नारायणप्रसाद श्रेष्ठ
सरल स्वभाव र स्वच्छ विचार जीवनलाई सफलताउन्मुख गराउने महत्वपूर्ण आधार हो । जहाँ सरलता हुन्छ त्यहाँ सुगमता हुन्छ । सुगमताले विचारमा स्वच्छता ल्याउँछ । स्वच्छताले सम्बन्धमा विश्वासको वातावरण बनाउँछ र विश्वासले भरोषा जगाउँछ । भरोषाले आत्मसन्तुष्टि दिलाउँछ तथा आत्मसन्तुष्टिले जीवनलाई सहज गतितिर डो¥याउँछ ।
मनमा खुशी र उमंग दर्शाउँदै हाँस्दै, खेल्दै नयाँ संस्कारको स्थापना गर्न पुग्छ । मानिस सधैँ खुशी र आनन्दित भई उसको हरेक चाहनामा निखारपन आउन सुरु हुन्छ । त्यसैले भन्ने गरिन्छ – सरलता जीवनलाई सफलता उन्मुख गराउने उत्तम विकल्प हो । अर्को अर्थमा सरल जीवन सफलताको मुहान पनि हो । यही मुहानबाट सुख, समृद्धि तथा ऐश्वर्यको महशुस हुँदै जीवनले उच्च कोटीको सम्मान र प्रतिष्ठा प्राप्त गरेको हुन्छ । जगतमा सकारात्मक सोच र चिन्तन बढाएको हुन्छ ।
विचारमा स्वच्छता ल्याई समाज, राष्ट्रमा नयाँ परिवेशको उद्घाटन हुँदै गरेको हुन्छ । आपसी सम्बन्धमा न्यानोपन बढाई व्यक्ति, वर्ग, क्षेत्र र राष्ट्रको पहिचान बढाई समृद्धि ल्याएको हुन्छ । त्यसैले जीवनलाई उच्च कोटीको आदर्श बनाई व्यक्तित्वको पहिचान गराउन प्रत्येक व्यक्तिले आफ्नो हरेक कर्म र व्यवहारमा सरलता र शुद्धता प्रदर्शन गर्न सक्नु पर्छ । आफ्नो प्रत्येक कार्यमा सकारात्मक भाव जगाउन सक्ने सरलतालाई आफ्नो जीवनको उद्देश्यसँग गाँसेर प्रस्तुत गर्नु पर्छ । उखानै छ ‘सादा जीवन उच्च विचार’ जीवनलाई सार्थकता बनाउने उत्तम माध्यम ।
सरल जीवन सफलताको सिढी हो । यही जीवनबाट नै आनन्दको महशुस गर्ने परिस्थिति निर्माण हुन पुग्छ । अर्को अर्थमा सरल जीवन प्रेमको अर्को स्वरुप पनि हो । यो अधिकारबाट होइन कर्म र प्रेमको प्रतिफलबाट उजागर भएको हुन्छ । देखिने शरीर आवरण मात्र हो । यसले गर्ने प्रत्येक क्रियाकलापहरु अन्तरहृदयभित्रको अदृश्य शक्तिले परिचालन गरेको हुन्छ । अन्तरशक्तिभित्र छिपेको सरलताले नै मानिसको प्रत्येक कर्म र व्यवहारलाई परिस्कृत गरेको हुन्छ ।
जीवनलाई सरल बनाई प्रस्तुत गर्न उकासिरहेको हुन्छ । तर वाह्य आवरण यो बुझ्न सक्दैन । मानिसको वाह्य आचरणले उसलाई अनगिन्ति प्राप्तिभित्र विचलन बनाउन सक्छ । ‘मन ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेझै मनले एउटा सोचिरहेको हुन्छ वाह्य आवरण र वातावरणले अर्कै कर्मप्रति आकर्षित गरिरहेको हुन्छ । जसले गर्दा मानिस क्षणिक मोह र लोभमा फसी आफूभित्रको सत्यलाई बिर्सन पुग्छ र आचरण र व्यवहारमा अपराध प्रवृत्तितिर आकर्षित हुन पुग्छ । जसको फलस्वरुप अन्तरदृष्टि र व्यवहारले चाहेको सन्तुष्टि अनुभूति गर्न सक्दैन ।
त्यसैले समयले ल्याउने परिवर्तित सत्य कुन दिशातिर गतिशील भइरहेको छ ? त्यसबाट उत्पन्न परिस्थितिबाट जीवन र जगत कसरी गतिशील भएको छ ? त्यस कुराको गहिरो अध्ययन र विश्लेषण गरी आफ्नो कर्म र व्यवहारलाई सरलीकृत गर्दै अघि बढ्नु पर्छ । परिस्थितिले ल्याउने परिवर्तनलाई आत्मसात गर्दै जीवनलाई सरल, सभ्य र सौम्य तरिकाबाट निर्वाह गर्ने पद्धतिभित्र धैर्य र सहनशील भई आफूलाई परिचालन गर्न सक्नु पर्छ ।
धैर्य र सहनशील भई अपराध बोध नुहने गरी सरल जीवन उच्च विचारतर्फ आफूलाई परिपोषित गर्नु गराउनु पर्छ । यसको लागि म र मेरो परिवेश सरल र स्वच्छ विचारबाट परिपोषित छ, म जे गर्छु उनैको इसाराले गर्छु भनी प्रेमले सुशोभित कर्म र व्यवहार गर्नु र गराउनु पर्छ । प्रेम सरल मार्गमा लैजाने उत्तम आधार हो । यही आधारले मानिसलाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने गरेको हुन्छ ।
हुन त कतिपय मानिसले सरलता र प्रेमलाई खासै महत्व नदिएको पनि पाइन्छ र भन्ने गरिन्छ – ‘प्रेम र सरलता प्रदर्शन गर्दैमा अपराध प्रवृत्ति रोकिएको छ र ?’ कतिपय समयमा प्रेम र सोझोपन देखाई अपराध गरेको पनि देखिन्छ । सोझोपनको फाइदा उठाई मानिसले विभिन्न अपराध गरेको इतिहास गरेको पनि पाइन्छ नि’ पनि भनिन्छ । तर यो अल्पज्ञान हो । क्षणिक भावावेशमा आएर चिन्तन गर्ने हो भने यो अस्वाभाविक मानिँदैन ।
अपराध मानिसकै इच्छाको उपज हो । यो पनि असत्य मानिँदैन । तर यो कुन हालात र परिस्थितिले ल्यायो ? यसको मूल्यांकन गर्ने हो भने अपराध क्रुरताको प्रतीक हो भनी मान्न सकिन्छ । क्रुरताले सधैँ अपराध प्रवृत्तितर्फ मानिसलाई उत्प्रेरित गरिरहेको हुन्छ । यसरी बुझ्ने गरियो र धैर्य र सहनशील भई जीवनलाई गति दिइरहने हो भने क्रुरता आफै समाप्त भएर जन्छ । यो सत्य कदापि भुल्नु हुँदैन । सरलताको प्रेम स्वरुप र यसको उपादेयतालाई राम्ररी बुझेर सम्झने हो भने यसले आफै नतिजा देखाउन थाल्छ ।
यदि यसलाई गलत भाव उत्पन्न हुने गरी प्रयोग गरियो भने यसले राम्रो परिणाम दिँदैन । आशक्तिले प्रेमलाई पर्दा पछाडि राखेको हुन्छ । आशक्ति र बढी प्राप्तिको चाहनातिर दृष्टि राख्ने हो भने यसले गलत परिणाम पनि ल्याउन सक्छ । त्यसैले गिलो माटो सरी रहेको मानिसको मन, बुद्धि र चिन्तनलाई ज्ञानको पारिलो झुल्काले सधैँ परिपोषित गरी सरल जीवन उच्च विचारले आफूलाई परिपोषित गर्नु गराउनु पर्छ ।
परिवार, समाज र राष्ट्रलाई स्वच्छ गति दिन तथा संस्कारमा परिस्कृत गर्न सधैँ सरल र सकारात्मक भइरहनु पर्छ । तन, मन र व्यवहारमा सरलीकृत गर्दै संस्कारलाई उत्तम गतितिर अघि बढाउन हरहमेसा जिम्मेवारी बोध गर्दै अघि बढ्नु पर्छ । तब मात्र जीवनले सही दिशाबोध गर्न पुग्छ । त्यसैले आत्मालाई स्वच्छ र पवित्र राखी इन्द्रीयहरुबाट उत्पन्न हुने विकारहरु हटाउँदै विवेकी भएर आफूलाई प्रस्तुत गर्नु पर्छ । प्राप्तिको विषय र चाहनाले ल्याउने स्वार्थलाई स्वतन्त्र मनको पवित्र धारभित्र प्रवेश गर्न नदिने गरी सधैँ एकै किसिमले सरलता जीवनको उद्देश्य हो, कठोरता मानिसको गलत मार्ग हो, यो सोचाई गरी सधैँ ज्ञान अमृत पिउँदै आफूलाई प्रस्तुत गर्नु पर्छ ।
कतिपय अवस्थामा मानिस कल्पनाभित्र रमाउने र कल्पनाकै भरमा आफूलाई गलत दिशाउन्मुख गराएको इतिहास पनि पाइन्छ । वास्तवमा यो मानिसको चाहनाभित्रको असन्तुष्टि मात्र हो । सन्तोष हुन नसक्ने मानवीय प्रवृत्ति हो । भनिन्छ ‘सन्तोषं परमं सुखमं असन्तोषं परमं दुःखमं’ । यही असन्तोषले नै मानिसलाई दुखारी र गलत मार्गमा लैजान्छ । हुन त कतिपय समयमा असन्तुष्टि बढाउनु नै नयाँ भविष्य निर्माण गर्नु भनेर पनि भनिएला । तर त्यो क्षणिक भावावेश मात्र हो । जहाँ सन्तुष्टि र सरलता हुन्छ त्यहाँ नयाँ सोच र उमंग पैदा हुन्छ । सरलताले मार्ग सफा गर्छ, सन्तुष्टिले नयाँ आयाम थप्दै जान्छ । यस कुरालाई कदापि भुल्नु हुँदैन ।
तसर्थ, सदावहार जीवनलाई सफलता उन्मुख बनाइराख्न यसको मूलतत्वलाई ग्रहण गरी सधैँ सदाचारी, सदा सुखी सोच बढाउनु पर्छ । सदाचारले मानिसको स्वभावमा स्नेह पैदा गर्छ । स्नेहले मानव जीवनबीचको सम्बन्धमा न्यानोपन ल्याउँछ, आपसी विश्वास र भरोषा बढाउँछ । मानिसले निःस्वार्थ सोच र चिन्तनका साथ आफूलाई गतिशील बनाउन मद्दत पुगेको हुन्छ । जसको कारण विश्वासको जग गहिरो बन्न पुग्छ । विश्वासले द्वन्द्व कम गर्दछ र जीवनलाई सरलीकृत ढङ्गले एकअर्काको सहारा बढाई प्रेम र सद्भाव बाँड्दै जीवनलाई गतिशील बनाउँछ ।
तसर्थ, हतास र क्रुर मनस्थिति बढाई आफू पनि विचल्लित र आफ्नो परिवेशलाई समेत विचलन गराउनु भन्दा आफ्नो स्वभावमा सरलता र आचरण र व्यवहारमा पवित्रता झल्कने कार्य गर्नु गराउनु पर्छ । मानसिक उथलपुथल हुन नदिई स्वतन्त्रतापूर्वक आफ्ना विचार र भावनालाई सरलीकृत गर्दै प्रत्येक कर्म र व्यवहारलाई परिस्कृत गर्ने उत्तम विकल्प सरलता हो भन्ने मानी सरलतालाई जीवनको मार्ग निर्देशनको रुपमा ग्रहण गर्नु पर्छ । तत्पश्चात मात्र आफूलाई सफलता उन्मुख बनाउन सम्भव हुन्छ । समयले यही भनिरहेको छ । सबैलाई चेतना भया ।