calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

पाकेको धानमा फौजी किरा

लिलाधर वली
कार्तिक,५ दाङ । राप्ती गाउँपालिका–६ मझेरीयाका कृषक प्रेमबहादुर चौधरीले पाँच विगाह जमिनमा धान खेती गरेका छन । बिउँ धान उत्पादनकालागि भनेर उनले रामधन र राधा–४ जातको धान रोपेका छन् ।

धान राम्रै फलेको छ तर काट्ने बेला फौजी किराले धानको बाला काट्न थालेपछि उनी चिन्तित छन । ‘धान पाकेर काट्ने बेला हुदै थियो’,उनले भने,‘त्यही बेलामा धानमा फौजी किराले बाला टुक्राउन थालेको छ ।’ किसान
चौधरीका अनुसार उनको करिव दुई विगाह बढि खेतमा फैजी किरा देखिएको छ । जसले गर्दा खेतमा पाकेको धानको बाला काट्ने गरेका छन ।

केही दिन पहिलेसम्म खेतमा देखिने पहेलो धान अहिले बाला काटेर धानका ठुटा मात्र रहेको उनले बताए । ‘दिउँसो पहिलै देखिने धान,भोलीपल्ट विहान हेर्दा बालामा हुदैनन्’,उनले भने,‘अव घरमा भित्राउला भन्ने बेला समस्या देखिएको छ ।’ धानमा देखिएको समस्या कृषि ज्ञान केन्द्रसँगै क्षेत्रीय बिउँबिजन कार्यालय नेपालगंज खजुराबाट आएको टिमले समेत निरिक्षण गरेको बताए । ‘धानमा समस्या देखिएपछि घोराही र खजुरा बाँकेबाट हेर्न आउनुभएको थियो, धान पनि हेर्नुभयो’,उनले भने,‘उहाँहरुले धान हेर्नुभयो र औषधी प्रयोग गर्न सुझाव दिनुभो ।’ उनका अनुसार फौजी किराले नकाटेको धानसँगै काटेर खेतमा सुकाएको धानमा समेत क्षेती पु¥याउने गरेको छ ।

‘नकाटेको धान मात्र होइन खेतमा काटेर सुकाएको धान समेत टुक्राटुक्रा बनाईदिने गरेको छ’,उनले भने,‘जसले गर्दा बर्षाभरीको खर्च उठाउने बेला समस्या परेको छ ।’ धान पाकेर घरमा भित्राउने समयमा धानमा देखिएको
समस्याकाक कारण देउखुरीका किसानहरु समस्यामा परेको देउखुरीका हरितक्रान्ति कृषि सहकारी सस्थाका व्यवस्थापक दिपक चौधरीले बताए । किसानले घरमा धान भित्राउने बेला देखिएको समस्याले किसानलाई चिन्तित
बनाएको बताए । ‘अव घरमा धान भित्राउला भन्ने बेलामा किसानको खेतमा समस्या देखिएको छ’,व्यवस्थापक चौधरीले भने,‘ जसले गर्दा धेरै किसानहरु चिन्तित छन ।’ पाक्न थालेको धानमा समस्या देखिएपछि धेरै किसानहरु सहकारीको सम्पर्कमा आएर समस्या समाधानका लागि पहल गरिदिन समेत आग्रह गर्ने गरेका छन् ।

व्यवस्थापक चौधरीका अनुसार अहिले लमही नगरपालिका–२ रनियापुर, सोनपुर, केरुनिया र राप्ती गाउँपालिका–६ मझेरिया, थरगढवा,बग्राहपुर,सग्रहवापुुरलगायतका गाउँहरुमा रोपिएको धानमा फौजी किराको संक्रमण देखिएको उनले बताए । यता लमही नगरपालिका कृषि शाखाले भने किसानको खेतमा समस्या देखिएको भएपनि किसानले आफुलाई जानकारी नगराएको बताएको छ । लमही नगरपालिका कृषि शाखाका ज्योतिकुमार श्रेष्ठले किसानको खेतमा फौजी किराको संक्रमण देखिएको बताए ।

लमही नगरपालिका र राप्ती गाउँपालिकाको केही किसानले रोपेको धानमा फौजी किराको संक्रमण देखिएको बताए । ‘धानमा फौजी किराको संक्रमणदेखिएपछि किसानहरु चिन्तित हुनुहुन्छ’,उनले भने,‘त्यस्ता किसानहरुलाई
रोगबाट बच्नका लागि बिषादी प्रयोग गर्न सुझाव दिएका छौँ ।’ फौजी किरालाई रोक्नका लागि बिषादीको प्रयोग गर्ने वा खेतका गराहरुमा पानी राखेर किरा मार्न सकिने बताए ।

तर देउखुरीमा अहिले पानी नपर्ने र कुलाहरु समेत सुक्न थालेका कारण पानीको बिकल्प सकिएकाले विषादी प्रयोग गरेर किरा मार्न समेत आग्रह गर्ने गरेको बताए । तर किरा दिनभरी जमिनमा बस्ने र रातभरी धान काट्ने भएकाले पनि बिषादी प्रयोग गर्न समस्या रहेको उनले बताए । ‘फौजी किराबाट धान बचाउनका लागि निकै समस्या रहेको छ’,प्राविधिक श्रेष्ठले भने,‘फौजी किराबाट बच्नकालागि किसानलाई पाकेको धान काटेर खेतमा नराखी घरमा ल्याउन समेत आग्रह गरेका छौँ ।’