परम्परामा वैज्ञानिकताको खोजी गरौ

गुरुप्रसाद शर्मा रेग्मी

थारु जातिमा मृत्युपछि गारिने प्रथा र पद्धति जो गरिन्छ त्यसमा वैज्ञानिकता पनि छ । विश्वसनीयता पनि छ । यो कुरा अरु कुनै जातिमा देखिँदैन । थारु जातिमा जब बाबाु या आमा या अरु कुनैको देहावसान हुन्छ त्यसबेला जति छोरा भए पनि यदि छुट्टिभिन्न भएका छैनन् र देवता अलग्याएका छैनन् भने एउटा मात्र किरिया बस्छन्, अरु किरिया बस्दैनन् ।

बाहुन जातिमा पनि कि जेठो कि कान्छो वाहेक अरुलाई किरियाको अधिकार दिएको छैन । अब त बाहुन जातिमा पनि ५÷६ भाइ छोराछोरी छन् भने पनि पैसा दिएर एउटा बाहुनलाई किरियामा बसालेर आफूहरु बाहिरै बस्ने गरेको पनि देखिन्छ । यसैगरी थारु जातिमा बुहारीहरुको जन्मदाता सासु, ससुरा नहुने भएकाले बुहारीहरु किरिया नबस्ने गरेका हुन्छन् । यही ठोस वैज्ञानिकताले गर्दा कुमाउ बाहुनहरुका बुहारीहरु किरिा बसेको देखिँदैन ।

तागाधारीका बुहारीहरु वोहक अरु कुनै पनि जातिका बुहारी किरिया बस्ने गर्दैनन् । मानो मिसाउने जुन अन्त्येष्टिमा कार्य गरिन्छ त्यसमा थारु जातिले अरु जातिहरुको जस्तो ३, ५, ७, ९ दिनमा मानो मिसाउन ल्याएको देखिँदैन । शुद्धशान्तिका दिन वंशज, इष्टमित्र सबै निमन्त्रणा नगरे पनि आउँदछन्, मानो मिसाउँछन्, खान्छन् र जान्छन् । ठूला जातिले काट्टो खान को जान्छ भनेर जाँदैनन् ।

३, ५, ७, ९ दिनमा मानो मिसाउन भने आउँछन्, धनकुटातिर घाट गएका मानिसहरुलाई खुवाउनु पर्छ भनेर बीच बाटोमा खानपानको लागि राम्रो व्यवस्था गरेको देखिन्छ । थारु जातिले पनि घाट गएका सबैलाई घर आउँदा साथ खाने, पिउने व्यवस्था गरेको पाइन्छ । तागाधारी यी सबै कुराबाट पछाडि परेको देखिन्छ । त्यसैले हाम्रा परम्परामा वैज्ञानिकताको खोजी गरौँ ।

किरिया कति दिन बस्ने, कसरी बस्ने ? भन्ने कुरामा विवाद भए पनि थारु जातिमा यो विवाद देखिँदैन । समय परिस्थिति, वातावरणको आधारमा ३, ५, ७, ९ दिन पछि शुद्धशान्ति गरेको देखिन्छ । थरु जातिमा गच्छेअनुरारको राशन पनि मृतकलाई पठाईदिने काम पनि गरेको देखिँदैन । यहाँबाट पठाइदिएको सामान पाउँछ पाउँदैन आजसम्म कसैले जानकारी छैन ।

तैपनि पठाउने काम भइरहेको छ । तागाधारीहरुले जुठा परेको बेला नून् नखाने गर्दछन् तर थारु जाति कुमाउजातिले बेसार छोड्ने, नून खाने गरेको देखिन्छ । यसमा पनि वैज्ञानिकता छ । वर्तमान समयमा अधिकांश मानिसको प्रेसर हाई हुने या लो हुने गरेको हुन्छ भने अधिकांश मानिस मधुमेह रोगले ग्रस्त भएको देखिन्छ । यस्तो अवस्थामा किरिया बसेकै मानिसलाई पनि नून खा भन्नुपर्ने अवस्था हुन्छ ।

तर बेसार त कुनै रोगको लागि पनि छाड्नु पर्दैन जस्तो लाग्छ । यसरी थारु जातिले किरिया बसेको बेला किरियापुत्रीले अझैसम्म आफ्नो परम्परा, मर्यादा छाडेका हुँदैन । किरिाय बसेको बेला घरको परिवारमा कसैले पनि लुगा धुनु हुँदैन भन्ने मान्यता यथावत छ । तर तागाधारीहरु किरिया बसेका जस्ता नभएर लिल्याक्स गर्न गएका जस्ता देखिन्छन् ।

विगतका तागाधारी किरियापुत्रीहरुले खुदो, अदूवा, घ्यू र भात वाहेक अरु केही खाँदैनथिए । एक छाक भात मात्र खाने गर्दथे । तर यतिबेला फलफूल, जस, मोवाइल, चीनी, आलु, केरा, भुटेको सबै खाने इजाजत भएकाले किरियाको काम सकेर बाहिर निस्कँदा मोटाएका हुन्छन् । यस्तो अवस्थालाई शोकमा बसेको भन्ने कि मोजमा बसेको भन्ने भन्न नसकिने अवस्था छ ।

थारु जातिले पनि आफ्नो पितृहरुप्रति श्रद्धा राख्दछन् । श्राद्ध गर्दछन् । तर तागाधारीहरुको जस्तो औपचारिक या देखाउने न श्रद्धा गर्छन् न श्राद्ध नै गर्दछन् । जीवित रहँदासम्म उपेक्षा र अपहेलाना गर्ने गरेपछि तामझामका साथ श्राद्ध गर्ने यो कस्तो श्रद्धा हो ? वास्तवमा बुबाआमाको उपेक्षा र अपहेलना विपन्नले गर्दैनन्, सम्पन्नले नै गर्दछन् । बृद्धाश्रममा हेर्न जाने हो भने जमात सम्पन्नका आमाबुबा नै रहेका हुन्छ ।

विपन्न त बेसहारापरिवारविहीन नै रहेका हुन्छन् । वास्तवमा धर्मलाई नै व्यवसाय बनाएर हिड्ने हाम्रो परम्परा भएकाले पापबाट बच्न र पुण्य कमाउन जसले जे भन्छ त्यही मान्ने र गर्ने प्रवृत्ति र प्रकृति भएकाले हामीलाई पछाडि पारेको छ । अघि बढ्न खोज्दा गोडामा छिट्की हान्ने गरेको छ । सत्य तथ्य के हो ? यसमा कति वैज्ञानिकता छ ? भनेर खोजीनीति गर्ने नगरेर लकिरका फकिर भनेर जसले जे भन्छ त्यो ठीक भनेर मन्टो हल्लाउने र पछि लाग्ने हाम्रो प्रवृत्तिले गर्दा धर्म, शिक्षा, राजनीति सबै आज हराएका मान्छे जस्ता भएका छन् ।

यसैले मानिसलाई दानवीय प्रवृत्तितर्फ अग्रसर गराइरहेको छ । यदि अग्रसरतालाई विकासको नाम दिए मानिसलाई विनाशको बाटोमा धकेल्ने काम मानिसबाटै भइरहेको छ । हाम्रा परमपरामा वैज्ञानिकताको खोजी गर्नु आजको आवशयकता हो । भावि सन्तानको लागि मार्गनिर्देश हो ।

समय परिवर्तनशील हुन्छ भन्ने कुरा मानिसले बिर्सनु हुँदैन । एउटा यस्तो समय थियो, जहाँ मन्त्रबल थियो । विकास निर्माण, स्वास्थ्य र सुरक्षा मन्त्रबलले नै गर्दथ्यो । त्यही मन्त्रबल, तन्त्रबलमा रुपान्तरिक भएर मन्त्र बलका सबै काम तन्त्रबलबाट हुन थाल्यो । यसभित्रका कमीकमजोरीका कारण यन्त्रबलको उदय भयो । यो यन्त्रबलले मन्त्रबल र तन्त्रबलको सामथ्र्यतालाई निस्तेज बनाइदियो ।

यन्त्रबलका कारण आचार, विचार व्यवहार र आहारमा ल्याइदिएको परिवर्तनले षड्यन्त्रबलको अभ्युदय भयो । यतिबेला परिवारदेखि राज्यसम्मका सबै क्षेत्रहरुमा षड्यन्त्रबलको एकक्षत्र राज्य हुन गएको छ । जसले गर्दा असत्य घरभित्र पस्न सकेको सत्यलाई बेवारिसे अवस्थामा हिड्न्ु परेको छ ।

यसैगरी हाम्रा क्रियाकलाप पूजा, अर्चना, कर्मकाण्डहरु पनि सत्य, त्रेता, द्वापरमा केही समानता भए पनि कलिमा आएर विशेष गरी शिक्षा, धर्म, राजनीतिलाई पूर्ण रुपमा व्यवसाय बनाएकाले षड्यन्त्र बलले प्रश्रय पाएको हो । यही षड्यन्त्र बलको अन्त्य गर्न प्रकृति नै उदार भएर कोरोना जस्ता महामारी आएको हो ।

यसले विकास, अर्थ र मानिसको सीमातीत संख्या नष्ट गरेर फेरि नयाँ बलको सुरुवात हुने छ भन्ने कुरामा कसैले कुनै शंका नगरे हुन्छ । विश्वयुद्ध नभएकाले माल्थसले भनेझैँ प्रकृतिलाई नै अगाडि आउन मानिसले वाध्य बनाएको हो ।