आईएमई लिमिटेडद्धारा सहयोग रकम हस्तान्तरण

दाङ,६ माघ । रोजगारीको सिलसिलमा विदेशमा मृत्यु भएका पाँच जना व्यक्तिहरुको परिवारलाई आईएमई लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । आईएमई लिमिटेडले सञ्चालन गरेको आईएमई भरोसा कोषमा आवद्ध भएका मृतकका परिवारहरुलाई मंगलवार एक कार्यक्रमको आयोजना गरि सहयोग रकमको चेक प्रदान गरेको हो ।

आईएमई लुम्बिनी प्रदेश कार्यालय घोराहीले एक कार्यक्रमको आयोजना गरी कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका श्रमीकको घरपरिवारलाई जनही नगद ५० हजारका दरले २ लाख ५० हजार रुपैया प्रदान गरेको हो । त्यस अवसरमा आईएमई भरोसा कोष कार्यक्रमका बारेमा आईएमई लिमिटेडका राप्ती अञ्चल कार्यालय प्रमुख सुवास सुवेदीले जानकारी गराएका थिए ।

आईएमई भरोसा कोष अन्तर्गत प्राप्त गरेको सहयोग रकमको चेक बुझ्दै कृष्णा पाण्डेले बिदेशमा आफन्त गुमाउनुको पीडामा मलम लगाउने काम गरेको बताएकी थिइन । उनले कमाउन गएको श्रीमानको मृत्युले घर परिवारमा समस्यामा भैरहेका बेला आईएमईले गरेको सहयोग आफुहरुका लागि ठूलो राहत भएको बताएकी थिइन । साथै उनले दुखमा मलम लगाउन सहयोग गर्ने आईएमई भरोसा कोषलाई धन्यावाद दिएकी थिइन ।

आईएमई भरोसा कोषको रकम रिता नेपाली, कृष्णा पाण्डे, मतिकला घर्ति, उजिला कुमारी सुनार र सिता चौधरीलाई प्रदान गरिएको माधव केसीले जानकारी दिएका छन् । कार्यक्रममा आईएमई समुह अन्र्तगतको आईएमई जनरल इन्सोरेन्सबाट प्रमोदकुमार गौतम, आईएमई कोर्पिटिप सर्भिस लिमिटेडबाट माधव केसी, आईएमई मोटर्सबाट विपिन आचार्यलगायतको उपस्थिति रहेको थियो ।