चारित्रिक परीक्षा

यम रेग्मी

गहना हराएको पिर ताजै थियो, मनमा । विवाहको एक महिनापछिको कुरा हो । रक्षा सदाझैँ विहानै उठी । कोठा सफा गरी । कोलिया सफा गरी । बाहिरको आँगन सफा गरी । चारैतिर पोछा लगाई । सरसफाईको काम सकेर बाथु्रम छिरी । केही बेरमै फ्रेस भएर बाथु्रमबाट निस्किई ।

बाहिर भुरभुरे उज्यालो भइसकेको थियो । नजिकको वस्तु स्पष्ट देखिन्थ्यो । कुवाँबाट एक बेला चोखो जल झिकी । हातमा जल छोपी । तुलसी मैरामा आई । मैरामा जल चढाउँदै थिई ।

एक्कासी करक्क निमोठियो पेट । ह्वाल ! ह्याल !! ह्याल !!! तीन पटक बान्ता गरी । भन्भनी परपरको परिवेश घुम्यो । पानीको भरि बेला भूइँमा प्यात्त खस्यो, हातबाट । ठ्याइँ ! आवाज आयो बेलाको । बेलासँगै ठूलो सिमलको रुख ढलेझैँ गल्र्याम्म ढली चिसो भूइँमा । अचेत भई । मरेको मान्छेझैँ । तुलसी मैराको छेउमा पल्टिई ।

बेलाको ठ्याइँ ! आवाज सासुको कानसम्म पुग्यो । ऊ विस्तरामा थिइन् । झ्याल घ¥याक्क पारिन् । अलिकति पल्ला तानिन् झ्यालको । लामो घाँटी तानिन् र बाहिर हेरिन् । मुर्दाझैँ पल्टिएको बुहारी देखिन् । सासू आत्तिइन् । हतारमा तल झरिन् । बुहारीको अवस्थाले झनै आत्तिने बनायो ।

ठूलो स्वरले विजयलाई कराइन् । छोरो आँखा मिच्दै उठ्यो र विस्तरैबाट बोल्यो, ‘ब्यान–ब्यानै क्या ¥याक गर्नुहुन्छ यार ममले पनि । किन घाँटी सुक्ने गरी कराउँनुहुन्छ ?’

– छिटो गाडी ठिक पार ।

– किन ? काँ के भयो र ?

– यहाँ बेहोस भई ढलेको छे तेरी स्वास्नी ?

– होइन होला । भर्खर त कोठामै थी । (आँखा मिच्दै)

– अझ पतान्न । चाडै गाडीको साचो ल्यार र आ ?

– लड्न दिनु न मम ? एकछिनमै ठिक भइहाल्छ नि । मरे पनि हाम्रो के नै जान्छ र ?

– धेरै कच–कच नगर । चाँडै आ । घरमै मरेको देखे भने वरपरका छिमेकले के भन्छन् ? डाक्टरलाई त देखा । मरे पनि उतै मर्छे । हाम्लाई त गाल पर्दैन ?

विजय जाँगर नलाई–नलाई आयो । कारको पछाडिको ढोका खोल्यो । छोराले टाउको समायो । आमाले गोडा समाई । झ्याइँकुटी पारेर गाडीमा बसाले । गाडी घोराही बजारतिर बढायो ।

केही समयमै राप्ती उपक्षेत्रीयमा पु¥यायो । अस्पतालले इमेरजेन्सीमा भर्ना ग¥यो ।
जब बिरामीको दयनीय अवस्था देखे, सबै नर्स र डाक्टर रक्षामाथि झुन्डिए । कोही ज्वरो नापे । कोही प्रेसर नापे । कोहीले सलानी चढाए । कोहीले शरीरबाट ब्लड झिके र चेक गर्न ल्याव पठाए । पन्ध्र मिनेटमै बिरामीबाट जाँच गर्नुपर्ने जति सबै जाँच भयो । मात्र रिपोर्ट आउन बाँकी रह्यो ।

आधा घण्टापछि भेन्ट्रिलेटरमा राखेको बिरामीलेझैँ पुलुक्क आँखा हेरी रक्षा । होस आयो । सलानीको बोत्तल फेर्दै नर्स मुसक्क हाँसी । बोली–‘तपाईं ठिक हुनुहुन्छ बैनी ?’
रक्षा सुस्तरी तलमाथि टाउको हल्लाई । मुसुक्क हाँसी । रिपोर्टको पर्चा हातमा लिँदै नर्स बोली–‘लौ बधाई छ बैनी तपाईंलाई, आमा बन्दै हुनुहुन्छ ।’ उसले पर्चा रक्षाको छातीमाथि राखी र नजिकैको बिरामीको ब्लड झिक्न थाली ।

रक्षा विस्तराबाट सुस्तरी वायाँ हात उठाई । छातीको पर्चामाथि राखी । दायाँ हात पनि सुस्तरी उठाई । हात पेटमाथि राखी । जीवनमा पहिलो पटक खुब माया लागेर आयो आफ्नो पेटमाथि ।

एक्कासी मनमा अलिकति लज्ला, कलिकति डर, अलिकति जिम्मेवार, अलिकति पूर्णता, अलिकति सुखद आनन्द । एकै पटक सबै पलाए र हर्षाश्रु पोखिए आँखाबाट ।
मन आगोमा घ्यू पग्लिएझैँ पग्लियो । मनले पतिलाई देखूँ–देखूँ लाग्यो । भेटूँ–भेटूँ लाग्यो । बल गरी–गरी कोल्टे फेरि र विजयलाई ढोकातिर हेरी । केही पर उभिएको उसलाई देखी । मन ढुक्क भयो । भित्रैबाट लाजको आंकुरा पलाएर आयो । धेरैबेर हेर्न सकिन । परेलाले आँखा बन्द गरी । लामो सुखको सास फेरी ।

केही बेरपछि आँखा खोली । विजयको हातमा एउटा पर्चा देखी । ऊ शिर निहुराएर फोन चलाइरहेको थियो । फोनको घण्टी बज्यो । झित्तामा अडेस लागेर उभियो । फोन उठायो ।

‘हेलो ! हेलो !! हेलो !!! क्या छौ यार तिमी ? कोसँग कुरा गर्दैछौ ? ब्यानैदेखि बिजी भन्छ त तिम्रो फोन ?’ आइमाईको आवाज आयो फोनमा ।

‘वर्वाद भए यार शिखा म त ।’ यताबाट विजय बोल्यो ।
– के भयो ? काँ छौ ? किन फोन लाग्दैन ?

– के भनौँ यार ? हस्पिटलमा छु ।
– छिटो भन के–को ल्याङ–ल्याङ गर्छौ ?

– भनूँ र ?

– भन न के भयो ? तिमीले मसँग के नै लुकाएका छौ र ?

– घरकी सुड्डी पे्रग्नेन्ट भई यार । डाक्टरले त्यही भन्छ । मबाट ठूलो मिस्टेक भयो । अहिले हस्पिटलमै छु । सरी शिलु । नरिसाऊ ल ?

– ए … त्यस्तो हो ? (एकछिन रोकिएर) डाक्टरलाई भनेर छिटोभन्दा छिटो एबोर्सन गराउ न । टन्टै साफ ।

– तिमीले भनेको जस्तो कहाँ पो सजिलो छ र ? एक घण्टादेखि डाक्टर पछि परेको परै छु । आमाको मञ्जुरीबिना म केही गर्न सक्दैन भन्छ यार ।

यस्तै सम्वाद चलि नै रह्यो । पति र केटीको माझ रक्षा योभन्दा बढी सम्वाद सुन्न सकिन । सकिनसकी भित्तातिर कोल्टो फकिई । अघिको खुशीको एक झोक्का । भूइँचालोभन्दा पनि छिटो बिलाएर गयो । फेरि पहिलेकै गतिमा आई । दुवै आँखाबाट

पीडाका दुई–दुई थोपा आँसु बगाई । आफूले आफैलाई प्रश्न गरी–‘के हामी नारीको भागमा आँसु नै आँसुको महासागर छ ? नारीको अर्को रूप आँसु हो ? या आँसु नारी हो ? किन सधैँ हाम्रो भाग्यमा खुशीको टुँसा पलाउन नपाउँदै मरिहाल्छ ?’

–०००–

साँझ डाक्टरले बिदा दियो । शरीरमा केही सहजता आए पनि मनमा भने तनावै–तनाव थियो ।

खै ! किन हो कुन्नि ? पेटमा बच्चा रहनु र परिवारबाट व्यवहारमा परिवर्तन आउनु सँगसँगै भयो । कहिले नपाउने अथाह माया लोग्नेबाट पाई । कोही बुहारीले नपाउने प्रगाढ माया सासुबाट पाई । पतिले माया गरेको देख्दा उसलाई अस्पतालमा सुनेको संवाद झुठोजस्तो लाग्यो ।

एकदिन सदाझैँ रक्षा बिहानै उठी । घरको सरसफाई गरी । सासूससुरा घरमा थिएनन् । बिहानको चिया बनाई । लोग्नेलाई चिया खुवाई । खानाको लागि तरकारी केलाउन लागि ।

विजय रक्षाको नजिक आयो र बोल्यो–‘रक्षा आज खाना पकाउन छोड । लुगा लगाऊ । पहिले अम्बिकेश्वरी मन्दिरमा जाने । होटलमै खाना खाने । ओके ’ रक्षा होटलमा खाना खाने कुरा मात्र भनेको भए इन्कार गर्थी होला । मन्दिर जाने कुरालाई इन्कार गर्न सकिने । हाँसोले जाने स्वीकृति दिई । केही समयमै तयार भएर आई ।

गाडी मन्दिरको गेटमा पुग्नु र विजयको फोन आउने सँगै भयो । उसले रक्षातिर हेर्दै बोल्यो– ‘तिमी पूजा गर्दै गर । साथीको फोन आ‘छ । म भित्र आउँदै गर्छु । रक्षा मन्दिरमा पसी । धितमरुञ्जेल रमाई रमाई पूजा गरी । विजयलाई टीका लगाइदिई, प्रसाद खुवाई ।

मन्दिरबाट सिधै कार राप्ती सुपरलग छि¥यो । विजयले स्पेसल खानाको अर्डर ग¥यो । वेटरले खाना रेडी हुन केही सयम लाग्ने बतायो ।

धेरै दिनपछि आज उसको जीवनमा खुशी उदायो । भगवान् पूजा गर्न पाई । साथमा पति, पेटभित्र सन्तान, पति र सन्तान पायो भने पूर्णताको अनुभूति गर्छ स्वास्नीमान्छे । ऊ पुरै भरिई बाहिर र भित्रबाट ।

विजयले हातमा मोबाइल खेलाइरहेको थियो । मोबाइललाई टेबुलमा राख्दै बोल्यो, ‘रक्षा तिमीसँग एउटा कुरा गर्नु छ ।’

– के कुरा भन्नु न ?

– तिमीलाई राम्री बन्न मन लाग्दैन ?

– लाग्छ ।

– तिमीलाई फ्रिडम भएर बाँच्न पनि मन लाग्छ नि !

– लाग्छ ।

– तिमीले भन्या मान्न त मान्छौ नि ?

– भन्नु न पैले ?

– तिमीले सुन्दरता र फ्रिडमको लागि भए पनि पेटको बच्चा पाल्नु पर्छ । रक्षा सर्पले डसेको मान्छेझैँ एक्कासी काली भई । कुर्सीबाट जुरुक्क उठी र बोली–‘वा ! यही भन्नलाई यत्रो नाटक रच्या हौ तिम्ले ? सन्तान मारेर मलाई सुन्दर हुनु छैन र यो स्तन्त्रताको कुरा ।

आफ्नो सन्तान कैले बन्धन हुन्छ ? सान्तानबिना त मान्छे छाडा हुन्छ ? मलाई छाडा भएर हिड्नु छैन । म गएँ । रक्षा बाहिर निस्कनु र किचेनबाट वेटर खाना ल्याउनु सँगसँगै भयो । पागल हिडेझैँ हिड्दै घरमा आई ?

दिनभरि विजय घरमा देखापरेन । साँझ देखाप¥यो । ऊ खुब तनावमा देखिन्थ्यो । रक्षा केही बोलिन । खाना खाएर सुत्ने तर्खरमा लागि ।

विजय चर्को स्वरमा बोल्यो– ‘रक्षा !’

रक्षा केही बोलिन । पुलुक्क हेरी मात्र ।

– मैले बोलाको सुनिनेस् ?

– किन ? के भन्न खोज्दै हुनुहुन्छ, भन्नुहोस् ?

– कसको हो यो पेटको बच्चा ?

– केरे ! रक्षा कालीबाट फुर्सी भई ।

– सुनिनेस् ! कसको हो यो पेटको बच्चा ? कसको भूँढी बोकिस् र मेरो खुट्टा समाउन आइस् ?

रक्षा थर्रथर्र कापी । ढुङ्गा चपाएझैँ बङ्गारा चपाई, उग्रचण्डी रूपले । उसले घाँटी च्याप्दै बोली– ‘के भनिस्, फेरि भन तो ?’

धेरै बेर घाँटी अठ्याई । विजय बल गरी–गरी हात फुल्कायो । बाँच्यो र कोठाबाट चोरबिरालो भागेझैँ टाप कस्यो ।

रक्षा लामो सास फेर्री । केही सहज भई । ठूलो स्वरमा चिच्याएर बोली– ‘महिलामाथि तिमी पुरुषहरू किन यति धेरै भए–नभएका परीक्षा लिन्छौ ? कहिले चारित्रिक परीक्षा । कहिले सौन्दर्यको परीक्षा । कहिले मर्यादाको परीक्षा ? कहिले व्यावहारिक परीक्षा ।

पाइलैपिच्छे परीक्षा नै परीक्षा । हरपलमा शंकै शंका । सधैँ पुरुषको ढकले शंकाको तराजुमा जोखिनुपर्ने ? एउटा परीक्षा नसकिँदै अर्को दिनैपर्ने । महिला, शङ्का र परीक्षा भन्ने शब्द के उस्तै–उस्तै हुन् ?’

रिसले थरथरि कापिरहेकी थिई, रक्षा । जोडले पलङको बारामा दुवै हात बजारी । झ¥याम्म फुटे दुबै हातभरिका चुरा । फुटेका चुराका टुक्रा कोठाभरि छरिए । पलङमा शिर अड्याई । भक्कानिएको स्वरमा बोली–‘अब फेरि जीवनको कुन पाटोको परीक्षा दिनुपर्ने हो मैले ?’

क्रमशः … तल्लो जीवन उपन्यास अंश