संस्कृति र संस्कार हाम्रो अस्तित्व हो

नारायणप्रसाद श्रेष्ठ

संस्कृति र संस्कारबाट परिपोषित आचरण मानव जीवनको उत्कृष्ट स्वभाव हो । यही आचरण र स्वभावबाट मानव जीवनले आफ्नो लक्ष्य र उद्देश्य पूरा गरेका हुन्छन् । जीवनमा आउने जति पनि उतारचढाव छन् तिनको सहज समाधान गर्दै तत्वदर्शी बनेर समस्त जगतलाई हेर्ने दृष्टिकोणमा समान व्यवहार गरेको हुन्छन् ।

त्यसैले त भनिन्छ स्वभावमा नैतिकता र संस्कारमा पवित्रता मानव जीवनलाई सफल बनाउने उत्कृष्ट आचरण हो । जबसम्म स्वभावमा सकारात्मक सोच र चिन्तन देखापर्दैन तबसम्म व्यक्तिको आचरण र व्यवहारमा परिवर्तन हुँदैन । संस्कृति र संस्कारअनुसार जबसम्म आचरण र व्यवहार परिस्कृत हुँदैन तबसम्म मानव जीवनले सही र स्पष्ट दिनशानिर्देश गर्न पनि सक्दैन ।

तसर्थ, नैतिक आचरणयुक्त जीवनशैली अपनाई जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा पवित्रता र सकारात्मक प्रवृत्ति विकास गर्न भौतिक सत्यले स्वीकारेको र आध्यात्मिक सत्यले प्रतिपादन गरेको मान्यतालाई शिरोधार्य गर्नु गराउनु पर्छ । तत्वदर्शी बनेर संसारलाई हेर्ने दृष्टिकोणमा सकारात्मक भाव जागृत गराई वशुदैव कुटुम्बकमको मान्यतालाई आत्मसात गर्नु गराउनु पर्छ ।

तत्वदर्शी सत्य असत्य दुवै जान्दछन् । उनीहरु भन्दछन्– सत्य कहिल्यै डग्दैन असत्यले कहिल्यै उन्मुक्ति पाउँदैन । सत्यको कहिले अभाव हुँदैन र असत्य सधैँ अभावग्रस्त भएर गुज्रिन्छ । उनीहरुको विचारमा मानव चिन्तन र सोचमा जुन परिवेशले प्रवेश पाएको हुन्छ सोही अनुकूल आचरण र व्यवहार प्रतिबिम्ब भइरहेको देखिन्छ ।

मानव विचारमा जुन संस्कृति र संस्कारले जरा गाडेको हुन्छ सोही अनुकूल सोच र चिन्तन तथा आचरणमा प्रभाव परेको हुन्छ । यसरी तत्वदर्शीले भूत, भविष्य र वर्तमानलाई बुझेर आफू र आफ्नो विचार प्रतिपादन गरेको पाइन्छ । त्यसैले त भनिन्छ– तत्वदर्शी ज्ञानी र विवेकशील हुन्छ रे ।

चिन्तन र सोचमा आउने परिवर्तनलाई बुझेर भइरहेको संस्कृति र संस्कारलाई भविष्यको मार्गनिर्देशनको रुपमा परिमार्जित र विकसित गर्दै लैजानु बुद्धिमत्ता कार्य हो । तर, यसमा रहेको सत्यलाई हटाई नयाँ संस्कृति र भइरहेको सत्य र चिनारीलाई अपदस्थ गर्ने सोच गरिन्छ भने त्यो साच्चिकै मर्यादित र जीवन पद्धतिभित्र सुहाउने विषय हुँदैन । किनकि जीवन एकपटक आउने हो । यो घरिघरि त्यही सोच र रुप भएर आएको इतिहास हालसम्म कहीँ कतै सुनिएको छैन ।

त्यसैले सधैँ आफू तत्वदर्शी, ज्ञानी र विवेकी भएर प्रस्तुत हुने आचरण र कर्मप्रति आकर्षित हुने सेवामा आबद्ध रहनु पर्दछ । सकारात्मक चिन्तनले सही दिशानिर्देश गर्दै आत्मज्ञानको बोध गराएको हुन्छ भन्ने मान्यता राखी परिस्थितिअनुकूल विचार र कर्ममा भ्रम सिर्जना गर्ने कार्य कोही कसैबाट हुनु हुँदैन । भावमा सकारात्मक प्रवृत्ति देखापनर््ु भनेको आचरण र व्यवहारमा शुद्धता आई सोचमा पवित्रता प्रकट हुनु हो ।

संस्कारलाई आयातीत विचार र नयाँपन दिने नाममा यदि अरुको नक्कल गर्ने प्रवृत्तिको विकास गरिन्छ भने वा विकृति र विसंगतिलाई भिœयाइन्छ भने यसले समाधान होइन समस्याको चाङ खडा गर्दै जान्छ । जसको फलस्वरुप चिन्तन र व्यवहारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गलत मानसिकताले जरा गाड्न पुग्छ ।

त्यसैले परिस्कृत संस्कार र संस्कृतिले ल्याउने सकारात्मक सोच र चिन्तनलाई जीवनको अभिन्न अंग बनाई सोचमा सकारात्मक भाव र प्रवृत्तिमा शुद्धता जागृत गर्नु गराउनु पर्छ । कतिपय मानिसहरु आफ्नो आङमा भैँसी हिडेको देख्दैनन् तर अरुको आङमा जुम्रा हिडेको देख्ने प्रवृत्ति पाइन्छ । उनीहरुको सोच र चिन्तनमा केवल स्वार्थपरक चिन्तन लुकेको प्रष्ट देखिन्छ ।

वास्तवमा यस्तो आचरण विकृतिजन्य स्वभाव हो । यस्ता प्रवृत्ति र मानसिकता भएको व्यक्तिको सोचमा सत्य कहिल्यै उजागर हुन सक्दैन । किनकि उसले सत्य बुझेकै हुँदैन । ऊ केवल सीमित घेराभित्र रहेको उज्यालो देख्ने आचरणमै सीमित रहेको हुन्छ । कुवाँभित्रको भ्यागुतो कुवाँभित्रै रमाउँछ र कुवाँमै विसर्जन हुन्छ भनेझै यस्तो आचरण र व्यवहारका मानिसहरु न त उसले आफ्नो मर्यादा र हैसियत थाहा पाउँछ न त नीति र सिद्धान्त अनुकूल आचरण र व्यवहार नै गर्न जान्छ ।

आफ्नो स्वार्थ नै सबैको स्वार्थ ठान्ने प्रवृत्ति आफैमा गलत मानसिकताको उपज हो । यस्तो प्रवृत्ति देखाउनु भनेको मानसिक र नैतिक रुपले आफैलाई पतनको मार्गमा धकेल्नु हो । त्यसैले आफ्नो परिवेशलाई राम्ररी नियालेर म आफू कुन मार्गतिर आकर्षित हुँदै छु त्यसको लेखाजोखा गरी समय र परिस्थिति अनुकूल आफूलाई परिचालन गर्ने अभ्यास गर्नु पर्छ ।

सोच र चिन्तनमा समय र परिस्थिति अनुकूल सकारात्मक, नकारात्मक परिस्थिति सिर्जना हुनु अस्वाभाविक मानिँदैन । यस्तो प्रवृत्ति दृष्टिभ्रमको कारणले पनि उत्पन्न हुनसक्छ । त्यसरी यस्तो हुन्छ भन्ने बुझेर यदि आफूलाई सकारात्मक मार्गतिर प्रस्तुत गरियो भने नकारात्मक पनि स्वतः सकारात्मकतर्फ आकर्षित हुन पुग्छ । तसर्थ, म सक्षम तत्वदर्शी बन्न सक्छु भनी असत्यलाई सत्यको परिभाषाभित्र ल्याउन प्रयत्नशील भइरहनु पर्छ ।

हुन त सतीले सरापेर होला मानिसहरुले राम्रोलाई पनि नराम्रो भन्दै हिडेको पनि पाइन्छ । उनीहरु केवल चर्मदृष्टिको सत्यलाई मात्र स्वीकारेको पनि देखिन्छ । तर यस्तो सोच्नु हुँदैन । किनकि कहिलेकाहीँ सूर्यको किरण र गतिलाई बादलको झोक्काले क्षणिक लुकाउन पनि सक्छ । बादल हावाको चाँपले जता पनि गतिशील हुने र कहिलेकाहीँ सूर्यको रोशनीलाई छेक्नु यो कुनै नौलो विषय पनि होइन । जब यो कुरा आफ्नो आचरण र व्यवहारले बुझ्ने चेष्टा गर्दछ तब उसको विचार र स्वभावमा खुशी, आनन्द र पवित्रता स्वतः उजागर हुन पुग्छ ।

उसको स्वभावले सधैँ नैतिक आचरण र मूल्यलाई बढी आत्मसात गरिरहेको देखिन्छ । जब यस्तो अवस्था र वातावरण उत्पन्न हुन पुग्छ तत्पश्चात सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक परिवेश समेत आदर्श र नैतिक चरित्रतर्फ उन्मुख हुन पुग्छ । जसको ज्वलन्त प्रमाण (हामीले स्वीकार्दै आएको रामायाण संस्कृति) रामले रावण प्रवृत्तिमाथि प्राप्त गरेको विजय र कै–कैप्रति देखाएको सतव्यवहारबाट नै प्रष्ट हुन्छ ।

यसरी मानिसको स्वभावमा प्रवृत्तिले परिवर्तनको आभाष देखाइरहेको हुन्छ । आचरण र प्रवृत्तिले मानवीय स्वभावलाई परिस्थिति अनुकूल बदलिरहेको देखिन्छ । तसर्थ, यसको प्राप्तिको लागि सधैँ आफूलाई आदर्श प्रवृत्तितर्फ लैजाने चिन्तन गरिरहनु पर्छ । क्षणिक वासनायुक्त व्यवहार र परिस्थितिले ल्याउने उतारचढावप्रति सजग र सतर्क रहिरहनु पर्छ ।

अहिले हाम्रो संस्कृति र संस्कारले आयातीत संस्कृतिसित प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिँदै छ । यति मात्र होइन हाम्रो भेषभुषा, भाषा, संस्कृति लोप हुने त होइन भनी चिन्ता र चुनौती पनि बढिरहेको छ । नेतृत्ववर्गको नेतृत्व आयातीत संस्कृतितर्फ ढल्किएको छ । हिजो जुन संस्कृतिभित्र हाम्रो अनुशासित जीवनशैली थियो त्यो वर्तमानमा भौतिक विलाषीतर्फ मोडिँदै छ । आफू पनि मानिसने र आउने भावी सन्ततीलाई पनि विलाशी मोडतर्फ आकर्षित गराई आफ्नो पोरख आफैले बिर्साउने आचरण गरिँदै छ ।

पसिनाको कमाईमा होइन अनुदानमा रमाउँदै, भइरहेको सम्पत्ति गुमाई लहलहैमा क्षणिक वासनायुक्त आचरणतर्फ हाम्रो ध्यान खिचिँदै छ । वास्तवमा यसले हाम्रो प्रवृत्तिमा नै वक्रदृष्टि राखेको अवस्था देखिन्छ । यदि यसरी नै संस्कृति र संस्कारलाई अरुको इसारामा मास्दै जाने र नयाँपनको नाममा आयातीत संस्कृतिलाई प्रश्रय दिँदै जाने हो भने हाम्रो अस्तित्व कहाँ पुग्ने हो ? विचारमा विविधता हुनु नौलो विषय होइन ।

तर संस्कृति र संस्कारलाई नै विचलन बनाउने विचार प्रतिपादन गराउनु र त्यस्तो संस्कृति भिœयाउनु भनेको आफ्नो अस्तित्वमाथि प्रश्न चिह्न खडा गर्नु हो । आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । यदि यस्तो परम्परा र संस्कारलाई परिमार्जित गर्ने हो भने हामी र हाम्रो अस्तित्व गमलामा सजाएको प्लास्टिकको फूल सरी नहोला भन्न सकिन्न । भइरहेको बाग, बगैचाको सुन्दरतालाई पन्छाई आफूलाई चरित्रवान् र आदर्शउन्मुख गराउने नाममा आयातीत विचारलाई सम्पादन गर्न खोज्नु आफैलाई हराउनु हो ।

राष्ट्रिय स्वाभिमानलाई चुनौती दिनु हो । त्यसैले तत्वदर्शी नेतृत्व र आचरण वर्तमानको आवश्यकता रहेको कुरालाई हृदयंगम गरी हाम्रो संस्कृति हाम्रो आदर्श हाम्रो संस्कार हाम्रो पहिचान भनी विश्वरंगमञ्चमा एउटै स्वर एउटै चिन्तन गरी अनुशासित र मर्यादित जीवनशैली अपनाउनु परेको छ । संस्कृति हाम्रो धरोहर हो । हाम्रो आचरण र व्यवहारमा भिजिसकेको सत्य हो । यसैमा हामी सबैको कल्याण छ ।