विनोद पोख्रेल
२०७७ जेठ १३ गते
जहिले पनि नयाँ डायरीमा लेख्न सुरु गर्दा यो भर्न सकिएला वा नसकिएला भन्ने प्रश्न उठ्ने गर्छ । तर १४ वटा सकिए । यसपल्ट त त्यो प्रश्न त्यति सवल रुपमा उठेको पनि छैन । यता संयोगले कापी पनि अलि ठूलो परेछ ।
त्यस्तो प्रश्न उठ्ने कारणहरु धेरै छन् । एउटा त यो नियमितता बनाएर राख्न मैले नै सक्छु कि सक्दैन भन्ने सोच हो । आलोचनात्मक शब्द प्रयोग गर्ने हो भने आफैमाथि पूर्णविश्वास नहुनु हो । तर अब एउटा अनुभवले सिकाएको छ कि भावना आफै स्थायी पक्ष हो । मनमा कुनै न कुनै भावना हुन्छ ।
त्यसलाई जस्ताको त्यस्तै भनौ वा इमानदारीपूर्वक लेखाइबाट व्यक्त गर्ने हो भने विषयको चिन्ता पनि हुँदैन । सन्तुष्टि पनि पाइन्छ । त्यसैकारणले आत्मविश्वास पनि बढ्दै जान्छ । अर्को कारण मैले लेखेर के हुन्छ र भन्ने सोच हो । लेखेर त अब आफैसँग छलफल वा बहस गरेको जस्तो महशुस गर्छु । सायद यसैलाई चिन्तन भनिन्छ । आफूसँग नै छलफल वा बहस नगरिकन धारणा बनाउनु त्यति सजिलो हुँदैन ।
त्यो धारणामध्ये धेरै त टिकाउ पनि हुँदैनन् होला । त्यसकारण यो लेखाइको मलाई महत्व छ । त्यस्तै यो एउटा नियमितता हो जसलाई मैले केही वर्षदेखि धानेको हुँ । म यसमा सन्तुष्ट पनि छु । आत्मसन्तोषको एउटा राम्रो उपाय बनेको छ यो मेरो लागि । त्यसकारण मैले लेख्नै ठिक छ । त्यसबाहेक बिहानको समय अथवा अलि धेरै समय भनौ यसले बिताइदिन्छ ।
लेख्न त करिब आधाघण्टा जति लाग्छ । तर लेख्नुभन्दा पहिलेको मानसिकताले पनि एक प्रकारको व्यस्तता महशुस गरेको हुन्छ भने लेखिसके पनि एकप्रकारको सन्तुष्टि अलिबेरसम्म अनुभव हुन्छ । कति पल्ट भोलि के लेख्ने होला भन्ने समेत सोचेको अनुभव छ । तर सोचेको कुरा लेखेको त्यति सम्झना छैन । सोचेको लेख्न लागेँ भने सायद म सीमित हुन्छु र अप्ठ्यारोमा पर्न सक्छु ।
स्वतन्त्र अथवा स्वच्छन्द भावनाहरुको इमानदार अभिव्यक्तिमा बाँधिँदासम्म नविषयको चिन्ता हुन्छ न समयको । मलाई स्थापित लेखक वा चिन्तक वा त्यस्तो अरु केही हुनु छैन । सकेसम्म मनमा आएको भावना जस्ताको त्यस्तै व्यक्त गर्ने मात्रै हो । भनिसके धेरै सोचहरु एकअर्कासँग मिल्न पनि सक्छ, केही नमिल्न पनि सक्छ ।
मानव सोचकै व्याख्या गर्ने हो भने कति त यति धेरै पूर्वधारणाग्रस्त हुन्छन् कि एउटै कुरा वा एउटै सोच पनि एकजनाले व्यक्त ग¥यो भने ठिक र अर्काले व्यक्त ग¥यो भने गलत भनेर बुझ्नेसम्म पनि भेटिन्छ । यो मानिसको स्वभाव हो भन्ने बुझेको हुँ मैले र यसलाई सामान्य र स्वाभाविक रुपमा लिने गर्छु । केही कुराहरुमा मानिस आफै रिजर्भ (गोप्य) रहन चाहन्छ भन्ने पनि मेरो अनुभव छ ।
उदारहणकै लागि भन्ने हो भने कुनै व्यक्तिप्रतिको मेरो धारणा भनौ वा मैले गरेको कुनै व्यक्तिको मूल्यांकन मैले डायरीमा समेटेको छैन । यसले त्यो व्यक्तिलाई अप्ठेरोमा पार्न सक्छ अथवा म आफै पनि विवाद्मा पर्न सक्छु । त्यसकारण ती कुरालाई लेखाईमा समेट्नु ठिक लागेन ।
त्यस्तै व्यक्तिप्रति आकर्षण अझ खास गरेर आफ्नो समयमा वा उमेरमा केटीहरु, महिलाबारेको आफ्नो धारणा, आफ्नो आकर्षण आदि जस्ता कुराहरुमा पनि म चुप बस्न नै उचित सम्झन्छु । समयअनुसारको अनुभव त छ तर त्यो सबैमा हुन्छ । विशेष, सायद केही छैन । त्यसैले हो वा म बच्न चाहेर हो यो विषयमा पनि अभिव्यक्त हुन सक्दैन पनि र चाहन्न पनि ।
त्यस्तै अरु केही विषयहरु छन् जो कति मलाई थाहा छ र कति यस्ता पनि होलान् जुन विषयतर्फ मेरो ध्यान नै जान सकेन । त्यस्ता विषयहरुमा म रिजर्भ नै छु । तर यति कुरालाई मेरो कमजोरी नमान्ने हो भने डायरीहरु मेरो भावनाको स्वतन्त्र अभिव्यक्ति हुन्छ । यसमा म इमानदार छु भन्ने लाग्छ र सन्तोष लाग्छ ।
२०७७ जेठ १४ गते
नेपालीहरुमा एउटा कमजोरी रह्यो । अझै पनि छभन्दा हुन्छ, सायद । न त नेपालीले आफ्नो सीपको सदुपयोग गर्न खोजे न त क्षमताको न त बुद्धिको । अर्कोले लेखिदिएका सिद्धान्त घोकेर आपसमा झगडा गर्ने चरित्रलाई यहाँ राजनीतिक विद्वत्ता भयिो । अरु देशबाट शासित हुन नपरेकोले राष्ट्रिय एकता र राष्ट्रि स्वाभिमान बारे जनतालाई थाहै भएन ।
अरुले वीर गोर्खालीभन्दा समेत हामीले आफूलाई सचेत बनाउन सकेनौँ र त्यही परिचयमा रमायौँ । वीर नेपाली भनाउन समेत आवश्यक सम्झेनौँ । सत्ता, शक्तिले हामीलाई अन्य शक्तिलेभन्दा धेरै आकर्षण ग¥यो । आर्थिक शक्तिलाई आफैले सक्यौँ, विदेशीको आकर्षणमा । वीर गोर्खाली भन्ने परिचयमा रमायौँ र आज कामदारहरु उत्पादन गर्ने र विदेशलाई दिने देशमा रुपान्तरण भयो ।
अरुका लागि काम गर्नुलाई ठूलो सफलता मान्यौ, जसनस्तरबाट पनि र राष्ट्रको नेतृत्व गर्नेबाट पनि । महत्वाकांक्षा नै सपना भए । देशबारे, राजनीतिबारे, विकासको, अर्थतन्त्रबारे यहाँ केही गफ भए होलान् तर सोच भएन । नेपालको आवश्यकता र नेपालको भविष्यबारे यहाँ सोच्दै सोचिएन । यहाँ या त सत्ता आफ्नो हातमा कसरी किन भन्नेबारे सोचियो या त सहर बजारमा एउटा घर त्यस्तै रुखको नाममा आफूले केही गरेर अरुको उत्पादनको उपभोग गर्ने मनमोजी चरित्रको विकास भयो, गरियो ।
उपभोगतर्फ असाध्यै आकर्षित हुने चरित्रको विकास भयो तर उत्पादन गर्ने चरित्रको पूर्ण रुपमा विनाश गरियो । यही सोच र यही क्रमले हो हाम्रो मौलिक सीपहरु नष्ट भएको । हामी उत्पादकबाट व्यापारी भयौँ । व्यापारीबाट शासक हुने प््रयास ग¥यौ र गर्दै छौँ । उत्पादन गर्नुलाई सानो काम भन्ने सोचको विकास ग¥यौँ र ठूलो कम गर्नतर्फ लाग्यौँ ।
त्यसले हाम्रो आकर्षण पुगेर वा नपुगेर सौख वा वाध्यता दुवैले विदेशी उत्पादनमा बढायौँ । विदेशी कपडा, विदेशी प्रविधि, विदेशी संस्कार, विदेशी खाना आदिलाई आफ्नो सफलता र आफ्नो महानता मान्यौँ । हाम्रो आवश्यकताको पहिचान गर्नतर्फ लागेनौँ बरु अरुको नक्कल गर्नतर्फ बढी लाग्यौँ । जीवनलाई दिगो र सजिलो बनाउने सोच भएन सत्ताशक्तिको वरिपरि घुमेर सबै अरुबाट जुटाउने परिकल्पनामा पौडी खेल्यौँ ।
आजका समस्या यिनैका उपज हुन् । भोलिको बारेमा सोच्नेसँग देशको राजनीति, टिक्देन टिकेन । आज जो छ त्यसलाई हराएर आफू त्यहाँ पुग्नेमा मात्रै राजनीति सीमित भयो । यसको लागि जे पनि जसरी पनि जसको सहयोग लिएर भए पनि अगाडि बढ्यौँ । यही चरित्रले हो, न त राष्ट्रवादको विकास गर्न स्क्यौँ न त राष्ट्रको विकास हुन दियौँ । राष्ट्रको मात्रै विकास भएको भए पनि सन्तोष गर्ने ठाउँ हुन सक्थ्यो ।
राष्ट्रवादलाई त या त शासकको लहर वा आवश्यकता मानियो या त त्यहीको जिम्मामै छाडियो । आम नागरिकलाई राष्ट्रवादी बनाइने प्रयास नै भएन । आजको स्थितिको चित्रण गर्ने हो भने यहाँ देश न त कुनै सिद्धान्त वा विचार प्रभावित छ न त कुनै लक्ष्य छ न त कुनै ठोस रणनीति नै छ । यहाँको सरकारले शिक्षा, स्वास्थ्य र खानपिनजस्ता कुराहरुमा समेत प्राइभेट क्षेत्रको जिम्मा लगाएको छ ।
देशको सीमाको सुरक्षा समेत गर्न सकेको छैन । आफैमा पुष्ट नभएको जस्तो अथवा धेरै कुरा गोप्य राखेको जस्तो गरिरहेको छ । हालकै उदाहरण दिने हो भने पनि लिपुलेक नेपालको नक्सामा छैन भन्ने मन्त्रीले नै लिपुलेक समेतको नक्सा जारी गरिन । यो संयोग हो अथवा तमासा ।
विदेशमन्त्रीले कहिले थाहा नपाएको जस्तो गरी कहिले हामीलाई थाहा थियो भने । तर थाहा थियो भने यो रोक्ने प्रयास पनि नगर्नु, राष्ट्रलाई जानकारी पनि नगरिदिनुलाई भारतको समर्थन वा चाकडी गरेको भनेर वाहेक अरु कसरी बुझन् सकिन्छ । यस्ता उदाहरण धेरै छन् । जसले नेपालीले धेरै कुरा बुझ्न सक्दछन् । तर बुभ्mने प्रयास गर्ने चरित्रलाई नै मास्न चाहनेहरुको नेतृत्व यहाँ छ ।