जेसीज युवाहरूको साझा सिकाइ केन्द्र हो : अध्यक्ष शर्मा

जेसीज युवाहरुको नेतृत्व विकास गर्ने संस्थाको रुपमा लिने गरिन्छ । विशेष गरेर यसलाई युवाहरुले सिक्ने र सिकाउने संस्थाको रुपमा लिने गरेका छन् । युवाहरुलाई तालिममार्फत् प्रशिक्षित, जिम्मेवारी र सिकाइमार्फत् निखारेर समाजमा हस्तान्तरण गर्नु नै यसको मुख्य ध्येय हो । जेसीजले आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि समाजका हरेक क्षेत्रमा यसले विशेष काम गर्ने गरेको छ ।

त्रिभुवन नगर जेसीजको सन् २०२१ को लागि नयाँ नेतृत्व चयन भएको छ । जेसीजको नयाँ नेतृत्वमा मुकेश्वर शर्मा चयन भएका छन् । उनको कार्यकाल एक वर्षको छ । नयाँ नेतृत्वमा आएपछि अब जेसीज कसरी अघि बढ्छ ? नेतृत्वका भावी कार्यक्रम के–के छन् ? त्रिभुवन नगर जेसीजको विकासका र जेसीजले युवा र समाज विकासमा खेल्ने भूमिकामा केन्द्रित भएर जेसीज अध्यक्ष मुकेश्वर शर्मासँग गोरक्षकर्मी लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

 जेसीज के हो र यो संस्थाले कस्ता कार्यक्रमहरु गर्छ ?

 जेसीज १८ देखि ४० वर्षभित्रका युवा जोडिएको सिक्ने र सिकाउने अन्तर्राष्ट्रिय संस्था हो । यो आफैमा सामाजिक संस्था भने होइन तर समाजसँग जोडिएर काम गर्ने गर्दछ । समाजका युवाहरुलाई तालिममार्फत् प्रशिक्षित, जिम्मेवारी र सिकाइमार्फत् निखारेर समाजमा हस्तान्तरण गर्नु नै यसको मुख्य ध्येय हो । जेसीजले आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि समाजका हरेक क्षेत्रमा यसले कार्य गर्दछ ।

 जेसीजको नेतृत्वले गर्नुपर्ने मुख्य काम के हो ?

 कुनै पनि सिकाइ तबसम्म पूर्ण हुँदैन जबसम्म उसलाई पूर्णरुपमा प्रशिक्षित गरी समाजमा हस्तान्तरण गरिँदैन । अनुभव र प्रयोगबिना कसैको पनि क्षमताको सही मूल्याङ्कन हुन सक्दैन ।

जेसीजको नेतृत्वले खास गरी आफ्ना सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि विविध कार्यक्रमहरुको आयोजना गर्छ, प्रशिक्षण–तालिम प्रदान गर्दछ र अवसरहरु विविध माध्यमहरु सिर्जना गरी उनीहरुको क्षमतामा निखारता ल्याउने गर्छ । अन्तत्वगत्व यसले युुवाहरुलाई समाज र राष्ट्रप्रति उत्तरदायी बनाउनु नै नेतृत्वको मुख्य काम हो ।

 जेसीजको विकासका लागि तपाईंका योजना के–के छन् ?

 पहिलो कुरा त सदस्यहरुलाई जेसीजको मर्म र उद्देश्य बुझाउन सकियो, त्यस अनुरुप असल नेतृत्व उत्पादन गर्न सकियो भने त्यही नै जेसीजको विकास हो । जतिधेरै युवाहरुलाई जेसीजप्रति आकर्षित गर्न सकियो, यसका अवसरका क्षेत्रहरु, यसका उद्देश्यहरु जति धेरै बुझाउन सकियो त्यही नै ठूलो उपलब्धि हो । संस्थागत विकासका लागि हामीसँग हाम्रो आफ्नै भवन छ, पुस्तकालय तथा वाचनालय छ तर त्यसलाई अलिक व्यवस्थित गर्नुपर्ने छ, तालिम हलको राम्रो व्यवस्थापन गर्नुपर्ने छ ।

 जेसीजका नमुना कामहरु के–के छन् ?

 विभिन्न चरणमा हाम्रा अग्रजहरुले धेरै नै राम्रा कार्यहरु गर्नुभएको छ । ती मध्यको समाजमा नमुना कायम राख्न सकेका कार्यहरुमध्ये जेसीज पुस्तकालय तथा वाचनालय, यज्ञबहादुर बुढाथोकी उत्कृष्ट युवा दाङ पुरस्कार,  अन्तर्गत पुस्तकालय स्थापना, दुर्गा नारायण वक्तृत्वकला पुरस्कार, भगवती महरा उत्कृष्ट एसइई पुरस्कार, जेसीज ग्राम, म्याराथन, राष्ट्रिय स्तरकै क्रिकेट प्रतियोगिता, स्वास्थ्य शिविरहरुलगायत थुप्रै कामहरु हामीले चरणबद्ध रुपमा गरिरहेका छौँ । आगामी वर्षहरुमा पनि सबैको साथ र सहयोग रहेमा हामीले समाजमा खास टेवा पुग्ने युवाहरुको नेतृत्व र व्यक्तित्वमा निखारता ल्याउन अरु थुप्रै कार्यहरु गर्ने सोच लिएर अगाडि बढेका छौँ ।

 जेसीजग्रामको काम कहाँ पुग्यो ? तपाईंको कार्यकालमा यो काम पूरा हुन्छ कि हँदैन ? साथै अन्य सामाजिक कार्यहरु के–के छन् ?

 जेसीजग्राम हाम्रो दीर्घकालीन योजना हो । सन् २०१७ बाट यसको कार्य अगाडि बढेको हो । जेसीज ग्रामको विकासका लागि प्रत्येक वर्ष हामी केही नयाँ खालका योजनाहरु लिएर आएका छौँ । यस वर्ष त्यहाँका स्थानीयको आर्थिक, सामाजिक, शैक्षिक विकासका लागि हामीले काम गरिरहेका छौँ । पञ्चवर्षीय योजना अन्तर्गत हामीले थुप्रै कार्यहरु अझै गर्न बाँकी छ ।

स्थानीयको जीवन स्तर सहज बनाउने र नमुना गाउँका रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो । पर्यटकीय विकासका लागि पनि हामीले कार्य थालनी गरिसकेका छौँ । प्रारम्भिक चरण भएकाले काम भ्mवाट्टै देखिने भएको छैन । तर हामी सुक्ष्म रुपमा काम गरिरहेका छौँ । बजेट विनियोजनका लागि स्थानीय तथा राष्ट्रिय तहमै कुरा राखेका छौँ, डेलिगेशन गरेका छौँ । पक्कै यति ठूलो योजना हाम्रो एकल प्रयासले मात्र सम्भव हुँदैन । हामी नीतिगत रुपमै सबैसँग सहयकार्य गरेर अघि बढिरहेका छौँ । छिट्टै शाब्दिक रुपमा यसको नतिजा आउनेछ । हामी सबैले मिहिनेत गरिरहेका पनि छौं ।

 जेसीजग्रामबाट नागरिकले के लाभ लिन्छन् ?

 जेसीजग्राम हाम्रो पञ्चवर्षीय योजना हो । यसको पूर्णता सन् २०२२ मा मात्रै हुन्छ । यद्यपि हामी हाम्रो क्षमताले भ्याएसम्म धेरै कार्यहरुलाई पूर्णता दिने प्रयत्न गर्ने छौँ । हाम्रा कार्यकाल एक वर्षको मात्रै हुन्छ तर जेसीजग्रामको कार्य पूरा गर्नका लागि हामीले स्थायी समिति नै बनाएर काम गरिरहेका छौँ ।

पक्कै पनि हामीले यति धेरै मिहिनेत गरेका छौँ । यसको मूलभूत उद्देश्य नै त्यहाँका स्थानीयको जीवन स्तर, सामाजिक, शैक्षिक र आर्थिक, पर्यटकीय स्तर बृद्धि गर्नु नै हो । यी सबै क्षेत्रमा स्थानीयले लाभ लिन सक्नेछन् ।

 जेसीजलाई समाजसँग जोड्न तपाईंका योजनाहरु के–के रहेका छन् ?

 जेसीजका केन्द्रविन्दु व्यक्ति (मानिस) हो तर कार्यहरु सबै समाज केन्द्रित हुने गर्छन् । निरन्तर रुपमा वर्षभरि हुने कार्यहरु समाजसँग सम्बन्धित नै हुन्छन् । यो आफैमा सामाजिक संस्था नभए पनि समाजसँग जोडिएर काम गर्छ ।

समाजसँग जोडिनका लागि नै हामीले लागूऔषध दुव्र्यसनी कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, स्कूलहरुमा पुस्तकालयको स्थापना, समाज विभिन्न सहयोग सामग्रीहरु प्रदान गर्ने कार्यक्रम, स्वास्थ शिविरलगायत धेरै कार्यक्रमहरु गरिरहेका छौँ । समाजलाई दुख्दा हामीलाई पनि दुख्छ । त्यसैले हामीले समाजसँग जोडिएर हरेक गतिविधिहरुमा समाजसँग अगाडि बढिरहेका हुन्छौँ ।

 यी योजनालाई साकार पार्न चुनौतीहरु के देख्नुभएको छ ?

 जीवन आफैमा चुनौतीपूर्ण छ । कुनै पनि संस्थाको नेतृत्व लिनु पनि चुनौती नै हो तर हामीले चुनौतीका बीचमा पनि अवसर खोज्ने हो । जेसीजमा कहीँकतैबाट पुँजीको व्यवस्था हँुदैन, कार्यहरु गर्नका लागि हामी आफै खर्च जुटाउने गर्छौं । स्थानीय निकायसँग सहयोग माग्छांँ, व्यक्तिहरुसँग आर्थिक सहयोगको अपील गर्छौं, संस्थाका पूर्वदाजुहरु, सदस्य साथीहरुसँग सहयोग लिई हाम्रा कार्यहरु सम्पन्न गर्ने गरेका छौंँ ।

थुप्रै वार्षिक कार्यक्रमहरुसँगै वर्ष चलाउनु र त्यसलार्ई लक्षितवर्गसम्म पु¥याई फलदायी बनाउने, सदस्य युवाहरुको क्षमतामा निखारता ल्याउनु निकै चुनौतीपूर्ण छ तर पनि हामीले सफलतापूर्वक हालसम्म सबै कामहरु गरिरहेका छौँ । यही नै हो हामीले सिक्ने, चुनौतीका बीचमा पनि अवसर सिर्जना गर्ने ।

 जेसीजलाई युवाहरुको संस्था भनिन्छ । यसले युवाहरुको विकासका लागि कसरी काम गर्दै आएको छ ?

 हरेक युवाहरुमा प्रतिभा हुन्छ । ती प्रतिभाहरुलाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरहरु प्रदान गर्ने, व्यक्तित्वको विकास गरी नेतृत्वका लागि सक्षम बनाउने, परिवार, समाज र राष्ट्रप्रति उत्तरदायी हुन प्रेरित गर्ने, समूहमा कार्य गर्न सिकाउने, जनसम्पर्क तथा परिचय बढाई व्यवसायको प्रबद्र्धन गर्ने, भाइचाराको भावना जगाउने, समयको सदुपयोग गरी आत्मविश्वास बढाउने, व्यवस्थापन प्रक्रिया सिकाउनेलगायत थुप्रै अन्य कार्यहरुको आयोजना गर्दै युवाहरुको विकासका लागि अघि बढिरहेको छ, जेसीज ।

 दाङमा जेसीज स्थापना भएको लामो समय भएको छ । दाङको युवाहरुमा यसबाट के परिवर्तन आएको महशुस गर्नुभयो ?

 समाजमा जेसीजले उत्पादन गरेका धेरै असल व्यक्तिहरुको सम्पर्कमा हुनुहुन्छ, तपाईं । धेरै प्रतिष्ठित संस्थाहरुमा जेसीजले उत्पादन गरेका व्यक्तिहरुले नेतृत्व गरिरहनुभएको छ । जेसीजकै पूर्व सदस्यहरु माननीय हुनुभएको छ, जनप्रतिनिधि बन्नुभएको छ, विभिन्न मन्त्रालयका जिम्मेवारी सफलतापूर्वक अरुभन्दा फरक तरिकाले सम्पन्न गर्नुभएको छ ।

स्थानीय रुपमा रोटरी क्लव, लायन्स क्लव, उद्योग वाणिज्य संघ, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समिति, विभिन्न स्वास्थ्य क्षेत्रमा, विभिन्न सरकारी, गैरसरकारी निकायहरुमा, बैंक तथा वितीय संस्थाहरु र प्रतिष्ठित उद्योग व्यवसायहरुमा तपाईंले प्रशस्त जेसीजसँग आबद्ध भइसकेका र भइरहेकाहरु भेट्न सक्नुहुन्छ । उहाँहरुको सिकाईको जड नै जेसीज थियो । तपाईं आज म सङ अन्तर्वार्ता लिइरहनुभएको छ, यही नै हो, परिवर्तन, जेसीजले युवाहरुलाई दिएको परिवर्तन ।

 अन्त्यमा केही भन्नु छ ?

 हामी युवाहरुमा निरन्तर जेसीज स्थापित गर्न लागि परेका छौँ । जेसीजको मूल उद्देश्य प्राप्तिका लागि समाज र युवाहरुलाई जोड्न यहाँहरुको पनि ठूलो भूमिका रहन्छ । जेसीजका हरेक गतिविधिहरुलाई यहाँहरुले आ–आफ्नो मिडियामा समेटिदिनुभएमा हामी एकदमै आभारी हुने छौँ । देश विकासका सम्वाहक युवाहरुमा सकारात्मक विकास र परिवर्तनका लागि सबैको हातेमालो महत्वपूर्ण हुन्छ । वर्ष २०२१ लाभ सफल बनाउन यहाँहरु सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा गर्दछु ।