सल्यानको कालीमाटी काल्चेमा जन्मिएर हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी नेत्रलाल भट्टराई (नारायण) तुलसीपुर नगर जेसीजका अध्यक्ष हुुन् । हालै भएको जेसीजको अधिवेशनमा भट्टराई सन् २०२१ को लागि अध्यक्षमा चयन भएका हुन् । सामाजिक, राजनीतिक र शिक्षण पेशामा आबद्ध छन् ।
२०४५ सालमा जन्मिएका भट्टराईले एमएससी, एमए अर्थशास्त्र त्रिभुवन विश्वविद्यालय र एमफिल शिक्षाशात्र खुला विश्वविद्यालय ललितपुरबाट गरेका छन् । भट्टराई समाज दाङको अध्यक्ष, ग्रेट अरनीको माविका सञ्चालक तथा प्रोग्राम डाइरेक्टर, शान्तिदीप इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक, विज्ञान शिक्षक समाज नेपाल तुसीसपुरका अध्यक्ष तथा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमिति दाङका सदस्य समेत हुन् ।
साथै तुलसीपुर नगर जेसीजमा वर्ष २०१२ मा संस्थापक कोषाध्यक्ष, बर्ष २०१३ मा को–अर्डिनेटर, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१७ मा जनसम्पर्क अधिकारी, वर्ष २०१८ मा महासचिव, वर्ष २०१९ मा प्रवक्ता, वर्ष २०२० मा कानुनी सल्लाहकार समेत भएर काम गरेका थिए । तुलसीपुर नगर जेसीज र अध्यक्षपछिको अबको भावि कार्यक्रम तथा जेसीजको अभियानबारे नेत्रलाल भट्टराई (नारायण)सँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुुराकानीको सार संक्षेप ।
स्वागत छ यहाँलाई सातावार्तामा ?
धन्यवाद तपार्इं अनि तपाईंको पत्रिकालाई मेरो कुराहरु राख्न दिएकोमा ।
कसरी जेसीजमा लाग्न प्रेरित हुनुभयो ?
सन् २०१२ मा तुलसीपुर नगर जेसीजका संस्थापक जेसी दीपेन्द्र चापागाईंले ‘एउटा युवाहरूको संस्था छ, त्यसमा लाग्नुप¥यो सर’ भन्नुभयो । अनि बुझ्दै जाँदा मेरो लागि पनि यो अभियान ठिक छ जस्तो लाग्यो । खास गरी जेसीजमा युवाहरूलाई तालिम, गोष्ठीमार्फत् नेतृत्व, व्यक्तित्व विकास गर्न सकिने भएकोले म झन उत्प्रेरित भएँ र जेसीजमा त्यतिबेला लागेको हु ।
कहिलेबाट जेसीजमा आबद्ध हुनुभयो ?
म सन् २०१२ देखि तुलसीपुर नगर जेसीजमा लागेको हुँ । नगर जेसीजमा वर्ष २०१२ मा संस्थापक कोषाध्यक्ष, वर्ष २०१३ मा को–अर्डिनेटर, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१७ मा जनसम्पर्क अधिकारी, वर्ष २०१८ मा महासचिव, वर्ष २०१९ मा प्रवक्ता, वर्ष २०२० मा कानुनी सल्लाहकार र वर्ष २०२१ को अध्यक्षमा चयन भएको भई निरन्तर यस अभियानमा छु ।
तुलसीपुर नगर जेसीजको अध्यक्षमा सर्वसम्मतिबाट चएन हुँदा कस्तो महशुस गर्नुभएको छ ?
एकदम खुशी लागेको छ । मलाई अहिले हौसला मिलेको पनि महशुस गरेको छु । खास गरी म तुलसीपु रनगर जेसीजको संस्थापक पनि हुँ, मैले अघिल्लै वर्षहरुमा अध्यक्ष लिन सक्थेँ तर पनि साथीहरूलाई अवसर दिनुपर्छ भनेर विगतका वर्षहरुमा मैले त्याग देखाएको थिएँ । जसको कारण साथीहरूले सम्मानित तरिकाले यो वर्ष सर्वसम्मतीले मलाई अध्यक्ष पदमा निर्वाचित गर्नुभयो । यसमा मैले सबैलाई आभार व्यक्त समेत यही पत्रिकामार्फत् गर्न चाहान्छु, यसमा म अत्यन्तै खुशी छु ।
जेसीज संस्था के हो र यसले के काम गर्छ ?
जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका सकारात्मक सोच भएका युवाहरुको तालिमको महाविश्वविधालय हो । जेसीजले खास गरी विभिन्न ४ क्षेत्रहरुमा काम गर्छ, जस्तै भनौँ व्यक्तिगत क्षेत्र जसमा विभिन्न तालिममार्फत् युवाहरुको व्यतित्व र नेतृत्व विकास गर्ने अवसर प्रदान गरिन्छ । यसैगरी सामुदायिक क्षेत्र अन्तर्गत् युवाहरुलाई विभिन्न कार्यक्रम, सामाजिक अभियानको संयोजकको भूमिका निभाउन मौका दिएर सामाजिक उत्तरदायित्व निर्वाह गराउन सिकाइन्छ ।
त्यस्तै व्यवसाय क्षेत्रअन्तर्गत युवाहरूलाई विभिन्न पेशा, व्यवसायमा लाग्न उत्प्रेरित गरिन्छ । पेशा व्यवसायलाई कसरी मार्केटिङ गर्ने, कसरी मुनाफा आर्जन गर्न सकिन्छ भनेर सिकाइन्छ र कुशल व्यवसायी बनाउन पनि जेसीजले प्रेरित गर्दछ भने अन्तिममा जेसीजले अन्तर्राष्ट्रिय क्षेत्र अन्तर्गत देश तथा अन्य देशका युवाहरूसँग भाइचाराको सम्बन्ध स्थापित गर्न मद्दत पु¥याउनुको साथै सहयोग आदान–प्रदानमा टेवा पु¥याउँछ ।
तुलसीपुर नगर जेसीजले के–कस्ता अभियानहरु सञ्चालन गरेको छ ?
तुलसीपुर नगर जेसीजमार्फत् हामीले युवाहरुलाई विभिन्न तालिममार्फत् नेतृत्व, व्यक्तित्व विकास गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा आइपर्ने जस्तोसुकै समस्याहरुलाई पनि सहज बनाउने काम गरिरहेका छौँ । अहिले खास गरी कोभिडबाट बच्ने र बचाउने अभियान, बिरामीलाई रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम, निःशुल्क शिक्षण, सरसफाई, सचेतनालगायतका विभित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ ।
सन २०२१ को अध्यक्ष बन्न सफल हुनुभएको छ, तपाईंको अबको भावि योजनाहरु के–के छन् ?
खास गरी तुलसीपुर नगर जेसीज तथा यहाँको आम जनमानसले मेरो नेतृत्वबाट धेरै अपेक्षा गरेको छ । मेरो कार्यकालमा हामीले खास गरी जेसीजलाई अझ संस्थागत, टिकाउ र भरपर्दो बनाउन हालको जेसीज सचिवालयको स्तर बृद्धि गर्छौं । जेसीज एउटा तालिमको विश्वविद्यालय भएकोले पनि हामी यो वर्ष विभिन्न क्षेत्रका तालिमहरु आयोजना गरी युवाहरूमा निखारता ल्याउँछौँ ।
मेरो अन्य योजनाहरु पनि छन् । यसैगरी हामी जेसीज युवाहरुले मासिक रुपमा थोरै पैसा संकल गर्दै आइरहेका छौँ, त्यसलाई संस्थागत गर्दै जेसीज सहकारी बनाउने काम अगाडि बढाउँछौँ । यसैगरी यो क्षेत्रका सम्पूर्ण व्यवसायीहरुलाई व्यवसाय कसरी सञ्चालन गर्ने भन्नेबारे बृहत् व्यवसाय गोष्ठी, सेमिनार सञ्चालन गर्ने योजना छ । जसको लागि नेपालका सफल व्यवसायीहरुसँग मेरो छलफल पनि भइरहेको छ ।
जेसीजका पूर्व अध्यक्षहरु, बोर्डका साथीहरू र हाम्रा शुभचिन्तकहरुसँग बृहत् छलफल गरी यो क्षेत्रमा आवश्यक अभियान पनि सञ्चालन गर्छौँ । सबैको सहयोग, सद्भाव र सबैसँग सहकार्य गरी अगाडि बढनेछु । मेरो पालामा मैले सबैको साथ र सहयोग लिएर जेसीजलाई राम्रो र हाम्रो बनाउने प्लानमा छु ।
तुलसीपुर नगर जेसीजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन तपाईंका योजनाहरु के–के छन् ?
तुलसीपुर नगर जेसीजलाई हामीले विभिन्न रचनात्मक कार्यक्रम गरी नेपालमै चिनाएका पनि छौँ र हामीले वर्ष २०१६ मा हाम्रो तर्फबाट नेपाल जेसीजमा राष्ट्रिय उपाध्यक्ष पदमा जेसी जिवराज शर्मा खरेललाई पनि उठाएका थियौँ तर सफलता हाशिल गर्न सकेनौँ ।
उहाँको सपना र हामी सम्पूर्ण जेसीजहरुको सद्भाव सहयोगले म यो वर्ष राष्ट्रिय पदाधिकारीमा पनि उम्मेद्वारी दिनेछु र तुलसीपुर नगर जेसीजको छवि नेपाल जेसीजमै उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । हामी सबै मिलेर जेसीजको शिर उचो बनाउनमा हामी सबै लाग्ने छौँ ।
जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्वको विकास गर्ने संस्थाको रुपमा चिनिन्छ, त्यस अभियानलाई कसरी सार्थकता दिनुहुन्छ ?
हो, मैले अघि पनि भने जेसीजले विभिन्न कार्यहरु गर्दै आएको छ र गर्ने पनि छ । हामीले जेसीजमार्फत् विभिन्न क्षेत्रमा तालिम, गोष्ठी, सेमिनारमार्फत् युवाहरुको क्षमतालाई अझ प्रष्पुटन गराउँछौँ र विभिन्न कार्यक्रमहरुको आयोजना गरी युवाहरूलाई नेतृत्व प्रदान गर्दै तिनीहरुको नेतृत्व, व्यक्तित्व विकास गर्छौँ ।
जेसीजलगायत अन्य संघसंस्था र राजनीतिमा पनि हुनुहुन्छ, यो जिम्मेवारीलाई कुन रुमा लिनुभएको छ ?
वास्तवमा म जेसीजको अलावा शिक्षण पेशामा पनि आबद्ध छु । यसैगरी अझै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहेको छु । छिट्टै पिएचडी पनि सक्नु छ । सामाजिक क्षेत्रअन्तर्गत राजनीतिमा पनि आबद्ध छु । म सबैलाई उचित समय प्रदान गरेर, प्राथमिकताका आधारमा अगाडि बढ्छु ।
म आबद्ध सबै संस्थालाई अझ व्यवस्थित, प्रभावकारी तरिकाले अगाडि बढाउने छु, जुन सीप, क्षमता मलाई जेसीजले नै दिएको हो । यो वर्ष अझ झन यो क्षेत्रमा क्रियाशील सबै संस्थासँग कार्यगत एकता गर्दै सचेतनाका कार्यक्रमहरु गर्ने छौँ ।
तुलसीपुर नगर जेसीजले सबैलाई समेट्न सकेन भन्ने गुनासो छ नि, सबैलाई समेटेर कसरी लैजाने सोचमा हुनुुहुन्छ ?
कुनै पनि संस्थाले सबैलाई समेटेन भन्दा पनि हामी अलि चनाखो बन्नुपर्छ । कुन संस्थामा लाग्दा आफ्नो र समाजको भलो हुन्छ त्यसैलाई हामीले रोज्नुपर्छ । स्वच्छ मनले संस्थामा आबद्ध पनि हुनु पर्छ । जेसीजमा केही कमिकमजोरी रहे होलान् ती सबै कुरालाई म सम्बोधन गर्दै सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु । जेसीज हामी सबै युवाहरुको हो, यसले हामी र हाम्रो समाजलाई फाइदा पु¥याउँछ भन्ने कुरा चरितार्थ म मेरै पालामा गराउने छु ।
अन्त्यमा केही भनु छ ?
म तपाईं तथा तपाईँको लोकप्रिय पत्रिकालाई धेरै–धेरै धन्यवाद तथा आभार प्रकट गर्दछु । किनकि मलाई मेरो र जेसीजको बारेमा केही कुरा राख्ने अवसर प्रदान गरिदिएकोमा । अन्त्यमा म सम्पूर्ण युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास गर्दै एउटा असल लिडर, व्यवसायी बन्न जेसीज अभियानमा आउन आह्वान गर्दछु ।