दाङ,८ माघ । बिश्वभर महामारिका रूपमा फैलिएको कोभिड १९ का कारण करिब १ बर्षदेखी बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आउन सुरु भएको छ । सरकारले तोकेका सुरक्षाका मापदण्डहरु अपनाउदै सिनेमा हल सञ्चालनमा ल्याईएको हलका सञ्चालकले जानकारी दिएका छन् । दाङमा रहेको मनाकाशी सिनेप्लेक्स माघ १ गतेदेखी संचालनमा आएको सञ्चालक ओम जैसीले जानकारी दिए ।
१ गतेदेखि सिनेमा हल सन्चालनमा आएपनि बिहिबार पत्रकार सम्मेलनको आयोजन गरि करिब १ बर्षदेखी बन्द रहेको सिनेमा हल सञ्चालनमा ल्याइएको उनले बताए । लामो समयदेखी हल बन्द हुदा यससंग सम्बन्धित कामदारको ज्याला मात्र नभई हल सञ्चालन गर्ने उपकरणहरूमा पनि समस्या देखिदा धेरै नोक्सानि ब्यहोर्नु परेको जैसीको भनाई छ ।
नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष समेत रहेका जैसीले विगत १० महिनादेखि बन्द रहेका सिनेमा हलले करौडौं घाटा व्यहोर्नुपरेको बताए । ‘‘हामीले पटकपटक डिमान्ड चार्ज र चलचित्र विकास शुल्क मिनाहा गर्न सरकारलाई आग्रह गर्दै आएका छौं, तर चलचित्र क्षेत्रलाई कुनै किसिमको राहत उपलब्ध गराइएको छैन्,’ उनले भने ।
मुलुक बिस्तारै कोभिड महामारी पछि सहज अवस्थामा फर्किन थालेकोले सिनेमा हल पनि सञ्चालन गर्न पाउनु पर्ने माग सहित हल सञ्चालकहरुले आन्दोलन थालेका थिए । उनीहरुको माग सुनुवाई गर्दै सरकारले माघको पहिलो साता देखी हल सञ्चालन गर्न दिएको अनुमति अनुसार नै सञ्चालनमा ल्याईएको जैसीको भनाइ छ । उनले सरकारले तोकेको मापदण्ड अनुसार सबै दर्शकलाई मास्क र सेनेटाईजर अनिवार्य गरिएको बताए । यस्तै हलमा बस्दा पनि एउटा सीट छोडेर मात्र दर्शकलाई बसाल्ने ब्यवस्था गरिएको छ ।
हल सञ्चालनमा आएपछि टिकटको मूल्य नेपाली सिनेमाको १ सय ५० रुपैया र हिन्दी सिनेमाको २ सय रूपैया कायम गरिएको काशी सिनेप्लेक्सका सञ्चालक जैसीले जानकारी दिए । उनले केही दिन भित्र पश्चिमाञ्चलका सम्पूर्ण सिनेमा हलहरू सन्चालनमा आउने बताए । चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष जैसीका अनुसार दाङमा ७ वटा र पश्चिमाञ्चल क्षेत्रमा ५६ वटा सिनेमा हलहरु रहेका छन ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं गोरक्ष राष्ट्रिय दैनिक प्रकाशक सुलोचना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मनाकाशी सिनेप्लेक्सका सन्चालक ओम जैसीले गरेका थिए ।