सुमन अब बोर्डिङ स्कुलमा पढ्नेछन्

खेमराज रिजाल
तुलसीपुर, २८ माघ । एउटा दलित परिवार, खान–लाउन समस्या । त्यसैमा ९ बर्षको उमेरमा आमा गमाए, बुवाका आँखा अझै खुलेका छैनन् । हर्नेटीको सरकारी स्कुलमा कक्षा ४ मा पढ्दै गरेका सुमन विक ९ बर्षकै उमेरमा आमाको किरिया बसे ।

समाजसेवी यज्ञबहादुर बुढाले एउटा सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखेपछि भाइरल बन्यो उनको कथा । त्यसपछि अमेरिकाका एकजना बालकले आर्थिक सहयोगको घोषणा गरे, उनको नाम थियो– विशाल पौडेल । समन्वयकारी भूमिका निर्वाह गरेका थिए, तीर्थ पौडेलले । त्यसपछि सहयोग जुटाउन लाग्यो तुलसीपुर रोटरी क्लव ।

‘आमा गुमाएँ, बुवाले आँखा अझै देख्न सक्नुहुन्न, धेरै पढ्ने चाहना थियो, सपनामा पनि स्कुल पढेको देख्थे’, सुमनको मनले बोलिरहेको थियो । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा रहेको उनको दैलोमा सहयोग लिएर रोटरी क्लव पुग्दा उनी मलिन अनुहारमा खुसीको अनुभूति दिए । कारण उनलाई अब बोर्डिङ स्कुलमा पढाउन आश्वासन दिइसकिएको थियो ।

सामाजिक सञ्जालमा आएको एउटा समाचारले अमेरिकाका उनकै उमेर बराबरका बालकले सहयोग गरेर उनलाई केही पैसा र लगाउने कपडासमेत पठाइदिएका थिए । कपडा रोटरी क्लव अफ तुलसीपुरका नोमिनी अध्यक्ष शिव श्रेष्ठ र अध्यक्ष सुरेश हमालले हस्तान्तरण गरे । दैलोभरी दाल–चामल पाउदा आँखाको समस्या भएको सुमनका बुवाको खुसी अर्कै थियो । हामीलाई संघसंस्थाले पनि हेर्ने रहेछन् । रोटरी क्लव अफ तुलसीपुरलाई उनले धन्यवाद दिए, अनि छोराको पढाइलाई पनि ध्यान दिन आग्रह गरे । उनले फेरि भनेका थिए मेरो नाम जोकबहादुर विक हो ।

यस्ता धेरै सुमनहरु छन्, जुन शिक्षा, स्वास्थ्य, गास–बास र कपासबाटै वञ्चित छन् । सुमनको झुपडीको घर कहिले टिनको छानासहितको बन्ने हो ? बुवाको आँखा गुमेको र आमा गुमाएका सुमनलाई अब दुईजना दिदीको पनि संरक्षकत्व दिनुपर्ने अवस्था छ । तर सरकार राम्रीका यी दलित बस्तीबारे बेखवर छ ।

सरकार बेखवर हुँदा रिजाल भेराइटीको मैदा, सुरेश हमालको तेल, अन्य संघसंस्थाहरुको सहयोग लगेर राम्रीमा पुग्नुपर्ने बाध्यता थियो । ‘हामी सरकारसँग हातेमालो गर्न चाहन्छौं, त्यसैले यो एउटा सानो सहयोग मात्रै हो’, तुलसीपुर रोटरी क्लवका नोमिनी प्रिसिडेन्ट शिव श्रेष्ठले भने ।

मुडुलो कपालमा सुमनको मन फेरि गदगद बनायो । उनी अब तुलसीपुरको सक्सेस बोर्डिङ स्कुलमा पढ्नेछन् । तुलसीपुरका सामाजिक अभियन्ता तथा यातायात व्यवसायी सुरेश हमालले १० कक्षासम्म तुलसीपुरको बोर्डिङमा पढाउन आफूले सबै व्यवस्थापन गर्ने उद्घोष गरे । साथै उनको बसोबासका लागि फेरि सरसल्लाह गरेर जानकारी गराउने पनि उद्घोष गरे ।

उच्च शिक्षाका लागि पनि सुमनको चाहना र क्षमताका आधारमा फेरि पनि सहयोग गर्न सकिने पनि हमालको अभिव्यक्ति थियो । ९ बर्षका सुमन आमाको किरिया बस्दाको अनुभूति अमेरिकाका आप्रवासी नेपाली बालकले जानकारी पाएपछि सहयोगका चरण शुरु भएका छन् । तर स्थानीय सरकार भने यस्ता विषयमा कत्ति पनि गम्भीर देखिएको छैन । यसैले सुमनजस्ताका मन कुमन हुन बाध्य भएको आगरिक अगुवाहरुले बताएका छन् ।

जिउन सहयोग, शिक्षामा सहयोग, अनि स्वास्थ्यमा पनि सहयोग गर्न सरकार गम्भीर भए मुलुकले समृद्धि हासिल गर्ने थियो, समृद्ध नेपाल सुखी नेपालीको यो अभियानलाई अमेरिकामा बसेको एउटा आप्रवासी बालकले बुझिरहँदा यहाँको सरकार कता अलमलिएको हो ? राम्रीमा सरकारको उपस्थिति हुनुपर्ने होइन र ?