महिलाका लागि सीपको विकास

युवराज शर्मा

एकाविहानै घरको बज्यैले ढोका खोलिन् । ढोका अगाडि एकजना महिलालाई देखिन् । ती महिलालो बज्यैलाई चिनिन् र ढोगिदिइन् । तर बज्यैले चिनिनन् । उनले महिलालाई सोधिन– तिमी को हौ ? एकाविहानै ढोका अगाडि किन उभियौ ? मैले तिमीलाई चिन्न सकिन ।

उनले बज्यैलाई पुरानो सम्झना गराउँदै भनिन् – म ठाँटीकोट बस्ने माहिलो सार्कीको छोरी हुँ । मेरो नाम पार्वती हो । हजुरको घरमा सानो उमेरका समयमा गाई हेर्ने ग्वाल्नी भएर बसेकी थिएँ । हजुर गाउँ आएको थाहा पाएर एकाविहानै भेट्न आएकी हुँ– भनेपछि बज्यै झस्किइन् । उनले भनिन्– अहिले अधवैसे भएकी रहिछौा, फाटेको मान्छेलाई ठूलो भएपछि चिन्न सकिन्न ।

म पनि बूढी भएँ । आँखा कमजोर छन् । चश्मा नभएर देख्न अप्ठेरो लाग्छ । पार्वतीका कुराले बज्यैका आँखा रसाएका थिए । उनले पार्वतीलाई सोधिन– तिमी कहाँ बस्छ्यौ ? तिम्रो पतिले के काम गर्छन् ? छोराछोरी कतिजना छन् ? उनका यी सोधाईको जवाफ पार्वतीले दिँदै भनिन्– म हर्नोक बस्छु । एउटा सानो कटेरो छ । मेरा पति मौलान धन कमाउन गएका थिए ।

घर फर्केनन् । पछि खबर आयो – उनको मृत्यु भएको । दुई छोरी र एउटा छोरो हो । छोरीहरुको विवाह प्यूठान भएको छ । रामै्र उघरजम गरेका छन् । छोरो एउटा हो । त्यो पनि विरामी भयो र उपचार नपाएर मृत्यु भयो । मसँग पैसा थिएन । ओखतीमुलो गर्न पाएन । कोरोना भाइरसले मृत्यु भयो भने । लाश पनि देखाएनन् । सेनाले लगेर गाडे भन्थे– डाक्टरले । म एक्लै छु । काम पनि पाइन्न । लेवर काम जानेको छु । त्यो काम पाउन पनि कठिन छ ।

अरु सीप मसँग छैन । लोग्ने धनी देशमा काम गर्न गएकाले त्यो देशले उनको लाश बन्द बाकसमा प्रहरीहरुले घर ल्याएर मलाई बुझाएका थिए । अन्तिम मुहार हेर्न पाएँ । दाहसंस्कार पनि गरेँ । बाटोमा उनको सम्झनाका लागि एउटा चौतारी बनाइदिने इच्छा छ, बज्यै ।

तिमी विधवा भत्ता पाउँदिनौ ? बज्यैले जिज्ञाशा राख्दै सोधिन । उनले भनिन्– पाउँदिन । बज्यैले एकलभत्ता पाउँथिन् । उनको छोरा वडाध्यक्ष थिए । उनी धनी परिवारको एकल महिला थिइन् । कस्तो अन्तर र भेद्भाव । गरिब पार्वतीले एकलमहिला भत्ता नपाउने र बज्यैले पाउने ? कस्तो विभेदभारी कार्य ? बज्यैको हृदय दुख्यो ।

पार्वतीप्रति माया जाग्यो । उनले पार्वतीलाई गुनियो र चोली नयाँ दिइन् । पेटभरि खाना दिएर उनको भोको पेटलाई शान्त परिदिइन् । आफूले पाउने एकल महिला भत्ताको रकम हरेक महिनाको १५ गते पार्वतीलाई दिने वचनबद्ध भइन् । पार्वतीलाई उक्त दिन लिन आउन भनिन् । निम्रो नागरिकता म बनाउन लगाउँछु र तिमीलाई पनि एकलमहिला भत्ता दिलाउँछु ।

दुई जनाको भत्ताले तिमीलाई राहत पुग्छ । तिमीले सिलाई कटाईको तालिम लिनु पर्छ । म सिलाउने मेसिन पनि किन्दिन्छु । महिलालाई सीप विकासको खाँचो पर्छ । सिलाउने सीप सिकेर आदर्श महिला बन्नु पर्छ । बज्यैको करुणामयी वचन र सहयोगले पार्वतीलाई उत्साह र प्रेरणा जाग्यो । उनमा केही काम गर्नु पर्छ भन्ने ज्ञानको विकास भयो ।

बाल्यकालमा बज्यैले गाई हेर्ने ग्वाल्नी सम्झेर माया जगाएकी थिइन् । उनका प्रेरणादायी वचन र सहयोगले पार्वतीको मुहारमा उज्यालोपन छाएको थियो । धनी परिवारले गरिब परिवारको समस्यालाई बुझेर समाधान गर्ने चलन त्यस समयमा थियो ।

नेपालमा लोकतन्त्र भित्रिएको २००७ सालमा हो । समय–समयमा राजनीतिक उथलपुथलले गर्दा नागरिक दिन प्रतिदिन गरिबीको चपेटामा पर्दै छन् । राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि जनतामारा काम मात्र देखाउँछन् । परापूर्वदेखिको स्वतन्त्र देश नेपाल हो । यो देशले कसैको दासत्व व्यहोर्नु परेको छैन । तर नागरिकको जीवनस्तर माथि उठ्न सकेको छैन ।

देशमा लोकतन्त्र आएको ७० वर्ष पूरा भयो । यहाँका नागरिकलाई काम खोज्न, रोजगार गर्न विदेशी भूमि धाउनु पर्छ । उताबाट आर्जेको धनपैसाले उतै अनाज खानु पर्छ । ७० वर्षमा खाद्य आपूर्तिको प्रबन्ध गर्न नसक्ने दलका नेताहरुलाई जनप्रतिनिधि भन्न सुहाउन्न । उनीहरुलाई देशको दूरगतिमा खेद छैन । केवल आफ्नो स्वार्थका लागि अन्तरकलहमा हुन्छन् । आफ्ना नातागोताहरुमा सुविधा बाँड्छन् ।

वास्तवमा सत्ता चलाउनु राजनीतिक सोच हुनुपर्छ । तर नेताहरुमा त्यस्तो भावना छैन । त्यसकारण देशमा रोजगारीको वातावरण बनेन । हुन त प्रधानमन्त्री रोजगार व्यवस्था छ भन्छन् । त्यो पनि गरिबवर्गका नागरिकका लागि भएन । नेताका आसेपासेमा सीमित भयो । पहुँच र सम्बन्ध भएका व्यक्तिहरुले मात्र त्यस्तो सुविधानको उपभोग गर्न पाउँछन् ।

पावर्तीजस्ता निसहाय महिलाहरुका लागि अवसर पाउँदैनन् । एकल महिला विधवा होस् वा विदूर पुरुष होस् त्यस्तावर्गका लागि सरकारको पहुँच पुग्दैन । जसले पनि बलेको आगो मात्र ताप्छ । यसबाट स्पष्ट हुन्छ कि स्वार्थी नेताहरुले देशमा सामाजिक परिवर्तन ल्याउला भन्नु कौवालाई बेला पाके सरह नागरिकलाई दिवास्वप्न हो । पार्वती जस्ता महिलाहरु गाउँघरमा थुप्रै छन् । उनीहरु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकजस्ता वातावरण पाउन सकेका छैनन् ।

त्यसैले पार्वती आफ्नै बज्यैका घरमा दुःख पोख्न आइन् । बज्यैमा दयाभाव थियो । सानो उमेरमा पार्वतीप्रतिको दयाको झल्को देखाइन् । आफूले पाउने एकलमहिला भत्ता पार्वतीलाई दिने वचनबद्ध भइन् । यस्तो उदंगार उनमा सिर्जना भएको नै दया भाव थियो । भनिन्छ – ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ।’ के यो नीतिका अनुयायीहरु नेपाली नेताहरु बन्न सक्लान् ? कल्पना गर्न गाह्रो छ ।

यस्तो भावना भएका कम्युनिष्ट नेताहरु भएको भए चिल्ला गाडी चढेर हिड्नुभन्दा सामान्य गाडी प्रयोग गर्थे । अन्तरकलह नगरेर आपसी हितमाभन्दा जनताका हितमा काम गरेर देखाउँथे । बाँदरहरुको झगडा जस्तो खानका लागि लड्ने थिएनन् । महिला हिंसा रोक्न सक्थे । महिला सुरक्षाको वातावरण बनाउँथे । उनीहरुलाई सीप विकास गराउने थिए । आत्मबलमा बाँच्नु पर्छ भन्ने ज्ञान बाँड्ने थिए ।

नेपालमा महिलाहरुका लागि सीप विकास गराउने संघसंस्थाहरु प्रशस्त मात्रामा भए पनि महिलाहरुको सीप विकासको वातावरण बन्न सकेको छैन । ज्येष्ठ नागरिक, महिला तथा बालबालिका विकास मन्त्रालय भए पनि मन्त्री बनाउने र तलव सुविधाहरु दिने काम मात्र भयो । महिलावर्गका लागि रचनात्मक र सिर्जनात्मक कार्यहरु भएनन् ।

सीमान्तवर्गमा पहुँच पुगेन । उनीहरुको चेतनास्तर बढ्न सकेन । ज्ञानको विकास भएन । महिलाहरका लागि जीवनोपयोगी सीपको विकास पनि भएन । देशमा संघीय, प्रदेश र स्थानीय तहका सरकारहरु छन् ।सबै तहका सरकारी पदहरुमा जनप्रतिनिधिहरु छन् ।उनीहरुमध्ये राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु पनि छन् ।

यी सबै जनताका छोराछोरीहरु नै हुन् । यस्तो संरचनाहरुमा सीमान्तकृतवर्गका महिलाहरुले दुःख भोगेको देखेर पनि नदेखेजस्तो गर्नेहरु सच्चा जनप्रतिनिधिहरु मानिँदैनन् । आज देशमा एकलमहिलाहरले भोग्नु परेको दर्दनाक दृश्यलाई हेर्न र सम्झन नसक्नेहरु सच्चा जनप्रतिनिधिहरु मानिँदैनन् । त्यस्तै वातावरण भएको छ ।

महिलाहरुको संख्या जनसंख्याका आधारमा पुरुषको संख्याभन्दा केही मात्रामा धेरै छ । पढेलेखेका महिलाहर पनि छन् । उनीहरुमा चेतनाको स्तर र जागरण जति हुनुपथ्र्यो त्यति पाइन्न । यस्तो अवस्था हुनु सामाजिक वातावरणको अभाव हो भन्छन् सामाजिक कार्यकर्ताहर । खास गरी पढेका महिलाहरुमा व्यावहारिक ज्ञानको अभाव छ ।

जन्मघर छोडेर कर्मघरमा आएपछि आफूहरु कसरी स्थापित हुने ? यस सम्बन्धमा व्यावहारिक झन हुन्न तब उनीहरुमा पढेको आडम्बर, माइतीको फूर्ति र अहंकारी प्रवृत्ति बढ्दै जान्छ । आफ्नो अनुशासन के हो ? बुझ्न सक्दैनन् । कमृघर त्यस्ता महिलाहरुका लागि बोझिलो बन्छ । घरमा सासुमाबाट व्यावहारिक ज्ञान सक्नि र बुझ्न चाहन्न् ।

हुनेखाने परिवारका छोरीहरुमा प्रायः समझ्दारी हुँदैन । सानो विषयमा पनि प्रायः झगडालु स्वभाव देखाउँछन् । माइतीघरको फूर्ति देखाउँछन् । धेरै परिवारहरुमा घरको अवस्था नाजुक रहेछ भने धनी परिवारको छोरीमा शील स्वभाव, वचन, व्यवहार शिष्ट हुँदैन । घरमा झगडालु महिला बन्छिन् । माइत जाने प्रवृत्ति बढी मात्रामा हुन्छ । जब छोराछोरी जन्मन्छन् तब त्यस्ता महिलाहरुमा बोलाई, व्यवहार रुखो हुन्छ । घरमा करकसा हुन्छन् । उनीहरुमा कुनै प्रकारको सीप विकास हुन्न । आफूलाई सीपयुक्त बनाउने प्रयत्न पनि गर्दैनन् । अनपढ महिलाभन्दा खराब स्वभाव देखाउँछन् ।

पार्वती जस्ता गरिब परिवारका महिलाहरुमा केही सीप सिकेर जिउने आधार बनाउने इच्छा गर्छन् । उनीहरुमा सिक्ने झुकाव हुनछ । लगनशीलता, कर्मठता, सहिष्णुता र सद्भाव पाइन्छ र सीप सिक्न लालायित हुन्छन् । वर्तमान समयमा बढ्दो मूल्य बृद्धि महँगीको भार बढ्न थालेपछि एकजनाको कमाईले परिवारको पालनपोषण, शिक्षा दिलाउन, स्वास्थ्योपचार गराउन आर्थिक समस्या बढेको छ ।

महिलाहरुलाई घरेलु व्यावसायिक सीपमुलक ज्ञानको विकास गराउनु सरकारको दायित्व हो । अहिलेको आवश्यकता गाउँ–गाउँमा महिला शिक्षा, सीपको विकास र व्यावहारिक ज्ञानको प्रसार हुनु पर्छ । महिलाहरुको संख्या धेरै भए पनि उनीहरुलाई जीवनोपयोगी सीपको खाँचो छ । महिलाहरका लागि सीपको विकास गराउनु आजको आवश्यकता देखिन्छ ।