खसी व्यापारबाट १५ हजार …

साँझ विहान घरको काम त्यसपछि विद्यालय, खेतीकिसानी पनि, सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन्, हुर्मत डाँगी ।

उनी सानै उमेरदेखि व्यापारमा लागेका थिए । सल्यान जिल्लाको झिम्पेमा २०३१ सालमा जन्मिएका डाँगी अहिले तुलसीपुरमा सफल व्यवसायीको रुपमा परिचित छन् । लगनशील कर्ममा विश्वास गर्ने डाँगीले सबै व्यवसायको अनुभव बटुलेको बताउँछन् ।

मिजासिला सबैको मनमा बस्न सफल कर्मशील डाँगीले २०४९ सालमा सल्यानको शारदा मावि शंखमुलबाट एसएलसी पास गरेका हुन् । त्यसपछि उनी पढाइभन्दा व्यापारलाई प्राथमिकतामा राखेर व्यापारमा लागेको सम्झछन् । उनले खसी–बोका खरिददेखि सुन्तला, सुठो, कपडादेखि सबै प्रकारको व्यवसाय गरेको अनुभव रहेको सुनाउँछन् ।

उनी अहिले व्यापार–व्यवसायमै खुशीका साथ रमाइरहेका छन् । डाँगीले आफू व्यापारमै खुशी रहेको बताउँछन् । डाँगीका बुबाको सपना छोरालाई पढाउने नै थियो । तर उनले एसएलसीपछि पढाइ सँगसँगै व्यापारमै लागेको सुनाए । २०४९ सालमा २५ हजार बुबाले ऋण लिएर व्यापारका लागि आफूलाई दिएको सम्झिए । त्यतिबेलाको २५ हजार अहिलेको करोड जस्तै हो । त्यतिबेला पैसाको महत्व धेरै थियो । जो पायो त्यहीसँग नगद हुँदैनथ्यो । त्यो पनि पहाडी जिल्लामा पैसाको महत्व कति थियो होला ?

२०४९ सालको २५ हजारको व्यापारबाट करोडौँको व्यापारी बन्न उनी सफल भए । सल्यानबाट व्यापार सुरु गरेका डाँगीले आफूले पहिलो पटक काठमाडौंमा खसी लिएर गएको सम्झिए । २५ हजारको लगानीबाट १५ हजार नाफा हुँदा उनको खुुशीको सीमा नै रहेन । उनले त्यही पैसाले काठमाडांैबाट कपडा लिएर सल्यान फर्केको सम्झिए ।

‘मेरो पहिलो खुशी व्यापार नै हो, २५ हजारको लगानीले म अहिले यहाँसम्म आएको छु’ –उनले भने ‘मेरो पहिलो खुशी खसीको व्यापारबाट नाफा १५ हजार हो, यही लेखिदिनुहोला । जीवनको दौडानमा धेरै खुशीहरु उनीसँग छन् तर उनले खसीबाट १५ हजार आम्दानी हुँदालाई आफ्नो पहिलो खुशी सम्झिए । उनले सल्यानमै ७ वर्ष त्यही व्यापारमा निरन्तर लागेको बताए । त्यसपछि उनी २०५४ सालमा विवाह बन्धनमा बाँधिएको बताए । डाँगीले त्यससँगै आफूले तुलसीपुरमा २०५५ सालदेखि तुलसीपुरमा कपडा पसल सुरुवात गरेको बताए ।

‘मेरो अर्को खुशी विवाह सँगसँगै तुलसीपुरमा व्यापार सुरु गर्नु पनि हो, तुलसीपुरमा श्रीमती र मैले सँगसँगै व्यापार सुरु गरेका थियौँ’–उनले भने । त्यही पसलबाट अत्यधिक आम्दानी गरेको उनले सम्झिए । ‘दाङमा पसल सुरु गरेदेखि मेरो व्यापार व्यवसायीमा बृद्धि हुँदै गयो, त्यससँगै होलसेल कपडाको व्यापार सुरु गरेँ, त्यसबाट पनि खुशी प्राप्त भयो’ डाँगीले बताए । त्यस्तै डाँगीले काठमाडौंमा व्यापारी यज्ञमूर्ति न्यौपानेको साथ पाएको बताए । उनीसँगको साझेदारीमा आफ्नो व्यापार व्यवसायलाई थप माथि उठाउन पाएकोमा पनि खुशी व्यक्त गरे ।

‘मेरो अर्को खुशी यज्ञ सर पनि हो, मैले उहाँलगायत सबैको साथ र सहयोग पाएँ, उहाँले मलाई धेरै हौसला दिनुभएको छ, म त्यसमा पनि खुसी छु’ –डाँगी भन्छन् । त्यस्तै उनले काठमाडौमा कपडा उद्योग सञ्चालन गरी सयौलाई रोजगारी दिएकोमा पनि खुशी व्यक्त गरे । त्यस्तै डाँगीले काठमाडौंमा आफूलगायत ५ सय २२ जना लगानीकर्ताको साझेदारीमा कलंकीमा ६६ रोपनी जग्गामा २६ सय ४४ सटरको व्यापारिक भवन निर्माण सुरु गरेको र त्यसमा पनि आफू समावेश हुन पाउँदा निकै खुशी भएको सुनाए ।

‘वहुराष्ट्रिय कम्पनी त्यसमा पनि दक्षिण एसियाकै ठूलो पब्लिक विज्नेस हलको एक सदस्य बन्न पाउँदा अर्को खुशी र गौरव मिलेको छ’–डाँगीले भने । त्यस्तै उनले सन् २०१० मा व्यापार व्यवसायीका लागि थाइल्याण्ड, चाइनालगायतका देशमा जान पाउँदा खुशी मिलेको सुनाए । ‘एउटा सामान्य परिवारमा जन्मिएको मान्छे हाल थाइल्याड, चीनमा समेत व्यापार व्यवसायीका लागि लिङ्क गर्न पाएको छु, यो भन्दा अर्को खुशी मेरो लागि के हुन सक्छ ?’ उनले भने ।

त्यस्तै यातायात क्षेत्रमा पनि लगानी गरेको डाँगीले आफूले बस, ट्रकलगायतका साधनहरु किनेर यातायात क्षेत्रमा समेत सेवा दिन पाएकोमा खुशी व्यक्त गरे । ‘पहिलो पटक २१ लाखमा बस किनेर दुई वर्ष चलाएर २४ लाखमा विक्री गरेको मलाई सम्झना छ, त्यसबाट पनि म खुशी नै छु, तर अहिले कोभिड–१९ले यातायात क्षेत्रमा भने धेरै समस्या छ’–डाँगी भन्छन् । त्यस्तै उनले विभिन्न व्यक्ति तथा सामाजिक कार्यदेखि धार्मिक कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

‘मैले धेरै ठाउँ र व्यक्तिलाई सहयोग गरेको छु, त्यो सहयोग गर्न पाउँदा पनि खुशी मिल्छ’–उनले भने । त्यस्तै स्वास्थ्यका लागि योग अहिलेको अवस्थामा महत्वपूर्ण भएको भन्दै उनले त्यसतर्फ पनि आफु लागेको सुनाए । उनले नियमित योगाभ्यासले आफू स्वस्थ भएको भन्दै त्यसमा पनि खुशी व्यक्त गरे । विगत २ वर्षदेखि योगामा लागेको डाँगीले आफ्ना सबै रोगहरु योग र ध्यानले गर्दा हराएको भन्दै खुशी व्यक्त गरे ।

‘योग पनि मेरो लागि खुशी हो, अर्को योगामा नियमित लागेपछि म शारीरिक, मानसिक र सबै रुपले स्वस्थ छु’–उनले भने । डाँगीले आफ्नो सफलतामा साथीभाइ, घरपरिवारको पनि साथ पाएकोमा खुशी व्यक्त गरे । उनले छोराहरुले पनि पढाइसँगै राम्रो बाटोमा लागेकोमा पनि खुशी व्यक्त गरे । उनले आफूले व्यापार र पढाइ सञ्चालन गर्न नपाए पनि भाइ, छोराहरुलाई शिक्षा दिन पाउँदा पनि खुसी लागेको सुनाए ।

डाँगीले विभिन्न गरिब, असहाय, विपन्नलाई सहयोग गर्न पाउँदा पनि खुशी मिल्ने गरेको बताए । तुलसीपुर–५ निवासी युवा व्यवसायी हुर्मत डाँगी तुलसीपुरमा होलसेल व्यापारका साथै अन्य निजी क्षेत्रमा लगानी गरी सफल व्यवसायीका रुपमा परिचित छन् ।

प्रस्तुती : बालाराम खड्का