्यापार व्यवसायसँगै विभिन्न शैक्षिक अभियानमा जोडिँदै उनी अहिले सामाजिक अभियन्ताका रुपमा पनि अगाडि देखिन थालेका छन् । जन्मथलो काभ्रेको वनेपामा रहेका अशोकले एमबीए अध्ययन गरे पनि विभिन्न सामाजिक संघसंस्थाहरुमा जोडिँदै पछिल्लो समयमा गुडविल फाउण्डेशनमा जोडिएर नेपालको केही क्षेत्रलाई चेतनाको स्तर बृद्धिसँगै सूचना प्रविधिको पहुँच विस्तार गर्न लागिपरेका छन् ।
फाउण्डेशनको नेपाल र भुटानको आधिकारिक प्रतिनिधिका रुपमा अहिले सामाजिक क्षेत्रमा हात फैलाउँदै आएका अशोक युएमएन, नेपाल, डानिडा, सेभ दी चिल्ड्रेन युके, आड्र नेपाल समेतको गतिविधिमा जोडिएका छन् । सामाजिक सेवाकै क्रममा तुलसीपुर र घोराही कारागारमा रहेका बन्दीहरुलाई सीपमुलक अभियानमा जोड्न २० थान कम्प्यूटर समेत उनैको पहलमा उपलब्ध भएको छ ।
उनै अशोक श्रेष्ठको भावि कार्यक्रम र सामाजिक अभियानका बारेमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।
यी २० वटा कम्प्यूटर लिएर कारागारमा किन आउनुभयो ?
मैले कान्तिपुर टेलिभिजनमा एउटा यस्तो समाचार देखेँ, त्यसले मलाई मात्र होइन मेरा रोटरियन साथीहरुलाई पनि भावुक बनायो । कारागारबाटै पनि सूचना प्रविधिको ढोका खुल्ला ग¥यौँ भने यसले कैदीबन्दीहरुलाई सुधारात्मक अभियान ल्याउन सक्दछ भन्ने हामीलाई अनुभूति भयो । कारागारलाई सुधारगृह बनाउनु पर्दछ । यहाँ बसेका मान्छेहरु पनि हाम्रा दाजुभाइ, दिदीबहिनी र बुबाआमा नै हुनुहुन्छ ।
कुनै परिवेशले कानुनी राज्यलाई उलङ्घन गर्न विवश हुनुभयो होला तर अब यो काम गर्न हुँदैन । हामी पनि फेरि बन्दी जीवनपछि समाजमा फर्कनु पर्दछ । त्यो अवस्थामा समय सापेक्ष सूचना प्रविधिमा जोडिएर केही सीम पनि सिक्नु पर्दछ भन्ने अनुभूति होस् भनेर यो सहयोग गरेका हौँ ।
हामीले यो काम गर्नु अघि रोटरी क्लव अफ तुलसीपुर र स्थानीय प्रशासनलाई पनि समन्वय ग¥यौँ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पनि त्यसलाई सहजै रुपमा स्वीकार गर्नुभयो, जेलरले पनि स्वीकार्नुभयो । त्यसपछि हामीले कम्प्यूटर लिएर कारागारमा आएका हौँ ।
तपाईं रोटरीमा जोडिनुको खास कारण के थियो ?
खासमा म व्यवसायी थिएँ, त्यसबेला । रोटरीमा किन जोडिएँ भन्नुपर्दा सकारात्मक सोचका लागि हो । सबैमा सकारात्मक सोचको अवस्था सिर्जना गर्नु पर्दछ भन्ने पनि मलाई लाग्यो । त्यही कारण म यो सामाजिक अभियानमा दाङसम्म आएँ । सायद म यो अभियानकै क्रममा फेरि पनि दाङ जिल्लामा आउने छु । हाम्रो अभियान भनेको सकारात्मक सोचको विकाससँगै सीपमुलक कार्यक्रम सबै तह र तप्कासम्म पुग्नु पर्दछ भन्ने हो ।
त्यसपछि राज्यले चाहेका समृद्धिका कार्यक्रममा हातेमालो गर्ने पनि हो । त्यही भावनाले म रोटरीमा जोडिएको थिएँ । रोटरीसँग जोडिँदै गर्दा अहिले धेरै संघसंस्थाहरुमा पनि काम गर्ने अवसर पाएको जानकारी गराउन चाहन्छु । म जहाँ जोडिएको छु, ती सवै सामाजिक संघसंस्थाका अगुवाहरुलाई फेरि सहयोग गरी समाजका हरेक तह र तप्कामा रहेका नागरिकलाई सहयोगसँगै बालबालिकाको विशेष स्वास्थ्य कार्यक्रममा सहयोग गर्ने भूमिका निर्वाह गर्नेछु ।
बालबालिकाको क्षेत्रको कुरा गर्नुभयो, दाङ जिल्लामा के गर्ने सोच बनाउनुभएको छ ?
मैले सबैथोक गर्न सम्भव छैन । मैले त समन्वयकारी भूमिका निर्वाह गर्ने मात्रै हो । मैले सुनेको छु र देखेको पनि छु । नेपाल सरकारले लगानी गरेर पनि अहिले घोराहीको सर्रामा रहेको बालअस्पताल वेवारिसे अवस्थामा छ । यदि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहजीकरणको वातावरण व्यवस्थापन गरे बालअस्पताल सञ्चालनका लागि रोटरीलगायत अन्य संघसंस्थाबाट समन्वय गरी बालअस्पताल चलाउन कुनै समस्या छैन ।
राज्यले हातेमालो गरे सर्रामा रहेको बालअस्पताल पुनः सञ्चालन गर्न हामी तयार छौँ । हामी जे बोल्छौँ त्यो गरेरै देखाउने हो । बुटवलमा रोटरीले मुटुरोग अस्पताल चलाइसकेको छ । लमहीमा पनि रोटरी क्लवले मृगौला रोगीहरुका लागि नियमित रुपमा डायलाइसिस सेण्टर सफल रुपमा चलाइरहेको छ भने तपाईं मिडियाहरुले आवश्यकताका विषयमा उपयुक्त ध्यानाकर्षण गराए यहाँ बालअस्पताल सञ्चालनका लागि हामी तयार छौँ । अनि अर्को कुरा पनि यही प्रशङ्गमा जोड्न चाहन्छु– आँखाका बिरामीहरुका लागि हामीले स्तरीय उपचारका लागि फेको मेसिन उपलब्ध गराउन पनि अधिक्तम पहल गर्ने छौँ ।
किनकि अझै पनि आँखा अस्पतालमा स्तरीय फेको मेसिन नभएको मैले बुझेको छु । यहाँका रोटरियन साथीहरुले पनि मलाई यो विषयमा पटक–पटक जगाइरहेको अवस्था पनि हो । कहीँकतै यो कुरा पनि राखौँला । हामी स्वास्थ्य सेवा र बालबालिकाका विषयमा सहयोग गर्न अझै पनि गम्भीर छौँ । यहाँका नागरिकले हामीलाई आवश्यकता महशुस गराए हामीले सहयोगी हातहरु विश्व समुदायमा फैलाउने छौँ । आवश्यकताका आधारमा समाज सेवा गर्ने रोटरीको अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।
यी सबै कुरा गरिरहँदा तपार्इंंहरुलाई आर्थिक व्यवस्थापनको पनि कुरा आउँछ नि ?
हामी सहयोगका कुरा मात्रै गरिरहेका छौँ । देश बदल्ने होइन, समाजलाई रुपान्तरण गरेर सबै तह र तप्कालाई मूलधारको सेवामा ल्याउने हो । हरेक नागरिकले स्वास्थ्य, शिक्षा र सुरक्षाका अधिकार पाउनु पर्दछ भन्नेमा हामी तत्पर छौँ । त्यसका लागि हाम्रा विश्वभरि रहेका नागरिकले सहयोग गरिरहेका छन् । त्यसका लागि हामीले आवश्यकताको पहिचान गराउने मात्रै हो, त्यसपछि सहयोगको धेरै समस्या हुँदैन ।
हामीले सामुदायिक सेवामार्फत सहयोग जुटाउने मात्रै हो । यो अभियान रोकिने छैन भन्ने पनि मैले विश्वस्त बनाउन चाहन्छु । यहाँ कम्प्यूटर लिएर आउनु अघि हामीले जाजरकोटमा व्यक्तित्व विकासका लागि प्रेरणादायी पुस्तक समेत उपलब्ध गराइसकेका छौँ । हामीले कुनै पनि मुलुकबाट कुनै वहानामा पैसा ल्याउनेभन्दा पनि आवश्यकताको पहिचान गराइसकेपछि सहयोगका हात फैलाउने हो ।
हाम्रो सञ्जालमा जोडिनेहरुले त्यसैका आधारमा सहयोग गर्छन् । त्यहस् मिशनमा हामी लागिरहेका छौँ । अनि मैले अर्को कुरा पनि तपाईंलाई स्पष्ट पार्न चाहन्छु, हाम्रा सबै कामका अन्तर्राष्ट्रिय शोसल अडिट पनि भइरहेका हुन्छन् । सहयोगको दुरुपयोग हुने अवस्था पनि नहोस् भनेर धेरै जनसमुदायले वाच–डगको भूमिका पनि निर्वाह गरिरहेका हुन्छन् । पारदर्शीताका विषयमा पनि छर्लङ्ग हुन मैले आम जनसमुदायलाई आग्रह गर्न चाहन्छु ।
त्यसैले हामीले कारागारमा कम्प्यूटर दिइरहँदा त्यससँगै भाषा सिकाइ, लेखा प्रणाली, सूचना प्रविधिलगायतका केही सफ्टवेयर समेत उपलब्ध गराएका छौँ । ताकि कारागारबाट निस्कने हरेक नागरिक फेरि सीप सिकेर बाहिरिऊन् भनेर । अनि अर्को कुरा हाम्रो सन्देश यो पनि हो कि अब कारागार खालि हुने अभियान पनि सञ्चालन हुन आवश्यक छ । त्यसका लागि कानुनको सम्मान गर्दै सबैले आ–आफ्नो क्षेत्रमा काम गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा पनि लाग्न सिक्नु पर्दछ र सक्नु पर्दछ भन्ने पनि हो ।
धेरै संघसंस्थाहरुले समाजका अभियन्ताहरुलाई बरालिदिन्छन् भन्ने पनि आरोप छ नि ?
त्यो परिकल्पना पनि गर्न नसकिने कुरा हो । जसले समाज परिवर्तनका विषयमा परिकल्पना नै गरेको हुँदैन र आफूले कमाएको केही हिस्सा समाजमा लगानी गर्नुपर्छ भन्ने स्वच्छ भावना राखेको हुँदैन त्यस्ता व्यक्तिहरु रोटरी क्लवमा आएकै छैनन् । रोटरी क्लव इन्टरनेशनल भनेको विशुद्ध सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताहरुका लागि मात्रै खुल्ला छ ।
आर्थिक लाभ वा अन्य कुनै प्रलोभनमा रोटरीमा कुनै पनि व्यक्ति लागेका छैनन् । यहीँकै रोटरी क्लव अफ तुलसीपुरमा जोडिएका अभियन्तालाई आफै मूल्याङ्कन गर्न सक्नुहुन्छ । घोराहीको रोटरी क्लवलाई पनि हेर्न सक्नुहुन्छ । यो संस्था आर्थिक फाइदाका लागि होइन, समाज परिवर्तनका लागि सकारात्मक सोच बृद्धिका लागि हो । रोटरी क्लव विशुद्ध सामाजिक संस्था हो । आर्थिक फाइदाका लागि त अन्य क्षेत्र जस्तै व्यापार, व्यवसाय तथा अरु व्यवसाय छँदै छन् नि, होइन र ?