खोजी वैकल्पिक शक्तिको

भूवन पोख्रेल

जनताको विश्वास, कार्यकर्ताको मनोबल र पार्टीको साख कायम गर्न नेपाली कांग्रेस विभाजित मानसिकता नबनाई संस्थागत निर्णयमा एकढिक्का भई अगाडि बढ्नु पर्ने परिस्थिति सिर्जना भएको छ । अहिले संविधानसभाले बनाएको संविधान दुर्घटित भएको छ । जनताका सपना र आकांक्षामाथि कुठाराघात प्रहार भएको छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमबाट निर्दोष सांसद शिकार बन्न पुगेका छन् । आज सत्ताबाट विश्वासघात भएको छ, स्थिरता, समृद्धिको नारा नारामा मात्र सीमित बन्न पुगेको छ । दुईतिहाइको वहुमत प्राप्त संसद भए पनि पुरानै विकृति र अस्थिरताको राजनैतिक दाउँपेच पुनरावृत भएको छ ।

राजनीति सत्ता, शक्ति, पद, सुविधा आफ्नै मात्र मुठीमा अठ्याइराख्ने कुटिल चाल बन्नु हुँदैन । राजनीति नेताहरुको मुठीमा सीमित बन्न पुग्यो भने यो राजनीति नै होइन, छलकपट हो । राजनीति आफैमा खराब कुरा होइन । एउटा व्यापक र सार्वजनिक हितको विषय हो । सर्वाधिक नागरिक सरोकारको विषय हो । यसलाई घोडादौड जस्तो खेलवाडको विषय बनाउनु अत्यन्त गलत स्वार्थी एवं संकुचित बुझाई हो । लोकतन्त्र भनेकै राजनीतिलाई आम नागरिक सरोकारका विषयमा रुपान्तरण गर्नु हो ।

सत्ताको फोहोरी खेल राजनीति होइन । फोहरको ढंगुर र नालाबाट राजनीतिलाई बाहिर निकाल्ने नेतृत्व चाहिएको छ । यसमा सबै आम नागरिकको साथ अपरिहार्य छ । एकपटक चुनावमा भोट हाल्दैमा नागरिक दायित्व सकिँदैन । नागरिकले आफूलाई सम्मानित र सहभागी महशुस गर्न सक्ने स्वस्थ राजनीतिक अभ्यासको खाचो छ ।

अहिले दुईतिहाइको बहुमत प्राप्त नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरी जनविश्वास गुमाएका छन्, दलप्रतिको । राजनीतिक प्रणाली, संविधानमाथि खड्ग प्रहार गरेका छन्, खड्गप्रसाद ओलीले । आफ्नो पार्टीभित्रको समस्याको गाँठो फुकेन भने प्रधानमन्त्रीले आफ्नो पार्टीको संसदीय दलमा लैजान सक्छन् । त्यहाँबाट पनि समस्या सुल्झेन भने संसदमा जान सक्छन् । आफ्नो नेतृत्वमा प्रश्न वा चुनौती उठ्दा प्रधानमन्त्रीलाई राजनैतिक विकल्प यिनै हुन् तर पार्टी र संसदलाई सोझै जनतामा जाने सुविधा प्रधानमन्त्रीलाई छैन ।

विगतमा भएका त्यसता तीता अभ्यासबाट पाठ सिकेर संविधान निर्माताले त्यो ढोका थुनेका छन् । प्रधानमन्त्री जनताले चुनोको होइन, संसदीय दलले हो । त्यसर्थ प्रधानमन्त्री संसदीय दलतर्फ उत्तरदायी बन्नु पथ्र्यो, यदि उनी नेकपाप्रति इमानदार भइदिएको भए । संसदीय दलमा बहुमत सदस्यको समर्थन पाउन नसके उनले सहजता साथ राजिनामा दिनुपथ्र्यो र नेकपाले अर्को कसैलाई संसदीय दलको नेता चयन गर्न सक्थ्यो ।

प्रधानमन्त्रीले पाटीृको संसदीय दललाई उछिनेर सोझै संसदको अधिवेशन राखेर त्यहाँ विश्वासको मत मागेका भए नेकपा कानुन त फुटेको थिएन । नेकपाका संसदले प्रधानमन्त्रीका विरुद्ध मतदान गर्न सक्ने अवस्था थिएन, वहुमत नेकपाकै थियो । विश्वासको मत नदिने संसदको सदस्यता नै खारेज हुन सक्थ्यो ।

सम्पूर्ण राष्ट्रको ध्यान यतिखेर सर्वोच्च अदालत वा निर्वाचनतिर छ । अहिले नेपालको राजनीतिक बहस संसद्मा होइन सर्वोच्च अदालतमा हुन्छ । किनभने संसद भङ्ग भइसकेको छ । संसद सडकमा छन्, सदनमा होइन । राजनीतिक विषय अब नेतामा होयन न्यायाधीशसम्म अर्थात् अदालतको कठघरामा पुगिसकेको छ । नेपाल यतिबेला राजनीतिक संकटको भूमरीमा फसेको छ र लोकतन्त्रको भविष्य संकटमा छ । नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेकै कारण वर्तमान संकट भेल्नुपरेको हो ।

त्यस्तै सहअस्तित्वको सिद्धान्तलाई अस्वीकार गर्ने प्रवृत्ति म नै राज्य हुँ भन्ने दम्भले आफ्नै दल र अन्य राजनीतिक दलमाथि प्रहार गरिरहेको छ । आफ्नो स्वार्थ सिद्ध नभए समग्र संरचना नै ध्वस्त गरिदिन्छु भन्ने व्यवहारले अरुको कुरा सुन्ने र विधि, पद्धतिको संस्कारलाई निषेध गरेको छ । त्यस्तै सन्तुलित परराष्ट्र सम्बन्धको समस्या आउनु वा असंलग्न परराष्ट्रनीति लागू गर्न नसकेर मुलुकले दुःख पाइरहेको छ ।

सत्ता स्वार्थ र सत्ता लिप्साको समस्या तथा जनताको भावनासँग नजोडिएर व्यक्तिगत स्वार्थमा रुमलिनु पनि वर्तमान संकट निम्त्याउने कारक हुन् । त्याग, बलिदान र योगदानको कदर नभई स्वार्थ समूहेको हतिमा काम गर्ने तथा नीतिगत भ्रष्टाचार र नेतृत्वको सम्पत्ति मोहले पनि नागरिकमा वितृष्णा छाएको छ ।

नेता र नेताहरुको अवस्थाले जितिरहने तर जनता र देशले हारिरहने राजनीतिक प्रणालीबाट मुक्त पार्न नेपाल विगतका तीता नमीठा अनुभवबाट आजित भएर जनताले दुइतिहाई बहुमतको स्थिर सरकार बन्ने आशाले नेकपालाई बहुमत दिएका थिए तर जनअभिमतलाई तिरस्कार गर्दै वर्तमान सरकारले लिएको निर्णइले मुलुकलाई थप जटिल मोडमा यतिखेर धकेलिदिएको छ । नेपाल पुनः अस्थिर राजनीतिको प्रयोगशाला बन्दै सबै खाले लोकतान्त्रिक उपलब्धिहरु फेरि धरापमा परेका छन् ।

कम्युनिष्ट भनिएको पाटीृका नेताहरुको जीवन पद्धति, आचरण, आर्थिक हैसियत, निजी सम्पत्ति र रवाफ हे¥यौँ भने त्यो कुनै कोणबाट धनाढ्य व्यापारीको या अूत भ्रष्टाचार गरेर डामिएको उच्च पदस्थ कर्मचारीकोभन्दा भिन्न देखिन्न । जनता र देशलाई बनाउने वाचा लिएर चुनाव जितेकाहरु स्वार्थ समूहको चक्रव्यूहमा फसेपछि मुलुकले राजनीतिक शंका त झेल्नै प¥यो । संविधानको मर्मलाई धुजाधुजा बनाएर कलिलो गणतन्त्रमाथि वितृष्णा फैलाउने काम नेतृत्ववर्गमा देखिएको छ ।

नेपाली जनताले गुराँस ठानेर रापेको विरुवा अर्कै भइदिएपछि अहिले आफै दुःख झेल्नु परेको छ । अहिले नेतृत्ववर्ग चुनाव र अदालततर्फ केन्द्रित छ तर नागरिकका समस्यातर्फ मौन छ । विश्वव्यापी महामारीपछि छिमेकी भारत समेत नागरिकलाई कोरोना प्रतिरोधी भ्याक्सिनको जोहो गर्न सारा सामथ्र्य लगाइरहेको छ तर यहाँ भागबण्डा र लुछाचुडीको दलदलतर्फ मुलुक धकेलिएको छ ।

चाहे संसद विघटन होस्, चाहे पुनःस्थापना त्योभन्दा बढी नागरिकको जीवनरक्षा प्रमुख सवाल हो, नेताहरुको मारमुग्री उनीहरु बीचकै स्वार्थको टकराव हो । चाहे ओली हुन्, देउवा हुन्, दाहाल नै किन नहून कसैले पनि वर्तमान संकटबाट नेपाली समाजलाई निकाल्न कुनै कार्यक्रम पेश गर्न सकेका छैनन् । यसरी दिशाहीनताको निरीह बन्दी बनेका दलहरुले कसरी नेपाली समाजलाई अग्रगतिमा लान्छन् र नागरिकलाई वर्तमान संकटको दलदलबाट निकाल्दछन् ?गरिखानेवर्गलाई संसद विघटन वा पुनःस्थापन कहीँ पनि सरोकार देखिँदैन । त्यसर्थ, गरिखानेवर्गले आफै संघर्षको बाटो रोज्नु पर्छ ।

दोस्रो जनआन्दोलन पश्चात हुने राज्य पुनर्संरचनासँगै अलोकतान्त्रिक राजनीतिक चरित्रको पुनरावृत हुँदैन भन्ने आम अपेक्षा थियो । तरराजनीतिमा पात्र फेरिए पनि प्रवृत्ति फेरिएन । जनता शान्ति, समृद्धि र विकासका सपना अधुरै रहे । अहिले नेपालको मूलधारको राजनीति विकृति र विसंगतिको भूमरीमा फसेको छ । आम नागरिकले थोरै आशा बिसाउँला भनी सम्झेको त्यही एउटा संसद समेतको असामयिक अवसान गराइएको छ ।

अब सरकार भन्नु अब स्वार्थ समूहको झुण्ड बनेको छ । आम नागरिकको हित गर्ने हरेक सवालमा ऊ सधैँ कामचलाउ सरकार सावित हुँदै आएको छ । महामारीले उथलपुथल बनाएका आधारभूत तहका नागरिकको दूरावस्थातर्फ निरीह बनेको छ । संसद विघटन गरेपछि मात्रै होयन, सत्तामा पुगेदेखि नै यो सरकार न किसानसँग, नमजदुरसँग, न गाउँका गरिबसँग, न सहरका निमुखा सुकुम्बासीसँग, न दलितसँग, न महिलासँग, न भोको पेट र नाङ्गो शरीरसँग सरकारको साथ र आवाज सुनिँदैन । यो सरकारले कसैको पनि आँसु पुछ्न सकेको छैन, जनहितका पक्षमा उभिन सकेन ।

अबको जनताको विकल्प भनेको नेपाली कांग्रेस बन्न स्क्छ । अहिले आम नागरिकको आशा र भरोषाको केन्द्र बन्न सक्नुपर्छ, नेपाली कांग्रेस । गाउँका गरिब किसान, मजदुरको पक्षमा वर्तमान सरकारले लात हानेको छ । उनीहरुको आँखाको आँसु पुछ्नसक्ने पार्टी बन्न सक्नुपर्छ । कांग्रेस पुरानै शेल्मिा होइन आफूलाई सुधारेर जनविश्वास प्राप्त गर्नुपर्छ । अहिले नेकपाले जनादेशलाई जसरी कुल्चेको छ त्यसबाट आम नागरिक नेकपाप्रति कष्ट बन्न पुगेका छन् ।

वर्तमानको विषम र जटिल परिस्थितिमा कांग्रेसले आफ्नो भूमिका सशक्त बनाई जनतामाझ गएर जनविश्वास प्राप्त गर्ने अवसर प्राप्त हुँदैछ । अबको विषम परिस्थितिमा जनतालाई टुट्न नदिई जनताको आस्थाको मत प्राप्त गर्ने वातावरण बनाउनु पर्छ । प्राप्त जनअभिमतको सम्मान गर्ने संस्कार पनि कांग्रेसले बसल्नु पर्छ ।

इतिहासका जटिल राजनीतिक मोडमा नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेको सर्वविदितै छ । यसपालिका राजनैतिक चक्रव्यूहबाट मुलुकलाई निकाल्ने एक मात्र वैकल्पिक शक्ति नेपाली कांग्रेस बन्ने प्रयास गर्नुपर्छ । मुलुकलाई संकटको भूमरीबाट बचाउन वैकल्पिक शक्तिको खोजी नागरिकले गरेका छन् ।