कोरोना महामारी : चुनाव कि स्वास्थ्य ?

रेखा ‘कुसुम’ रेग्मी

गएको महिना अमेरिकाको राजधानी वासिंटनडिसीस्थित क्यापिटल हिल भवनमा हिंसात्कमक प्रदर्शन भएको समाचार सुनेर कतिपय मेरा नेपाली साथीहरुले चिन्ता व्यक्त गर्दै सुरक्षित रहन फोन म्यासेस गरिरहनुभएको थियो । कतिपयले अमेरिकामा पनि यस्तो घटना भयो त ? भनेर आश्चर्य समेत व्यक्त गरिरहनुभएको थियो ।

चार जनाको मृत्यु, भबन तोडफोड, हूलदंगासहित संसद भवन प्रवेश, कफ्र्यूलगायत यी सबै घटनाले उक्त प्रदर्शनलाई हिंसात्मक नै देखाएको थियो, यसमा दुईमत छैन् । उक्त घटना अमेरिकी राजनीतिमा पहिलो भएको भन्दै कालो दिनको संज्ञा पनि दिईएको थियो । यसलाई एकथरीले व्यक्तिको (प्रर्दशनकारी) अधिकारका रुपमा हेर्लान् । तर यो घटनाले शक्तिप्रतिको आशक्तिलाई प्रष्टरुपमा देखाएको छ ।

जनताको मतको सम्मान गर्न नचाहने अर्थात चुनावको नतिजालाई स्विकार गर्न नसक्ने अहमतालाई खुलेर प्रस्तुत गरेको छ । आर्थिक हिसाबले ठूलो मानिएको अमेरिकाममा यस्तो घटना हुदाँ विश्वको आखा लाग्नु स्वाभाविकै हो । यसलाई आश्चर्य र अशोभनिय घटनाका रुपमा लिनु असान्र्दभिक पनि होइन् । भलै, त्यो दिन जुन उदेश्यले अमेरिकी कांग्रेसले बैठक आयोजना गरेको थियो, त्यो सकेको थियो । अर्थात कांग्रेसले डमोक्रेटका उम्मेदवार जो बाइडेन राष्टपतिमा निर्वाचित भएको पुष्टि गर्ने कार्यक्रम थियो ।

आफ्नै देशको कुरा गरांै, विश्वको नक्सासँगै गाँसिएको हाम्रो सानो देश नेपाल र हामी नेपालीका लागि त यो घटनाले एक छेउ पनि नछुनु पर्ने हो । नेपाली नागरिकले यस्ता घटना नदेखेको र नभोकेको सायदै कालखण्ड होलान् । कहिले पो नेपाली जनता राजनीतिकर्मी, राज्य र सरकारको प्रमुख मुद्दा बने र ? हरेक चुनावताका राजनीतिकर्मीका चुनावी घोषणापत्रमा जनताका नामका नारा राम्रा अक्षरले छापिन्छन्, चुनावको नतिजासँगै च्यातिन्छन् ।

जनतालाई खाली भोटव्याकंका रुपमा मात्र प्रयोग गरिँदै आइएको छ । माओवादी जनआन्दोलनभन्दा अघिका राजनीतिक कालखण्डको भुक्तभोगी होइन्, इतिहास पढेकै भरमा त्यतातिर नजाऔं अहिले । जनआन्दोलन ताका जन्मिएका नानीहरु अहिले युवा भइरहेका तर यो राजनीति स्थिरता कहिले वयस्क भएन्, स्थिर भएन् । दश÷दशवर्षे युद्ध के का लागि थियो ? आखिर सत्ताका लागि हैन् ?तत्कालिन सात दलको १९ दिने लामो आन्दोलन केका लागि थियो ? आखिर सत्ताका लागि होइन ?

दई÷दुई पटक संविधानसभाको निर्वाचन किन ? सत्ता जोगाउन हैन ? कस्ले विश्वास गर्छ ती नेपाली जनताको अभिकार स्थापित गर्नका खातिर थिए भनेर ? कस्ले भन्छ यी सबै सर्वसाधारणका नाममा थिए भनेर ? आखिर ‘जनता’को नाम कहाँ र कहिले छु्टयो यी सबै राजनीतिक उथलपुथलमा ? नाम जनताको भए पनि कम नेताको भयो । खैर्, अहिले त्यही सत्ता जोगाउने वा प्राप्ति गर्ने अर्काे अध्याय चलिरहको हाम्रो नेपालमा ।

नत्र त्यत्रो तीन करोड नेपालीको मतले बनेको संविधानसभा शक्तिका लागि शक्तिकै भरमा विघटन गर्न मिल्छ ? संविधानसभाको निर्माणका लागि मत चाहिने तर भत्काउदा चाहि जनता नचाहिने? यसरी जनताको मतबाट बनेको सभा दलकै स्वार्थका लागि विघटन गरिनु भनेको जनताको भावना विपरित हो । सर्वसाधारण भएर सोच्ने हो यहाँ उनीहरुका समस्या बीसमा उन्नाइस भएका छैनन् ।

यो कोरोना महामारीले गर्दा विश्वकै अर्थतन्त्र तहसनहस भईरहेका बेला हाम्रो जस्तो विकासोन्मुख देशको अवस्था के भएको होला ? त्यो देशमा बस्ने नागरिकको अवस्था के भइरहेको होला भनेर हामी सिधैं अनुमान लगाउन सक्छौं । उनीहरुका समस्या सडकका सडकमै छन् । बिहान बेलुका चुल्हो नबलेका समस्या त्यत्तिकै छन् ।

औषधोपचार सहज नपाएका समस्या थपिएका छन् । विद्यार्थीले यो शैक्षिक वर्षमा पढ्न नपाएका वा पाए पनि भोगेका समस्या डरलाग्दा छन् । अलपत्र परेका विदेशिएका नेपालीका समस्या त झन भयानक बन्दै गएका छन् ।

यतिबेला सरकारको प्रमुख मुद्दा भनेको कोरानाविरुद्धको औषधि कसरी नेपालमा भिœयाउने भन्नेमा हुनुपर्ने हो । यसमा जनताको पहुँच कसरी पु्याउने भन्नेमा हुनुपर्छ । यो महामारीको बेला कसरी स्वास्थ्य संरचना र जनशक्तिमा नेपाली जनताको सहज पहुँच प्रयाउने भन्ने हुनुपथ्र्यो । महामारीले गर्दा रोजगारी गुमाएर चुल्हो बाल्न नसकेका पीडितहरुलाई कसरी राहात उपलब्ध गरान सकिन्छ भन्नेतर्फ हुनुपथ्र्याे ।

महामारीकै कारणले एक वर्ष पढाइ पछि पारेका विद्यार्थीहरुलाइ घरमै कसरी शिक्षा पुरयाउने वा शैक्षिक संस्थानमा कसरी सुरक्षित वातावरण मिलाउने भन्नेतर्फ हुनुपथ्र्याे । तर भैदियो अर्काे काम जनु अहिले प्रमुख आवश्यकताभित्र नै पर्दैन । चुनावमा लाग्ने खर्च सर्वसाधारण जनताका आवश्यकतामा खर्च गर्ने योजना बनाएको भए थुप्रैको ज्यान जोगिन सक्थ्यो यो समयमा ।

त्यही रकम देशमा रोजगारी सिर्जनाका लागि लगानी गर्न सक्ने लक्ष्य लिएको भए थुप्रैले स्वदेशमै स्वजगारी पाउन सक्ने वातावरण बन्नसक्थ्यो । कुर्सिका लागि वा व्यक्तिगत स्वार्थका लागि निर्वाचन रोज्नु जनताको आवश्यकता र चाहना विपरित हो भनेर सानो बुद्धिले पनि छुट्याउन सकिन्छ । देशलाई हाक्ने अधिकार पाएका व्यक्तिहरुबाटै रोजिने यस्ता जनविपरित बाटोहरुले व्यक्ति, समाज र सिंगो मुलुकको हित गर्न सक्ने हिम्मत राख्दैन् ।

अबको बाटो के त ? यस्तो परिस्थितिमा जनताले रोज्ने के त ? हुन त चनावको मिति नै तय गरिसकेपछि त्यहाँ छान्न मिल्ले अवस्था त रहेन् । तर जनताले चाहे भने राजनीतिकर्मीलाई सडक र सदनमा ल्याउन सक्ने हिम्मत राख्छन् जुन इतिहासका घटनाले पनि देखाइसकेका छन् । हरेक प्रजातान्त्रिक मुलुकमा जनता केन्द्रमा राखिन्छन् र उनीहरुकै चाहनामा राज्य संचालन गरिनुपर्छ ।

तर बिडम्वना, नेपालमा जनताले सत्ता हैन् राजनीतिकर्मीले जनता चलाइरहेका छन् । हो यतिबेला अर्थात चुनावका बेला जनताले राजनीतिकर्मीलाई उनीहरुको हैसियत चिरफार गर्ने ठूलो मौंका हो । जनताका आवश्यकतालाई प्रमुख रुपमा लिने र कार्यान्वयनका लागि तत्परता देखाउने राजनीतिकर्मीहरु जनताको आवश्यकतामा पारिनुपर्छ नकि हाम्रो पार्टी वा ‘आफ्नो’ आफन्तलाई भोट दिईयोस् । उनीहरुका राजनीतिक एजेण्डालाई जनताले राम्ररी जान्न जरुरी छ ।

यो बेला जनताले आफ्नो बुद्धिको प्रयोग गर्ने जान्ने हो, यत्ति सानो काम गर्न सकियो भने पछि पछुताउनु पर्ने छैन् । हुन त चुनावमा जनतालाई गुलियो चास्नीमा जेरी हालेसरी डुबाउने तरिका राजनीतिककर्मीले बुनिसकेका हुन्छन् । पेटभरी खान नपूग्ने व्यक्तिका लागि साँझ बिहानको गाँस नै ठूलो बन्न सक्ला, रोजगारी नपाएका युवामध्ये केहीका लागि अस्थायी काम भएपनि ठूलो हुन सक्ला, हातमा पैसा नहुनेका लागि दुई÷चार हजार पनि लाख बन्न सक्ला तर यी सबै दीर्घकालीन र सबै जनतालाई समेत सक्ने योजनाहरु होइनन् ।

यस्ता खाले गलत चुनावी प्रवृत्तिप्रति सचेत नागरिक चनाखो हुनैपर्छ । त्यसैले जनताले चुनावमा आउने नेताहरुका राजनीतिक एजेण्डाहरुलाई राम्रोसँग केलाएर प्रश्न गर्नसक्ने हिम्मत गर्ने हो भने र देशका प्रखुम आवश्यकतामा केन्द्रित रहन दबाब दिने हो भने चुनावको नतिजा जनता र उनीहरुको हितको पक्षमा आउन सक्छ । अर्काे, राजनीतिमा युवापुस्तालाई प्रोत्साहन दिन जरुरी भइसकेको छ । उनीहरुमा बदलिदो समयसँगसँगैका नयाँ विचार र सोचहरु छन्, जसले फेरिएको समयानुसार राजनीतिलाई सकारात्मक विचारसहित परिवतर्न गर्न सक्छन् ।

अन्तिममा, चुनाव भन्दा जनताको स्वास्थ्य प्रमुख मुद्दा हो भन्ने जान्दाजान्दै पनि यतिबेला चुनावमा आउने राजनीतिकर्मीहरुका चुनावी मुद्दाहरुमा जनता सचेत रहनुपर्छ । राम्रो गरेका राजनीतिकर्मीहरुलाई भोट र गर्न नसक्नेलाई अवकास दिनसक्ने क्षमता जनताले राख्न सक्नुपर्छ अब किनकी लोकतान्त्रिक वा गणतान्त्रिक मुलुकमा जनता भन्दामाथि अर्काे कुनै शक्ति हुनु हुँदैन् ।

त्यसैले, चुनाव रोजेका राजनीतिकर्मीहरुलाई त्यो भन्दा ठूलो स्वास्थ्य र त्यसमा पनि कोरोना विरुद्धको खोप हो भनेर बोध गराउनसक्नु जनताको चुनौती हो यतिबेलाको ।